साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेम शताब्दी

भोको पेटले प्रेम गर्न सक्दैन । त्यसैले सुखमा मात्र प्रेम फस्टाउँछ भन्नेमा विश्व समुदाय एकमत भएको छ । प्रेममा दुःख बर्जित छ, यो युग भौतिवादी युग भएकाले धन विना मनले प्रेम हुन्छ भन्ने भ्रामक बुझाइमा संशोधन हुनुपर्छ ।

Nepal Telecom ad

डा. टीकाराम पोखरेल :

एक्काइसौँ शताब्दी प्रेमको लागि उर्वर शताब्दी हुने प्रक्षेपण बीसौँ शताब्दीमै भइसकेको थियो । प्रक्षेपण मिलेको छ । एक्काइसौँ शताब्दी प्रेममय भएको छ । शताब्दीको पूर्वसन्ध्यामा नै अन्तर्राष्ट्र्रिय प्रेम सम्मेलन आयोजना हुनुले पनि विश्व प्रेममय भएको पुष्टि गरेको छ । सम्मेलनमा म पनि सहभागीको रुपमा निम्त्याइएको छु ।

अन्तर्राष्ट्र्रिय प्रेम सम्मेलनलाई गुगल, माइक्रोसफ्‌ट, मेटा, ओपन एआइ, स्पेश एक्स जस्ता कम्पनीहरुले प्रायोजन गरेका छन् ।

सम्मेलनमा प्रेम विषयक दार्शनिक प्रवचनहरु भइरहेका छन् । प्रेमसम्बन्धी चलचित्र, डकुमेण्ट्री र नाटकहरु प्रदर्शन भइरहेका छन् । प्रेममाथि कथा लेखिका छन् । कविता वाचन गरिँदै छन् । प्रेमका पारखीहरुले आफ्‌ना प्रेम अनुभवहरु साटासाट गरिरहेका छन् ।

प्रेम शताब्दी भएकाले जसलाई जोसँग पनि प्रेम गर्न छुट दिइएको छ । प्रदर्शनीमा प्रेम गर्ने तरिकाहरुको बारेमा जानकारी दिन स्टलहरु पनि राखिएका छन् ।

शहरमा भर्खरै खुलेको प्रेमशास्त्र पढाउने कलेजले निशुल्क भर्नाको स्किमसहित स्टल राखेको छ ।
मध्यरातसम्म प्रेम पार्टीहरु चलिरहेका छन् ।

प्रेमसम्बन्धी विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत गरिने कार्यक्रम छ ।
सम्पूर्ण विश्व प्रेममय भइरहेछ ।

सम्मेलनको अन्त्यमा प्रेम सम्बन्धी अन्तर्राष्ट्रिय घोषणापत्र जारी हुने कार्यक्रम छ ।

एक्काइसौँ शताब्दीलाई प्रेमको स्वर्ण युगका रुपमा चित्रित गर्न सम्पूर्ण विश्वको प्रयास सार्थक हुन खोज्दै छ । सम्मेलन उत्सवमय भएको छ ।

सम्मेलनमा प्रेम विषयक कथा प्रतियोगितामा कथाहरु वाचन गरिएका छन् ।
जसको परिणाम घोषणा भैसकेको छ । प्रतियोगितामा विजयी कथाहरु यस्ता छन् :
००

प्रथम स्थान : फेसबुक कथा
हामी फेसबुक फ्रेण्ड भएको धेरै भएको थिएन । कसले पहिलो रिक्वेष्ट पठायो भन्ने एकीन छैन । तर यति चाहिँ एकीन छ कि, प्रेम प्रस्ताव भने उनले नै पहिले गरेकी थिइन् ।

म्यासेन्जरमा हामी बिच च्याटको रफ्‌तार चल्दै गर्दा एक दिन उनले भनिन्‌– ‘हजुर त कस्तो ह्याण्डसम है ।’
‘मलाई पहिले देख्नुभएको छ र ?’ मैले सोधेँ ।
‘देख्नै पर्दैन नि, कति ह्याण्डसम भन्ने त फोटो हेरेरै थाहा भैहाल्छ नि ।’ उनले भनिन् ।
उनले मलाई ह्याण्डसम नै भनेपछि मैले पनि उनको गुन त तिर्नैै पर्‍यो भनेर फेसबुकमा उनका एक दुई फोटो हेरेँ र लाइक पनि गरेँ । फोटोमा उनी साँच्चै राम्री पो देखिएकी थिइन् । त्यसपछि मैले पनि भन्दिएँ– ‘यु आर सो ब्युटिफुल ।’
‘थ्यान्क्यू भेरि मच ।’ उनले आभार व्यक्त गरिन् ।
केही दिनपछि फेरि उनले नै बोलाइन्‌– ‘हाई !’
मैले पनि प्रत्युत्तर फर्काएँ– ‘हाई !’
‘मैले नबोलाएसम्म त हजुर बोल्दै बोल्नु हुँदो रहेनछ नि है ।’ उनले मप्रति असन्तुष्टि पोखिन् ।
‘म अलि व्यस्त भएर हो ।’ मैले पनि स्पष्टीकरण त दिनै पर्‍यो ।
हाम्रो हाइ, हल्लोबाट सुरु भएको वार्ता छोटो समयमै बसाइ कहाँ हो ? हुँदै एक अर्काको प्रशंसाको शिखरमा पुगिसकेको थियो । दिनको एक पटक कुरा नगरी मनै मान्दैनथ्यो ।
एक दिन उनले मुखै खोलेर भनिन्‌– ‘आइ लभ यु ।’
मैले पनि सहजै रिप्लाई दिएँ– ‘आइ लभ यु टु ।’
उनले हर्टवाला इमोजी पठाइन् । मैले पनि प्रत्युत्तरमा त्यस्तै पठाएँ ।
‘आइ लभ यु’ पछि हाम्रो कुराकानी झनै बढ्यो । मेसेन्जरको कुराकानी दिनको एकपटकबाट घण्टाको एक पटकमा पुगिसकेको थियो । कुराकानीको सुरुवातमा ‘हाइ’पछाडि र कुराको अन्त्यमा ‘बाइ’अगाडि एक अर्कालाई ‘आइ लभ यु’ भन्न छुटाउँदैनथ्यौँ हामी ।
‘आहा ! कस्तो मिठो प्रेम । संसारका कुनै पनि जोडीले यति मिठो प्रेम गरेनन् होला है ।’ हामी हाम्रो प्रेमको आपसमा प्रशंसा खुबै गर्न थालेका थिर्यौँ ।
‘अब त हजुर विना म एकछिन पनि बाँच्न सक्दिन ।’ एक दिन उनले भनिन् ।
‘लौ ! के भनेकोे तिमीले ? तिमी कहाँ म विनाको छौ र ? यस्तो अशुभ कुरा नगर न प्रिय ।’ मैले सान्त्वना दिन खोजेँ ।
उनले इमोजी पठाइन्, आँसु झार्दै गरेको ।
‘त्यसो नभन प्रिय !’ भन्दै मैले पनि अङ्कमाल गरेको इमोजी पठाएँ ।
हाम्रो प्रेमयात्राले दुई महिना पनि पार नगर्दै हामी प्रेम महासागरको गहिराइमा डुबिसकेका थियौँ ।
हाम्रो प्रेम झनै रफ्‌तारमा अगाडि बढ्दै थियो ।
तर पाठक र स्रोतालाई सुन्दा अचम्म लाग्न सक्छ– सँगै बाँच्ने सँगै मर्ने कसम खाइसकेका हामीले एक अर्कालाई भेट्ने प्रस्ताव भने आजसम्म गरेका थिएनौँ ।
तर नभेट्ने कसम पनि त खाएका थिएनौँ नि हामीले । त्यसैले तीनमहिनापछि एक दिन भेटे्‌ने योजना बनायौँ । डेटिङ स्पट बन्यो– न्यूरोड पिपलबोट ।
म निर्धारित समयमा पिपलबोट पुगेँ । तर उनी त्यहाँ थिइनन् ।
तुरुन्तै फोन गरेँ । ‘हाइ’ भनिन् ।
‘खै त, तिमी कहाँ ?’
‘म पिपलबोट ।’
‘म पनि पिपलबोट छु त ।’

मेरो एउटा कानमा मेरो फोन सेट थियो, तर उनले फोनमा बोलेको जस्तै आवाज मेरो नजिकैबाट अर्को कानतिर पनि आइरहेको थियो । दाइने कानमा फोनबाट, देव्रे कानमा त्यही आवाज खुला हावाबाट । म खुला आवाज आएकोतिर फनक्क घुमेँ । मोबाइलमा मसँग कुरा गरिरहेको मान्छे मेरो छेउमै थियो । ऊ केटाको भेषमा त्यहीँ मेरो छेउमै उभिरहेको थियो, मभन्दा देब्रेपट्टी । म ऊतिर फर्किनासाथ ऊ ङिच्च दाँत देखाएर हाँस्यो ।
‘मै हो तपाईँकी सहारा, चिन्नु भो नि ।’ उसले भन्यो ।

आजसम्म आफ्‌नो पहिचान लुकाएर मसँग प्रेम गरेकोमा निकै अफ्‌ठ्यारो मान्दै थियो सायद ऊ मसँग । त्यही अफ्‌ठ्यारो पचाउन उसले मसँग ङिच्च दाँत देखाएको हुनुपर्छ ।

उसले अफ्‌ठ्यारो माने पनि मलाई भने अफ्‌ठयाराे लागिरहेको थिएन । अफ्‌ठ्यारो मान्नु नै किन ? मैले पनि आफू विवाहित भएको कुरा उसलाई नलुकाएको भए पो अफ्‌ठ्यारो मान्नु ।
क्लाइमेक्स थियो यो, फेसबुकमा भएको आदर्श प्रेमको ।
०००

द्वितीय स्थान : पीआर कथा
एक दिन पत्रिकामा छापिएको एउटा विज्ञापनमा प्रेमिकाको आँखा पर्‍यो ।
विज्ञापनको शीर्षक थियो– ‘एक अमेरिकीे पीआरधारी खानदानी परिवारको केटालाई सुन्दर कन्या चाहियो ।’
विज्ञापनको व्यहोरामा लेखिएको थियो– ‘जातपात र उमेरको बन्देज छैन । तर कन्या सुन्दर र प्रेमिल हुनुपर्नेछ ।’
सम्पर्क व्यक्ति : प्रेम
फोन नम्बर : ……३५१०९८
इमेल : ह्याण्डसमब्वाइ एट जिमेल डट कम
पुनश्च : इच्छुक सुन्दर र प्रेमिल कन्याले मात्र डाइरेक्ट सम्पर्क गर्नुहोला । लमीले कष्ट नगर्नुहोला ।

प्रेमिकाले हतारहतार ऐनामा गएर आफ्‌नो अनुहार हेरिन् । आफ्‌नो अनुहार उनलाई संसारकै सबैभन्दा सुन्दर लाग्यो । प्रेमिल त भन्नै परेन, आफ्‌नो नामै प्रेमिका । विज्ञापनमा खुलाइएको योग्यताअनुसार उनले आफूलाई योग्य मात्र होइन, योग्यत्तम उम्मेदवार ठानिन् ।
प्रेमिकाले आफ्‌नो मोबाइल उठाइन्, विज्ञापनमा सम्पर्कका लागि राखिएको नम्बर दबाइन् ।
‘तपाईँले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्वीच अफ गरिएको छ ।’ उताबाट आवाज आयो ।
‘मोबाइलको स्वीच अफ गरिएको छ’ भन्ने त्यो आवाज प्रेमिकालाई भिलेनको जस्तो लाग्यो । प्रमिकाको अनुहारमा तुरुन्तै निराशाका रेखाहरु कोरिए ।
‘कतै मोबाइल नम्बर रङ त डायल गरिनँ’ भनेर पत्रिकामा हेरिन्, अनि फेरि मोबाइल हेरिन् । नम्बर ठीक दाबिएको थियो ।
दोस्रो पटक नम्बर दाबिन् । उही भिलेनको आवाज आयो ।
विज्ञापनमा मोबाइलको विकल्पमा इमेल पनि त थियो ।
उनले इमेल लेखिन् :
प्रिय प्रेम
म प्रेमिका । विज्ञापनमा उल्लेख भएअनुसार मेरो योग्यता सबै पुगेको छ । म सुन्दर छु । होइन, होइन, सुन्दरी छु । हजुर जुन जातको भए पनि कुन जात भनेर म सोध्दिनँ । हजुरले त मेरो जात सोधिबक्सन्न भनेर विज्ञापनमै खोलिबक्सेकै छ ।

