सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नमिलेको र्‍याङ्ग ठ्याङ्ग

उनीहरूका शोकमा नेतागणले झण्डा ओढाएर श्रद्धाञ्जली दिएपछि हट्छ । हजुरले सोध्नु भएको वर्ग सारै इमानदार छ । रोग भोक र शोक सबै खपेर पनि चुनाव आएपछि उपरवाला दलका खातिर मरेर लाग्छन् र भोट दिन्छन् ।'

Nepal Telecom ad

हरि खनाल :

यो हप्ता मलाई केही घटनाले अलमलमा पारेको छ । मान्छेहरू भन्छन् यो र्‍याङ्ग र ठ्याङ्ग नमिलेको हो । पुराना पुस्ताले भनेझैँ पहिले बुझ्नै कठिन बुझ्यो झन् कठिन । कसलाई सुनाऊँ खै ? एक मन त लाग्यो स्वस्थानी कथाकी पात्र गोमा स्टाइल गरूँ । गोमा स्टाइल गर्न त फेरि चर्खा उइटा धागो चाहियो । घरको छानो खरको चाहियो त्यो पनि गोठालाले छानोबाट चियाएर वा च्यातेर सुन्ने खालको । गोठाला ? कहाँ पाउने गाई गोठाला ? गाउँमा त पाइन्न शहरमा ? सोचेँ गाडी गोठाला त पाइएला नि । हँ गाडी गोठाला ? गाडी गोठालालाई फुर्सद कहाँ हुन्छ र ?

बत्ती राखेको ठाउँमा त बत्ती बन्द गरेर हात चलाई बस्नुपर्छ । भिआइपि आएर बत्ती कुरेर बस्नु त भएन नि त्यसैले उनीहरू बत्ती निभाउँछन् र हात हल्लाउँदै बस्छन् । मेरो कुरा सुन्न आउँदा सडकमा त हुने नहुने सबै भइसक्छ । मैले गोठालालाई सुनाउने सोच त्याग गरेँ । घरमा सिङ्गै चारजना छौँ । अब यी चारजनालाई सुनाउँछु । सोच बनाएँ तर कुनबेला ? चारैजना घरको चार सुरमा हुन्छन् । त्यो सानो भाँडो हेर्दै ‍औँलाले सार्दै गरिरहेका । त्यो बेलामा त मैले बोलेको त परै जाओस् दश रेक्टर स्केलको भूकम्प गए पनि थाहा पाउँदैनन् । होइन खाना खानेबेलामा सुनाउँछु ।

मैले अर्को विकल्प सोचेँ र खाना खाने बेलामा तयारी गरेँ । अहँ त्यो पनि सम्भव भएन । छोरोले अगिल्तिर गिलासमा आड लगाएर मोबाइल मिलायो । छोरीले कानमा तार कोचिन् । पत्नीले ग्याँस चुलोमा मोबाइल राखिन् र खाना पस्किन थालिन् । बसेर खाने ठाउँमा ऐना छँदैछ । उनी पनि खाना खाने बेलामा ऐनामा हेर्ने भइन् । मैले अवसर पाइन । अब म तपाईंहरूलाई नरनाथको फित्कौलीबाट विस्तार गर्दैछु । वाइफाइ बिग्रेको, मोबाइल मर्मतमा पुगेको, पुरस्कारको चाकडी फलको जोखना हेर्दै गरेको वा अध्ययन गर्ने खराब बानी लागेको कोही न कोही हुनुभए पढ्नुहुन्छ कि भनेर यो धृष्टता गरेको हुँ ।

घटना नं १
केही दिन अघि एकजना विदेशका विद्वान साथी आउनुभएको थियो । नेपालमा भए उहाँलाई डा. रबर्ट भन्नुपर्थ्यो । उहाँ सकभर आफूलाई रबर्ट मात्र भनाउन रूचाउनुहुन्छ । नभनी नहुने भएमात्र पिएचडी भन भन्नुहुन्छ । नेपाली भाषा पनि सजिलै बुझ्ने उहाँ नेपालीमा कुराकानी गर्न मन पराउनुहुन्छ । उहाँ आउनुभएको उपलक्ष्यमा मैले दुईजना छिमेकी विद्वानलाई पनि परिचय गराउन चाहेँ । मेरा छिमेकी विद्वान द्वय नेपालीपन मन पराउनुहुन्छ । कुनै शव्द अङ्ग्रेजीमा भनियो भने आपत्ति प्रकट गर्नुहुन्छ । उहाँ आइपुग्नुहुनासाथ मैले रबर्टलाई चिनाउँदै भनेँ उहाँ वि शम्भु ।

