साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नमिलेको र्‍याङ्ग ठ्याङ्ग

उनीहरूका शोकमा नेतागणले झण्डा ओढाएर श्रद्धाञ्जली दिएपछि हट्छ । हजुरले सोध्नु भएको वर्ग सारै इमानदार छ । रोग भोक र शोक सबै खपेर पनि चुनाव आएपछि उपरवाला दलका खातिर मरेर लाग्छन् र भोट दिन्छन् ।'

Nepal Telecom ad

हरि खनाल :

यो हप्ता मलाई केही घटनाले अलमलमा पारेको छ । मान्छेहरू भन्छन् यो र्‍याङ्ग र ठ्याङ्ग नमिलेको हो । पुराना पुस्ताले भनेझैँ पहिले बुझ्नै कठिन बुझ्यो झन् कठिन । कसलाई सुनाऊँ खै ? एक मन त लाग्यो स्वस्थानी कथाकी पात्र गोमा स्टाइल गरूँ । गोमा स्टाइल गर्न त फेरि चर्खा उइटा धागो चाहियो । घरको छानो खरको चाहियो त्यो पनि गोठालाले छानोबाट चियाएर वा च्यातेर सुन्ने खालको । गोठाला ? कहाँ पाउने गाई गोठाला ? गाउँमा त पाइन्न शहरमा ? सोचेँ गाडी गोठाला त पाइएला नि । हँ गाडी गोठाला ? गाडी गोठालालाई फुर्सद कहाँ हुन्छ र ?

बत्ती राखेको ठाउँमा त बत्ती बन्द गरेर हात चलाई बस्नुपर्छ । भिआइपि आएर बत्ती कुरेर बस्नु त भएन नि त्यसैले उनीहरू बत्ती निभाउँछन् र हात हल्लाउँदै बस्छन् । मेरो कुरा सुन्न आउँदा सडकमा त हुने नहुने सबै भइसक्छ । मैले गोठालालाई सुनाउने सोच त्याग गरेँ । घरमा सिङ्गै चारजना छौँ । अब यी चारजनालाई सुनाउँछु । सोच बनाएँ तर कुनबेला ? चारैजना घरको चार सुरमा हुन्छन् । त्यो सानो भाँडो हेर्दै ‍औँलाले सार्दै गरिरहेका । त्यो बेलामा त मैले बोलेको त परै जाओस् दश रेक्टर स्केलको भूकम्प गए पनि थाहा पाउँदैनन् । होइन खाना खानेबेलामा सुनाउँछु ।

मैले अर्को विकल्प सोचेँ र खाना खाने बेलामा तयारी गरेँ । अहँ त्यो पनि सम्भव भएन । छोरोले अगिल्तिर गिलासमा आड लगाएर मोबाइल मिलायो । छोरीले कानमा तार कोचिन् । पत्नीले ग्याँस चुलोमा मोबाइल राखिन् र खाना पस्किन थालिन् । बसेर खाने ठाउँमा ऐना छँदैछ । उनी पनि खाना खाने बेलामा ऐनामा हेर्ने भइन् । मैले अवसर पाइन । अब म तपाईंहरूलाई नरनाथको फित्कौलीबाट विस्तार गर्दैछु । वाइफाइ बिग्रेको, मोबाइल मर्मतमा पुगेको, पुरस्कारको चाकडी फलको जोखना हेर्दै गरेको वा अध्ययन गर्ने खराब बानी लागेको कोही न कोही हुनुभए पढ्नुहुन्छ कि भनेर यो धृष्टता गरेको हुँ ।

घटना नं १
केही दिन अघि एकजना विदेशका विद्वान साथी आउनुभएको थियो । नेपालमा भए उहाँलाई डा. रबर्ट भन्नुपर्थ्यो । उहाँ सकभर आफूलाई रबर्ट मात्र भनाउन रूचाउनुहुन्छ । नभनी नहुने भएमात्र पिएचडी भन भन्नुहुन्छ । नेपाली भाषा पनि सजिलै बुझ्ने उहाँ नेपालीमा कुराकानी गर्न मन पराउनुहुन्छ । उहाँ आउनुभएको उपलक्ष्यमा मैले दुईजना छिमेकी विद्वानलाई पनि परिचय गराउन चाहेँ । मेरा छिमेकी विद्वान द्वय नेपालीपन मन पराउनुहुन्छ । कुनै शव्द अङ्ग्रेजीमा भनियो भने आपत्ति प्रकट गर्नुहुन्छ । उहाँ आइपुग्नुहुनासाथ मैले रबर्टलाई चिनाउँदै भनेँ उहाँ वि शम्भु ।