अर्को कुरा पनि सुनिबक्सियोस् प्राणेश्वर ! म पीआरवाला बाहेक कोहीसँग पनि विवाह गर्दिन भनेर हजुरलाई नै पर्खेर बसेको हुँ । हिमालयपुत्री पार्वतीले शिवलाई पति पाऊँ भनी तपस्या गरे झैँ म पनि हजुरको लागि प्रेम तपस्यामा थिएँ । आज मेरो प्रेम तपस्या सफल भयो ।

हजुरको नाम प्रेम । मेरो नाम प्रेमिका । हेरिबक्सियोस् त हजुर ! हामीलाई पूर्व जन्मदेखि नै भगवानले जोडी बनाएर पठाएको त होला । नाम पनि कस्तो मिलाएर राखिदिएको प्रेम–प्रेमिका । बाबुआमाले नभएर भगवान्‌ले नै जुराएर नाम राखिदिए जस्तो ।

हजुरकी प्रेमिका हजुर जस्तै छु । हजुर ढक्क भै बक्सेला । कुनै चिन्ता लिनु पर्दैन । संसारका कुनै पनि नारीले कुनै पनि पुरुषलाई गर्न नसकेको अगाध प्रेम म हजुरलाई गर्नेछु । जिन्दगीमा हजुरले खोजेको मान्छे पाइस्यो हजुरले ।
बरु भनिबक्सियोस् त हजुर ! हजुरसँग विवाह गर्नेबित्तिकै मेरो पीआर त हुन्छ नि ? विवाह अगाडि नै पनि सबै कुराको लागि तयार छु म त । मिल्छ भने त पीआर चाहिँ विवाहअगाडि नै एप्लाइ गरि हालौँ न, हुन्न ?
उही हजुरलाई बर्षौँदेखि पर्खिरहेकी

प्रेमकी प्रेमिल प्रेमिका
००

तृतीय स्थान : भ्यालेण्टाइन कथा
‘ह्याप्पी भ्यालेण्टाइन डे डियर ।’ एकाबिहानै बेडबाट नउठ्दै उसले फोनमा भनी ।
‘ह्याप्पी भ्यालेण्टाइन डे टु यु ।’ मैले पनि प्रत्युत्तर फर्काएँ ।
‘तिमी स्लो छौ म्यान, एक्काइसौँ शताब्दीको प्रेमीले पनि भ्यालेण्टाइन डेको दिन यसरी बिहानभरि सुत्नुहुन्छ ? यो त अलि भएन है । अलि फूर्तिलो बन ।’ उसले डाइलग छोडिहाली ।
मैलै अल्छी मान्दै भनेँ– ‘अब उठेँ ।’
उठेँ मात्र होइन, छिटो गरेर नौ बजे खुरुक्क नक्साल आइपुग्ने । भ्यालेण्टाइन डेको दिन नि कोही घर बस्छ ?’ उसले आदेश गरी ।

म लुरुलुरु उसले भनेको ठाउँमा तोकिएको समयमै पुगेँ । म पुग्दा ऊ आइसकेकी थिई ।
‘आज हामी भरपूर मनोरञ्जन गर्छौैँ, नो कम्प्रमाइज ।’ उसले अलिअलि माया मिसाएर चेतावनीको शैलीमा भनी ।
हामी नजिकैको रेष्टुरेण्टमा पसेर कुनाको एउटा टेबलमा बस्यौँ ।
हाम्रो अगाडि मेनु आयो, टिपौटो र पेन लिएर छेउमा वेटर उभियो ।
‘के लिनुहुन्छ ?’ वेटरले हतार लाइहाल्यो ।
‘म पिजा खान्छु । आइ लभ पिजा ।’ उसले भनी
‘बिहानै पिजा ? म त फ्राइराइस खान्छु ।’ मैले मेरो इच्छा बताएँ ।
‘भ्यालेण्टाइन डेको दिन पनि भात नभै नहुने कस्तो भातम्यान यार तिमी त ।’ उसले मलाई खिसिट्यौरी गरी । म मनबाट हाँसो नआए पनि मुखबाट थोरै हाँसिटोपलेँ ।

