डा. टीकाराम पोखरेलकामरेडसँग तीन भेट
श्रीमतीलाई जागिर छुटाएर एउटा संवैधानिक आयोगको सदस्य बनाएछन् । टोलछिमेकमा हाइहाई रहेछ । वरिपरि तस्करहरुको लस्कर रहेछ । कार्यकर्ताले कामरेडलाई भेट्न भने चाहिँ टिकट काट्नुपर्ने भइसकेको रहेछ ।

डा. टीकाराम पोखरेल :
भेट नं. १
पहिलोपटक मैले कामरेडलाई भेट्दा उनको पार्टी प्रतिबन्धित थियो । भूमिगत भएकाले होला कामरेडको लवाइखुवाइमा पनि अलि छद्मपना नै थियो, तर विलासिताको गन्ध भने कत्ति पनि थिएन । त्यो भेटमा उनका वरिपरि कार्यकर्ता थिए । कामरेड एकदम गम्भीर मुद्रामा थिए । जीवन अत्यन्तै सादा देखिन्थ्यो । उनीसँग प्रमाणपत्रका ठेली नभए पनि व्यावहारिक रुपमा साहै उच्च विचारका धनी लागेको थियो, । चिन्तन, दर्शन, प्रशिक्षण, आदर्श र सिद्धान्त उनका दिनचर्या थिए ।
पहिलोपटक जब मेरो उनीसँग भेट भयो त्यसबेला उनी मसँग अपरिचित थिए । एकजना साथीले उनीसँग मेरो परिचय गराएको थियो, तर पनि उनले मलाई अपरिचित जस्तो व्यवहार होइन परिचित झै व्यवहार गरेथे, मानौं कि यसअघि नै मेरो उनीसँग घनिष्टता थियो । मसँग झरप्प हात मिलाएथे हातै तातो हुने गरी । अनि मलाई घप्लक्क अँगालो हालेथे आफ्नै एकाघरको भाइलाई झैँ।
परिचयको औपचारिकतापछि कामरेडले देशको मुक्तिका कुरा गरेथे । जनताको मुक्तिका कुरा गरेथे । जनताका व्यथा र युद्धमोर्चाका बलिदानीका कथा सुनाएथे । अन्ततः निरङ्कुशतालाई एक दिन घुँडा टेकाएरै छाड्ने अठोट गरेथे । कामरेडका यस्ता क्रान्तिकारी र वैचारिक काले म छिटै प्रभावित भएँथेँ । उनका कुरा सुन्दा त म आफू पनि सबै घरव्यवहार छोडेर कामरेडसँगै मुक्ति अभियानमा सामेल हने कि भन्ने पनि कता कता लागेथ्यो, तर मेरा बाटा अर्कै थिए । कामरेडसँग म प्रभावित हुँदाहुँदै पनि खल्लो मन लिएर आफ्नै बाटोतर्फ लागेँ । नेपाल आमाको मुक्ति आन्दोलनमा त्यस्ता कामरेडहरुको अभियानमा सहभागी हुन नसकेकोमा आफूलाई मनमनै धिक्कारेँ पनि ।
नमिठो मन लिएर कामरेडसँग बिदा भएथेँ । कामरेडले मुट्ठी कसेर अभिवादनसहित मलाई बिदा गरेथे । म गौरवान्वित भएथेँ । त्यतिबेला मलाई लागेथ्यो “भविष्यमा कामरेड यो देशका नं. १ नेता हुनेछन् ।” म एकै भेटमा उनको व्यवहारबाट कामरेडसँग प्रभावित भएथेँ । त्यसैदिनदेखि कामरेड मेरा मनमा बसेथे, उनी मेरा प्रिय बनेथे ।
भेट नं. २
देशमा राजनैतिक परिवर्तन भयो । मेरा ती एक नम्बर प्रिय कामरेडको पार्टीमाथिको प्रतिबन्ध फुकुवा भयो । धेरै मानिसले युद्धमोर्चामा जीवन आहुति गर्नु परे पनि मेरा ती प्रिय कामरेडले जीवन आहुति गर्नुपरेन । मृत्युको मुखबाट उम्केका मेरा प्रिय कमरेडको जीवन मलाई पुनर्जीवन झैँ लागिरहेको थियो । मेरा प्रिय कमरेडको पुनर्जीवनमा म अत्यन्तै खुसी थिएँ ।
भूमिगतबाट खुला राजनीतिमा आइसकेकाले मेरा प्रिय कमरेडलाई भेट्न अब खासै गाह्रो थिएन, तर पनि खुला राजनीतिमा आएपछि कामरेड काठमाडौं छिरेकोले मैले भने उनलाई भेट्न समय निकाल्नै पर्ने भयो । म मेरा पुनर्जीवन पाएका प्रिय कामरेडको अनुहार हेर्न गाउँबाट काठमाडौँ सहर छिरेँ । बागबजारमा बसेका छन् भन्ने जानकारी पाएँ । बल्ल बल्ल उनी बसेको घर पत्ता लगाएँ । एउटा फ्ल्याट भाडामा लिएर बसेका रहेछन् । पहिलोचोटि भेट्दा उनका वरिपरि कार्यकर्ता थिए । यसपटक भेट्दा वरिपरि व्यापारी र उद्योगपतिहरु रहेछन् । जसरी पहिलो चोटि भेट्दा नमस्कार गरेरथेँ त्यसैगरी भेट्नासाथ नमस्कार गरेँ ।
पहिलो चोटि नमस्कार गर्दा उनले हात मिलाउन मतिर हात अगाडि बढाएथे यसपटक कलेज पढ्ने टिनएजरले गरेको हाइ … को शैलीमा हात उठाए झैँ गरे । विगतमा भेटेको संस्मरण गराउँदै आफूलाई पुनर्परिचय गराएँ, तर उनले सोझै भने- ‘कामका कुरा गर्नुस् ।” खासै काम केही थिएन । एकछिन बसेर उनको गतिविधि र प्रगतिको अवलोकन गरेँ। श्रीमतीलाई जागिर खुवाएछन्, छोराछोरीलाई बोर्डिङमा हालेछन्, आफ्ना वरिपरि आउने उद्योगी र व्यापारीहरुलाई विभिन्न ठेक्का मिलाइदिने र कर छुटाइदिने अश्वासन दिन थालेछन् । एउटा मोटरसाइकल पनि किनेछन् मनमनै लाग्यो- “ओहो । दुःख पाएका थिए, जे भए पनि कामरेडले धेरै प्रगति गरेछन् । केही छिनको बसाइपछि म बिदा हुने तर्खरमा लागेँ । मेरो बिदाइको नमस्कारमा फेरि उही औपचारिकताको हात उठाए । कामरेड सामान्य दिनचर्यामा फर्केछन् । गाउँमा गएर म पनि आफ्नै दिनचर्यामा लागेँ ।
भेट नं. ३
देशमा चुनाव भयो । ती मेरा प्रिय कामरेडले चुनाव जिते । मन्त्री भए । यी सबै कुरा सुनेर मेरो हर्षको सीमा रहेन । एकपटक भेटेर मेरा प्रिय कामरेडलाई बधाइ त दिनै पर्याे भनेर मेरा प्रिय कामरेड भेट्न म फेरि काठमाडौँ हानिएँ । पहिले बागबजारमा फ्ल्याट भाडामा लिएर बस्ने कामरेड मन्त्री भएपछि आफैँले घर किनेर डिल्लीबजार सरेछन् । उनलाई भेट्नासाथ श्रद्धापूर्वक नमस्कार गरेँ, बधाई दिएँ । गाह्रो गरी नमस्कार फर्काए, “जाबो बधाइ दिन पनि यहाँ आइरहनुपर्छ, फोनबाट भने भइहाल्थ्यो नि, ठाडो स्वरमा कामरेडले भने । वरिपरि धेरै सुकिलामुकिलाहरु थिए, मसँग कुरा गर्ने उनको तह नमिले झैँ लाग्यो । बाहिर निस्केँ । सर्भेन्ट क्वाटारमा आँखा पर्यो । उही हाम्रो गाउँको पल्लाघरे साहिँलो पहरेदार रहेछ, जसको बाबुले युद्धमोर्चामा शाहदत प्राप्त गरेका थिए । घरमा कमाउने मान्छेको मृत्युले परिवारको बिल्लीवाठ भएपछि तीनै कामरेडको पछि लागेर साहिँलो सहर पसेको थियो, आफ्नो सर्भेन्ट क्वाटारमा काम दिएर साहिँलाको उद्धार गरिदिएछन् कामरेडले । साहिँलाबाट कामरेडको प्रगति थाहा पाएँ । कामरेडले मोटरसाइकल बेचेर निजी गाडी पनि किनेछन् । छोराछोरीलाई पढ्न विदेशतिर पठाएछन् । श्रीमतीलाई जागिर छुटाएर एउटा संवैधानिक आयोगको सदस्य बनाएछन् । टोलछिमेकमा हाइहाई रहेछ । वरिपरि तस्करहरुको लस्कर रहेछ । कार्यकर्ताले कामरेडलाई भेट्न भने चाहिँ टिकट काट्नुपर्ने भइसकेको रहेछ ।
ओहो ! मेरा प्रिय कामरेड प्रगतिको तेस्रो खुड्किला उक्लेछन् । साहिँलाले भन्थ्यो- कसै कसैले कामरेडको विलासिताको बिरोध पनि गरे अरे । कामरेडको यो प्रगतिमा धेरैको इर्ष्या पनि छ अरे, तर मलाई यस्तो प्रगतिको विरोध गर्न मन लागेन । आफूले पनि प्रगति गर्न नसक्नु अरुको प्रगतिको पनि डाहा गर्नु त भएन नि ! म ज्यादै हर्षले गदगद भएँ । लाग्यो यो देशमा मेरा कोही ठूला मान्छे छैनन्, अब त कम्तीमा पनि मैले चिनेको एक जना कामरेडले भए पनि प्रगति गरेछन्, ठूलो मान्छे भएछन् । कामरेडले यो प्रगति गरेर ठूलो मान्छे भएकाले नै मैले पनि जिन्दगीमा ठूलो मान्छे भेट्न पाएँ । धन्य म ! धन्य मेरा कामरेड !
०००
काठमाडाैं
हाइ, हाइ नेपालबन्द ! (२०७०)
Subscribe
Login
0 Comments
Oldest







