वि भनेको के हो ? रबर्टले सोधे । विद्वान अथवा विद्यावारिधि गर्नुभएको व्यक्तित्व । मैले भनेँ । मेरा छिमेकीले राता राता आँखा बनाउनुभयो । मैले चुकेको कुरा पत्ता लगाएँ र भनीहालेँ माफ गर्नुहोला उहाँ डाक्टर शम्भु । यसो भन्दा शम्भुको अनुहारमा उज्यालोपन देखियो तर रबर्टको अनुहारमा अनौठोपन देखियो ।

‘डाक्टर ? मलाई बिहानदेखि असहज भइरहेको छ । कतै रक्तचाप बढ्यो कि जस्तो छ । एकपटक हेर्न भनिदिनुस् न ।’ त्यसपछि त रबर्टको मात्र होइन मेरो र डाक्टर शम्भु दुबैको रक्तचाप बढ्यो । अब मैले अर्का एकजनालाई पनि चिनाउनु थियो तर कसरी चिनाउने । डाक्टर अजय थिए । संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गरेका । उनी पनि नेपालीपन मन पराउँछन् तर विभूषणचाहिँ डाक्टर नै चाहिन्छ । अजयलाई खुसी पार्ने कि रबर्टलाई । म दुविधामा थिएँ । बीचको बाटो निकाल्दै भने- उहाँ महाविद्वान कविराज अजय ।

महाविद्वान भन्नासाथ अजयले नाक खुम्च्याए । रबर्ट पनि कहाँ कम थिए र ? उनले भनिदिए ‘मलाई यो व्रह्माण्डको उत्पत्ति र भविष्यका बारेमा जान्नु छ, के तपाईं त्यसका बारेमा व्याख्या गर्न सक्नुहुन्छ ?’ अजयको अनुहारमा चिटचिट पसिना देखियो । त्यसपछि के भयो नभनूँ वा पछि भनूँला ।

घटना नं २
डाक्टर काण्ड भएको भोलिपल्ट रबर्टलाई लिएर एउटा स्कुलमा गएँ । आश्चर्य विद्यालयका कक्षाकोठा सुनसान थिए । कताकता माइकबाट चर्को स्वर सुनियो । हामी त्यतै गयौँ । त्यहाँ त एउटा राजनीतिक दलको कार्यक्रम रहेछ ।शिक्षक र विद्यार्थी सबै त्यहीँ थिए । रबर्ट सोध्छ ‘के यो पनि सिकाइ क्रियाकलाप हो ?’ हो भनूँ कि होइन भनूँ म पनि धर्मशङ्कटमा परेँ । जे पर्छ पर्छ भनेर हो भनिदिएँ ।

‘कसरी ?’ रबर्टले मेरो गिदी छड्काइदियो । मैले यसो भनेँ ‘हे मित्र ! हामी राजनीतिको युगमा छौँ । हामीकहाँ अहिले राजनीतिक दल र जनताको अनुपात मिलेको छैन । पौने तीन करोड जनतामा लगभग १०० मात्रै राजनीतिक दल छ । अनुपात उच्च भएन त ? यसलाई सकेसम्म घटाउने योजना छ ।’

‘पौने दुई लाख बराबर एक दल त भइसक्यो नि । किन चाहियो अरू ? ‘ प्रश्नै त हो गरिहाले उनले ।
‘चाहियो । हाम्रो सङ्घीयता बलियो बनाउनु छ । मित्र राष्ट्रहरूसँग सन्तुलन कायम गर्नु छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त हाम्रो स्रोतसाधनले लेखपढ गराउन भन्दा यस्तै बनाउन काम गर्छ । अझ रमाइलो कुरा त हाम्रो बजारको माग नै यस्तै छ ।’ मैले फर्माएँ ।

किन मान्थे उनले मेरो कुरा । राताराता आँखा बनाउँदै सोधे । ‘तिम्रो देशलाई वैज्ञानिक नचाहिने ? तिम्रो देशमा साँच्चिकै डाक्टर इञ्जिनियर शिक्षक सीपयुक्त कालिगढ नचाहिने ? तिम्रो देशलाई उद्योगधन्दा कलकारखाना नचाहिने ? तिम्रो देशको उच्च शिक्षामा पनि यस्तै हुन्छ होला हैन ?’

उनका प्रश्नपछिका प्रश्नले हैरान भएको भए पनि उनी मेरो पाहुना थिए । म बाध्य थिएँ उनका प्रश्न सुन्न र जवाफ दिन । मैले भनेँ ‘यी सबै कुरा नचाहिने ।’ प्रश्नको जवाफ खस्न नपाउँदै उनी बाह्रमाथि उफ्रिए र सोधे ‘किन ?’

