देव भट्टराई (२)दिक्क लाग्दैछ भाइ
हारेका छन् कथा ती कति कति पहिले देवता दैत्य आफैँ । बाटो सोधी नजाने हठ र कुमतिले बिर्सिंदा कर्म आफ्नै ॥ सोझो बाटो समातेर खुरुखुरु हिँडे लक्ष्य भेटिन्छ पक्कै । फुर्ती गर्दै रहेमा अलमलपनले भन्न सक्ला र को खै ?

देव भट्टराई :
मान्छे हेर्दा चिटिक्कै तर मन जसको हुन्छ आचार बाङ्गो ।
पूरापूरै लगाओस् तनभरि कपडा लाग्छ सर्वाङ्ग-नाङ्गो ॥
कौवा सेतो हुँदैमा सितिमिति जसरी हुन्न सोझो परेवा ।
लोभीपापी मुखाले कलुषित जनले गर्न सक्दैन सेवा ॥०१
कस्तो राम्रो फुलेको कुसुम कमल त्यो हेर साथी हिलोमा ।
मान्छे आजै तुरुन्तै सुख अनि सुविधा खोज्छ ऊ जन्मिँदैमा ॥
थोरै गर्दा लगानी श्रम र समयले दिन्छ नाफा पछाडि ।
धेरै छन् बिग्रिएका कति मनुजहरू भाग खोजी अगाडि ॥०२
गर्छो के को हतारो ? नियम प्रकृतिको हुन्छ आफ्नै अनौठो ।
चाँडै फल्ने र पाक्ने हतपतपनले शीघ्र मासिन्छ लौको ॥
आफैँ छान्नू तिमीले नरिवल अथवा खन्यु बन्ने भनेर ।
छान्ने जुक्ती नआए र अलमल परे झट्ट आऊ मनेर ॥०३
हारेका छन् कथा ती कति कति पहिले देवता दैत्य आफैँ ।
बाटो सोधी नजाने हठ र कुमतिले बिर्सिंदा कर्म आफ्नै ॥
सोझो बाटो समातेर खुरुखुरु हिँडे लक्ष्य भेटिन्छ पक्कै ।
फुर्ती गर्दै रहेमा अलमलपनले भन्न सक्ला र को खै ?०४
सुन्थ्यौँ जुत्ता पुजेको अनुज भरतले रामको माननिम्ति ।
सत्ताको मात बोकी खल जन अहिले पुज्दछन् दामनिम्ति ॥
नेता हो रे म मानूँ भन अब कसरी ? काइते मूर्खलाई ।
चाला हेर्दा कवाडी कमसल छ निकै दिक्क लाग्दैछ भाइ ॥०५
०००
भोजपुर, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































