डा. टीकाराम पोखरेलकवि बन्ने रहर
जसरी नि मलाई अब कवि बन्नु पर्यो राजनीतिको झोला छोडी यस्तो रहर गर्यो, कवि बन्न गर्नसक्छु सबै योग्यता पूरा एउटा पूरा गर्न सक्दिन कविता लेख्ने कुरा ।

डा. टीकाराम पोखरेल :
कवि !
लेखनाथ, देवकोटा, सम, घिमिरे, भूपी, काइँला र कोइरालाहरु सम्झेँ ।
ओहो ! कत्रो सम्मान ।
पछिल्ला समयमा बजारमा देखा परेका भर्खरै दाएका गोरुका बहरको जस्तो जोश भएका जल्दाबल्दा कविहरुको चुरिफुरी सम्झेँ ।
कविका सम्मान त कति हो कति ? घाँटीभरि माला, हातभरि प्रमाणपत्र, जहाँ उभियो त्यहाँ ताली । युवा कविहरुलाई कार्यक्रममा कविता भन्न भ्याइनभ्याई । बल्लबल्ल समय मिलाएर कविता भन्न गयो, वान्समोरले अर्को ठाउँमा पुग्ने रुटिन नै बिग्रने कविहरुको ।
यो देशमा नेता खाने गाली, कवि खाने ताली ।
अनि मलाई पनि कवि बन्ने रहर जाग्यो ।
विगतमा अलिअलि गरेको राजनीतिको झोला बागमतीमा लगेर सेलाएँ ।
झोलेबाट मुक्ति भएँ । कवि बन्ने अर्को कित्तामा पाइला राखेँ ।
अनि नाम चलेका कवि जस्तै बन्ने लोभमा कविता लेख्न सुरु गरेँ ।्
तर :
लेखनाथ बन्न खोजेँ लेख्नै आएन
देवकोटा बन्न खोज्दा कोटा पाएन,
बालकृष्ण बन्न खोज्दा बालै दिएनन्
मेरा कविताको प्रशंसक किन भएनन् ?
घिमिरे बन्न खोज्दा तिरमिरे भो आँखा
लौन भूपी भनिदेऊ कस्तो हुन्छ भाका,
कवि बन्ने रहर चाहिँ गरेँ मैले अहिले
कवि चाहिँ म अब बन्ने होला कहिले ?
युवा कवि देख्दाखेरी डाहा लागेर आउँछ
मेरो मनको कुरा ऊ पो भाका हाली गाउँछ,
लौन प्रभु ! मलाई पनि कवि बनाइदेउ न
दस्तुर लाग्ने भए बरु बिल पठाइदेउ न ।
जसरी नि मलाई अब कवि बन्नु पर्यो
राजनीतिको झोला छोडी यस्तो रहर गर्यो,
कवि बन्न गर्नसक्छु सबै योग्यता पूरा
एउटा पूरा गर्न सक्दिन कविता लेख्ने कुरा ।
०००
२५ साउन २०८२, गाईजात्रा
बुढानीलकण्ठ, काठमाडौँ
मोबाइल : ९८५१०५३१२७
Subscribe
Login
0 Comments
Oldest









































