
सुनको कारोबार
बैङ्कमा सुनको भण्डार कम हुँदै जानाले पनि सुन सर्वसाधारणको पहुँचभन्दा बाहिर पुगेको छ तापनि सुन र उनको व्यापार कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैँ सुनको जात्रा हुने देश यहीँ भएको भान हुन्छ भनेर फतुरे काकाको खोजले देखाएको छ ।

ह्यारी- ८० :
पहेँलो जति सबै सुन हुँदैन भन्थे तर होइन रहेछ । खिया नपर्ने, नखिइने र पग्लने, पहेँलो रङको बहुमूल्य उज्ज्वल धातु वा गहना बनाइने प्रसिद्ध मूल्यवान् धातु नै सुन हो सुवर्ण हो । धनीले पित्तल नै लगाए पनि नक्कली गहना लगाए पनि सुन हुने र गरिबले सुन नै लगाए पनि पित्तल सम्झने समजामा हुर्केका हामी बबुराले सुनको बखान गर्न त के सकुँला र ! कलियुगाँ झुक्याउन मिलेसम्म पहेँलोलाई पनि सुन भनेर बेच्ने यहाँ बग्रेल्ती छन् । सुनको भाउ बढेको बढ्यै भएकाले होला सुनको इतिहास खोतलखातल गर्नै मान्छे कैयौँ देखिन्छन् । सुनको खानीमा खोतल्ने, बालुवा चालेर सुन खोज्ने, भण्डारमै हात हाल्ने चाहिँ प्रशस्तै पाइन्छन् । सुनको प्रयोग वैदिक कालदेखि नै भएकाले यसको उल्लेख वेदमा नहुने त कुरै भएन । सुन निर्माणमा अग्नि र सूर्यको भूमिका रहने भएकाले रासायनिक क्रिया र प्रतिक्रियाका लागि यो अति आवश्यक पनि छ । जनमानसमा दुःखको खजना र सुखमा गहना भन्ने चलनै छ ।
सुनको कारोबारमा निश्चित मापदण्ड अझै पनि अपुग भएको पाइन्छ । सुन औषधीका रूपमा प्रयोग गरिने एक बहुमूल्य धातु हो । यो महौषधी हो । सुनले ज्ञान पनि बढ्छ, ज्यान पनि घट्छ । यो शृङ्गारको साधनका रूपमा प्रयोग गरिने बहुमूल्य धातु हो । यो धातु पुरुष र स्त्री जातिमा भिन्न भिन्न आकारमा लगाइने गरेकाले सुनले पनि लिङ्गअनुसरा रूप लिन्छ भन्दा कसो होला ? निश्चित उमेर र अवस्था अनि संस्कारअनुसार फरक गहना लगाउने चलन भएकाले जन्मदेखि मृत्युपर्यन्त यसको उपयोगिता ख्यालख्यालको छैन । शरीरमा सुनको गहना एक चोटि न एक चोटि नपरेका सायदै कोही हुँदैन होला ।
पवित्र धातु सुन मर्ने वेला सुन पानी खुवाउन होस् वा कथित छोइछिटो गर्दा होस् वा पवित्र पार्नु पर्दा, चोख्याउनु पर्दा सुनपानी छर्कने चलन चलेकै छ । सुनका गहना, पञ्चरत्न वा नवरत्न वा अष्टधातुमध्ये जे बनाउँदा पनि सुन हुनै पर्ने मान्यता स्थापित छ । सुनको असर्फीको त कुरै नगरौँ । सुन पहिरँदा अनिष्ट हट्ने तथा समृद्ध बनिने र भनिने हुँदा यसको प्रयोग बिनाहिच्किचाहट हुने गरेको पाइन्छ । धार्मिक, तान्त्रिक, ज्योतिष शास्त्रअनुसार सुन महत्त्वपूर्ण धातु रहेको र गहना लगाउनुपर्ने हुँदा सुनको महत्त्व कति छ सिधै आँकलन गर्न सकिन्छ । सामाजिक, सांस्कृतिक आर्थिक हिसाबले सुनको महत्त्व बढेको बढ्यै छ । शिरमा लगाउने शिरबन्दी, चन्द्रमा, क्लिप, निधारमा लगाउने टिका, कानमा लगाउने ढुङ्ग्री, मुन्द्री, मुन्द्रा,झुम्का, टप, रिङ, यार्लिङ, नाकमा लगाउने बुलाकी, नत्थी, फुली, गलामा तिलहरी, नौगेडी, चन्द्रहार, रानीहार, सिक्री, औँलामा लगाउने औँठी, असर्फी, नाडीमा लगाउने बाला, कल्ली, चुरा, खुट्टामा लगाउने कल्ली, पाउजु, सुनका दाँत कति हो कति अनगिन्ती गहना बन्छन् र लगाउँछन् । अन्यत्र लगाउने, कपडामै उन्ने र बुन्नेका त कुरै गर्न पनि हाम्रो तह र तप्काले भ्याउँदैन ।
