हरि खनालठूला मानिस
सधैँ सुशासनको पक्षमा व्यङ्ग्य वाण चलाउने लेखक । लेखन र लेखकत्व राजनीतिभित्र छिराउने र राजनीतिको आशीर्वाद लिनेहरू लेखक नामका बुख्याँचा हुन् भनेर लेख्ने ठूला लेखक ।

हरि खनाल :
आजभोलि मैले निकै ठूला मान्छेहरूसँग सङ्गत गर्ने अवसर पाएको छु । एकजना त्यस्तै ठूला मान्छेको भनाइमा यो मेरो सात जन्मको पुण्यको प्रभाव हो अरे । यस्तो ठूलो पुण्यको फल तपाईंहरूलाई नसुनाइ म कसरी रहन सक्छु । एकाध सङ्गतका क्षणहरू प्रस्तुत गर्छु ।
श्रृङ्खला एक
हिजो एकजना विद्वान लेखकको पुस्तक विमोचन थियो । तीनचार वर्ष अघि नै प्रकाशन भएको भएपनि लेखक आफैँ ठूला मानिस भएकाले हिजो पनि त्यसको विमोचन राखिएको रहेछ । ‘यो पुस्तक त धेरैपटक विमोचन भइसक्यो हैन र ?’ मैले प्रश्न पूरा गर्न नपाउँदै उनले अनुहारलाई सुनपाती मुद्राबाट गोलभेडा मुद्रामा रुपान्तरण गरे । ‘चर्चित र ठूला लेखकको विमोचन धेरैपटक हुन्छ । चर्चित र ठूलो परियोजना भएकाले मेलम्चीको उद्घाटन पटक पटक भएको जानकारी छैन ?’ ठूला लेखकले मलाई मुखभरि र पेटभरिका जवाफ दिए । म पनि छिनमै पानी भएँ किनभने उनले दिएका उदाहरण नै सशक्त थियो । ठूला लेखकको ठूलो पुस्तकको विमोचन चानचुने व्यक्तिले गर्ने कुरै भएन । एकजना जल्दाबल्दा मन्तरीज्यू आउनुहुने रहेछ । बिहान ११ बजे शुरु गर्ने भनिएको कार्यक्रम साढे बाह्र बजेसम्म पनि शुरु भएन । यो चञ्चले मुख फेरी आँ गर्नपुगेछ थाहै नपाई बोलिहालेँ ‘हैन समय त डेढ घण्टा पो गइसक्यो त ?’
ठूला मान्छे लेखक फेरि मतिर फर्किएर हाँसे । उनको हाँसो चलचित्रमा सुनिएको रावणको जस्तो थियो । माफ गर्नुहोला भन्नुपर्ने थियो भगवान विष्णु र शिवको जस्तो तर के गर्ने उहाँहरू त्यसरी हाँसेको कतै वणर्न छैन । आफूले पढेको र हेरेकोमा सबैभन्दा ठूलो रावणकै हो त्यही उदाहरण दिएँ । हाँसोलाई सङ्गीत बनाएपछि उनी बोले ‘भाइ ! तिमी सिकारु लेखक रहेछौ । लेखक मात्रै सिकारु हो र नागरिक पनि सिकारु ।’
‘कसरी हजुर ?’ मैले प्रश्न गरेँ ।
‘तिम्रो समय र ठूला मान्छेको समय एउटै हुन्छ भाइ ?’
‘भनेपछि ठूला मानिसका लागि सधैँ बिहान उदाउने र साँझमा अस्ताउने घाम पनि अर्कै छन् होला हकि महोदय ?’ मैले पनि एउटा प्रश्न गरिहालेँ । उनको अनुहार झनै रातो भयो । उनले भने ‘हो फरक हुन्छ । तिमीले नबुझेका र नदेखेका मात्र हौ । ठूला भनेका ठूला हुन् भन्ने कुरा पनि अहिलेसम्म मष्तिष्कमा नघुसेका तिमी सिकारु नभएर के हौ त ? हैन तिमीले नेपाली नागरिकता पनि लिएका छैनौ कि कसो ?’
‘यो कुरासँग नेपाली नागरिकताको के सम्बन्ध हजुर ?’
‘किन छैन मजाले छ । नागरिकता लिने भनेको परिपक्व भएँ अब मुलुक बुझ्न सक्ने भएँ भनेर लिने हो । तिमीले त केही बुझेका रहेनछौ । यहाँ बस्ने अनि घडी हेरेर समयको कुरा गर्ने कुरा आम आचारसंहिता विरोधी कुरा हो । तिमीमा आम नागरिकमा हुनुपर्ने गुण विकास नभएको देखियो बाबै ?’ ठूला लेखकले अझै झपारे ।
भित्र भित्र उनको कुराले रिस त उठेकै थियो तर बाहिर निकालिन आखिर सानो लेखक अझ उनको परिभाषामा त नागरिक नै नभइसकेको मान्छे । उनले भनेको कुरा एक मानेमा सही पनि थियो । उनलाई जस्तो परिपक्वता आएको भए मेरो पुस्तक पनि प्रकाशन नहुँदै पुरष्कृत हुने सूचीमा पर्दथ्यो नि । म पनि उनीजस्तै ठूलाको झोले बन्ने थिएँ होला नि । खैर जे होस् ।
११ बजे भनेको कार्यक्रम ठ्याक्कै एक बजे शुरु भयो । मन्तरीज्यूले उद्घाटन र विमोचन गर्नुभयो । केहीबेर विपक्षी दलको विरोधमा शब्द खर्चिनु भयो मन्तरीज्यूले । त्यसपछि आफू राति मात्र सुत्ने दिनभरि जागरुक रहेको, चौबीसै घण्टा देश र जनताका लागि कान खोलेर बस्ने गरेको, खाँदा र पिउँदा पनि जनतालाई सम्झिने गरेको, मुलुकमा अझैँ कुनै उद्योगधन्दा बाँकी छ कि भनेर सोच्ने गरेको, विदेश पुग्दा पनि फेरि फर्किएर नेपालै आउने गरेको, नेपाली धेरै सुन्छन् असाध्यै कम बोल्छन् भन्ने देखाउन छिमेकी राष्ट्रहरूसँग हुने द्विपक्षीय वार्तामा सुन्ने मात्र गरेको र अन्तमा इमानदार देखिन अरूले लेखेका कुरा पढ्दा पनि नपढी हस्ताक्षर गर्ने गरेको कुरा सुनाउनुभयो । उहाँको भाषण सुन्दासुन्दै बीचैमा धेरै ताली बजे । ताली बजाउने नेतृत्व ठूला लेखक मान्छे विजयले गर्नुभएको थियो । मन्तरीज्यूले एउटा वाक्यमा पूणर्विराम नलगाउँदै उहाँ उठ्नुहुन्थ्यो र दर्शक दीर्घातिर फर्केर भन्नुहुन्थ्यो ‘ताली’ ।
मन्तरीज्यूले अरु धेरै कुरा त भन्नुभयो तर ठूला लेखकको पुस्तकको विषयमाचाहिँ प्रवेश ने गर्नुभएन । कसैले कानमा केही भनिदियो । अनि उहाँ मुसुक्क हाँस्नुभयो र बोल्नुभयो ‘वास्तवमा हामी शौचालयको उद्घाटन गर्न जाँदा पुस्तकालयका कुरा गर्छौँ । दीक्षान्त समारोहमा जाँदा कहिलेकाँही पार्टीभित्र भएको कुटाकुटका कुरा पनि गर्छौँ । यो हाम्रो मौलिक विशेषता हो विशेष गरी छयालिस सालपछि आर्जन गरेको । हो पनि मन्तरीले सबै कुरा याद गर्ने पनि होइन । यहाँ बस्नुभएका मानिस कतिको सुझबुझ हुनुभएका हुनुहुन्छ भन्ने परीक्षा पनि त हो नि । हेर्नुस् न मैले उहाँको पुस्तकको कुरै गरेको थिइन । सम्झाइदिनुभयो । यस्ता स्वाभिमानी र इमानदार व्यक्ति हाम्रो पार्टीमा खाँचो छ । अँ तपाईंको पुस्तक प्रकाशन हो क्यारे होइन ? के नाम रे पुस्तकको ? मन्तरीजीले सोध्नुभयो । ठूला लेखक महोदयले किताब नै हातमा राखिदिए । अनि मन्तरीज्यूले किताब हेरेर कन्दै पढ्नुभयो । अनि हातमा नचाउँदै भन्नुभयो ‘हेर्नुस् त यो किताब कम राम्रो छ ? मोटो छ भित्र चिल्ला पाना छन् र काला अक्षर टिलिक्क टल्केका छन् । नहोस् पनि किन ? उहाँ पार्टीका खाँटी असल र सशक्त कार्यकर्ता एवं जुझारू नेता एवम् सशक्त लेखक हुनुहुन्छ । उहाँ यस्तो लेखक हुनुहुन्छ जसको लेखनलाई आम पाठकले मात्र होइन पुरस्कार गुठीले नै इन्तजार गरिरहेको हुन्छ । आशा छ यस पुस्तकभित्र हाम्रो पार्टीका धेरै कुराहरू आएका होलान् । यो परिवर्धित संस्करणलाई पनि ठूलै पुरस्कारले प्रतीक्षा गरिरहेको जस्तो लागेको छ । तपाईंलाई सफलताको शुभकामना ।’
ठूलाका पनि ठूलाले शुभकामना भन्दाभन्दै एकजना खाइलाग्दा ठूला लेखक मन्तरीको कानमा मुख जोड्न पुगे । दर्शकदीर्घामा खुलदुली मच्चियो । मन्तरीज्यू मुसुक्को हाँस्नुभयो र आफ्नो शव्द वर्षालाई निरन्तरता दिँदै बोल्नुभयो ’हेर्नुहोस् न मलाई भगवानले, ए माफ गर्नुस् है साँची म त भगवान मान्दिन । जनताले भन्नुपर्योल मलाई सफल मन्त्री बनाइदिनुभयो । भर्खर बोलेको कुरा अहिले नै पूरा भयो । हाम्रा पार्टीका जुझारु लेखकज्यूको पुस्तकलाई पुरस्कार गुठीले पनि इन्तजार गरिरहेका हुन्छन् के भनेको थिएँ एकजना गुठीका नायक आउनुभएर मसँग खुसुक्क भन्नुभएको छ उहाँको गुठीले यसपटक देशभरि प्रकाशन भएका पुस्तकमध्ये वर्ष पुस्तकको रूपमा उहाँकै पुस्तकलाई पुरष्कृत गर्ने भएको छ रे ।’ फेरि वर्सा भयो तालीको ।
कार्यक्रम सकिएर जलपान र खाजाखानको बेलामा मन्तरीजीका छेउमा धेरै ठूला लेखकहरू देखिए । कस्ता कस्ता लेखक मेरी बास्सै हजार जिब्रा भएका शेषनागलाई पनि बयान गर्न गाह्रो म जस्तो अपरिपक्व लेखकको के जोर ? सधैँ सुशासनको पक्षमा व्यङ्ग्य वाण चलाउने लेखक । लेखन र लेखकत्व राजनीतिभित्र छिराउने र राजनीतिको आशीर्वाद लिनेहरू लेखक नामका बुख्याँचा हुन् भनेर लेख्ने ठूला लेखक । विद्वानहरू कुनै दलका हुनुहुन्न । यहाँ कुनै दल पनि विद्वानका लागि उपयुक्त छैनन् भनेर पत्रिकामा लेख्ने ठूला लेखक । हेर्दा हेर्दै आँखा तिरमिराए । मन्तरीज्यूलाई खानाका फरक फरक आइटम थप्न ठूला लेखकहरूको तँछाडमछाड चल्यो । ठूला र त्यस दिनका नायक लेखक विजयले खबरदारी गर्दै भने ‘खाना जथाभावी नथप्नुहोस् है मन्तरीज्यूको स्वास्थ्य बिग्रेला । उहाँ अस्वस्थ हुनुभयो भने मुलुक डुबेन ? हामी लेखक पनि बिरामी हुन्छौँ ।’ सही हो सबैले ताली बजाए । म ट्वाँ परेर ठूला मानिसलाई हेरिरहेँ ।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































