डा. टीकाराम पोखरेलराज्य हराएको सूचना !
जहाँ राज्य छैन त्यहाँ अन्याय र भ्रष्टाचार र कुशासन त हुुन्छ नै । यसको अन्त्यको लागि राज्यको उपस्थिति चाहिन्छ तर जताततै राज्य गैरहाजिर छ । अब मैले राज्य कहाँ भेट्ने ? ठूला बडाले भेट्न नसकेको राज्य मैले कसरी फेला पार्ने ?

डा. टीकाराम पोखरेल :
राजतन्त्र कि गणतन्त्र भन्ने बहस तीव्र गतिमा आगाडि बढेको छ । बहसले यसरी सगरमाथा छुन लागिसक्यो, राज्य के हेरेर बसेको छ ? सर्वसाधारणमा यस्तो प्रश्न उब्जेको छ । मेरो बोधो दिमागलाई पनि यो राज्य के हेरेर बसेको छ भन्ने कुराले क्लिक गर्यो । साँच्चै राज्य के हेरेर बसेको रहेछ त भनेर म पनि राज्यको जासुसी गर्न थालेँ । अनि लागेँ राज्य खोज्न ।
राज्य खोज्ने त भनेँ, तर राज्य कहाँ पाइन्छ हँँ ? आफैँले आफैँलाई प्रश्न गरेँ । अहँ, उत्तर पाइनँ । साँच्ची राज्य कहाँ पाइन्छ ? कसलाई सोधौँ भनेर सडकतिर भौतारिँदै थिएँ । एकजना सकिलामुकिला सुटटाइधारीसँग भेट भयो । मौका यही हो भनेर मैले उनीसँग सोधिहालेँ– “राज्य कहाँ छ ?”
उनले भने– “कुन राज्य खोज्नु भएको अधिराज्य कि गणराज्य ? अधिराज्य खोजेको हो भने त नारायणहिटीमा इतिहास भैसक्यो, गणराज्य खोजेको भए चाहिँ शीतलनिवास जानुस् ।”
ए, हो त नि । राज्य त यो देशका ठूला मान्छे जहाँ बस्छन्, त्यहाँ पो हुन्छ त । म पनि कस्तो हुस्सु, सडकतिर राज्य खोजी हिँड्ने ?
यो देशका सबैभन्दा ठूला मान्छे शीतल निवासमा बस्छन् । राष्ट्रपति अर्थात् राष्ट्रका पनि मालिक जहाँ हुन्छन्, राज्य पक्कै त्यही छ । यही निष्कर्षसहित म सरासर शीतल निवासतिर लागेँ ।
शीतल निवासमा भूमिगत शैलीमा चियाएको मात्र के थिएँ, राष्ट्रपति महोदय त राजनीतिक दलहरुले राजातन्त्रवादीसँग सहमति गरेर आफूलाई नै टाटा बाइबाइ गराउने त होइनन् ? भन्ने भित्री पीडा बोकेर बस्नु भएको रहेछ । यस्तो आफ्नै पद बचाउने छटपटीको अवस्थामा महामहिमलाई देखेर अलिकति दया पलायो । तर मेरो मिशन दयामाया भन्दा पनि राज्य खोज्नु थियो । दयामायालाई थाति राखेर राम्ररी नियालेको त शीतल निवासमा राष्ट्रपति मात्र देखियो, राज्य त देखिएन ।
तैपनि महामहिमकहाँ पुगि नै सकेपछि त्यत्तिकै के फर्किनु भनेर आफ्नो भूमिगत स्वरुपलाई त्यागे र सशरीर राष्ट्रपति अगाडि उभिएर सोधेँ– ‘राज्य कता छ महामहिम ज्यू ? महामहिमज्यूले भन्नुभो– “अब शीतल निवासबाट मलाई नै घोक्य्राउलान् जस्तो छ, अनि मलाई के थाहा ? बरु तपाईँको प्रश्न विराजमान हुन खुट्टा उचालेकालाई सोध्नु नि ।”
महामहिमको हर्रो मिस्सिएको जस्तो टर्रो जवाफ आयो । जति टर्रो भए पनि कुरो त ठीकै हो नि, शीतल निवासबाट निस्कन लागेकोलाई राज्य के थाहा ? बरु नारायणहिटी पस्न लागेकोलाई पो राज्य थाहा हुन्छ । दौडिँदै निर्मल निवास पुगेँ । भित्र पस्न खुट्टा उचालेकालाई सोधेँ, राज्य कहाँ छ ? उहाँले भन्नुभो– ‘मैले कुनै बेला जनताको नासो जनतालाई सुम्पेको थिएँ, तर त्यो नासो नेतालाई गलपासो भो । अब बेला भयो । त्यो नासो म नै फिर्ता लिन्छु । मलाई साथ दिनुस् । नासो फिर्ता लिएपछि पनि मैले मेरा परिवार र आसेपासे बाहेक अरुको कल्याण गर्न सक्तिन, त्यसैले श्रीपशुपतिनाथले सबैको कल्याण गरुन् । जहाँसम्म राज्यको कुरा छ, यो गणतन्त्रको गणराज्यमा गण हटाइदिनुस्, राज्य बाँकी रहन्छ । गण हटाएर बाँकी रहेको राज्य तपाईँहरुकै भयो । मलाई राजगद्दी भए पुग्यो ।’
त्यसो त यो देश सेरेमोनियलको होइन कार्यकारीको हो भन्ने पनि मैले अलिअलि सुनेको थिएँ । त्यसैले राज्यका सम्बन्धमा सेरेमोनियलहरुबाट आएका यस्ता उत्तरबाट सन्तुष्ट नभएपछि कार्यकारी सिंहदरबारलाई त राज्य कता छ पक्कै थाहा होला भन्ने अनुमान लगाउँदै म सिंहदरबारतिर हानिएँ । सिंहदरबारका कार्यकारी पनि उही राजतन्त्र र गणतन्त्र भन्ने बहसको तनावमा रहेछन् । गणतन्त्रवादीहरुको रणनीतिक वैठकमा व्यस्त भएकाले उनले मलाई भेट्न नसक्ने जानकारी पीए मार्फत गराए । राज्य कहाँ छ ? सोधिदिनुस् न भनेको त फेरि पीए मार्फत नै उनले खबर पठाए । प्रधानमन्त्रीको हवला दिँदै पीएले भने– “राज्य खोज्ने भए यता होइन, उता जानुस् रे ।” थप प्रश्न गर्न नपाउँदै पीएसाप बाटो लागे ।
होइन यो उता भनेको कता हो ? मेरो दिमागले एकछिन त कामै गरेन । जति लाटो दिमाग भए पनि दिमाग खियाउने छुट सबैलाई छ । मैले पनि आफ्नो दिमागलाई खियाएर बाठो बनाउने प्रयास गरेँ । मेरो दिमागले पनि हल्काफुल्का काम गरिहाल्यो । राज्य भनेको जनता हो भन्छन्, उनले पक्का जनप्रतिनिधिको जमघट हुने संसदलाई उता भनेका हुनुपर्छ । पक्का पनि हो त्यै उतामा होला राज्य । म हानिएँ संसदतिर ।
“हुन्छ भन्नेले हुन्छ भन्नुहोला, हुन्न भन्नेले हुन्न भन्नुहोला” भन्दाभन्दा थाकेका त्यहाँका प्रमुख पनि उही अघिल्ला निकायका प्रमुख जस्तै गणतन्त्र कि राजतन्त्रको बहसको रापमा सेकिएका रहेछन् । अबउप्रान्त हुन्छ भन्नेले…… भन्न नपाउने हो कि भन्ने पीडाले उनलाई पटक पटक ऐया र आत्था गराउँदो रहेछ । तैपनि राज्य कता छ भनेर सोधेको त उनले ‘राज्य कहाँ छ भन्ने कुरामा सबै दल एकमत हुनुपर्ने’ आफ्नो धारणा सुनाए ।
उनीबाट दलको नाम सुन्नेबित्तिकै म राज्य खोज्न दलको दैलो चहार्न थालेँ । देशको ठूलो पार्टीको दैलो ढक्कक्याउन सानेपा पुगेको त उनीहरुका प्रमुख त आफ्नो प्रधानमन्त्री हुने पालो नआउँदै राजतन्त्र आइहाल्ने त होइन भन्ने छटपटीमा रहेछन् । दोस्रो ठूलो दलको कार्यालय बल्खु पुग्दा भूकम्पले कार्यालय नै तहसनहस भै च्यसलतिर बसाइँ जान बाध्य भएछन् । नवकार्यालय पुग्दा थाहा भयो उनीहरुको प्राथमिक र एकसूत्रीय एजेण्डा भनेको आफ्नो सरकार थेग्ने रहेकाले अहिले राज्यको बारेमा कुरा गर्ने फुर्सद छैन रे । अर्को ठूलो पार्टीको कार्यालय पेरिसडाँडा पुग्दा दश वर्ष आफूले लडेर ल्याएको गणतन्त्रमाथि अरुले धावा बोलेकोले राजतन्त्रवादीलाई गाली गर्नेबाहेक अरु सबै कुरा थाति राख्ने भन्नेमा रहेछन् । राजतन्त्रवादीले दिएको चुनौतीलाई शक्तिमा बदल्न उनीहरु नवसत्ताको सपना बोकेर बसेका रहेछन् । अन्तिममा उनले मलाई यति चाहिँ छोटकरीमा भने– राज्य उनीहरुले हामीलाई त्यो दिन भेट्टाइदिने रे जुन दिन उनीहरुको नेताको नेतृत्वमा सरकार आउँछ ।
राज्यका ठूला ठूला निकायका ठूला ठूला टाउकाले राज्य कहाँ छ ? भन्ने प्रश्नको उत्तर दिन नसकेपछि म अझ सोचमग्न भएँ । विगतमा जनता राज्यका लागि भनिन्थ्यो, अहिले त राज्य जनताका लागि भनिन्छ । राज्य जनताका लागि भनेपछि कतै राज्य जनताकहाँ नै त छैन भन्ने सोचेँ । पक्कै राज्य जनताको घरदैलोमा भएकाले नै शीतल निवास, सिंहदरबार, बानेश्वर, सानेपा, च्यासल, पेरिसडाँडा कतै नभेटिएको होला ।
म राज्य भेट्न जनताको घरदैलोतिर हानिएँ । जनताको वस्तीमा देखेँ, बाटाभरि जताततै असन्तुष्टिको नारा जुलुस रहेछ । पुल र बाटो नहँदा एक ठाउँका मान्छे अर्को ठाउँमा जान दुःखकष्ट रहेछ । भोकै मरिने पो हो कि भन्दै जनता त्रसित् रहेछन् । जनताको घरमा ग्यास अभाव, पानी अभाव, दुर्गममा त चामल र दालको पनि अभाव हुन लागेको रहेछ । न्याय छैन, शान्ति छैन । सुशासन छैन । जताततै भेटिने चाहिँ मात्र अन्याय, अत्याचार र भ्रष्टाचार ।
जहाँ राज्य छैन त्यहाँ अन्याय र भ्रष्टाचार र कुशासन त हुुन्छ नै । यसको अन्त्यको लागि राज्यको उपस्थिति चाहिन्छ तर जताततै राज्य गैरहाजिर छ । अब मैले राज्य कहाँ भेट्ने ? ठूला बडाले भेट्न नसकेको राज्य मैले कसरी फेला पार्ने ? तर पनि मैले राज्य खोज्नु छ । उपाय पत्ता लगाएँ । अब हराएको राज्य भेट्न राज्य हराएको सूचना प्रकाशित गर्छु । यही निष्कर्षमा पुगेँ ।
“लौ आयो सूचना ! सूचना !! सूचना !!!
मेरो राज्य हराएको सूचना !”
मेरो यो राज्य हराएको सूचना प्रकाशित गर्न कोही इच्छुक हुनुहुन्छ कि ? कोही इच्छुक भए कपी गरी प्रकाशित गर्नुहोला । सूचना निःशुल्क उपलब्ध छ ।
०००
काठमाडाैं
मोबाइल : ९८५१०५३१२७
Subscribe
Login
0 Comments
Oldest









