सुनको संसार र नेपाली भन्सारको कुन वेला के हुन्छ भन्न सकिन्न । स्विट्जरल्यान्ड, हङकङ, सिङ्गापुर, दुबई जाने र आउनेले ओसारपसार गर्ने प्रमुख वस्तु सुन नेपालमा आउने मुहान नै हुन् रे । वैध वा अबैध सुन कहाँ जान्छ, के हुन्छ लामो प्रक्रिया भएकाले यहाँ सुवर्ण पुराण लगाउन कठिन हुने जस्तो देखिन्छ । त्यो अर्कै गन्थनमा बहकुँला । यो सुनकै संसार भएकाले बरु नुन नखाई बाँच्न सकिएला सुन छैन भने त प्राणपखेरु नै उँड्ला कि भन्ने भान सबैभन्दा बढी सबैभन्दा माया गरेकीलाई नै चाहिने भएको छ ।
सुनका रोचक र घोचक कुरा के सुन्नु जस्तो लाग्ला तर बाहिर यसको चर्चा अति नै भएको पाइन्छ । सुनको मोलम्बा लगाएका सुनका गजुरधारी भगवान्को निवासमा होस् वा झुप्रादेखि महलसम्मका लागि सुन बहुमूल्य र सबैका लागि सुहाउने धातु हो । सबै कुरा सेटमा मिलाएर लगाउने भए पनि सुनका अन्य रङ नभएकाले यो पहेँलै लगाउने धातु हो । सुनका लागि खुन बगाउनेदेखि सुनका लागि नुन बेच्ने सम्मकाले सुनको महत्त्व बुझेको पाइन्छ । मूर्तिमा लगाउने देउताको खोलदेखि आयुर्वेदमा बिरामीले पिउने झोलसम्मा सबैलाई सुन अनिवार्य मानिन्छ । प्रथम हुनेलाई सुनकै तक्मा अर्तात् गोल्डेन प्लेट वा स्वर्ण कप दिइने चलन छ । सुनको वर्णन जति गरे पनि कमै महसुस हुन्छ । हुन पनि हो मान्छे घुन जस्तो भए पनि सुनजस्तो पदार्थ लगाएपछि सुन्दर हुने भएकाले यसको महत्त्व बढेको हो । त्यसै अकबरी सुनलाई कसी लगाउनपर्दैन भन्ने उखान बनेको कहाँ छ र ! हाम्राँ त श्रीमती मात्र कहाँ हो र, सुन पनि जेठी, माहिली साहिँली, कान्छी गरी निकै प्रकारका पो छन् त । विश्व बजारमा चलेका सुनमा चौबिस क्यारेट र बाइस क्यारेटकै बढी बोलवाला होला । ल्हासामा सुन छ कान मेरो बुच्चै भन्ने सुन्तलीदेखि सुनको छानो होओस् भनेर देउसी र भैली भट्याउनेसम्मका मुखमा सुन झुन्डिएको देखिन्छ ।
गहना पसल, सुन पसल, जुहारत पसल, मोर्डन सुन पसल, क्लासिकल सुन पसल के के हो के के सुनका प्राप्यस्थल पनि । यो सुन पसल, कोहीनुर सुन पसल, स्वर्ण भण्डार, हिमाल सुन पसल, विश्वासिलो सुन तथा चाँदी पसल, सहरैपिच्छे अर्नामेन्ट आदि सुन पसलका पसल खुलेका छन् । जहाँ गए पनि पाउने त त्यही पहेँलो धातु नै हो । सुनमा जति फाइदा न नुनमा छ न ऊनमा छ । कोही भन्छन् कि उनमा छ कि सुनमा छ । उनलाई विदेशतिर लैजाने चतुरमान र सुनलाई स्वदेश भित्र्याउने सेटिङम्यानले गर्दा नै आज देशको पुरानो भेष बदलिएको छ । उनलाई भुटानी बनाएर लग्दा नि हुन्छ, नेपाली बनाएर लग्दा नि हुन्छ, जसरी र जे गरी लगे पनि उनलाई रातो राहदानी, निलो राहदानी, हरियो राहदानी जे बनाएर निकासी गर्दा सहज हुन्छ, त्यसो गर्न सक्दा नै मनग्गे आम्दानी हुन्छ ।
राहदानी पत्र भनेकै मनकारीको आम्दानी पत्र हो । उनलाई लैजानका लागि ललाएर, फकाएर, नाता लगाएर, झुक्याएर, जे गरेर हुन्छ कि जसो वा उसो गरेर हुन्छ कि बिहेका बहाना वा बहानका पार्टपुर्जााका बहाना, जे गरेर हुन्छ वा साम दाम दण्डभेद अपनाएर स्वीकृत दिएका वा मनोमानी ढङ्गबाट चोर बाटोबाट भए पनि लगेकै हुन्छन् । उनलाई नलैजानेले सुनलाई आफ्नै मुलुकाँ पार्टपुर्जामा राखेर, खाएर, पेटी बनाएर वा माथिदेखि तलसम्म सेटिङ गरेर सुन ओार्नेपसार्ने त परिपाटी नै बसेको छ । हाम्रो एअरपोर्टमा हात्ती छिर्दासमेत थाह पाइँदैन रे नि बाबै ! सुनको व्यवस्थाका कारण कम्ता कडा जाँच हुन्छ र भन्या । किलोका किलो सुन मात्र डेटिङ र सेटिङ मिले देख्न सकिन्न, देखिहाले छेक्न सकिन्न, छेकिहाले ल्याकत छ भनेर लेख्न सकिन्न, लेखिहाले सुन जस्तो पहेँलो पदार्थ मात्र भनिदिने अनि लास्टाँ त्यही हो । तर नाकका फुली, आँैठी त झ्यापझ्यापी समाउने गरेकाले पनि कति कडाइका साथ जाँचपडताल हुन्छ भन्ने प्रमाण यही होइन र ?