हाम्रो उद्योगधन्दा चीन र भारतमा । त्यहाँबाट नपुगेको तिम्रो जस्तो देशमा । हामीकहाँ डाक्टर र अस्पताल पनि यहाँ नचाहिने । बाडुल्की लागे पनि हाम्राे नेतृत्वगण कि भारत कि चीन । वैज्ञानिक झनै नचाहिने । वैज्ञानिक भए भने ती बहुलाउँछन् ।

‘अनि तिमीहरूले राजनीति पढाएका सबै राजनीतिमा अटाउँछन् त ? अनि ती सबैले राजनीतिक रोजगारी पाउँछन् ?’
यसपटक झनै अजङ्गको प्रश्न सोधिदिए रबर्टले । मैले भनेँ ‘राजनीति पढाएको सबै कहाँ टिक्छन् र महोदय ? त्यहाँ पनि ड्रप आउट हुन्छ । अलि जेहेन्दारहरू बस्न चाहँदैनन् । तिनीहरूमध्ये केही खाडी मुलुक त केही युरोप अमेरिका र अष्ट्रेलियातिर पुग्छन् ।’

‘अनि बसेकाले के गर्छन् नि ?’
प्याच्च बीचमा बोल्ने र सोध्ने रबर्टको वानीले अर्को प्रश्न गर्‍यो ।
‘बसेकामध्ये धेरैले रालसिँगान चुहाउने, अर्काले बोकेर र डोर्‍याएर तलमाथि गराउनुपर्ने चतुर नेताहरूको सेवा गर्छन् । त्यसो गरेबापत कसैले टिकट पाउँछन् त कसैले डोजर सोजर किनेर राख्छन् । गाउँघरमा मानिस नै नभएका स्थानमा पनि डोजर चलाउँछन् र बिल मिलाउँछन् । कतिले नेता महोदयहरूको भाषणका बेलामा ताली बजाउने र झोला बोकिदिएर सेवा गर्ने गर्छन् ।’

‘हैन त्यो भन्दा बाहिर रहेका मानिस हुँदैनन् र भन्या ?’ बाठो रबर्टले अर्को चतुर प्रश्न गरे।
‘हुन्छन् हजुर । तर ती निकै सिधा खालका हुन्छन् । तिनीहरूका घरघरमा एउटा एउटा दलले स्टिकर टाँसिदिएको हुन्छ । तिनीहरू त्यो स्टिकरलाई कुलदेवताजस्तै मानेर भक्तिभाव गर्छन् ।’ मैले भने ।

‘तिनीहरूको भोक, रोग र शोक हुँदैन ?’ यहाँको सारा कुरा बुझेको रबर्टले अर्को प्रश्न बर्साए ।
‘भोक हुन्छ तर पटुकी कसेर सहन्छन् । उपचार गर्न पाए गर्छन् नपाए मर्छन् अनि शोक त हुने नै भयो । उनीहरूका शोकमा नेतागणले झण्डा ओढाएर श्रद्धाञ्जली दिएपछि हट्छ । हजुरले सोध्नु भएको वर्ग सारै इमानदार छ । रोग भोक र शोक सबै खपेर पनि चुनाव आएपछि उपरवाला दलका खातिर मरेर लाग्छन् र भोट दिन्छन् ।’

मेरा कुरा सुनेर रबर्ट पेट मिची मिची हाँस्न थाले । उनले एउटै शव्द भने यू आर द ग्रेट । यू मिन्स यू अल । तर एउटा कुरा पक्‍का ।’
‘के पक्का ? ‘ मैले पनि उनकै शैलीमा सोधेँ ।
‘तिम्रो देश बन्दैन ।’ उनले हात ठटाउँदै भने ।
मैले पनि हात ठटाउँदै जवाफ दिएँ ‘हामीलाई देश बनाउनु पनि छैन ।’
ऊ अझै जोडले हाँस्यो र भन्यो ‘मैले तिमीहरूको विशेषताहरूमा थप एक विशेषता पहिचान गरेँ । यसलाई मेरै देशमा लगेर सार्वजनिक गर्छु ।’

रबर्टको यसपटकको भ्रमणमा उसको र मेरो र्‍याङ र ठ्याङ केहीमा मिलेन । यस्ता घटना अझै धेरै छन् आज दुई अध्याय मात्र सुनाएँ । बाँकी रोचक घटना समयले साथ दियो भने विस्तार गरम्ला क्यारे । आजलाई मलाई बाइ भनिदिनुहोस् न ल ।

०००
धादिङ

कार्टुन श्राेत : कान्तिपुर दैनिक

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा