सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सेक्सुयल ह्यारसमेन्ट

म झसङ्ग भएँ र झल्याँस्स बिउझैँ पनि । मेरो शरीर लुगलुग काँपिरहेको रहेछ । मोबाइल खोजेँ । सोच्दैछु अब धेरैसँग अनफ्रेन्ड हुनुपर्‍यो तर अनफ्रेन्ड हुनुसँग समातिनु पर्ने कुनै अपराध पो छ कि म सोधखोजकै क्रममा छु ।

Nepal Telecom ad

विहान उठेर हातमुख धुँदै के थिएँ पाँचजना प्रहरी आइपुगे । सोचेँ यी कतै जाने बाटो सोध्न आएका होलान् । तर मेरो सोचले पूर्णविराम नपाउँदै नेल निकालेर भने हिँड्नुहोस् प्रहरीचौकीतिर । इन्सपेक्टर साहेब ! म किन जाने चौकीमा भन्नुस् त ?

गर्ने बेलामा मनपरी गर्ने अहिले किन जाने भन्ने ?  अपराध गर्नुभएको छ, तपाइँमाथि उजुरी छ । इन्सपेक्टर च्याँठ्ठिए ।

तपाइँमाथि सेक्सुयल ह्यारसमेन्ट गरेको आरोप छ । इन्सपेक्टरले भने ।

सेक्सुयल ह्यारसमेन्ट ? कसको ?  किन गर्ने मैले त्यस्तो ?

एकजना होइन पाँच पाँचजनाको उजुरी छ । इन्पेक्टरले तस्विर देखाए । मैले त बुझ्ने सकिनँ । ती तस्विरमा देखिएका महिलासँग कहीँकतै भेटेजस्तो लागेन । प्रहरीको आदेश जानै पर्‍यो । मेरी पत्नी चिच्याई ‘ए अरूसँग पो पल्केका छौ, त्यही भएर रातिराति आउँदा रहेछौ । कविता गाउने ? गजल गाउने ? शनिवारका दिन पनि कार्यक्रममा जाने ? यो सबै बहाना पो रहेछ । खै खै इन्सपेक्टर साहेब ती कस्ता कस्ता बाइफाले रहेछन् हेरूँ ?’  पत्नी इन्सपेक्टरको हातको मोबाइल हेर्न आइपुगिन् । इन्पेक्टर डराएर थुरथुर काँप्न थाले । मोबाइल भुइँमा झर्‍यो । काँपिरहेका इन्सपेक्टरलाई नजिकै रहेका असइले समाते ।

‘इन्सपेक्टर साहेब किन काँप्नुभएको ? म जस्तो निरपराधलाई समात्नु परेर हो ?’ मैले सोधेँ ।

‘हैन, हेर्नुस् न तपाइँकी जहान मेरो हातै समात्न आइपुग्नुभयो । मेरो मोबाइल खोस्न खोज्नुभएको हो कि भनेर उहाँको हात मैले पनि तानेँ । अब इन्सपेक्टरले सेक्सुयल ह्यारसमेन्ट गर्‍यो भनेर उजुरी हाल्नुभयो भने त मेरो जागिरै चट् भएन र ?’

‘यस्तो पनि हुन्छ र हजुर ?’ मेरी पत्नीले सोधिन् ।

‘यहाँ नहुने भन्ने केही छैन । ए केटा हो तिमीहरूले अघि उहाँले मोबाइल तान्दा फोटो त खिचेका छैनौ ?’

‘श्यामेले खिचेको छ सर ।’

‘किन खिचेको त ?’

‘भोलिपर्सि हजुरले ज्यादा पेल्नुभयो भने ठीक पार्न रे सर ।’ जवानले उत्तर दिए । ती सवाल जवाफका बीच मलाई चौकीतिर लगे । चौकी पुगेपछि थाहा भयो मैले कसरी सेक्सुयल ह्यारसमेन्ट गरेँ भनेर । आरोप नं १ पाँचजना लेखक महिलाको प्रोफाइल तस्विरमा लाइक गरेर मनोभावसँग खेल्ने गरेको  । आरोप नं २: एकजना महिलाको अपडेट भएको तस्विरमा सुन्दर तस्विर हजुर भनेर कमेन्ट गरी मनोवैज्ञानिक तवरले अश्लिल हर्कत गरेको । आरोप नं ३:  एक साता अघि सुनाएको कवितामा सरितामा डुबेँ भन्ने शव्द परेको र त्यो शव्दले सभामा उपस्थित सरितादेवीको आत्मसम्मानमा चोट पुगेको । म ती आरोप सुनेर प्रतिक्रियाविहीन भएँ ।

