हरि खनालअकण्टक हुने काइदा
मरेँ भने झन्डा ओढाएर हाम्रो बफादार भन्दै भाषण ठोक्न होला । पर्दैन । म अहिले हिङ भएको टालो होइन, हिङ बाँधेको टालो मात्रै हूँ । अब यसलाई मजाले धुँदैछु । त्यसपछि वासना पनि आउने छैन नि ।

हरि खनाल :
धन्यवाद पाउन पनि भाग्यमा लेखेरै ल्याउनु पर्छ कि क्या हो ? आजसम्म धेरैलाई सल्लाह दिइयो तर धन्यवाद कसैबाट पाइएन । बरू तिम्रा आँखा टेढो भन्नेहरू धेरै भेटिए । सल्लाह दिने कुरा बन्द गर्दै आएको छु । हिजो बिहानचाहिँ नसोचेको कुरा भयो । एकदुईओटा सल्लाहले धन्यवाद भेट्यो । कुरा फेँदैदेखि, शास्त्र वेदैदेखि भन्छन् । अचेल वेदलाई छेदले मिचेको छ । त्यसकारण केही फेदका कुरा गरौँ अनि छेदका कुरा गरौँला ।
कट्टु स्यारेर हिँड्न नसक्दैको अवस्थामा कसैले दिमागमा होली खेलिदियो । केको होली भन्नुहोला रङको । कुन रङको भन्नुहोला, राजनीतिक रङको । नेपालीमा शिक्षकले करणभन्दा ज्यादा अकरण सिकाउनु भयो । कालोपाटीमा गणितको खण्डीकरण गर्दागर्दै नमिलेपछि शिक्षकले राजनीतिको खण्डीकरण सिकाइदिनुभयो । शैक्षिक योग्यताको सट्टा राजनीतिक झोलेको पट्टा पो बन्यो । नाकको प्वालबाट पिलपिल सिँगान झार्दै र तान्दै नारा मन्त्र कण्ठ गरियो । महिनौदेखि एउटै भएकाले धुन नपाएको कट्टभित्र बसेका सेता छट्ट जुम्राहरू हात लाग्यो कि साथ लाग्यो हुन्थे । अग्रजहरूले नारा फलाकुन्जेल कट्टभित्र हात हाल्यो, यसो चिम्टनासाथ एउटा सेतो डाडी हातमा कहीँ नजा । मुर्दावाद भन्ने बेलामा बुढीऔँला र जेठी औँलाको नङले च्याप्यो, अर्को नारा भट्याउन्जेलमा पिटिक्क पार्यो । सेतेका जीउबाट पिच्च निस्केको रगत उसकै ठान्ने त्यो बेलाको मति र अहिले राजनीतिले मुलुकको ढुकुटी दोहन गर्दा उनीहरूकै ठान्ने सोचमा कुनै असमानता भएजस्तो लाग्दैन ।
पढाइलेखाइ गोली मार्, पर्चा पम्पलेट अघि सार् । कस्तो राम्रो सिकाइ ? बाउले खाजा खान दिनुभएका पैसा सुटुक्क लेबी बुझाउने अनि आफ्नो आन्द्राभित्र मुसा कुदाउने । मुसा कुदाउँदा कुदाउँदा आन्द्राभित्र हावा घुसेछ । जिन्दगीभरि बम भनेर पड्केका पड्क्यै छन् । लेबीको कुरा किन सम्झेको भने त्यतिबेला परिवर्तनका लागि राजनीतिको नारा दिनेहरूको पारा सम्झिएर हो। उनीहरूले लेखेका प्रगतिशील नैतिकतालाई गीतापाठ गरेझै गरिन्थ्यो ।
दिमागमा सदाचार र नैतिकताका कुरा भरिन्थ्यो । जनतासँग सियो धागो पनि नलेऊ भनिन्थ्यो । पनि नलेऊ भन्दा अघि मात्रै थप्न त्यति बेला बिर्सेका हुन् कि अचेल मात्र यपिएको हो यो ग्वाँचे दिमागले ठम्याउन सकेको छैन । जेहोस् नारा लगाउने र अनुशासन अनि चरित्रका साहित्य पढ्ने र प्रवचन सुन्ने काम मजैले हुन्थ्यो, त्यतिबेला ।
प्रवाचकहरू भूमिगत थिए बरा । उनीहरूका पनि समस्यै समस्या । भूमिगत हुँदा साथमा कल्कलाउँदा वैँसालु विपरीत लिङ्गी हुँदा रहेछन् । कम्ता दुःख रहेनछ उनीहरूलाई पनि । हामीजस्ता वायुआन्द्रेले पठाएका लेबीबाट प्रवचन दिन पनि जानु पर्ने, वैँसालुहरूसँग सिनेमा हेर्न र रोमान्स गर्न पनि भ्याउनु पर्ने ।
