बद्रीप्रसाद दाहाल ‘भस्मासुर’खै उज्यालो कहाँ छ ?
कति दिन गफ सुन्ने, भोटदाता अनाथ । करचर कति चुन्ने कीट छन् नग्न नाथ ।। अझ पनि खल- भेडा, मात्र बाख्रा र बोका - सरह, जन ठम्यायाै क्या दियाै जीर्ण धाेका ।।

बद्रीप्रसाद दाहाल :
दिवस कति मनायौ खै उज्यालो कहाँ छ ?
विवश सब बनायाै छैन क्यै याेजना त ।।
अझ पनि श्रम गर्ने, खै त उद्योगशाला ।
दिनदिन परदेशी, बन्नु पर्दैछ हाला ।। १।।
गरम – नरम बोली काम केही हुँदैन ।
जनमन कति रुन्छन् शीर्षलाइ छुँदैन ।।
सररर कति मीठो घोषणा-पत्र- भाषा ।
महँगी र घुसखोरी राज्य नै भो तमासा ।। २।।
जतिजति कवि लेख्छन् व्यन्जना काव्य मीठा ।
उतिउति अगुवाले मान्छ टर्रा र पीरा ।।
दिवस किन मनायौ के छ औचित्य बाेल ?
नयनभरि बहेका आँसुकाे छैन माेल ।।३।।
धनपति यशशाली, मात्र नेता भए’छि ।
‘दिवस’ विवश बन्छन् लोकतन्त्रै मरे’छि ।।
किन दिवस मनायौं ? के भयो क्रान्ति हाम्रो ? ।
गुन अब अबिरे हो, रात उस्तै नराम्रो ।। ४।।
धनपति शवजस्ता तुच्छ सामन्त बानी ।
वचन – मधुर धेरै मात्र गर्दैछ हानि ।।
दिवस तब मनाऔँ, हुन्छ जो नव्य क्रान्ति ।
विवश जनमनैमा, छर्नु के घाेर भ्रान्ति ।। ५।।
कति दिन गफ सुन्ने, भोटदाता अनाथ ।
करचर कति चुन्ने कीट छन् नग्न नाथ ।।
अझ पनि खल- भेडा, मात्र बाख्रा र बोका –
सरह, जन ठम्यायाै क्या दियाै जीर्ण धाेका ।। ६।।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