पिजा खाइसकेपछि उसले आइसक्रिम अर्डर गर्दै भनी– ‘आइ लभ आइसक्रिम ।’
मलाई खान मन नभए पनि उसलाई साथ दिन कालो कफी मगाएँ ।
‘ल, अब आज मलाई घुम्न लैजाऊ है, आइ लभ आउटिङ ।’ उसको अर्को आदेश आयो । आदेश नकार्न सक्ने मसँग क्षमता थिएन ।
हामी स्वयम्भूतिर लाग्यौँ । स्वयम्भूको उकालो चढ्दै गर्दा एउटा बाँदरको छाउरो हाम्रो नजिकैबाट दौडियो । उसले एक्साइटेड हुँदै भनी– ‘वाउ ! आइ लफ बेबी मन्की ।’

ऊ बाँदरको छाउरो समात्न छाउरो पछिपछि दौडी । छाउरो ऊभन्दा छिटो दौडियो । ऊ रित्तो हात भई ।
स्वयम्भूको स्तुपा पुगेर हामीले केही फोटाहरु खिच्यौँ । उसले भनी– ‘आइ लभ फोटो सुट ।’
स्वयम्भूको घुमघामपछि उसले न्यूरोड जाने प्रस्ताव गरी । भनी– ‘ओ मिस्टर ब्वाइ ! आज मलाई के गिफ्‌ट दिन्छौँ । टन्नै सपिङ गर्दिन्छौ होला नि न्यूरोडमा ? आइ लभ सपिङ ।’
न्यूरोड पुगेर उसलाई सपिङ गरिदिँदा झमक्क साँझ परिसकेको थियो । त्यसपछि उसले भ्यालेण्टाइन कन्सर्ट जाने प्रस्ताव गरी । भनी– ‘आइ लभ कन्सर्ट ।’
उसको इच्छालाई म मार्न सक्दैनथेँ । आखिर ऊ मेरी प्रेमिका थिई । हामी टिकट लिएर कन्सर्ट हलमा पस्यौँ । भित्र छिर्नासाथ उसले बियर अर्डर गर्दै भनी– ‘आइ लभ बियर ।’
बियरले झड्का दिँदै गएपछि ऊ ग्रुपमा मिसिएर नाच्न थाली । एकछिनमा गाउन थाली । गाउँदागाउँदै झिलिकमिलिक बत्ती र मान्छेको भिडमा ऊ कता हराई कता । म उसले दिउँसो गरेका सपिङका झोला च्यापेर उसको खोजीमा रुमल्लिँदै थिएँ । कन्सर्ट सकिनै लाग्दा ऊ बल्ल देखा परी । बियरको नसामा जोडले चिच्च्याउँदै उसले भनी– ‘आइ लभ अल अफ यु म्यान ।’
उसले उपस्थित सबैलाई फ्‌लाइङ किस फाली ।
००

सान्त्वना स्थान : लैला मजनु (क्लासिकल कथा)
आधुनिक कथालाई मात्र विजयी घोषित गर्दा निर्णायक मण्डलाई धाँधली गरेको आरोप लाग्छ भन्ने ठानेर हुन सक्छ, निर्णायक मण्डलले एउटा क्लासिकल कथा सुटुक्क छानेर सान्त्वना पुरस्कार पाउने घोषणा गरिदिएको थियो । क्लासिकल कथा अरबी कवि निजामी गान्जीबको लैला मजनुको कथाको रिमिक्स थियो । कथा यस्तो थियो :

लैला र मजनु एक अर्कालाई अगाध प्रेम गर्थे । उनीहरु यतिसम्म एक अर्कालाई विस्वास गर्थे भनौँ कि समर्पित थिए भनौँ, विवाह नभए पनि उनीहरु सँगै बसेका थिए । लिभिङ टुगेदरमा ।

सँगै बसे पनि लैला मजनुको प्रेम कुमारी प्रेम थियो । मतलब अरवी कथाको लैला मजनुको जस्तै भर्जिन लभ । एउटै कोठामा दुवैको बेड शेयरिङ भए पनि लैला मजनु दुवै कुमार कुमारी छन् भन्ने कुरामा कानून विश्वस्त थियो ।
प्रेमी कुमार र प्रेमिका कुमारी भएपछि प्रेममा पनि कमारित्व जोगिएको कुरामा कसैले प्रश्न गर्न सक्दैनथ्यो ।