त्यतिका बेफुर्सदी हुँदा पनि किताब लेखेकै थिए । हामीजस्तालाई झोला बोकाएर खोलाटोला चहार्न लगाएकै थिए । उनीहरूले एकदलीय प्रणालीलाई बेजोडले सिध्याए । त्यसलाई सिध्याउन गरेको कामले मलाई मेरो घरको जुरेगोरुको सम्झना गराउँछ । म सानो छँदा मेरो घरमा एउटा जुरेगोरु थियो । त्यसले कहिलेकहीँ सिङ चलाउँथ्यो । एकदिन त थाहै नपाई पछिल्तिरबाट आएर तीन कान्ला पर फालिदियो । मलाई रिस उठिरहेको थियो । एक दिन छिमेकीले पनि त्यस्तै बलियो गोरु किनेर ल्याएछन् । चराउन जाँदा जम्काभेट भयो । हाम्रो जुरे र छिमेकको धौले जुघ्न थाले । त्यहीँ मौका पारेर यामानको लौरी लिएर गएँ र आफ्नै जुरेलाई पछिल्तिरबाट ठोक्न थालेँ । छिमेकी मलाई हेरेर हाँसिरहे । किनभने त्यसो गर्दा मेरो जुरेले होइन उनकै धौलेले जित्यो । उनले त यसो पनि भने- “कान्छो निकै बुद्धिमान् छ ।”
कहिलेकहीँ एकजना दामरेड मकहाँ आउनुहुन्छ । सत्तालाई कसरी अकण्टक बनाउने सल्लाह चाहियो भन्नुहुन्छ । कुनै सल्लाह पनि चित्त बुझाउनु हुन्न । “तँ खालि काम नभएको कुरा गर्छस्, गरेको चाहिँ देख्दैनस् ?” भन्नुहुन्छ ।
हुन त हो नि । मुलुकका लागि उहाँहरूले बहुत गर्नुभएको छ । बहुदल भएन रणतन्त्र पनि चलाइयो । सुतेकालाई हान्यौ, उठेकालाई तान्यौँ । राजनीतिको होलीमा सिसाको गोली मिसियो । लड्ने लडिरह्यौँ, बढ्ने बढिरह्यौँ । कोही लुटी लुटी उठे, कोही लुटी लुटी सुते । सुतेकाहरूको पहाडमा झण्डा र डण्डा गाडिएकै छ । यत्रो संसारमा सबैलाई चारा त कसरी सम्भव छ र ? कसैलाई सपना, कसैलाई विपना । सपना खानेहरू पटुकीले पेटभित्रको वायु ठेल्छन् र कहिल्यै नआउने विपना पर्खिन्छन् । विपना खानेहरूको खाता दातासँग जोडिन्छ । अर्को सुखद परिणाम पनि त आएको छ । हिजोको मजस्तो सिँगानेले लेबी बुझाउनु पर्दैन ।
अहिले त त्यो पटुका कस्नेको करको दर बढेको छ । त्यही कर बुझाउँछ र सपनाको भर गरेर बस्छ । जल व्यवसायी, स्थल व्यवसायी, आकाश व्यवसायी, पाताल व्यवसायी, मान्छे व्यवसायी, भान्छे व्यवसायी, आँसु व्यवसायी, मासु व्यवसायी, तन्तु व्यवसायी, जन्तु व्यवसायी, शिक्षा व्यवसायी, भिक्षा व्यवसायी, बगर व्यवसायी, रहर व्यवसायी, जहर व्यवसायी, कहर व्यवसायी, हलुवा व्यवसायी, मलुवा व्यवसायी, चलुवा व्यवसायी, छलुवा व्यवसायीजस्ता एक से एक व्यवसायीले राजनीतिको झोला बोकेपछि हामीजस्ता हिजोदेखि होस्टे हैसे गरी आएका लुतेलाङ्ग्रेहरूले झोला बिसाउन पाएका छौँ ।
कुरा आगराको गरुँला भन्दाभन्दै गाग्राका ज्यादा भएछ । यसपटक चाहिँ प्रिय दामरेडले मलाई धन्यवाद दिएर जानुभयो । सत्तालाई अकण्टक बनाउन मैले कस्तो मन्त्र दिएँ होला त हजुरहरूलाई अवश्य सुन्ने मन छ । लौ एकचित्त भई पढ्नुहोस् ।
मैले भनेँ- विदेश पठाउन अझै पुगेन । आठकक्षा पास गरेपछि पठाइहाल्ने व्यवस्था मिलाइदिऊँ । सरकारले आधारभूत शिक्षा मात्र हेरे पुग्छ । माध्यमिक शिक्षाको भार बहन गर्नुपर्दैन ।
मैले बोल्दाबोल्दै नेताले बिचमै रोके र सोधे- “सबै जना विदेशका लागि छानिँदैनन् । लैजानेले त स्वस्थ र बलियाबाङ्गा मात्र लैजान खोज्छ । बाँकी बसेकालाई त टेन्सन भइगो नि ।”
मैले जिज्ञासाको समाधान गर्दै भर्ने चिन्ता नगर्नुहोस् । अब म स्वास्थ्यक्षेत्रको पनि खर्च कटाउने सल्लाह दिन्छु । नेपाली आमाहरू गर्भवती हुनासाथ विदेशीहरूलाई गर्भ छेक्ने प्रतिस्पर्धा चलाइदिऊँ । उनीहरू बच्चैदेखि लैजान प्रतिस्पर्धा गर्छन् । गर्भवतीको भुँडी नाप्छन् । बच्चालाई स्वस्थ बनाउन खोप तथा प्रतिरक्षाका उपायमा खर्च गर्छन् । जन्मेपछि पनि लगानी गर्छन् । आधारभूत शिक्षामा पनि लगानी आउँछ । युवायुवती नभएपछि न जुलुस न धर्मार्ता । बुढाबुढी कुत्रुक्क पर्छन्, चर्काए लुत्रुक्क पर्छन्, थाहै हुन्न कतिबेला घुत्रुक्क मर्छन् । सरकारको टेन्सन साफ् । सरकारले त कर मात्रै लगाइदिने । करको भरमा समृद्धि । माफियाहरूसँग दान, चुनावमा हान । मैले भनेपछि दामरेड मुस्कुराए ।
उनले भने- “ठीक छ, राम्रो सल्लाह आयो । तर बाटोघाटो पुलपुलेसो बनाउने काम त सरकारको छँदै छ नि भाइ । कहाँ चुप लागेर कमाइ मात्र गर्न पाइन्छ ?”
“राम्रो बाटो शहर बजारमा देखाउन बनाउने हो । असल मन भएका छिमेकीले सित्तै बनाइदिइहाल्छन् । डोजरे बाटो बर्सेनी बनाउने हो । सबै कार्यकर्तासँग डोजर छँदैछ । सपना खानेहरूसँगको कर र रेमिट्यान्सको भरमा हरेक वर्ष एउटै बाटो बनाको बनायै गरेपछि नन्दीभृङ्गी पनि सन्तुष्ट, हजुरहरू पनि सन्तुष्ट । मैले अधि भनेझैँ गर्भावस्थादेखि नै विदेशीलाई नेपालीको ठेक्का दिएपछि त उनीहरू आफै पनि जहाँतहाँ पुग्नुपर्छ । यसका लागि उनीहरूले आफै बाटो बनाउँछन् । सत्ता अकण्टक बसी बसी” मैले सुझाएँ ।
“आफू ठेकेदार भएकाले हो कि क्या हो, तपाईंको यो गर्भावस्थादेखि नै विदेशीलाई ठेक्का दिने कुरा निकै मन पर्यो । विकास र समृद्धिको चौतर्फी ढोका त यसैले खोल्छ कि क्या हो ।” दामरेडले खुसी हुँदै भने ।
उनी जाने बेलामा थपेँ “यो मेरो अन्तिम सल्लाह हो है । केही भए अहिल्यै भन्नुस् ।”
“किन नि तिमी मर्दै छौ र ?” उनले सहजै प्रश्न गरे।
“मरेँ भने झन्डा ओढाएर हाम्रो बफादार भन्दै भाषण ठोक्न होला । पर्दैन । म अहिले हिङ भएको टालो होइन, हिङ बाँधेको टालो मात्रै हूँ । अब यसलाई मजाले धुँदैछु । त्यसपछि वासना पनि आउने छैन नि ।” उनी मेरो कुरा सुनेर हाँसे । ‘हाम्रो अहिलेको अभियान भनेकै टालो फालो । टालो समृद्धिको सूचक होइन भन्ने हो । तपाईंचाहिँ अलि काम लाग्दै हुनुहुन्छ । आज नै कति राम्रो कुरा गर्नुभयो । जेहोस् तपाईं झोले भएर हिँड्दा मैले मण्डले बनेर पुर्पुरोमा लाठीले बजाएको त सम्झनु भा छैन नि ?” उनले सोधे ।
“मैले सम्झिएको त छैन नै तर बिर्सिएको पनि छैन ।” मैले भनेँ ।
“ए राम्रो” भन्दै उनले हात हल्लाए । अलि पर पुगेर फेरि भने- “वास्तवमा छिमेकी भएर मात्रै पसेको हूँ है । सल्लाह नै लिन चाहिँ होइन तथापि आजको सल्लाहप्रति आभारी छु ।”
०००
धादिङ
समकालीन साहित्य (२०७६)
Subscribe
Login
0 Comments
Oldest







































