सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हो त नि !

'अनि त्यस्तो गर्नुहुन्छ त ? अब जाकिने हुनु भयो ।' 'भाग त हजुरलाई पनि छ त ।' 'कति लाका छौ ?' 'दुई ।' 'त्यसमा एक थप्न सक्छौ ?' 'हवस् हजुर ।' 'ल त्यसो भए तिम्रो त्यो उजुरी आजैदेखि निष्क्रिय हुन्छ ।'

Nepal Telecom ad

हरि खनाल :

दृश्य एक

निर्वाचनको बेला थियो । पर्सि मतदानको दिन । कसलाई मत दिने मतदाताबीच अन्यौल कायम थियो । नेता सन्तोष गाउँमा पसे ।

‘लौ आज साँझदेखि भोलि बेलुकीसम्मका लागि तिमीहरूलाई एउटा ठूलो खसी दुईओटा सानो खसी र ५०० लिटरको एउटा ट्याङ्कीमा शुद्ध कोदाको व्यवस्था । मत हाल्छौ होइन ?’

गाउँका अगुवा मुसकुराउँदै देखिए र भने ‘फरकै पर्दैन ।’ एकजना विद्वान शिक्षकले हेरिरहेका थिए । उनले समूहतिर धिक्कार गर्दै भने ‘रक्सी र मासुमा बिकेकाहरूले के नेता छान्छन् ?’ सुनिरहेको थियो एउटा कागले । हाँगोबाटै भन्यो ‘हो त नि ।’

विद्यालयमा विद्यार्थीहरू चारैतिर दौडिरहेका थिए । तल्ला कक्षाका विद्यार्थी कक्षामा पस्न र बस्न नपरेकाले खुसी थिए किनभने शिक्षकहरू पच्चीस प्रतिशत पनि उपस्थित थिएनन् । त्यो स्कुल तिनै शिक्षकको थियो जसले रक्सी र मासुमा विक्नेलाई धिक्कार गरेका थिए । उनी त्यस दिन एउटा दलको चुनाव प्रचार गर्न घरदैलो गर्दै थिए । एकजना मतदाताको घरबाट बाहिर के निस्केका थिए काग त्यहीँ पुग्यो र भन्यो ‘यस्ता पनि शिक्षक भन्नुहोस् त ।’ शिक्षक अलमलिए तर कागले भनेको कुरा एकपटक सानो स्वरले भने । कागले भन्यो ‘हो त नि ।’

दृश्य २

ठूलै कवि गोष्ठी भइरहेको थियो । प्रमुख अतिथि थिए केवल राज । उनले बोल्ने क्रममा कसैलाई लिलिपुट देखे त कसैलाई केचना कलन । आफूले सगरमाथा बन्न निकै त्याग र तपस्या गरेको दृष्टान्त सुनाउँदै रचना सुनाए ।

‘लेनदेन र मोलतोलमा पुरस्कार पाइन्छ यहाँ पुरस्कार पाउन क्षमता हैन दाम चाहिन्छ…’
यो क्लिप्स सुन्नासाथ कागले पखेटा फटफटाउँदै भन्यो ‘हो त नि ।’

हिजो कवि गोष्ठीमा निमन्त्रित वरिष्ठ कवि एक पुरस्कार गुठीको अफिसमा थिए । जाडोको बेला भएकाले उनीहरू अफिसको चउरमा बसेर कुराकानी गर्दै थिए । पुरस्कार गुठीका सञ्चालकले सोधे ‘हजुरलाई हामीले पुरस्कार दिने घोषणा गरेपछि हजुरका पुस्तक लाखौँ बिक्छन् । हजुरलाई फाइदै फाइदा छ । हजुरलाई यो फाइदा गराए बापत हामीलाई के ?’
वरिष्ठ कविले हाँस्दै भने ‘हजुरको तीन लाख नगदको पुरस्कार होइन ?’
‘हो ‘
‘दाम हजुरलाई नै खाम मात्रै मलाई हैन र ?’
‘हो ‘
‘अनि फाइदा भएन त ? ‘
‘त्यो त जतिका तत्ति भइगो नि ।’
‘कार्यक्रम सञ्चालन र खाना खर्चसमेत मेरो भाग भन्नुभएको होइन ? ‘
‘गर्नु त हुन्छ नि ।’
‘पुरस्कारको घोषणा त गर्नुहोस् ।’ कविजीले हात ठटाउँदै भने ।

‘लौ त्यसो भए यसपालाको नगद रु तीन लाखसहितको पुरस्कार हजुरलाई नै भयो ।
हजुरलाई पुरस्कार दिलाउन तीनजना सांसदज्यूकै पनि फोन आएको थियो । हजुरसँग कुराकानी नगरी यसरी स्पष्ट नभई कसरी घोषणा गर्ने भनेर रोकिएका थियौँ । अब खुसी हुनुहुन्छ नि ।’
‘हन्ड्रेड पर्सेन्ट । जय साहित्य ।’

कागले पखेँटा फटफटायो र कविजीको टाउकैनिर पुगेर भन्यो ‘ एकपटक फेरि जयसाहित्य भन्नुहोस् त ।’
कविजीले अलमलिँदै सानो स्वरमा भने ‘जय साहित्य’
कागले पखेँटा फटफटाउँदै भन्यो ‘हो त नि ।’

दृश्य तीन

हिजो रातमाटे गाउँमा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम थियो । न्यायिक निकायका ठूलै ओहोदाका मानिस पनि सहभागी उक्त कार्यक्रम निकै भव्यतापूर्वक आयोजना भएको थियो । उच्च ओहोदाका मानिसले धेरै बोले । उनको बोलीको सार थियो गाउँमा भ्रष्टाचारलाई निरुत्साह गर्न कसैले धेरै पैसाको रवाफ देखायो भने ऊसँग स्रोत सोध्नुहोस् । पैसा भएकालाई ठूला मान्न छोड्नुहोस् । काग त्यहाँ पनि थियो । उसले ठूलै स्वरले चिच्यायो ‘हो त नि ।’

कार्यक्रम सकिएर जलपान चल्दै थियो । उच्च ओहोदाका मानिसका कानैमा साउँती गर्न आइपुगे अर्का खाइलाग्दा अनुहार ।
‘यो बाटो पिचको काममा भ्रष्टाचार भो भनेर हजुरकहाँ उजुरी परेको छ नि त्यसको ठेकेदार मै हुँ हजुर ।’
‘अनि त्यस्तो गर्नुहुन्छ त ? अब जाकिने हुनु भयो ।’
‘भाग त हजुरलाई पनि छ त ।’
‘कति लाका छौ ?’
‘दुई ।’
‘त्यसमा एक थप्न सक्छौ ?’
‘हवस् हजुर ।’
‘ल त्यसो भए तिम्रो त्यो उजुरी आजैदेखि निष्क्रिय हुन्छ ।’

काग त्यहाँ पनि थियो । उसले नजिकै उड्दै भन्यो ‘एकपटक सुशासन भन्नुहोस् न ।’
ती महानुभावले भने ‘सुशासन ।’

कागले यसपटक का का का गर्दै भन्यो ‘हो त नि ।’

०००
धादिङ

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad