साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठूला मानिस

सधैँ सुशासनको पक्षमा व्यङ्ग्य वाण चलाउने लेखक । लेखन र लेखकत्व राजनीतिभित्र छिराउने र राजनीतिको आशीर्वाद लिनेहरू लेखक नामका बुख्याँचा हुन् भनेर लेख्ने ठूला लेखक ।

Nepal Telecom ad

हरि खनाल :

आजभोलि मैले निकै ठूला मान्छेहरूसँग सङ्गत गर्ने अवसर पाएको छु । एकजना त्यस्तै ठूला मान्छेको भनाइमा यो मेरो सात जन्मको पुण्यको प्रभाव हो अरे । यस्तो ठूलो पुण्यको फल तपाईंहरूलाई नसुनाइ म कसरी रहन सक्छु । एकाध सङ्गतका क्षणहरू प्रस्तुत गर्छु ।

श्रृङ्खला एक
हिजो एकजना विद्वान लेखकको पुस्तक विमोचन थियो । तीनचार वर्ष अघि नै प्रकाशन भएको भएपनि लेखक आफैँ ठूला मानिस भएकाले हिजो पनि त्यसको विमोचन राखिएको रहेछ । ‘यो पुस्तक त धेरैपटक विमोचन भइसक्यो हैन र ?’ मैले प्रश्न पूरा गर्न नपाउँदै उनले अनुहारलाई सुनपाती मुद्राबाट गोलभेडा मुद्रामा रुपान्तरण गरे । ‘चर्चित र ठूला लेखकको विमोचन धेरैपटक हुन्छ । चर्चित र ठूलो परियोजना भएकाले मेलम्चीको उद्घाटन पटक पटक भएको जानकारी छैन ?’ ठूला लेखकले मलाई मुखभरि र पेटभरिका जवाफ दिए । म पनि छिनमै पानी भएँ किनभने उनले दिएका उदाहरण नै सशक्त थियो । ठूला लेखकको ठूलो पुस्तकको विमोचन चानचुने व्यक्तिले गर्ने कुरै भएन । एकजना जल्दाबल्दा मन्तरीज्यू आउनुहुने रहेछ । बिहान ११ बजे शुरु गर्ने भनिएको कार्यक्रम साढे बाह्र बजेसम्म पनि शुरु भएन । यो चञ्चले मुख फेरी आँ गर्नपुगेछ थाहै नपाई बोलिहालेँ ‘हैन समय त डेढ घण्टा पो गइसक्यो त ?’

ठूला मान्छे लेखक फेरि मतिर फर्किएर हाँसे । उनको हाँसो चलचित्रमा सुनिएको रावणको जस्तो थियो । माफ गर्नुहोला भन्नुपर्ने थियो भगवान विष्णु र शिवको जस्तो तर के गर्ने उहाँहरू त्यसरी हाँसेको कतै वणर्न छैन । आफूले पढेको र हेरेकोमा सबैभन्दा ठूलो रावणकै हो त्यही उदाहरण दिएँ । हाँसोलाई सङ्गीत बनाएपछि उनी बोले ‘भाइ ! तिमी सिकारु लेखक रहेछौ । लेखक मात्रै सिकारु हो र नागरिक पनि सिकारु ।’
‘कसरी हजुर ?’ मैले प्रश्न गरेँ ।
‘तिम्रो समय र ठूला मान्छेको समय एउटै हुन्छ भाइ ?’
‘भनेपछि ठूला मानिसका लागि सधैँ बिहान उदाउने र साँझमा अस्ताउने घाम पनि अर्कै छन् होला हकि महोदय ?’ मैले पनि एउटा प्रश्न गरिहालेँ । उनको अनुहार झनै रातो भयो । उनले भने ‘हो फरक हुन्छ । तिमीले नबुझेका र नदेखेका मात्र हौ । ठूला भनेका ठूला हुन् भन्ने कुरा पनि अहिलेसम्म मष्तिष्कमा नघुसेका तिमी सिकारु नभएर के हौ त ? हैन तिमीले नेपाली नागरिकता पनि लिएका छैनौ कि कसो ?’
‘यो कुरासँग नेपाली नागरिकताको के सम्बन्ध हजुर ?’

‘किन छैन मजाले छ । नागरिकता लिने भनेको परिपक्व भएँ अब मुलुक बुझ्न सक्ने भएँ भनेर लिने हो । तिमीले त केही बुझेका रहेनछौ । यहाँ बस्ने अनि घडी हेरेर समयको कुरा गर्ने कुरा आम आचारसंहिता विरोधी कुरा हो । तिमीमा आम नागरिकमा हुनुपर्ने गुण विकास नभएको देखियो बाबै ?’ ठूला लेखकले अझै झपारे ।
भित्र भित्र उनको कुराले रिस त उठेकै थियो तर बाहिर निकालिन आखिर सानो लेखक अझ उनको परिभाषामा त नागरिक नै नभइसकेको मान्छे । उनले भनेको कुरा एक मानेमा सही पनि थियो । उनलाई जस्तो परिपक्वता आएको भए मेरो पुस्तक पनि प्रकाशन नहुँदै पुरष्कृत हुने सूचीमा पर्दथ्यो नि । म पनि उनीजस्तै ठूलाको झोले बन्ने थिएँ होला नि । खैर जे होस् ।

११ बजे भनेको कार्यक्रम ठ्याक्कै एक बजे शुरु भयो । मन्तरीज्यूले उद्घाटन र विमोचन गर्नुभयो । केहीबेर विपक्षी दलको विरोधमा शब्द खर्चिनु भयो मन्तरीज्यूले । त्यसपछि आफू राति मात्र सुत्ने दिनभरि जागरुक रहेको, चौबीसै घण्टा देश र जनताका लागि कान खोलेर बस्ने गरेको, खाँदा र पिउँदा पनि जनतालाई सम्झिने गरेको, मुलुकमा अझैँ कुनै उद्योगधन्दा बाँकी छ कि भनेर सोच्ने गरेको, विदेश पुग्दा पनि फेरि फर्किएर नेपालै आउने गरेको, नेपाली धेरै सुन्छन् असाध्यै कम बोल्छन् भन्ने देखाउन छिमेकी राष्ट्रहरूसँग हुने द्विपक्षीय वार्तामा सुन्ने मात्र गरेको र अन्तमा इमानदार देखिन अरूले लेखेका कुरा पढ्दा पनि नपढी हस्ताक्षर गर्ने गरेको कुरा सुनाउनुभयो । उहाँको भाषण सुन्दासुन्दै बीचैमा धेरै ताली बजे । ताली बजाउने नेतृत्व ठूला लेखक मान्छे विजयले गर्नुभएको थियो । मन्तरीज्यूले एउटा वाक्यमा पूणर्विराम नलगाउँदै उहाँ उठ्नुहुन्थ्यो र दर्शक दीर्घातिर फर्केर भन्नुहुन्थ्यो ‘ताली’ ।

मन्तरीज्यूले अरु धेरै कुरा त भन्नुभयो तर ठूला लेखकको पुस्तकको विषयमाचाहिँ प्रवेश ने गर्नुभएन । कसैले कानमा केही भनिदियो । अनि उहाँ मुसुक्क हाँस्नुभयो र बोल्नुभयो ‘वास्तवमा हामी शौचालयको उद्घाटन गर्न जाँदा पुस्तकालयका कुरा गर्छौँ । दीक्षान्त समारोहमा जाँदा कहिलेकाँही पार्टीभित्र भएको कुटाकुटका कुरा पनि गर्छौँ । यो हाम्रो मौलिक विशेषता हो विशेष गरी छयालिस सालपछि आर्जन गरेको । हो पनि मन्तरीले सबै कुरा याद गर्ने पनि होइन । यहाँ बस्नुभएका मानिस कतिको सुझबुझ हुनुभएका हुनुहुन्छ भन्ने परीक्षा पनि त हो नि । हेर्नुस् न मैले उहाँको पुस्तकको कुरै गरेको थिइन । सम्झाइदिनुभयो । यस्ता स्वाभिमानी र इमानदार व्यक्ति हाम्रो पार्टीमा खाँचो छ । अँ तपाईंको पुस्तक प्रकाशन हो क्यारे होइन ? के नाम रे पुस्तकको ? मन्तरीजीले सोध्नुभयो । ठूला लेखक महोदयले किताब नै हातमा राखिदिए । अनि मन्तरीज्यूले किताब हेरेर कन्दै पढ्नुभयो । अनि हातमा नचाउँदै भन्नुभयो ‘हेर्नुस् त यो किताब कम राम्रो छ ? मोटो छ भित्र चिल्ला पाना छन् र काला अक्षर टिलिक्क टल्केका छन् । नहोस् पनि किन ? उहाँ पार्टीका खाँटी असल र सशक्त कार्यकर्ता एवं जुझारू नेता एवम् सशक्त लेखक हुनुहुन्छ । उहाँ यस्तो लेखक हुनुहुन्छ जसको लेखनलाई आम पाठकले मात्र होइन पुरस्कार गुठीले नै इन्तजार गरिरहेको हुन्छ । आशा छ यस पुस्तकभित्र हाम्रो पार्टीका धेरै कुराहरू आएका होलान् । यो परिवर्धित संस्करणलाई पनि ठूलै पुरस्कारले प्रतीक्षा गरिरहेको जस्तो लागेको छ । तपाईंलाई सफलताको शुभकामना ।’

