नगिता लेप्चा राईभुँडीमा मुसाकाे मिसकल
खान मन भए पनि, भोकले कुइँकुइँ भए पनि भुँड़ीमा हात राख्दै सम्झिएँ, म त यता न उताकी पाे भएँ । आज यता खान्छु भनेर विवाहमा अलिकति मात्र खाएर हिँड़ेकी। यता पनि छैन रहेछ।

नगिता लेप्चा राई :
मेरो त रेकर्ड नै तोड़िन्छ होला हौ ! विवाहको सिजनले यति बेसी विवाहको निम्तो आएको छ कि कहाँ जाउँ कहाँ नजाउँ, कसरी भ्याउने होला, कहाँ कहाँ भ्याउने ! याे प्रश्नले दिनरात गिजोलिरहेको छ ।
त्यहीमाथि एउटा कार्यक्रममा अतिथिको निम्तो पनि छ। त्यही कार्यक्रममा नजाउँ भने बल्ल बल्ल प्रमुख अतिथि हुन पाउँदैछु। विवाहभन्दा ठूलो त कार्यक्रम नै हो। साहित्यिक कार्यक्रममा अतिथि हुन पाउनु त खेलाँची कुरो होइन। हिजोआज अतिथि हुनेहरूको ताँती देखिन्छ। यो मौका किन गुमाउने भनेर त्यतै लाग्नुपर्यो भनी कार्यक्रमतिर अतिथि आसन बस्नलाई नै लागेँ।
म पुग्दा त कार्यक्रम सुरु नै भएको रहेनछ। आफूलाई चारैपट्टि भ्याउनु थियो। मन भुटभुटी भइरहेको थियो। आफूले बिहान केही नखाई पेट खाली राखेर आएकी थिएँ। विवाह पनि भ्याउने गरी । आज त यता न उताको भइन्छ कि भन्ने डर पनि थियो। बल्ल बल्ल कार्यक्रम सुरु भयो। प्रमुख अतिथिको आसनमा बस्नु पाउँदा त भुँडीमा कुदिरहेको मुसा पनि भुलेछु खुशीले। कार्यक्रमको बीचमा भुँडीबाट मुसाले मिसकल गऱ्यो। यसो विचार गरेर बाहिर जाने बहाना गरी बाहिर निस्किएँ।
कार्यक्रम भवनको अलिक पर नै विवाह घर थियो। एकछिन पुगेर भुँड़ीलाई शान्त बनाएर आउनुपऱ्यो भनी लागेँ सोझै विवाहतिर।
विवाह घरमा पुगेँ। गेटदेखि नै परिचित मान्छेहरूको भीड़ थियो। आफूभन्दा ठूलाहरूलाई दुइ हात जोड्दै सानाहरूको टाउकामा हात राख्दै म अघि बढ़िरहेकी थिएँ। केही परतिर एउटी दिदीले नमस्कार गरिन्। म पनि गजक्क भएर नमस्कार फर्काएँ।
ती दिदीले छेउको चौकीमा बसिरहेका एकजना मान्छेलाई देखाएर भनिन्, ज्वाईं हो। मैले पनि नमस्कार भन्दै हाँसिदिएँ। आफूलाई हतार थियो, थुप्रै विवाहको निम्तो थियो। उता कार्यक्रम पनि अधुरो छोड़ेर आएकी थिएँ। हतार हतार त्यहाँबाट पन्छिएर बेहुला बेहुलीतिर लम्किएँ । बेहुला बेहुलीलाई खादा लाउनलाई कार्यक्रमबाट नै दुईवटा खदा ब्यागमा हालेर ल्याएकी थिएँ। ब्यागबाट खादा निकालेर लगाइदिएँ।
छेउमा बसेकी रहिछन् बेहुलाकी आमा। उनले मलाई जिस्काएर भनिन्, के हौ बहिनी कार्यक्रममा भोलेन्टियर गरेर आउनुभएको हो कि क्या हो ? मैले आफ्नो घिच्रामा बेह्रिएको प्रमुख अतिथिको माला निकाल्नै बिर्सेछु। त्यही हेरेर मरिमरि हाँस्दै जिस्काइन्। मैले पनि हजुर दिदी एउटा प्रोग्राममा थिएँ ।
ती दिदीले फेरि मलाई भनिन्, बहिनी आजसम्म त कुनै कार्यक्रममा तपाईँलाई प्रमुख अतिथिको आसनमा देखेकी थिएँ। यो कार्यक्रम तपाईंले आफै आयोजन गर्नुभएको हो कि क्या हो ?
हुन पनि आज प्रथमपल्ट प्रमुख अतिथि हुन पाउँदा आफै छक्क परेकी थिएँ। उहाँ त झन् छक्क पर्ने नै हो नि भन्दै हो दिदी मैले नै कार्यक्रम आयोजन गरेको भन्दिएँ नि ।
एकछिनपछि खानातिर लागेँ आफैं पस्किएर खाने रहेछ भुँडीले अझै अझै भन्दा पनि फेरि कसैले केही भन्लान् कि भनेर अलिकति पस्केर खाएँ ।अहिले कार्यक्रममा गएर फेरि खानुपर्योा भनेर।
एकछिन पछि बिदा माग्ने बेला भयो। बेहुलीकी आमालाई भेटेर जानुपर्छ भन्ने डर थियो कि फेरि सारी कसलाई मागेर लगाकी भन्छिन् भनेर कसैलाई नभनी त्यहाँबाट सुइँकुच्चा ठोकेँ।
छिटोछिटो गएर कार्यक्रमतिर पुगेको त कार्यक्रम नै सकेछ। एकजना भाइले भने, हैट दिदी तपाईंलाई त झाड़ा पखालो पो लाग्यो क्या हो ? यही जान्छु भनेर त हराको हराकै हुनुभयो त !
मैले हाँस्दै भाइलाई भनेँ, होइन भाइ ! एउटा जरुरी काम पऱ्यो । बरु खाना खाउँ न जाउँ। ती भाइ हाँस्दै भने, दिदी खाना त अघि नै सक्यो नि । तपाईं जानुभयो होला भनेर मैले तपाईंको यादै गरिनँ । खान मन भए पनि, भोकले कुइँकुइँ भए पनि भुँड़ीमा हात राख्दै सम्झिएँ, म त यता न उताकी पाे भएँ । आज यता खान्छु भनेर विवाहमा अलिकति मात्र खाएर हिँड़ेकी। यता पनि छैन रहेछ। अब त्यही विवाहमा फर्केर जान पनि नमिल्ने।
“न घरको न घाटको” भएको ठान्दै लागेँ सोझै घरतिर। घरमै आएर चिउरा र पानीले भुँडीमा कुद्दै गरेको मुसालाई शान्त बनाएँ । अबदेखि चाहिँ चारैतिर भ्याउने गरी कहिल्यै हिँड्दिनँ। कसैको आशामा पनि हिँड्दिनँ । घरमै टन्न खाएर जानेछु भनी चिउरा चबाउँदै प्रण गरेँ।
मैले त आज बुझे तपाईंहरूले पनि कहिले चारैतिर भ्याउने गरी अनि कसैको आशा गरेर नहिँड्नुहोला नत्र आज मेरो जस्तै हाल होला। प्रिभेन्सन इज बेट्टर द्यान क्यूर ।
०००
खोलाचन्द फाप्री, सिलगड़ी भारत
Subscribe
Login
0 Comments
Oldest






































