हाेमनाथ घिमिरेमानौँ बडो उत्सव !
हेर्लान् दृश्य यहाँ अनेक घटना छोपेर आँखाहरू । सुन्लान् शब्द जहाँ थुनेर सहसा दो-कान बन्दै बरु । बोल्लान् वाक्य कुनै पुगेर तटमा खोल्दै नखोली मुख ! खोल्लान् दुःख सबै परन्तु मनका मानौँ बडो उत्सव !

होमनाथ घिमिरे :
दिन्नन् दान कलो भुलेर कसरी उल्टो भिखारी भने !
गथ्यौँ मालिकको पुकार जसरी सम्मान राख्थ्यौँ मने ।
छोड्यौँ नाम सबै मुकाम अघिको दोकान नौलो अब –
थाप्दैछौँ सबले मिलेर पथमा मानौँ बडो उत्सव !
खोलामा धमिलो बढेछ अति नै उफ्रेर माछाहरू –
आए हेर्न नदी किनार रमिता छोपेर ल्याआौँ बरु ।
डालो जाल समेत थाल बटुको हाँडी कसौँडी सब !
बोकौँ है हतियार भोजन त्यतै मानौँ बडो उत्सव !
राँगोसाथ मिलाउँदै पशु नयाँ जोडेर भेडाहरू !
भाङ्ग्रोसाथ सिलाउँदै कमिजमा छोडेर धोती बरु !
नौटङ्की दरबार नाच बढिया चल्नेछ घण्टौँ अब ।
हेर्छन् मख्ख परेर दर्शक सबै मानौँ बडो उत्सव !
नाच्यौँ जङ्गलमा हिजो सहरमा उफ्र्यौँ यता गाउँमा !
भाँच्यौ कम्मर हात अङ्ग जनता सामन्तकै नाउँमा ।
छोड्यौँ गोत्र समेत जात थर नै चिन्दैन मान्छे अब !
चाहे राष्ट्र रहोस्- नहोस् गजबले मानौँ बडो उत्सव !
हेर्लान् दृश्य यहाँ अनेक घटना छोपेर आँखाहरू ।
सुन्लान् शब्द जहाँ थुनेर सहसा दो-कान बन्दै बरु ।
बोल्लान् वाक्य कुनै पुगेर तटमा खोल्दै नखोली मुख !
खोल्लान् दुःख सबै परन्तु मनका मानौँ बडो उत्सव !
०००
भरतपुर चितवन !
२० कार्तिक २०८२
Subscribe
Login
0 Comments
Oldest








