व्यवस्थामा कर्मीको केही दोष छैन । कहिले जाँच्ने मेसिनले काम गर्दैन, कहिले चस्माले काम गर्दैन, कहिले पिसाबले, कहिले हिसाबले गोलमाल गरिदिन्छ त कसका बाबुको के लाग्छ हँ ? सुनमा खोल हाल्न नपर्ने भएर सजिलो छ । पगाल्दा नबिग्रने भएर होला यसले ठुला पददेखि साना पदसम्मका सबैलाई पगाल्दो रहेछ । घुनले पनि खान नसक्ने सुन हिरादेखि किरासम्मकाले नबिगार्ने सुनको पहेँलो रङलाई जुन देशमा लगे पनि हुन्छ, मजासँग खाएर मलका रूपमा परित्याग गरे पनि पछि फेरि पनि लिन मिल्ने भएकाले सुन सबैको प्रिय बनेको छ । हुन त पहेँलो देखेको भन्नेबित्तिक्कै सुन भनेर चेकजाँच गर्न नमिल्ने भन्ने आदेशले गर्दा होला, सुन त छिर्छ रे तर कहाँबाट छिर्छ होला यो सुन ? बजारमा सुनबहादुरहरूले सुनको भाउ एउटै राखे पनि किन्दा तौलने र गहनामा ढाल्दा लाग्ने ज्याला सुनभन्दा महँगो भएको सर्वसाधाराणले मारमा परेपछि पीडित भएको बताउँछन् । जर्ती कटाउने र नकटाउनेको झगडाले किचिएकाहरू साँढेको जुधाइ बाच्छाको मिचाइ भएको बताउँछन् ।
भन्ने वेला सुन जोखाइ जस्तो भन्ने तर जोखाइमा, ज्यालामा, गुणमा सुनमा जति फाइदा केमा लिएका होलान् र ? हुन त पैसा हुनेले नै सुनको खेती गर्ने हो । सुनका कुखुराले पार्ने सुनको अण्डा दिने योजना हुने हुँदा सुनको भाउले फरक पार्दैन तर सुन नेपाली समाजमा चाहिँ संस्कृति र संस्कार भएको छ । सुन दिनै पर्ने संस्कार जन्म, पास्नी, व्रतबन्ध, विवाह, मृत्यु संस्कारमा चाहिने सुवर्णादि वस्तु संस्कारसँग गाँसिएको हुँदा यो नभई हुँदैन तर यही सुन सुनकाण्डतिर पुग्दा बेथिति र बेफ्वाँकमा पुग्दा भने पहेँलो धातु जुन भए नि हुने भन्ने अवस्थामा पुगेको देखिन्छ । सुनखानीमा पुग्दा सुन नपाइए पनि सुन फल्ने एअरपोर्ट भइन्जेल केको पीर ? सुन फल्ने प्रवृत्ति छ, सुनका जलधारा, सुनका असर्फी मन्दिरबाट गायब हुने, सुनका असर्फी नबन्ने अवस्था यहीँ विद्यमान छ ।
बैङ्कमा सुनको भण्डार कम हुँदै जानाले पनि सुन सर्वसाधारणको पहुँचभन्दा बाहिर पुगेको छ तापनि सुन र उनको व्यापार कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैँ सुनको जात्रा हुने देश यहीँ भएको भान हुन्छ भनेर फतुरे काकाको खोजले देखाएको छ । जसले जे भने पनि ऋणं कृत्वा घृतं पिवेत्बाट अब ऋणं कृत्वा स्वर्णं पिवेत् भएको छ भन्दा अत्युक्ति नहोला ।
०००
गोकर्णेश्वर ५, काठमाडौँ
२०८१ साल फागुन १० गते शनिवार
Subscribe
Login
0 Comments
Oldest