डा. टीकाराम पोखरेलराष्ट्रिय सहमति
“छिट्टै बस्छ । मतलब, जुन बेला बस्न आवश्यक पर्छ त्यही बेला बस्छ । कथाले मागेपछि बस्छ भन्ने बुझ्नु भए पनि हुन्छ । राष्ट्रिय कार्यान्वय वैठक बस्ने विषयमा पनि राष्ट्रिय सहमति भाको छ ।” उहाँले भनिदिनु भो ।

डा. टीकाराम पोखरेल :
“राष्ट्रिय सहमति भो ।” उनले भने । माफ गर्नुहोला, उहाँले भन्नुभयो । आजकल “उनी” भन्न पाइन्न, “उहाँ” भन्नुपर्छ भन्ने जान्दाजान्दै पनि लागेको बानी, जिब्रो जिप्टिहाल्यो ।
“कस्तो सहमति ?” पत्रकारले प्रश्न गरे । पत्रकारलाई चाहिँ “गरे” “भने” भन्न पाइने भएकाले जानीबुझी “गरे” ठोकियो ।
“को-को बीच सहमति भो ?” पत्रकार सम्मेलन भएकाले पत्रकारको त्यहाँ कमी थिएन । अर्का पत्रकारले फेरि सोधे । “राष्ट्रिय नेताहरू बीच सहमति भयो ।” उहाँले भन्नुभयो ।
“त्यहाँ सहमति गर्नेमा ‘लोकल लिडर’ आइ मिन स्थानीय नेता थिएनन् ? फेरि एक पत्रकारले अर्को कर्नरबाट प्रश्न सोधे ।
“हेप्ने ? राष्ट्रिय सहमति जस्तो विषयलाई पनि हेप्ने ? के प्रश्न हो यस्तो ? राष्ट्रिय सहमतिमा पनि काहिँ ‘लोकल लिडर’ हुन्छन् ? ‘लोकल लिडर’ त ‘लोकल सहमति’मा हुन्छन् । यति सामान्य कुरा पनि नबुझ्ने ? पत्रकार भएर के ‘नन्सेन्स’ प्रश्न गरेको ?” उहाँले राता राता आँखा पार्दै भन्नुभो ।
उहाँको अनुहार अलि रातो पीरो देखिएपछि प्रश्न सोध्ने पत्रकार अलि हच्किए । तर पत्रकार सम्मेलन न पर्यो अर्का पत्रकार प्रश्न लिएर अगाडि बढे- “के के विषयमा कुरा भयो त्यहाँ ? मतलब एजेण्डा के के थिए ?”
“एजेण्डा ! एजेण्डाको कुरो गर्नुभा’को तपाइँले ? हैन, के कुरा गर्नुभा‘को तपाईँले ? राष्ट्रिय सहमतिमा अरु के एजेण्डा हुन्छ ? राष्ट्रिय एजेण्डा बाहेक ? यो पनि कुनै सोध्न पर्ने कुरा हो र ?” उहाँले पत्रकारलाई नै प्रतिप्रश्न गर्नुभयो ।
“राष्ट्रिय एजेण्डामा छलफल चाहिँ के के भयो त ? ककसले के के मत राख्नुभो त्यहाँ ?” पत्रकारले उहाँलाई प्रश्न राख्न छोडेनन् ।
“एजेण्डा नै राष्ट्रिय भएपछि सबै राष्ट्रिय कुरा भए । सबैले एकमतले राष्ट्रिय कुरा राख्नु भो । तब न भयो राष्ट्रिय सहमति ।” उहाँले राष्ट्रिय शब्दमा जोड दिँदै भन्नुभयो ।
“यस्तो राष्ट्रिय सहमति कहाँ भएको हो ?” पुनः फ्लोरतिरबाट वैठकस्थलका बारेमा जिज्ञासा आयो ।
“यो सहमति राष्ट्रिय वैठकमा भएको हो ।” उहाँले भन्नुभो ।
“मतलब मैले वैठकस्थलको कुरा गरेको ?” पत्रकारले अलि प्रष्ट हुन खोजे ।
“राष्ट्रिय सहमति राष्ट्रिय वैठक कक्षमा भयो ।” उहाँले स्थानको बारेमा थप प्रष्ट पार्नुभो ।
“राष्ट्रिय नेताहरू राष्ट्रियताका विषयमा अब एकमत देखिएका हुन् त ? कि कसैको भिन्न मत पनि थियो ?” नेताहरू एकमत भए नभएको बारेमा बुझ्न खोजियो ।
“हो राष्ट्रिय नेताहरू बीच अभूतपूर्व राष्ट्रिय एकता भयो । सब एकमत छन्, मतलब राष्ट्रिय एकमत ।” उहाँले आफ्नो कोट मिलाउँदै भन्नुभो ।
“यो राष्ट्रिय सहमतिको कार्यान्वयन हुन्छ त ?” पत्रकारले कार्यान्वयनप्रति आशंका व्यक्त गरे ।
“यो पनि कुनै प्रश्न हो ? सहमति भएपछि कार्यान्वयन त भै हाल्छ नि । राष्ट्रिय सहमति राष्ट्रिय रुपमै कार्यान्वयन हुन्छ ।” कार्यान्वयनको प्रश्न उठाएपछि उनले अलिअलि मुख बिगारे पनि कार्यान्वयन हुने दलिल पेश गरे ।
“वैठकमा राष्ट्रिय सहमति कार्यान्वयन मोडालिटीको बारेमा पनि केही छलफल भयो कि ?”
“कस्तो कुरा गर्नुभाको तपाईँले ? सहमतिको कुरा भैर’को बेला कार्यान्वयन ‘मोडालिटी’को कुरा गरेर विषयान्तर नगर्नुस् न ? अहिले सहमतिको बारेमा मात्र पत्रकार सम्मेलन हो, त्यही कुरा गर्नुस् ।” उहाँले भन्नुभयो ।
“अनि कार्यान्वयन चाहिँ ?”
“फेरि उही कार्यान्वयनका कुरा ? ल सुन्नुस् ! कार्यान्वयनका लागि अर्को राष्ट्रिय कार्यान्वयन वैठक वस्छौँ, त्यसपछि भनौँला ।” उहाँले झर्किँदै भन्नु भो ।
“त्यसोभए राष्ट्रिय कार्यान्वयन वैठक कहिले बस्छ ?” उहाँ झर्के पनि पत्रकार छोड्नेवाल थिएनन् ।
“छिट्टै बस्छ । मतलब, जुन बेला बस्न आवश्यक पर्छ त्यही बेला बस्छ । कथाले मागेपछि बस्छ भन्ने बुझ्नु भए पनि हुन्छ । राष्ट्रिय कार्यान्वय वैठक बस्ने विषयमा पनि राष्ट्रिय सहमति भाको छ ।” उहाँले भनिदिनु भो । भनिदिनुभो यसकारण कि कार्यान्वयन विषयमा वैठकमा छलफल नै नभएकाले उहाँले बनावटी सहमतिको कुरा भनिदिनुभो ।
“त्यसोभए वैठकको निष्कर्ष चाहिँ के त ?” उहाँलाई अन्तिमतिर सोधियो ।
“वैठकको निष्कर्ष राष्ट्रिय सहमति ।” उहाँले हँसिलो अनुहार पार्दै भन्नुभो ।
“ओहो ! कुन विषयमा राष्ट्रिय सहमति ?” पत्रकारबाट प्रश्न आउँदै थियो ।
“ल आजलाई यति बुझ्नुस् ।” उहाँ उठ्नुभो र दौराको फेर मिलाउँदै बाटो लाग्नु भो ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