वि भनेको के हो ? रबर्टले सोधे । विद्वान अथवा विद्यावारिधि गर्नुभएको व्यक्तित्व । मैले भनेँ । मेरा छिमेकीले राता राता आँखा बनाउनुभयो । मैले चुकेको कुरा पत्ता लगाएँ र भनीहालेँ माफ गर्नुहोला उहाँ डाक्टर शम्भु । यसो भन्दा शम्भुको अनुहारमा उज्यालोपन देखियो तर रबर्टको अनुहारमा अनौठोपन देखियो ।

‘डाक्टर ? मलाई बिहानदेखि असहज भइरहेको छ । कतै रक्तचाप बढ्यो कि जस्तो छ । एकपटक हेर्न भनिदिनुस् न ।’ त्यसपछि त रबर्टको मात्र होइन मेरो र डाक्टर शम्भु दुबैको रक्तचाप बढ्यो । अब मैले अर्का एकजनालाई पनि चिनाउनु थियो तर कसरी चिनाउने । डाक्टर अजय थिए । संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गरेका । उनी पनि नेपालीपन मन पराउँछन् तर विभूषणचाहिँ डाक्टर नै चाहिन्छ । अजयलाई खुसी पार्ने कि रबर्टलाई । म दुविधामा थिएँ । बीचको बाटो निकाल्दै भने- उहाँ महाविद्वान कविराज अजय ।

महाविद्वान भन्नासाथ अजयले नाक खुम्च्याए । रबर्ट पनि कहाँ कम थिए र ? उनले भनिदिए ‘मलाई यो व्रह्माण्डको उत्पत्ति र भविष्यका बारेमा जान्नु छ, के तपाईं त्यसका बारेमा व्याख्या गर्न सक्नुहुन्छ ?’ अजयको अनुहारमा चिटचिट पसिना देखियो । त्यसपछि के भयो नभनूँ वा पछि भनूँला ।

घटना नं २
डाक्टर काण्ड भएको भोलिपल्ट रबर्टलाई लिएर एउटा स्कुलमा गएँ । आश्चर्य विद्यालयका कक्षाकोठा सुनसान थिए । कताकता माइकबाट चर्को स्वर सुनियो । हामी त्यतै गयौँ । त्यहाँ त एउटा राजनीतिक दलको कार्यक्रम रहेछ ।शिक्षक र विद्यार्थी सबै त्यहीँ थिए । रबर्ट सोध्छ ‘के यो पनि सिकाइ क्रियाकलाप हो ?’ हो भनूँ कि होइन भनूँ म पनि धर्मशङ्कटमा परेँ । जे पर्छ पर्छ भनेर हो भनिदिएँ ।

‘कसरी ?’ रबर्टले मेरो गिदी छड्काइदियो । मैले यसो भनेँ ‘हे मित्र ! हामी राजनीतिको युगमा छौँ । हामीकहाँ अहिले राजनीतिक दल र जनताको अनुपात मिलेको छैन । पौने तीन करोड जनतामा लगभग १०० मात्रै राजनीतिक दल छ । अनुपात उच्च भएन त ? यसलाई सकेसम्म घटाउने योजना छ ।’

‘पौने दुई लाख बराबर एक दल त भइसक्यो नि । किन चाहियो अरू ? ‘ प्रश्नै त हो गरिहाले उनले ।
‘चाहियो । हाम्रो सङ्घीयता बलियो बनाउनु छ । मित्र राष्ट्रहरूसँग सन्तुलन कायम गर्नु छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त हाम्रो स्रोतसाधनले लेखपढ गराउन भन्दा यस्तै बनाउन काम गर्छ । अझ रमाइलो कुरा त हाम्रो बजारको माग नै यस्तै छ ।’ मैले फर्माएँ ।

किन मान्थे उनले मेरो कुरा । राताराता आँखा बनाउँदै सोधे । ‘तिम्रो देशलाई वैज्ञानिक नचाहिने ? तिम्रो देशमा साँच्चिकै डाक्टर इञ्जिनियर शिक्षक सीपयुक्त कालिगढ नचाहिने ? तिम्रो देशलाई उद्योगधन्दा कलकारखाना नचाहिने ? तिम्रो देशको उच्च शिक्षामा पनि यस्तै हुन्छ होला हैन ?’

उनका प्रश्नपछिका प्रश्नले हैरान भएको भए पनि उनी मेरो पाहुना थिए । म बाध्य थिएँ उनका प्रश्न सुन्न र जवाफ दिन । मैले भनेँ ‘यी सबै कुरा नचाहिने ।’ प्रश्नको जवाफ खस्न नपाउँदै उनी बाह्रमाथि उफ्रिए र सोधे ‘किन ?’