एक दिन लैला र मजनु बिच खटपट सुरु भयो । लैलाले लिभिङ टुगेदरबाट लिभिङ सेपरेटको निर्णय गरी ।
सेपरेट भएपछि उसले भनी– ‘अब म कुमारी छैन । मजनुले मेरो कुमारित्व भङ्ग गरिदियो । मेरो इच्छा विपरीत ।’
लैला अदालत गई ।

अदालतले भन्यो– ‘जबसम्म धर्तीमा मान्छे रहन्छन्, तबसम्म लिभिङ टुगेदरमा कुमारित्व सुरक्षित हुने र लिभिङ सेपरेट भएपछि कुमारित्व भङ्ग हुने कुरामा कुनै द्विविधा छैन ।’
मजनु जेल चलान भयो ।
००

प्रतियोगितामा भर्च्युयल प्रेम, राजनीतिक प्रेम, व्यापारिक प्रेम, छड्के प्रेम, कड्के प्रेम, घुम्ती प्रेम जस्ता आधुनिक प्रेमकथाहरु पनि प्रस्तुत भएका थिए । महाभारत, रामायण, रोमियो जुलियट, मुना मदनलाई आधुनीकीकरण गरी लेखिएका प्रेम कथाहरु पनि चर्चाका विषय बने । तर एआईको सहयोगमा निर्णायक मण्डलले घोषणा गरेका फेसबुक, पीआर, भ्यालेण्टाइन र लैलामजनुलाई विषयवस्तु बनाएका कथाहरु नै प्रतियोगितामा विजयी भएका थिए ।

प्रेम सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको अन्त्यमा घोषणापत्र जारी गरिएको थियो । घोषणापत्रको सार यस्तो थियो ।
हामी संसारभरका प्रेमी प्रेमिका र सम्मेलनका सहभागीहरु योे घोषणापत्र जारी गर्न सहमत छौँ कि :
‐ प्रेम बन्धन होइन, स्वतन्त्रता हो, त्यसैले चाहेको बेला दुई व्यक्ति एक जुट र नचाहेको बेला आफूखुसी छुट भन्ने स्वतन्त्रताको सम्पूर्ण सहभागीहरु सम्मान गर्दछौँ ।

‐ प्रेम एक अर्काप्रतिको विश्वास र समर्पण हो भन्ने कुरामा हामीलाई विश्वास छैन । कसैले कसैका लागि समर्पण गर्ने होइन र आधुनिक युगमा शङ्काको सुविधा सबैलाई भएकोले प्रेममा विश्वास अर्थहीन कुरा हो भन्नेमा हामी सहमत छौँ ।

‐ प्रेम हृदयबाट गरिन्छ भन्ने परम्परागत मान्यतालाई हामी इन्कार गर्दछौँ । हृदय जस्तो नदेखिने काल्पनिक कुराको अस्तित्व स्वीकार गरेर प्रेममा भ्रम छरिएको कुराको हामी भत्र्सना गर्दछौँ र अबदेखि प्रेम दुई व्यक्तिको सम्झौतामा चल्छ भन्नेमा हामी विश्वस्त छौँ ।

‐ भोको पेटले प्रेम गर्न सक्दैन । त्यसैले सुखमा मात्र प्रेम फस्टाउँछ भन्नेमा विश्व समुदाय एकमत भएको छ । प्रेममा दुःख बर्जित छ, यो युग भौतिवादी युग भएकाले धन विना मनले प्रेम हुन्छ भन्ने भ्रामक बुझाइमा संशोधन हुनुपर्छ भन्नेमा हामी एकमत छौँ ।

‐ अबको प्रेममा अत्यधिक रुपमा प्रविधिको प्रयोग गरिने छ । अबको एक दशकमा प्रविधि विनाको प्रेमलाई लगभग शून्यमा झार्न हामी प्रतिबद्ध छौँ ।

एक्काइसौँ शताब्दीको अन्तर्राष्ट्रिय प्रेम सम्मेलन भूमण्डलमा भएको छ । अर्को शताब्दीको प्रेम सम्मेलन अन्तरिक्षमा हुनु उपयुक्त भएकाले बाइसौँ शताब्दीको प्रेम सम्मेलन अन्तरिक्षमा गर्न अन्तरिक्ष समुदायलाई आग्रह गर्दै यो सम्मेलन भव्यताका साथ सम्पन्न भएको स्वघोषणा गर्दछौँ ।

०००
मोबाइल : ९८५१०५३१२७
tikaram.pokharel@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x