मेरै छेउमा अर्का मैजस्ता आरोपित युवक थिए । मैले उनको आरोप पनि सुनेँ । आरोप नं १: सार्वजनिक बसमा यात्रा गर्दा उनी बसिरहेको छेउमा एकजना अर्धवयस्क महिला आउनुभयो । उहाँलाई आमा हजुर बस्नुस् न भनेर सिट छोडेछन् उनले । आफू यौवन अवस्थाकीलाई आमा भनेर जेन्डर ह्यारेसमेन्ट गरेको आरोप रहेछ उनमा ।

तेस्रा युवक भेटिए मै जस्तो अपराधी करार भएका । एक युवतीले उजुरी दिएकी रहिछन् । साँझ सातबजे चक्रपथबाट उनलाई युवकले मोटरसाइकलमा चढाएर कलङ्कीसम्म पुर्‍याएर सेक्सुयल ह्यारसमेन्ट गरेको रे । विचरो युवकले प्रतिवाद गर्दै भन्यो ‘हैन हजुर मेरो भाइ विरामी छ मनमोहन अस्पतालमा । मलाई चाँडो जानु छ भनेर बाइकमा लिफ्ट मागेपछि चढाएको हुँ ।’

इन्सपेक्टरले चर्को स्वरमा भने ‘तेरो कुरा पत्याउन तँ  ती महिला होस् ? ‘

चौथो अधवैँसे पनि अपराधीका रूपमा गिरफ्तार भएका रहेछन् । हैन मेरो पनि काका जस्ता मानिसले के गरेको आरोप छ त ?  मेरो ध्यान त्यतातिर खिचियो । प्रहरी असइले भने ‘तपाईं अस्ति वनभोज जानुभएको हो  ?’

‘हो हजुर’

‘ नाच्नुभएको हो ?’

‘ हो हजुर’

‘महिलाको हात समाउनुभएको हो ?’

‘ खै हजुर ? मैले त जानी जानी हात समाएको याद छैन । ‘

‘यो के हो त ? ‘ इन्सपेक्टरले फोटो देखाउँदै सोधे । मैले पनि हेरेँ । वास्तवमा नाच्दा उनले एकजना महिलाको हातसँग हात छुवाएका रहेछन् ।

‘हजुर नाच्दा त यसो छोइजाइन्छ नि । मैले जानी जानी होइन यो त नाचको आइटम न हो । ‘

‘चुप्, महिलासँग नाच्ने ? त्यो पनि अरिले काँडेले भन्ने भाकामा हो कि क्या हो ? ‘ इन्सपेक्टर चिच्याए ।

‘होइन हजुर धान गोड्ने बेला भो भन्ने गीतमा हो ।’

‘ए गोडिस् बूढा धान् अब ।’ इन्पेक्टरले उनलाई धकेल्दै भने । महिला प्रहरी आएर इन्सपेक्टरको छेउमा उभिए । इन्सपेक्टर बेसरी चिच्याए ‘मैले तिमीहरूलाई मेरो छेउमा नआओ भनेर कति भनिसकेँ । किन नटेरेका ? केटा हो क्यामरा अफ ।’

‘क्यामरा अफ भएर के गर्ने सर । सिसिटिभि अन छ ।’ एक जवानले भने ।

‘यो के हुँदैछ ?’ इन्सपेक्टर आची नै निस्कने गरी कराए । म झसङ्ग भएँ र झल्याँस्स बिउझैँ पनि । मेरो शरीर लुगलुग काँपिरहेको रहेछ । मोबाइल खोजेँ । सोच्दैछु अब धेरैसँग अनफ्रेन्ड हुनुपर्‍यो तर अनफ्रेन्ड हुनुसँग समातिनु पर्ने कुनै अपराध पो छ कि म सोधखोजकै क्रममा छु ।

अस्तु ।

०००

धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा