साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रभु ! नाक काटेर नकटाे बनाऊ

यदि सृष्टिकर्ता ब्रह्मा हुन् र उनैले मान्छे बनाएका हुन् भने एउटै मात्रै बिन्ति छ- प्रभु ! बिना नाककाे मान्छे बनाऊ । उप्रान्त मान्छेमा भएका नाक कटाऊ । जसरी हुन्छ प्रभु ! नाक काटेर नकटाे बनाऊ । नाक राखेर निर्लज्ज नबनाऊ ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

अचेल किन किन नाकलाई सम्झ्याे कि त्यसै त्यसै कन्सिरी तातेर आउँछ । एक मनले भन्छ “के काम छ तेराे नाकको ? काटेर फालिदे ।” अर्काे मनले भन्छ ” नाक तेराे शाेभा हाे । प्रतिष्ठा हाे । नाक जाेगाएर राख ।” म बढाे अन्याेलमा छु । नाक काटूँ कि राखूँ ?

लक्ष्मणले शुपर्णखाकाे नाक काटिदिदा खैलाबैला मच्चिएकाे कथा सबैले सुनेकै हाे । शुपर्णखाकाे त्यति सानाे नाक काटिदा लंकामा डंका पिटियाे । शुपर्णखाकाे नाक काटिएकाे घटनाले रावणले आफ्नाे नाक काटिएकाे ठाने । यहाँनेर नाक प्रतिष्ठाकाे विषय बन्याे । काटिएको नाककाे बदला नलिएसम्म आफ्नो नाककाे इज्जत नरहने ठहर रावणले गरे । जसका कारण सीता हरिन पर्याे । सीता हरिदा रामले आफ्नो नाक काटिएकाे महसुस गरे । नाक जाेगाउनका लागि रामले लंकामाथि आक्रमण गरे । आक्रमणमा रावण मारिए । रावण मारिदा सदाका लागि लंकाकाे नाक काटियाे । अयाेध्याकाे नाक युगान्तकारी बनेर ठडियाे । नाककै कारण घटेका यस्ता थुप्रै घटनाहरू छन् । जसकाे वर्णन गरिसाध्ये छैन ।

नाककै कारणबाट जब घटनाहरू घट्छन् भने यस्तो नाक निमिट्यान्न पारिदिए हुन्न ? न रहे बाँस न बजे बाँसुरी ! नाकै नभएपछि के काे खसखस ? टन्टै साफ ।

निधारमुनि र ओठमाथि दुई आँखाकाे बिचमा पसारिनु बाहेक के काम छ नाककाे ? भन्नू हाेला सास फेरेकाे छ । सुगन्ध लिएर स्वाद फेरेकाे छ । खाने मुखलाई जुँगाले छेक्छ र ? जाबाे नाककाे काम मुखले गरिहाल्छ । नाकले फेर्ने सास मुखले पनि फेरिहाल्छ । जहाँसम्म सुगन्धकाे कुरा छ ; सधैंभरि नाकले सुगन्ध लिएकाे छ र ? दुर्गन्धका कारण चाेर ओैला र बुढी ओैलाले थिचेर हिड्नु परेकाे बेथा धेरैलाई थाहै हाेला !

नाक हुनु त बरू कुकुरकाे जस्तो । नाककै कारण कुकुरकाे बढाे इज्जत छ । मान्छेका नाकले गर्न नसकेकाे काम कुकुरकाे नाकले गरिदिएकाे छ । कुकुरकाे नाकले मान्छेकाे नाक जाेगाइदिएकाे छ । घ्राणशक्ति कमजाेर भएकाे नाककाे के अर्थ ? तुच्छ अपराधी पत्ता लगाउन कुकुरकाे नाक चाहिन्छ भने मान्छेकाे नाककाे कुनै ओैचित्य छ र ?

मलाई नाकसित एलर्जी हुनुका अरू पनि धेरै कारण छन् । न अलिकति धुलाे सहन्छ यसले । न अलिकति चिसाे । बस् चिलाउन थालिहाल्छ नाक । हिमाल पग्लेर हिमनदी बगेजस्तै सिङ्गानका भेलहरू बग्छन् दुई ओडारबाट । सिङ्गान झर्दाकाे सिकसिकाेले अरूलाई त सताउछ नै स्वयं आफैलाई पनि सताउछ । सिङ्गान पुछ्दा पुछ्दा यहीँ नाकलाई राताे गराउछ । नाकभित्र बाझिएकाे विकारले पिनास गराउछ । केही सीप नलागेर चिरफार गराउछ । अब भन्नुहाेस् त नाकले कहाँसम्मकाे हैरानी गराउँछ ?

नाक महामारीको जड हाे । यसैले काेराेनाकाे जन्म गराएकाे बिर्सिनुभयाे र ? यहीँ नाकले काेराेनाकाे नाममा कालकाे पनि काल महाकाल बनेर कतिका ज्यान खायाे ? एउटा नाकसित अर्काे नाककाे दुरी कति बढायाे ? समाजमा मात्रै हाेइन परिवारभित्रै मान्छेलाई कैदी बनायाे । एक्लै बनायाे ।

तपाईं आफै भन्नाेस् यहीँ नाकले इज्जत फालेर हाेइन ? मान्छेले नाक ढाक्नकै लागि मुखमा पर्ने गरी कट्टु लगायाे । नाके कट्टु भन्न लाज लागेर माक्स भन्याे । माक्सले ढाकेर नाक जाेगायाे । नाकै हुँदैनथ्यो भने काेराेनाले सताउँथ्याे ? पक्कै पनि सताउँदैनथ्याे ।

पर्खनुहाेस् कुरा यत्तिकैमा सकिँदैन । काेराेनाका नाममा जब नाक लुकाएर हिड्न थालियाे । अपराधीहरूले पनि नाक टालेर हिड्न थाले । डाँकाहरूले डाँका डाल्न थाले । नाकमुख टालेर हिडेपछि काे चाेर काे सज्जन कसरी चिन्नु ? सज्जनहरू पुलिसकाे केरकारमा परे । चाेरहरूले सन्ताेषकाे सास फेरे । लुकिछिपी लभ गर्देै हिड्नेहरूले लाज पचाएर दिनदहाडै ग्वाम्ल्वाङ्ग आफूलाई अङ्गालाेमा बेरे । मान्छे छुट्याउन नसक्दा कतिपय जाेईपाेइलाई समेत चारैतिरबाट घेरे । साेझासाजाले लाटाले केरा हेरेझै हेरे ।

जब्बरजस्ती टाँसिएको नाककै कारण मानिसकाे पहिचान मासिएकाे छ । यसकाे आकारप्रकारका कारण इज्जत नासिएकाे छ । न्वारानदेखिकाे नाम हराएर उपनाम गाँसिएको छ । नाक छाेटाे भए पनि सुख छैन । लामाे भए पनि सुख छैन । लामाे हुनेले चुच्चे र छाेटाे हुनेले बुच्चेकाे उपाधि पाउनुभएकै हाेला । कतिपयले नाककै आधारमा जातिगत बर्गीकरण पछि पर्दैनन् । थेप्चाे नाक देखे मगर लेडाे र चुच्चे नाक देखे बाहुन काठाे भनिहाल्न पछि पर्दैनन् लाल बुझक्कडहरू ।

पुर्खाहरूले नाकबाट धैरै सताइएका हुँदा नाक छेड्ने प्रथा चलाएका हुन् कि भन्ने ठम्याई छ । भन्नुहाेला महिलाकै नाक किन छेडियाे ? तपाईंलाई थाहै छ ; पुरूषप्रधान समाज हाे हाम्राे । महिलालाई राम्री बनाउने निहुँमा नाककान छेड्ने चलान चलाएका हाेलान् । अनुसन्धान गर्दै जादा सत्य के हाे थाहा लाग्ला । जहाँसम्म मेराे बुझाइ छ ; नाकलाई तह लगाउनका लागि नै नत्थी लगाइयाे । बिरालाे बाँधेर श्राद्ध गर्नेहरूले यसलाई शृङ्गारकाे रूप दिए र गहना लगाउन थाले ।

अब कुरा गराैं गहनाका । गहना लगाउन के नाकै चाहिन्छ र ? जहाँ पनि घाेप्न र खाेप्न सकिन्छ । मान्छेले नाककान छाेडेर अन्त पनि त गहना लगाएकै छ । हात, खुट्टा , घाँटीजस्ता ठाउँमा नघाेचिकन पनि त लगाएकै छन् । घाेच्ने र छेड्नेहरूले नाइटाे पनि त छाडेका छैनन् । अब तपाईं आफै भन्नुहाेस् नाथे नाक किन चाहियाे ? भन्नुहाेला – चस्मा त अढाएकाे छ नि ? मेराे प्रश्न छ – चस्मा अडाउन नाकै चाहिन्छ र ? मैले त धेरैजसो चस्मा टाउकाेमा अडिएकाे देखेकाे छु । टाउको दुखेमा किन नाकमा चस्मा अडाएर आँखालाई भार पार्नु ? कानका लाेतीलाई पनि यातना ! टाउकोमा चस्मा अडाएपछिकाे सान र मान आँखामा लगाएर हुँदैन । अचेल आँखामा चस्मा लगाउने यसै पनि हेपिन्छ । जब हेपिनु नै छ भने किन नाकमा चस्मा अड्याउने ?

