साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कामरेडसँग तीन भेट

श्रीमतीलाई जागिर छुटाएर एउटा संवैधानिक आयोगको सदस्य बनाएछन् । टोलछिमेकमा हाइहाई रहेछ । वरिपरि तस्करहरुको लस्कर रहेछ । कार्यकर्ताले कामरेडलाई भेट्न भने चाहिँ टिकट काट्नुपर्ने भइसकेको रहेछ ।

Nepal Telecom ad

डा. टीकाराम पोखरेल :

भेट नं. १
पहिलोपटक मैले कामरेडलाई भेट्दा उनको पार्टी प्रतिबन्धित थियो । भूमिगत भएकाले होला कामरेडको लवाइखुवाइमा पनि अलि छ‌द्मपना नै थियो, तर विलासिताको गन्ध भने कत्ति पनि थिएन । त्यो भेटमा उनका वरिपरि कार्यकर्ता थिए । कामरेड एकदम गम्भीर मुद्रामा थिए । जीवन अत्यन्तै सादा देखिन्थ्यो । उनीसँग प्रमाणपत्रका ठेली नभए पनि व्यावहारिक रुपमा साहै उच्च विचारका धनी लागेको थियो, । चिन्तन, दर्शन, प्रशिक्षण, आदर्श र सिद्धान्त उनका दिनचर्या थिए ।

पहिलोपटक जब मेरो उनीसँग भेट भयो त्यसबेला उनी मसँग अपरिचित थिए । एकजना साथीले उनीसँग मेरो परिचय गराएको थियो, तर पनि उनले मलाई अपरिचित जस्तो व्यवहार होइन परिचित झै व्यवहार गरेथे, मानौं कि यसअघि नै मेरो उनीसँग घनिष्टता थियो । मसँग झरप्प हात मिलाएथे हातै तातो हुने गरी । अनि मलाई घप्लक्क अँगालो हालेथे आफ्‌नै एकाघरको भाइलाई झैँ।

परिचयको औपचारिकतापछि कामरेडले देशको मुक्तिका कुरा गरेथे । जनताको मुक्तिका कुरा गरेथे । जनताका व्यथा र युद्धमोर्चाका बलिदानीका कथा सुनाएथे । अन्ततः निरङ्कुशतालाई एक दिन घुँडा टेकाएरै छाड्ने अठोट गरेथे । कामरेडका यस्ता क्रान्तिकारी र वैचारिक काले म छिटै प्रभावित भएँथेँ । उनका कुरा सुन्दा त म आफू पनि सबै घरव्यवहार छोडेर कामरेडसँगै मुक्ति अभियानमा सामेल हने कि भन्ने पनि कता कता लागेथ्यो, तर मेरा बाटा अर्कै थिए । कामरेडसँग म प्रभावित हुँदाहुँदै पनि खल्लो मन लिएर आफ्नै बाटोतर्फ लागेँ । नेपाल आमाको मुक्ति आन्दोलनमा त्यस्ता कामरेडहरुको अभियानमा सहभागी हुन नसकेकोमा आफूलाई मनमनै धिक्कारेँ पनि ।

नमिठो मन लिएर कामरेडसँग बिदा भएथेँ । कामरेडले मु‌ट्ठी कसेर अभिवादनसहित मलाई बिदा गरेथे । म गौरवान्वित भएथेँ । त्यतिबेला मलाई लागेथ्यो “भविष्यमा कामरेड यो देशका नं. १ नेता हुनेछन् ।” म एकै भेटमा उनको व्यवहारबाट कामरेडसँग प्रभावित भएथेँ । त्यसैदिनदेखि कामरेड मेरा मनमा बसेथे, उनी मेरा प्रिय बनेथे ।

भेट नं. २
देशमा राजनैतिक परिवर्तन भयो । मेरा ती एक नम्बर प्रिय कामरेडको पार्टीमाथिको प्रतिबन्ध फुकुवा भयो । धेरै मानिसले युद्धमोर्चामा जीवन आहुति गर्नु परे पनि मेरा ती प्रिय कामरेडले जीवन आहुति गर्नुपरेन । मृत्युको मुखबाट उम्केका मेरा प्रिय कमरेडको जीवन मलाई पुनर्जीवन झैँ लागिरहेको थियो । मेरा प्रिय कमरेडको पुनर्जीवनमा म अत्यन्तै खुसी थिएँ ।

भूमिगतबाट खुला राजनीतिमा आइसकेकाले मेरा प्रिय कमरेडलाई भेट्न अब खासै गाह्रो थिएन, तर पनि खुला राजनीतिमा आएपछि कामरेड काठमाडौं छिरेकोले मैले भने उनलाई भेट्न समय निकाल्नै पर्ने भयो । म मेरा पुनर्जीवन पाएका प्रिय कामरेडको अनुहार हेर्न गाउँबाट काठमाडौँ सहर छिरेँ । बागबजारमा बसेका छन् भन्ने जानकारी पाएँ । बल्ल बल्ल उनी बसेको घर पत्ता लगाएँ । एउटा फ्ल्याट भाडामा लिएर बसेका रहेछन् । पहिलोचोटि भेट्दा उनका वरिपरि कार्यकर्ता थिए । यसपटक भेट्दा वरिपरि व्यापारी र उद्योगपतिहरु रहेछन् । जसरी पहिलो चोटि भेट्दा नमस्कार गरेरथेँ त्यसैगरी भेट्नासाथ नमस्कार गरेँ ।