ठूलाका पनि ठूलाले शुभकामना भन्दाभन्दै एकजना खाइलाग्दा ठूला लेखक मन्तरीको कानमा मुख जोड्न पुगे । दर्शकदीर्घामा खुलदुली मच्चियो । मन्तरीज्यू मुसुक्को हाँस्नुभयो र आफ्नो शव्द वर्षालाई निरन्तरता दिँदै बोल्नुभयो ’हेर्नुहोस् न मलाई भगवानले, ए माफ गर्नुस् है साँची म त भगवान मान्दिन । जनताले भन्नुपर्योल मलाई सफल मन्त्री बनाइदिनुभयो । भर्खर बोलेको कुरा अहिले नै पूरा भयो । हाम्रा पार्टीका जुझारु लेखकज्यूको पुस्तकलाई पुरस्कार गुठीले पनि इन्तजार गरिरहेका हुन्छन् के भनेको थिएँ एकजना गुठीका नायक आउनुभएर मसँग खुसुक्क भन्नुभएको छ उहाँको गुठीले यसपटक देशभरि प्रकाशन भएका पुस्तकमध्ये वर्ष पुस्तकको रूपमा उहाँकै पुस्तकलाई पुरष्कृत गर्ने भएको छ रे ।’ फेरि वर्सा भयो तालीको ।

कार्यक्रम सकिएर जलपान र खाजाखानको बेलामा मन्तरीजीका छेउमा धेरै ठूला लेखकहरू देखिए । कस्ता कस्ता लेखक मेरी बास्सै हजार जिब्रा भएका शेषनागलाई पनि बयान गर्न गाह्रो म जस्तो अपरिपक्व लेखकको के जोर ? सधैँ सुशासनको पक्षमा व्यङ्ग्य वाण चलाउने लेखक । लेखन र लेखकत्व राजनीतिभित्र छिराउने र राजनीतिको आशीर्वाद लिनेहरू लेखक नामका बुख्याँचा हुन् भनेर लेख्ने ठूला लेखक । विद्वानहरू कुनै दलका हुनुहुन्न । यहाँ कुनै दल पनि विद्वानका लागि उपयुक्त छैनन् भनेर पत्रिकामा लेख्ने ठूला लेखक । हेर्दा हेर्दै आँखा तिरमिराए । मन्तरीज्यूलाई खानाका फरक फरक आइटम थप्न ठूला लेखकहरूको तँछाडमछाड चल्यो । ठूला र त्यस दिनका नायक लेखक विजयले खबरदारी गर्दै भने ‘खाना जथाभावी नथप्नुहोस् है मन्तरीज्यूको स्वास्थ्य बिग्रेला । उहाँ अस्वस्थ हुनुभयो भने मुलुक डुबेन ? हामी लेखक पनि बिरामी हुन्छौँ ।’ सही हो सबैले ताली बजाए । म ट्वाँ परेर ठूला मानिसलाई हेरिरहेँ ।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x