मैले आजसम्म नबुझेको एउटा कुरा छ । म सानाे छँदा सरले नाके थाेप्ली ङ भनेर पढाए । जान्ने भएपछि बुझ्ने धेरै प्रयास गरें । नाकमा थाेप्लाे वा थाेप्ली परेकाे अझैसम्म भेटाएकाे छैन । त्यसैले लाग्छ नाककाे महिमा गाउन जबरजस्ती लगाइएकाे हाे याे ।

कहिले भनियाे नाक जाेगाउनु है जसरी भएपनि । नाक काटियाे भने इज्जत जान्छ । नाक काटियाे भने अनुहारकाे शाेभा बिग्रिन्छ भनेर यसाे भनिएकाे हाे कि ? यदि अनुहारकाे शाेभा नाक नै हाे भने नाक काटिदा अवश्य इज्जत जाला ! हाेइन भने नाक भएकै कारण कहाँ जाेगिएकाे छ र ? घिराैंला नाके, हात्ती सुँडे, नेप्टे, नेप्टी आदि अनेकाेैं नामहरूले आफ्नो बेइज्जत गरेकाे ठान्छन् मान्छेहरू ।

प्रतीकात्मक रूपमा नाक जाेगाउनु र नाक काटिनुलाई हेर्ने हाे भने कसका पाे नाक जाेगिएका छन् र ? प्राय : सबैजसाेलाई कुनै न कुनै आराेप लागेकै छन् । नेता हाेस् या कर्मचारी , साधु हाेस् या ब्रह्मचारी धेरैजसाेका नाक काटिएकै छन् । टुँडिखेलमा उफ्री उफ्री नाकका डाँडी भाँचिदिन्छु भन्नेहरूले आफ्नै नाक जाेगाउन सकेनन् । म भ्रष्टाचार गर्दिन अरू अरूलाई पनि हुन दिन्न भन्नेहरूका नाके डाँडी भाँचिएको हल्ला चलेकाे छ । अरूलाई कानुनकाे पाठ सिकाएर नथाक्नेहरूले कानुनकाे धज्जी उडाएर आफ्नै नाक जाेगाउन हम्मेहम्मे परेकाे सुनिन्छ । सुशासन दिन्छु भन्नेहरूका गाडधन भेटिए । परिवर्तनको राग अलाप्नेहरू विदेशीका एजेन्ट बनेका देखिए । अब देख्न र सुन्न केही काँकी छ जस्तो लाग्दैन । कुनै काण्डले नछाेएकाे दल, नेता, कार्यकर्ता, विज्ञ, विश्लेषक, नागरिक र नागरिक समाज भेटाउन मुस्किल छ । अब आफै भन्नुहाेस् कसरी जाेगिन्छ नाक ? मान्छे नमर्ने सहर हुँदैन भनेझैं नाकका कारण विवादमा नपरेकाे काेही छैन र हुँदैन भन्दा फरक पर्दैन ।

संसारमा जे जति विध्वंस भएका छन् नाककै कारणले भएका छन् । आफ्नाे नाक जाेगाएर अरूका नाक भाँच्ने वा काट्ने दाउका कारण साँढेकाे जुधाईमा बाच्छा मिचिएका छन् । निर्धा थिचिएका छन् । निरीह किचिएका छन् । यदि सृष्टिकर्ता ब्रह्मा हुन् र उनैले मान्छे बनाएका हुन् भने एउटै मात्रै बिन्ति छ- प्रभु ! बिना नाककाे मान्छे बनाऊ । उप्रान्त मान्छेमा भएका नाक कटाऊ । जसरी हुन्छ प्रभु ! नाक काटेर नकटाे बनाऊ । नाक राखेर निर्लज्ज नबनाऊ ।

०००
२०८२ कार्तिक १५ हरिबाेधिनी एकादशी
रेसुङ्गा न पा २ तम्घास, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
दबाई कि सवाई

दबाई कि सवाई

रामप्रसाद पन्थी
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x