पहिलो चोटि नमस्कार गर्दा उनले हात मिलाउन मतिर हात अगाडि बढाएथे यसपटक कलेज पढ्ने टिनएजरले गरेको हाइ … को शैलीमा हात उठाए झैँ गरे । विगतमा भेटेको संस्मरण गराउँदै आफूलाई पुनर्परिचय गराएँ, तर उनले सोझै भने- ‘कामका कुरा गर्नुस् ।” खासै काम केही थिएन । एकछिन बसेर उनको गतिविधि र प्रगतिको अवलोकन गरेँ। श्रीमतीलाई जागिर खुवाएछन्, छोराछोरीलाई बोर्डिङमा हालेछन्, आफ्‌ना वरिपरि आउने उद्योगी र व्यापारीहरुलाई विभिन्न ठेक्का मिलाइदिने र कर छुटाइदिने अश्वासन दिन थालेछन् । एउटा मोटरसाइकल पनि किनेछन् मनमनै लाग्यो- “ओहो । दुःख पाएका थिए, जे भए पनि कामरेडले धेरै प्रगति गरेछन् । केही छिनको बसाइपछि म बिदा हुने तर्खरमा लागेँ । मेरो बिदाइको नमस्कारमा फेरि उही औपचारिकताको हात उठाए । कामरेड सामान्य दिनचर्यामा फर्केछन् । गाउँमा गएर म पनि आफ्‌नै दिनचर्यामा लागेँ ।

भेट नं. ३
देशमा चुनाव भयो । ती मेरा प्रिय कामरेडले चुनाव जिते । मन्त्री भए । यी सबै कुरा सुनेर मेरो हर्षको सीमा रहेन । एकपटक भेटेर मेरा प्रिय कामरेडलाई बधाइ त दिनै पर्याे भनेर मेरा प्रिय कामरेड भेट्न म फेरि काठमाडौँ हानिएँ । पहिले बागबजारमा फ्ल्याट भाडामा लिएर बस्ने कामरेड मन्त्री भएपछि आफैँले घर किनेर डिल्लीबजार सरेछन् । उनलाई भेट्नासाथ श्रद्धापूर्वक नमस्कार गरेँ, बधाई दिएँ । गाह्रो गरी नमस्कार फर्काए, “जाबो बधाइ दिन पनि यहाँ आइरहनुपर्छ, फोनबाट भने भइहाल्थ्यो नि, ठाडो स्वरमा कामरेडले भने । वरिपरि धेरै सुकिलामुकिलाहरु थिए, मसँग कुरा गर्ने उनको तह नमिले झैँ लाग्यो । बाहिर निस्केँ । सर्भेन्ट क्वाटारमा आँखा पर्यो । उही हाम्रो गाउँको पल्लाघरे साहिँलो पहरेदार रहेछ, जसको बाबुले युद्धमोर्चामा शाहदत प्राप्त गरेका थिए । घरमा कमाउने मान्छेको मृत्युले परिवारको बिल्लीवाठ भएपछि तीनै कामरेडको पछि लागेर साहिँलो सहर पसेको थियो, आफ्‌नो सर्भेन्ट क्वाटारमा काम दिएर साहिँलाको उद्धार गरिदिएछन् कामरेडले । साहिँलाबाट कामरेडको प्रगति थाहा पाएँ । कामरेडले मोटरसाइकल बेचेर निजी गाडी पनि किनेछन् । छोराछोरीलाई पढ्न विदेशतिर पठाएछन् । श्रीमतीलाई जागिर छुटाएर एउटा संवैधानिक आयोगको सदस्य बनाएछन् । टोलछिमेकमा हाइहाई रहेछ । वरिपरि तस्करहरुको लस्कर रहेछ । कार्यकर्ताले कामरेडलाई भेट्न भने चाहिँ टिकट काट्नुपर्ने भइसकेको रहेछ ।

ओहो ! मेरा प्रिय कामरेड प्रगतिको तेस्रो खु‌ड्किला उक्लेछन् । साहिँलाले भन्थ्यो- कसै कसैले कामरेडको विलासिताको बिरोध पनि गरे अरे । कामरेडको यो प्रगतिमा धेरैको इर्ष्या पनि छ अरे, तर मलाई यस्तो प्रगतिको विरोध गर्न मन लागेन । आफूले पनि प्रगति गर्न नसक्नु अरुको प्रगतिको पनि डाहा गर्नु त भएन नि ! म ज्यादै हर्षले गदगद भएँ । लाग्यो यो देशमा मेरा कोही ठूला मान्छे छैनन्, अब त कम्तीमा पनि मैले चिनेको एक जना कामरेडले भए पनि प्रगति गरेछन्, ठूलो मान्छे भएछन् । कामरेडले यो प्रगति गरेर ठूलो मान्छे भएकाले नै मैले पनि जिन्दगीमा ठूलो मान्छे भेट्न पाएँ । धन्य म ! धन्य मेरा कामरेड !

०००
काठमाडाैं
हाइ, हाइ नेपालबन्द ! (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x