हाम्रो उद्योगधन्दा चीन र भारतमा । त्यहाँबाट नपुगेको तिम्रो जस्तो देशमा । हामीकहाँ डाक्टर र अस्पताल पनि यहाँ नचाहिने । बाडुल्की लागे पनि हाम्राे नेतृत्वगण कि भारत कि चीन । वैज्ञानिक झनै नचाहिने । वैज्ञानिक भए भने ती बहुलाउँछन् ।

‘अनि तिमीहरूले राजनीति पढाएका सबै राजनीतिमा अटाउँछन् त ? अनि ती सबैले राजनीतिक रोजगारी पाउँछन् ?’
यसपटक झनै अजङ्गको प्रश्न सोधिदिए रबर्टले । मैले भनेँ ‘राजनीति पढाएको सबै कहाँ टिक्छन् र महोदय ? त्यहाँ पनि ड्रप आउट हुन्छ । अलि जेहेन्दारहरू बस्न चाहँदैनन् । तिनीहरूमध्ये केही खाडी मुलुक त केही युरोप अमेरिका र अष्ट्रेलियातिर पुग्छन् ।’

‘अनि बसेकाले के गर्छन् नि ?’
प्याच्च बीचमा बोल्ने र सोध्ने रबर्टको वानीले अर्को प्रश्न गर्‍यो ।
‘बसेकामध्ये धेरैले रालसिँगान चुहाउने, अर्काले बोकेर र डोर्‍याएर तलमाथि गराउनुपर्ने चतुर नेताहरूको सेवा गर्छन् । त्यसो गरेबापत कसैले टिकट पाउँछन् त कसैले डोजर सोजर किनेर राख्छन् । गाउँघरमा मानिस नै नभएका स्थानमा पनि डोजर चलाउँछन् र बिल मिलाउँछन् । कतिले नेता महोदयहरूको भाषणका बेलामा ताली बजाउने र झोला बोकिदिएर सेवा गर्ने गर्छन् ।’

‘हैन त्यो भन्दा बाहिर रहेका मानिस हुँदैनन् र भन्या ?’ बाठो रबर्टले अर्को चतुर प्रश्न गरे।
‘हुन्छन् हजुर । तर ती निकै सिधा खालका हुन्छन् । तिनीहरूका घरघरमा एउटा एउटा दलले स्टिकर टाँसिदिएको हुन्छ । तिनीहरू त्यो स्टिकरलाई कुलदेवताजस्तै मानेर भक्तिभाव गर्छन् ।’ मैले भने ।

‘तिनीहरूको भोक, रोग र शोक हुँदैन ?’ यहाँको सारा कुरा बुझेको रबर्टले अर्को प्रश्न बर्साए ।
‘भोक हुन्छ तर पटुकी कसेर सहन्छन् । उपचार गर्न पाए गर्छन् नपाए मर्छन् अनि शोक त हुने नै भयो । उनीहरूका शोकमा नेतागणले झण्डा ओढाएर श्रद्धाञ्जली दिएपछि हट्छ । हजुरले सोध्नु भएको वर्ग सारै इमानदार छ । रोग भोक र शोक सबै खपेर पनि चुनाव आएपछि उपरवाला दलका खातिर मरेर लाग्छन् र भोट दिन्छन् ।’

मेरा कुरा सुनेर रबर्ट पेट मिची मिची हाँस्न थाले । उनले एउटै शव्द भने यू आर द ग्रेट । यू मिन्स यू अल । तर एउटा कुरा पक्‍का ।’
‘के पक्का ? ‘ मैले पनि उनकै शैलीमा सोधेँ ।
‘तिम्रो देश बन्दैन ।’ उनले हात ठटाउँदै भने ।
मैले पनि हात ठटाउँदै जवाफ दिएँ ‘हामीलाई देश बनाउनु पनि छैन ।’
ऊ अझै जोडले हाँस्यो र भन्यो ‘मैले तिमीहरूको विशेषताहरूमा थप एक विशेषता पहिचान गरेँ । यसलाई मेरै देशमा लगेर सार्वजनिक गर्छु ।’

रबर्टको यसपटकको भ्रमणमा उसको र मेरो र्‍याङ र ठ्याङ केहीमा मिलेन । यस्ता घटना अझै धेरै छन् आज दुई अध्याय मात्र सुनाएँ । बाँकी रोचक घटना समयले साथ दियो भने विस्तार गरम्ला क्यारे । आजलाई मलाई बाइ भनिदिनुहोस् न ल ।

०००
धादिङ

कार्टुन श्राेत : कान्तिपुर दैनिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x