साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राज्य हराएको सूचना !

जहाँ राज्य छैन त्यहाँ अन्याय र भ्रष्टाचार र कुशासन त हुुन्छ नै । यसको अन्त्यको लागि राज्यको उपस्थिति चाहिन्छ तर जताततै राज्य गैरहाजिर छ । अब मैले राज्य कहाँ भेट्ने ? ठूला बडाले भेट्न नसकेको राज्य मैले कसरी फेला पार्ने ?

Nepal Telecom ad

डा. टीकाराम पोखरेल :

राजतन्त्र कि गणतन्त्र भन्ने बहस तीव्र गतिमा आगाडि बढेको छ । बहसले यसरी सगरमाथा छुन लागिसक्यो, राज्य के हेरेर बसेको छ ? सर्वसाधारणमा यस्तो प्रश्न उब्जेको छ । मेरो बोधो दिमागलाई पनि यो राज्य के हेरेर बसेको छ भन्ने कुराले क्लिक गर्यो । साँच्चै राज्य के हेरेर बसेको रहेछ त भनेर म पनि राज्यको जासुसी गर्न थालेँ । अनि लागेँ राज्य खोज्न ।

राज्य खोज्ने त भनेँ, तर राज्य कहाँ पाइन्छ हँँ ? आफैँले आफैँलाई प्रश्न गरेँ । अहँ, उत्तर पाइनँ । साँच्ची राज्य कहाँ पाइन्छ ? कसलाई सोधौँ भनेर सडकतिर भौतारिँदै थिएँ । एकजना सकिलामुकिला सुटटाइधारीसँग भेट भयो । मौका यही हो भनेर मैले उनीसँग सोधिहालेँ– “राज्य कहाँ छ ?”

उनले भने– “कुन राज्य खोज्नु भएको अधिराज्य कि गणराज्य ? अधिराज्य खोजेको हो भने त नारायणहिटीमा इतिहास भैसक्यो, गणराज्य खोजेको भए चाहिँ शीतलनिवास जानुस् ।”

ए, हो त नि । राज्य त यो देशका ठूला मान्छे जहाँ बस्छन्, त्यहाँ पो हुन्छ त । म पनि कस्तो हुस्सु, सडकतिर राज्य खोजी हिँड्ने ?

यो देशका सबैभन्दा ठूला मान्छे शीतल निवासमा बस्छन् । राष्ट्रपति अर्थात् राष्ट्रका पनि मालिक जहाँ हुन्छन्, राज्य पक्कै त्यही छ । यही निष्कर्षसहित म सरासर शीतल निवासतिर लागेँ ।

शीतल निवासमा भूमिगत शैलीमा चियाएको मात्र के थिएँ, राष्ट्रपति महोदय त राजनीतिक दलहरुले राजातन्त्रवादीसँग सहमति गरेर आफूलाई नै टाटा बाइबाइ गराउने त होइनन् ? भन्ने भित्री पीडा बोकेर बस्नु भएको रहेछ । यस्तो आफ्‌नै पद बचाउने छटपटीको अवस्थामा महामहिमलाई देखेर अलिकति दया पलायो । तर मेरो मिशन दयामाया भन्दा पनि राज्य खोज्नु थियो । दयामायालाई थाति राखेर राम्ररी नियालेको त शीतल निवासमा राष्ट्रपति मात्र देखियो, राज्य त देखिएन ।

तैपनि महामहिमकहाँ पुगि नै सकेपछि त्यत्तिकै के फर्किनु भनेर आफ्‌नो भूमिगत स्वरुपलाई त्यागे र सशरीर राष्ट्रपति अगाडि उभिएर सोधेँ– ‘राज्य कता छ महामहिम ज्यू ? महामहिमज्यूले भन्नुभो– “अब शीतल निवासबाट मलाई नै घोक्य्राउलान् जस्तो छ, अनि मलाई के थाहा ? बरु तपाईँको प्रश्न विराजमान हुन खुट्टा उचालेकालाई सोध्नु नि ।”

