ह्यारी- ८०सतीको सराप
हुन त नियम शब्दको चिराफारा गर्दा ‘यम’ आधारशब्दमा ‘नि’ उपसर्ग लागेर लागेर बन्ने यस शब्दको अर्थ अनुशासन हो; कानुनले तोकेको कार्य वा गतिविधिको प्रक्रिया वा विधिविधान पनि हो । आचारव्यवहार नै विधिसम्मत हुनुपर्छ भनेर सानालाई मात्र लागु गरिन्जेल देशले मुहार फेर्ने छैन नै ।

ह्यारी- ८० :
‘नियम ठुलाबडालाई लाग्दैन नि हजुर ! नियम ठुलाबडाले नै बनाउने होइन र ? अहँ सानालाई त कहाँ थाहा हुन्छ र नियम विनियमका कुरा । पत्याउनेसम्म त हो । आफूलाई फाइदा हुने गरी नियम बनाउने प्रस्ताव आउँछ । भविष्यका लागि नभई हुँदैन भन्दै नियम पारित हुन्छ अनि स्वार्थ पूरा गर्नका लागि ल्याएको नियम पछि फेरि भताभुङ्ग हुन्छ । म भइन्जेल म नै सबै कुरा हुँ, म नभए अरूको केही राम्रो हुन्न भन्ने उनीहरूको सोच हुन्छ । कुर्सीको खेलले यो कुराको पुष्टि गर्दछ । यसैका लागि सरकारको दरकार परेको हो ।’ यी सबै चियापसलका गफगाफ हुन् ।
हुन पनि हो, सरकार हाम्रै सोचको उपज हो । हामीले कस्तालाई त्यो ठाउँमा पठायौँ, त्यस्तै बन्ने हो । विधान ठुलाले बनाउने अनि त्यसमै टेकेर ठुलैले राज गर्ने भएको हुँदा विधान बनाउँदा आफू तल पर्ने गरी बनाउनु हुन्न भन्ने मापदण्डको सेटिङ मिलाइएको हुन्छ नै । ठुला बडाले गरेका कामलाई सबैले सम्मति दिँदा नै आज खुकुरीको चोट अचानाले सहिरहनुपरेको हो । यो नियम नेपाली चौतारीदेखि विश्वमञ्चसम्मै लागु हुन्छ । सनातनी परम्परा नै ठुला व्यक्तिले मर्यादा उल्लङ्घन गर्दैनन् भन्ने भएकाले यसैलाई सबैले विश्वास गर्ने पर्छ ।
कवि शिरोमणि लेखनाथ पौड्यालमा पनि ‘गरदैन ठूलो व्यक्ति मर्यादा स्थिति लङ्घन’ भनी कविता स्फुरण भएको थियो । हुन पनि हो छन पनि छ तर ठुलाको घमण्ड तोड्न बबुरा सोझासाझाले सक्ने कुरै भएन । लोहोराका मारले सिलौटाले घोटिएरै सकिनुपरेको छ । जनता सोझा ग्रह बनेकैले केही शनि, राहु केतुको पूजा गरेजस्तो गरेर ठुलासनेहरू अझ भनौँ मुलासनेहरूले जहिले पनि धोका दिएकै छन् नियम र बेनियमका कुरा गरेर ।
भन्न त बलिया बाङ्गा बाघलाई बुढापाका माघलाई भनेको सुनिन्छ । जति माघ कटे पनि राजनैतिक वृत्तमा यो आहान अपवाद बनेको हुँदा युवा पिँढी पाखा लागेका छन् । अझ भनौँ खोरिया धरौटी राखेर छेरौटीका देशमा पलायन हुन परेको छ । इमान जमान बेचेर हुँडारहरूलाई गोठमा हुलिदिएर आफू पाताल प्रवास हुनु परेको छ । नियम नलागेरै त होला अधिकार प्राप्त भएर पनि दाउराका चोइटाहरूले श्रीखण्डको स्थान पाइरहेका छन् ।
डिआइजी सा’पले ‘नियम पालन गर्नुस् एक रुपियाँ पनि तिर्न पर्दैन’ भन्नु भएकै छ । हुन पनि हो, नियम पालन गरे भइहाल्यो नि खुरुखुरु सबैले । आखिर सानालाई त हो नि ऐन । साना नै सङ्ख्यामा धेरै छन् । थोरैले त चैन गर्न मिलिहाल्छ है । तिनले नियमै बनाएका छन् किन पालना गर्ने व्यवहारमा । ठुलाले त लेन मिचेर के हुन्छ र ? जेब्रा क्रसिङ किन देख्नुपर्यो ? ठुला त हिँड्ने गुड्ने होइनन् क्यारे । मौसुफहरू त सवार पो हुने हो । सवार हुनेलाई नियम हुँदैन नै । यो कुरा सडकमा, संसद्मा, कोठामा चोटामा, जहाँ पनि लागु हुन्छ ।
परिवारभित्रका मौसुफ, समाजभित्रका मौसुफ, वडा, पालिका, प्रदेश, देश र परदेश जताततै यही नियमले बाँधेको फतुरे काकाले नाडी छामेर पत्ता लगाएका रहेछन् नियम मान्दैनन् भनेर । यमले मान्ने नियम यिनले किन मान्दैनन् बा ! हुन त नियम शब्दको चिराफारा गर्दा ‘यम’ आधारशब्दमा ‘नि’ उपसर्ग लागेर लागेर बन्ने यस शब्दको अर्थ अनुशासन हो; कानुनले तोकेको कार्य वा गतिविधिको प्रक्रिया वा विधिविधान पनि हो । आचारव्यवहार नै विधिसम्मत हुनुपर्छ भनेर सानालाई मात्र लागु गरिन्जेल देशले मुहार फेर्ने छैन नै ।
दिनपरदिन देश कुरूप हुँदै गएकाले केही आशा लाग्दा नयाँ बाघहरू जन्मेको आभासचाहिँ भएको छ तर हुँडारहरूका बिचमा बाघको घुराइ अपेक्षित मात्रामा सुन्न सकिएको छैन । बाघको छालामा स्यालको रजाइँ भएसम्म नियम बन्ने र भत्कने, मिच्ने र मिचाउनेको चटक चलिरहन्छ । यो चक्र नतोडिन्जेलसम्म हामी ट्वाँ परेर बस्नुसिवाय अर्को विकल्प छैन । के साँच्चै लागेको हो त हो त श्राप ? त्यही भएर भन्दा रहेछन् सतीले सरापेको देश !
०००
गोकर्णेश्वर ५, काठमाडौं
२०८१ वैशाख १५ गते शनिबार
Subscribe
Login
0 Comments
Oldest











































