डा. गंगाप्रसाद अधिकारीआदान–प्रदान
सिन्डिकेटमा गतिलो महाद्वार नारेर आऊ तिम्रो सिन्डिकेट, हाम्रो सिन्डिकेट सिन्डिकेट सिन्डिकेटको महामिलनमा हल्ला होइन, सल्लाह हुनुपर्छ खुसुक्क ! त्यहाँ कुनै भुसुना भन्किन हुन्न !

डा. गंगाप्रसाद अधिकारी :
मान सम्मान
धुस्सा ओडान
पुरस्कार, भरी भरी थैलीदान !
हँ ? कविज्यू ?
थाप्ने हैन त महादान ?
च्याप्ने हैन त महाभिमान ?
आऊ, हामीसँग आऊ
हाम्रो सिन्डिकेटमा आऊ
मान–सम्मानको
धुस्सा ओडान अनि थैलीदानको
हाम्रो सिन्डिकेटको अजङ्गको द्वार खोलेर आऊ
तिम्रो स्वाभिमानलाई उतै पोलेर आऊ
चाकडीको चिप्लो भाषा बोलेर आऊ
चाप्लुसीको तेलसँग तिम्रो पहिचान घोलेर आऊ
प्रशंसा र प्रशास्तिको पुल बाँध्दै
जस्तोसुकै जोखिम होस्, मोलेर आऊ
आऊ कविज्यू हाम्रो सिन्डिकेटको द्वार खोलेर आऊ
आऊ कविता नै हो कि हो कि ? लाग्ने
दुईचार पङ्क्ति भाँचकुँच पारेर आऊ
कुनै लामा, कुनै छोटा, कुनै मझौला हरफहरू नारेर आऊ
छन्द मिलोस् नमिलोस्, बन्ध मिलोस् नमिलोस्
ग्ति, यति, लय, भाँति सबै हारेर आऊ
त्यही पनि फुरेन भने
खुसुक्क अरूकै भए पनि सारेर आऊ
कवितै पो हो कि हो कि ? पारेर आऊ
लाज, सरम, हुर्मत जे जे छ, सबै मारेर आऊ
अँ सिङ्गै पोथी नै भए झनै राम्रो
सकेसम्म शुभकामना र प्रशंसाका भूमिकै भूमिकाले
उराल, धुराल
नानीभन्दा आची ठुलो भए अझ राम्रो
यसो पाँच सात रचनै हुन् कि ? जस्ता
केही सारहीन हारहरूलाई पोथी पारेर आऊ
तर, पख !
खुसुक्क भन्छु तिमीलाई मात्र
तिमी पनि आफ्नो छुट्टै सिन्डिकेट पारेर आऊ
सिन्डिकेटमा गतिलो महाद्वार नारेर आऊ
तिम्रो सिन्डिकेट, हाम्रो सिन्डिकेट
सिन्डिकेट सिन्डिकेटको महामिलनमा
हल्ला होइन, सल्लाह हुनुपर्छ खुसुक्क !
त्यहाँ कुनै भुसुना भन्किन हुन्न !
त्यहाँ हाम्रो मानको आदान–प्रदान हुनुपर्छ
त्यहाँ हाम्रो सम्मानको आदान–प्रदान हुनुपर्छ
थैलीदानको साटासाटसँगै
धुस्सा ओडानको आदान–प्रदान हुनुपर्छ
धुस्सा ओडानको आदान–प्रदान हुनुपर्छ ।
०००
२०८०।०८।१५
भद्रपुर ८, निजी निवास
Subscribe
Login
0 Comments
Oldest








