महामहिमको हर्रो मिस्सिएको जस्तो टर्रो जवाफ आयो । जति टर्रो भए पनि कुरो त ठीकै हो नि, शीतल निवासबाट निस्कन लागेकोलाई राज्य के थाहा ? बरु नारायणहिटी पस्न लागेकोलाई पो राज्य थाहा हुन्छ । दौडिँदै निर्मल निवास पुगेँ । भित्र पस्न खुट्टा उचालेकालाई सोधेँ, राज्य कहाँ छ ? उहाँले भन्नुभो– ‘मैले कुनै बेला जनताको नासो जनतालाई सुम्पेको थिएँ, तर त्यो नासो नेतालाई गलपासो भो । अब बेला भयो । त्यो नासो म नै फिर्ता लिन्छु । मलाई साथ दिनुस् । नासो फिर्ता लिएपछि पनि मैले मेरा परिवार र आसेपासे बाहेक अरुको कल्याण गर्न सक्तिन, त्यसैले श्रीपशुपतिनाथले सबैको कल्याण गरुन् । जहाँसम्म राज्यको कुरा छ, यो गणतन्त्रको गणराज्यमा गण हटाइदिनुस्, राज्य बाँकी रहन्छ । गण हटाएर बाँकी रहेको राज्य तपाईँहरुकै भयो । मलाई राजगद्दी भए पुग्यो ।’

त्यसो त यो देश सेरेमोनियलको होइन कार्यकारीको हो भन्ने पनि मैले अलिअलि सुनेको थिएँ । त्यसैले राज्यका सम्बन्धमा सेरेमोनियलहरुबाट आएका यस्ता उत्तरबाट सन्तुष्ट नभएपछि कार्यकारी सिंहदरबारलाई त राज्य कता छ पक्कै थाहा होला भन्ने अनुमान लगाउँदै म सिंहदरबारतिर हानिएँ । सिंहदरबारका कार्यकारी पनि उही राजतन्त्र र गणतन्त्र भन्ने बहसको तनावमा रहेछन् । गणतन्त्रवादीहरुको रणनीतिक वैठकमा व्यस्त भएकाले उनले मलाई भेट्न नसक्ने जानकारी पीए मार्फत गराए । राज्य कहाँ छ ? सोधिदिनुस् न भनेको त फेरि पीए मार्फत नै उनले खबर पठाए । प्रधानमन्त्रीको हवला दिँदै पीएले भने– “राज्य खोज्ने भए यता होइन, उता जानुस् रे ।” थप प्रश्न गर्न नपाउँदै पीएसाप बाटो लागे ।

होइन यो उता भनेको कता हो ? मेरो दिमागले एकछिन त कामै गरेन । जति लाटो दिमाग भए पनि दिमाग खियाउने छुट सबैलाई छ । मैले पनि आफ्‌नो दिमागलाई खियाएर बाठो बनाउने प्रयास गरेँ । मेरो दिमागले पनि हल्काफुल्का काम गरिहाल्यो । राज्य भनेको जनता हो भन्छन्, उनले पक्का जनप्रतिनिधिको जमघट हुने संसदलाई उता भनेका हुनुपर्छ । पक्का पनि हो त्यै उतामा होला राज्य । म हानिएँ संसदतिर ।

“हुन्छ भन्नेले हुन्छ भन्नुहोला, हुन्न भन्नेले हुन्न भन्नुहोला” भन्दाभन्दा थाकेका त्यहाँका प्रमुख पनि उही अघिल्ला निकायका प्रमुख जस्तै गणतन्त्र कि राजतन्त्रको बहसको रापमा सेकिएका रहेछन् । अबउप्रान्त हुन्छ भन्नेले…… भन्न नपाउने हो कि भन्ने पीडाले उनलाई पटक पटक ऐया र आत्था गराउँदो रहेछ । तैपनि राज्य कता छ भनेर सोधेको त उनले ‘राज्य कहाँ छ भन्ने कुरामा सबै दल एकमत हुनुपर्ने’ आफ्‌नो धारणा सुनाए ।

उनीबाट दलको नाम सुन्नेबित्तिकै म राज्य खोज्न दलको दैलो चहार्न थालेँ । देशको ठूलो पार्टीको दैलो ढक्कक्याउन सानेपा पुगेको त उनीहरुका प्रमुख त आफ्‌नो प्रधानमन्त्री हुने पालो नआउँदै राजतन्त्र आइहाल्ने त होइन भन्ने छटपटीमा रहेछन् । दोस्रो ठूलो दलको कार्यालय बल्खु पुग्दा भूकम्पले कार्यालय नै तहसनहस भै च्यसलतिर बसाइँ जान बाध्य भएछन् । नवकार्यालय पुग्दा थाहा भयो उनीहरुको प्राथमिक र एकसूत्रीय एजेण्डा भनेको आफ्‌नो सरकार थेग्ने रहेकाले अहिले राज्यको बारेमा कुरा गर्ने फुर्सद छैन रे । अर्को ठूलो पार्टीको कार्यालय पेरिसडाँडा पुग्दा दश वर्ष आफूले लडेर ल्याएको गणतन्त्रमाथि अरुले धावा बोलेकोले राजतन्त्रवादीलाई गाली गर्नेबाहेक अरु सबै कुरा थाति राख्ने भन्नेमा रहेछन् । राजतन्त्रवादीले दिएको चुनौतीलाई शक्तिमा बदल्न उनीहरु नवसत्ताको सपना बोकेर बसेका रहेछन् । अन्तिममा उनले मलाई यति चाहिँ छोटकरीमा भने– राज्य उनीहरुले हामीलाई त्यो दिन भेट्टाइदिने रे जुन दिन उनीहरुको नेताको नेतृत्वमा सरकार आउँछ ।

राज्यका ठूला ठूला निकायका ठूला ठूला टाउकाले राज्य कहाँ छ ? भन्ने प्रश्नको उत्तर दिन नसकेपछि म अझ सोचमग्न भएँ । विगतमा जनता राज्यका लागि भनिन्थ्यो, अहिले त राज्य जनताका लागि भनिन्छ । राज्य जनताका लागि भनेपछि कतै राज्य जनताकहाँ नै त छैन भन्ने सोचेँ । पक्कै राज्य जनताको घरदैलोमा भएकाले नै शीतल निवास, सिंहदरबार, बानेश्वर, सानेपा, च्यासल, पेरिसडाँडा कतै नभेटिएको होला ।

म राज्य भेट्न जनताको घरदैलोतिर हानिएँ । जनताको वस्तीमा देखेँ, बाटाभरि जताततै असन्तुष्टिको नारा जुलुस रहेछ । पुल र बाटो नहँदा एक ठाउँका मान्छे अर्को ठाउँमा जान दुःखकष्ट रहेछ । भोकै मरिने पो हो कि भन्दै जनता त्रसित् रहेछन् । जनताको घरमा ग्यास अभाव, पानी अभाव, दुर्गममा त चामल र दालको पनि अभाव हुन लागेको रहेछ । न्याय छैन, शान्ति छैन । सुशासन छैन । जताततै भेटिने चाहिँ मात्र अन्याय, अत्याचार र भ्रष्टाचार ।

जहाँ राज्य छैन त्यहाँ अन्याय र भ्रष्टाचार र कुशासन त हुुन्छ नै । यसको अन्त्यको लागि राज्यको उपस्थिति चाहिन्छ तर जताततै राज्य गैरहाजिर छ । अब मैले राज्य कहाँ भेट्ने ? ठूला बडाले भेट्न नसकेको राज्य मैले कसरी फेला पार्ने ? तर पनि मैले राज्य खोज्नु छ । उपाय पत्ता लगाएँ । अब हराएको राज्य भेट्न राज्य हराएको सूचना प्रकाशित गर्छु । यही निष्कर्षमा पुगेँ ।

“लौ आयो सूचना ! सूचना !! सूचना !!!

मेरो राज्य हराएको सूचना !”

मेरो यो राज्य हराएको सूचना प्रकाशित गर्न कोही इच्छुक हुनुहुन्छ कि ? कोही इच्छुक भए कपी गरी प्रकाशित गर्नुहोला । सूचना निःशुल्क उपलब्ध छ ।

०००

काठमाडाैं
मोबाइल : ९८५१०५३१२७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x