साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्पको भय

यी सर्पहरू त सात समुद्र पारीदेखि आएका छन् । यो पढ्दै गर्दा खुट्टामा छाम्नुहोस् । पिठिउँतिर ध्यान दिनुहोस् सर्पले मुख गाडीसकेको हुनसक्छ ।

Nepal Telecom ad

हरि खनाल :

हरेक वर्ष नागपञ्चमी मनाइएकै छ । बेलाबखत नागपूजा पनि गरिएकै छ । सर्पको भय कम होला भनेर न गरिएको हो । तर कुरा अर्कै छ । हामीलाई त सर्पले चारैतिरबाट आक्रमण पो गरिरहेको रहेछ । होसियार हुनुहोस् कतै सर्प तपाईंकै घरभित्र पसिसकेको हुन सक्छ । कतै सर्प कुनै प्रमाणपत्रको पछिल्तिर बेरिएर बसेको हुनसक्छ । कतै सर्प तपाईंले समात्ने झण्डाको डण्डाभित्र मौका ढुकेर बसेको हुनसक्छ ।

तपाईंले झोला बोक्नुभएको छ ? आफ्नै बोक्नुभएको भए केही छैन त्यही पनि खोलेर एकपटक चेक गर्नुहोस् । अरुको बोक्नुभएको छ भने अहिले तत्कालै भुइँमा फाल्नुहोस् र लाठी हातमा लिएर मात्र झोला चेक गर्नुहोस् । अन्यथा तपाईँलाई सर्पले ठाडै आक्रमण गर्न सक्छ ।सुत्नुअघि सबैतिर जाँच गर्नुहोस् र उठ्ने बेलामा पनि आफ्ना हातगोडा टाउको छाम्नुहोस् ।अचेल सर्प खोक्रो र बोक्रोमा मात्र आउँदैन रे । अचेल सर्प सुटेड बुटेड मात्र पनि हुँदैन रे । अचेल त सर्प दौराको फेर सुरुवालको इँजार र कोटको खल्ती टोपीको खाल्डो जुनसुकै साधन र ठाउँमा पनि बसेर आउँछ रे ।आम सिसी हाम सिसी सबै सर्प आउने भाँडा हुन् रे । तपाईं हामीलाई सर्पले गाँजिरहेको कुरा हामी त्यतिबेलासम्म थाहा पाउँदैनौँ जतिबेलासम्म तपाईं हाम्रो टाउको उसले निल्दैन ।

तपाईं सोध्नुहोला होइन यस्तो सर्पको बिगबिगी कसरी भयो ? हो सर्पको बिगिबिगी भयो र यसको कारण अरु कोही होइन हामी आफैँ हौँ । हामीले धुरी खाँवोमा कुलदेउतालाई छुट्याएर राखेको घिउ फाल्यौँ । कुलदेउताको ठाउँमा शौचालय बनायौँ । सिमेभुमेलाई बम पड्काएर ध्वस्त पार्‍यौँ । अनि सपेराहरूको झण्डा र डण्डा बोकेर घरमा लगेर गाड्यौँ । विवेकको दान गर्ने बेलामा सर्पहरूलाई मष्तिष्क चढायौँ । अनि सर्प नआएर के आउँछ ?

घरमा बुद्धको तस्विर टाँस्ने अनि मान्छे छ्याक्क काटेको देखेर हाँस्ने ? काट्नेसँग माया साट्ने ढाँट्नेसँग आस्था बाँड्ने ? अनि हामीजस्ताको घरमा सर्प नआए के आउँछ ? घरमा पाञ्चायन पूजा गरेर ठाडो टीको लगाउने अन्यत्र गएर रगतको सिर्को कपालमा चढाउने । अनि त्यस्ता हाम्रो घरमा सर्प नपसेर के पस्छ त ?

भ्रममा हुनुहोला हामीले त नागपञ्चमीमा पूजा गरेका छौँ । त्यो त स्थानीय नागको पूजा हो । अहिले हाम्रो घरघरमा पसेको सर्प त उन्नत जातको हो । यी सर्पहरू त सात समुद्र पारीदेखि आएका छन् । यो पढ्दै गर्दा खुट्टामा छाम्नुहोस् । पिठिउँतिर ध्यान दिनुहोस् सर्पले मुख गाडीसकेको हुनसक्छ । सोच्नुभएको होला गरुड आएर पार लगाइदिन्छ । गरुड आउने वाला छैन यहाँ । गरुड आउन त नारायण पनि आउनुपर्छ । हामीले नारायणलाई बिदा गरेर रबर्ट, माइकल, कार्ल, रोबिन्स, बेलीको भिड बढाइसकेका छौँ । लौ हजुर मैले यो भन्दा ज्यादा लेखिनँ । यो लेख्दालेख्दै घरभित्र सर्प पसेको खबर आयो । सर्पको भय भयरहित दिन गए । अहिलेलाई बिदा पाऊँ ।

०००
धादिङ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x