डा. टीकाराम पोखरेलसदावहार गाईजात्रा !
गाईजात्रा भनेर वर्षमा दुईचार दिन मात्र कुर्लने होइन, वर्षैभरि घोक्रो फुल्ने गरी कराउँ, हाहा फुस्कने गरी चिच्च्याऊँ, भुईँ थर्कने र आकाश वर्षिने गरी उफ्रौँ । वर्षभरि मनाउने पो गाईजात्रा ।

डा. टीकाराम पोखरेल :
वर्षमा एकपटक साउन भदौतिर लाउने गाईजात्रा एक हप्तामा सकिन्छ । आजकल अलि लम्ब्याएर पो एक हप्ता भयो, अन्यथा पहिलेपहिले त गाईजात्रा एकदिने हुन्थ्यो । तर मलाई चाहिँ यो गाईजात्रा एकदिन वा एकहप्ता लाग्छ भन्दा रत्तिभर चित्त बुझ्दैन । म चाहिँ वर्षैभरि सदावहार गाईजात्रा लगाउनुपर्छ भन्ने पक्षमा छु । जनता पनि सदाबहार गाईजात्राकै पक्षमा छन् । यही कुरालाई मध्येनजर गर्दै जनताको ढुकढुकीहरुले जनताको लागि सदावहार गाईजात्रा लगाइरहेका छन् । साउन भदौमा मात्र गाई जात्रा लाग्छ भनिदिँदा यस्ता सदावहार गाईजात्रा लाउनेको अपमान हुन्छ ।
वर्षभरि लागेका गाईजात्रा हेरेपछि गाईजात्राबाट तपाईँ हामीले लिएको मनोरञ्जनको मूल्य तपाईँ हामीले पनि तिर्नु त पर्यो नि । हामीले वर्षैभरि सदावहार रुपमा हेरेका यी जात्राहरुलाई हेरौँ त । जस्तो कि :
– हाम्रो देशको प्रधानमन्त्रीेले भारत–पाकिस्तान बिच हुन लागेको युद्धलाई रोकेर विश्व कुटनीतिक मञ्चमा नेपालको छवि बढाउनु भो ।
– हाम्रा एक जना पूर्वप्रधानमन्त्रीले त अमेरिकी राष्ट्रपति र उत्तर कोरियाका राष्ट्रपति बिच भेटवार्ता गराएर अमेरिका र उत्तरकोरिया बिचको सत्रुतालाई मित्रतामा परिणत गरिदिनु भो ।
– सरकारले घरघरमा रेल पुर्यायो, चुलोचुलोमा पाइपलाइनबाट ग्याँस पुर्यायो, देश सिङ्गापुर जस्तो भयो, देशबाट गरिबी पत्तासाफ भो ।
– देशका ठूला दलका भालेहरुलाई उनीहरुले नै काढेका चल्लाहरुले चुनौती दिएर भालेहरुलाई आत्थुआत्थु पारे ।
– पार्टीमा झोला बोक्ने धेरै भएपछि पार्टीको नाम फेरेर नेपाल अङ्कुश पार्टी (एकीकृत झोलेवादी) हुने भो ।
– एउटा मात्र शेर भएको पार्टीमा धेरै जनाले आफूलाई शेर दाबी गरेपछि आफ्नो भविष्यको बारेमा दाजुलाई भन्दा भाउजुलाई चिन्ता भो ।
– नेपका (खाओवादी) मा खान पाउने र नपाउने बिच ध्रुवीकरण भयो । अरु पार्टी समेत आफूमा एकीकरण गर्ने भनी हल्ला चलाएको बेला पार्टी धुूवीकरण हुँदा फुटकरणलाई प्रोत्साहन हुने ठानी स्पष्टीकरण पर्व मच्चाउने निर्णय भयो ।
– दुई प्रधानमन्त्री सँगै भएको एउटा पार्टीमा एक आपसमा गाँड कोराकोर हुँदा गाँडबाट सुनैसुन निस्कियो, उक्त सुनले नेपालको सुन आयातलाई एक दशक धान्ने भो ।
– राजा आऊ, देश बचाऊ भनेर जति गुहार्दा पनि राजा आइनपुगेपछि राजा किन आइपुगेनन् भनेर खोजविन गर्दा बाटोमा पहिरो गएर राजा जाममा परेको बुझियो । गुहारवालाहरुमा पहिरो पञ्छाउने जाँगर सेलायो भन्ने बुझियो ।
– अदालतको काम दस्तखतले गर्ने भो । दस्तखत जम्मा गर्नुस्, न्याय लिनुस् भन्ने नयाँ विधिशास्त्रको विकास नेपालका नयाँ दलहरुले गरे ।
– केही साना पार्टीहरुले देश र जनताका लागि बिहान एकता गरे, दिनभरिमा देश र जनताका लागि काम गरेर देश बनाए, अनि बेलुका फेरि छुट्टिने निर्णय गरे ।
– पार्टीपति हुन तामझामका साथ हिँडेकी पूर्व्रपतिलाई झोलेपतिले बाटैमा रोकिदिनु भो ।
– पार्टीभित्र बलात्कारी र बहुविवाह गर्नेहरु बढ्दै गएको कुरालाई मध्येनजगर गर्दै बलात्कारी र बहुविवाह गर्नेलाई प्रोत्साहित गर्न अब जुन पार्टीमा धेरै बहुविवाह गर्ने र बलात्कारी भेटिन्छन् त्यो पार्टीलाई देशको ठूलो पार्टी घोषणा गर्ने गरी कानून मस्यौदा हुने भो ।
– म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने प्रधानमन्त्री देशले पाएपछि विश्वका भ्रष्टाचार नहुने देशको सूचीमा नेपाल एक नम्बरमा पर्यो । तथ्याङ्कका अनुसार यतिबेला नेपालमा भ्रष्टाचार शून्य छ ।
– कर्मचारीले मात्र घुस खाँदाखाँदा अघाएर पेट फुट्ने अवस्थामा पुगेपछि कर्मचारीको मार्कालाई मध्येनजर गर्दै अब मन्त्रीले पनि घुस बुझ्ने परम्परा सुरु भो । मन्त्रीले खाएको घुस भ्रष्टाचारप्रति शून्य सहनशीलताको सिद्धान्तभित्र नपर्ने व्याख्या अदालतले गर्यो ।
– अदालतमा परेका मुद्धाको छिटो सुनुवाई गर्दा पक्ष विपक्ष बिच एउटालाई जिताउँदा हार्ने पक्षलाई तनाव हुने हुँदा झगडियालाई तनाव दिनु उपयुक्त नहुने भएकाले पक्ष र विपक्ष दुवैको मृत्यु भएपश्चात् मात्र मुद्धाको अन्तिम किनारा लगाउने योजना बन्यो ।
– यस्तो तीव्र गतिमा देश विकास भएपछि भविष्यमा जनताले तिरको करको पैसा लगानी गर्ने ठाउँ नै नहुन सक्ने संभावनालाई मद्देनजर गर्दै देश विकासको काम हाललाई स्थगित गर्न के कस्ता कदम चाल्दा ठीक हुन्छ भनेर सुझाव दिन सर्वदलीय समिति बन्यो ।
– देशको उड्दो अर्थतन्त्रमा हल्का ब्रेक नलगाउने हो भने बढी स्पिड भएर दुर्घटना हुने डरले केही वर्षलाई अर्थतन्त्रको गतिमा रोक लगाउने निर्णय भो ।
– दाउन्नेको बाटो वर्षौँसम्म नबनेकोमा जनताले खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिए ।
– नक्खुको बाढीमा फसेकाहरुलाई चार घण्टासम्म उद्धार नगरेकोमा जनताले गृहमन्त्रीलाई सम्मान गरे ।
– सरकारले ललिता निवास, भुटानी शरणार्थी, सहकारी, भिजिट भिसा, कुलिङ जस्ता प्रदर्शनी गरेर नागरिकलाई वर्षैभरि भरपूर मनोरञ्जन दिन सकेकोमा जनताबाट सरकाले धन्यवाद ग्रहण गर्ने निर्णय भयो ।
– पुलिसले भन्सारमा पक्रेको तेत्तीस किलो सुनलाई कसरी तीन किलो बनाउने भनेर आफ्ना अधिकृतहरुलाई तेत्तीस बराबर तीन सम्बन्धी सीपविकासको तालिम दिन थाल्यो ।
– पत्रकारितालाई पार्टीकारिता, पत्रुकारिता, पर्चाकारिता भन्नेहरुको मुख बुझो लगाउन सबै पार्टीका प्रतिनिधि संलग्न उच्चस्तरीय मिलापकारिता मण्डल बन्यो ।
– माइतिघरमा भएको जुलुस प्रदर्शन हिंसात्मक घटनामा परिणत भएर मानव अधिकारको उल्लंघन हुँदा पनि अनुगमनमा मानव अधिकारकर्मी नदेखिएपछि मानव अधिकारकर्मीहरु कहाँ छन् भनेर खोजी हुँदा उनीहरु पार्टी कार्यालयमा पो भेटिए ।
– देशमा वैज्ञानिक उत्पादन गर्न महावीरहरु काँधमा किताब बोकेर हिँडेका हिँडेकै छन् । देश वैज्ञानिकमय हुने भो ।
– मौसमका बारेमा भविष्यवाणी गरिरहेका नेपालका मौसमविद्हरुले जे जे भन्यो त्यो त्यो ठ्याकठ्याक मिल्न थालेपछि उनीहरुको चामत्कारिक क्षमता देखेर सारा विश्व नै चकित पर्यो । उनीहरुलाई अन्तर्राष्ट्रिय पुरस्कार दिन विश्व मौसमविद् एशोसियसनले सिफारिस गर्यो ।
– जनकपुरबाट काठमाडौँ उडेको जहाजको पाङ्ग्रा आकाशमै चोरी भो । नेपालका चोरहरुको आकाशसम्मको पहुँच देखेर विश्व नै आश्चर्यचकित भयो ।
– नेपालमा मान्छेको मासु बेच्ने नयाँ व्यापारको सुरुवात भो । विश्वव्यापीकरणको युगमा यसले विश्वमै प्रभाव पार्नेमा नेताहरु ढुक्क देखिए ।
यस्तो देश र जनताको लागि सदावहार गाईजात्रा लाउनेहरुको योगदानको कदर गर्दै सम्मान कार्यक्रमको आयोजना गरौँ । सत्मकर्म गर्नेहरुको सम्मान गर्नु तपाईँ हाम्रो कर्तव्य हो भन्ने कुरा बुझौँ । गाईजात्रा भनेर वर्षमा दुईचार दिन मात्र कुर्लने होइन, वर्षैभरि घोक्रो फुल्ने गरी कराउँ, हाहा फुस्कने गरी चिच्च्याऊँ, भुईँ थर्कने र आकाश वर्षिने गरी उफ्रौँ । वर्षभरि मनाउने पो गाईजात्रा । एकदिने, सातदिने के को गाई जात्रा ? जय सदावहार गाईजात्रा !
०००
बुढानीलकण्ठ, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest






































