ह्यारी- ८०भत्ता खा ! तनखा तँ नखा !!
मर्नुभन्दा बहुलाउनु निको भन्थे । हट् म मुन्छे पनि के सोच्दै छु हँ, अफिस जान ढिला भइसक्यो ! ‘भत्ता खा तनखा तँ नखा !’ भन्थे फतुरे काका । अब टाप कस्नुपर्यो बा ! फेरि छड्केमा परिएला ।

ह्यारी ८० :
तनखा बढेको बढ्यै ! हामी हेरेको हेर्यै ! हुन पनि हो भँडाराँ नभएपछि के गर्नु ? त्यसै तनखा भनेको छ र ! तँ नखाबाट तनखा भएको जस्तै भयो । तँ नखा र तनखा शब्द बोल्दा उस्तै तर लेख्ता र अर्थ मात्र फरक हो नि । हुन परेन भन्या ? भँडाराँ जम्मा हुन पाउँदैन, सबै आफैँ लुँड्याएर लैजान्छन् भँडारेहरू । मुन्छे भएपछि कुरोसुरो बुझ्नुपर्छ गाँठे ।
नेपालाँ बसेपछि कपालाँ समा’र मात्र कहाँ हुन्छ र ? कि भिजिट गर्न जाओ बिदेशाँ, भिजिट भिसा मlलfइदिन्छन्, कि तातो बालुवातिर जाओ सेकिन, कि पढिटोपल्ने बहानामा विद्यार्थी बनेर पश्चिमतिर मुन्टे भइहाल्छ होइन भने यता बसेपछि हाई गर्दै अलि अलि काम गर्नेलाई तनखा कहाँ बढाउन सकिन्छ भन्या ? झोले बनेर झोलामा पर्चा बोक्तै हिँड्नुपर्ने नोटका बिटा बोक्तै चप्पले साहुलाई सोस्दै हाच्छिउँ गर्दा हवाइजहाज चढी विदेशमा उपचारको सयर गर्ने बनाइदिएका मयलपोसेलाई कन्याउँदा कन्याउँदा भत्ता बढाइदिएकै छ क्यारे । अब केही महिना जम्मा गर्नुस् बढेको भत्ता अनि किन्न सकिहाल्नुहुन्छ एक जोर जुत्तासहित लत्ता !
यो सालाँ अब जति भाउले सगरमाथा चढेर के हुन्छ र भन्या महँगीका बाउ भत्ता नै बढाइदिएकै छ क्यारे । जागिर सरकारी हुने जतिलाई काइदै पो भयो । सरकारी जागिरले त हो निजी काममा मजाले ध्यान दिएर बस्न पाएको नत्र तरकारी किन्न पनि पुग्दैन बाबै । हाम्ले पनि त घरपरिबाराँ पुग्ने गरी तरकारीको जोहो गर्नुपर्छ, होइन र ? एक्लै खा’र भो’र ?
तनखा थोरै भ’र के भो त, खर्चपर्च कम गर्नुपर्च, जोगाउनुपर्च भन्नुहोला । हुन पनि हो, फजुल खर्च गर्न त भ’न नै ! जुन बेला नि टिकटक बनाएर, फेसबुक चलाएर, इन्स्टाग्राम, रिल चलाएर हुन्च त भन्या ? करेसो बाँझै छ, गमलामा फूल सुकेका छन्, गोठाँ गाईवस्तु भोकै छन्, हाँसकुखुरा एकदोटा यसो पाले पनि हुन्थ्यो भन्नुहोला । के यो उहिलेको जमाना हो र यी सब काम गर्नलाई ?
खालि तनखाकै वैशाखी चढेर हुन्छ त भन्नुहोला । हुन त अब उहिलेका कुरा खुइले भन्नुहोला । तर पनि त्यो बेला कतिका घरमा सुँगुर पाल्थे, खसीबोका एक दोटा हुन्थ्यो । रछान र मलखादकै वरपर सागसब्जी लगाएको अनि खुर्सानीका बोट हलक्क बढेको यही मुन्छेले देखेकै हो क्यारे । अनि जे चाहियो पैसा बोकेर खन्खन्ती गन्न पर्थेन भन्छु म । नुन र सुन चाहिए बजारतिर दौडिने नत्र घर वरपर अडको पडको तेलको धूप हुन्थ्यो । बारीमा मकै, काँक्रो सब फल्थे । बोडी, भटमास, कोदो, सिमी हुन्थ्यो । खेतमा मास, धान मनग्गे हुन्थ्यो । तनखाको पर्वाह हुन्थेन ।
अब त जमाना बदलियो भन्चन् । यस्ता काम गरेर उँभो लागिन्न क्यारे । टिकटक खेलेर कुन्नि क्यारे हरिया काँक्रा कर्याम कर्याम मकैबारी दर्याम दर्याम भनेर भाइरल गीत गाउनुस् भाइरल भइहालिन्छ । तपाईँका कुरा सुन्यो भने पैसा यति बर्सिन्छ कि राम्ररी सुने भने मुन्छेसुन्छे सब तर्सिन्छन् बाबै । कोहीलाई त कता कताबाट पैसा बर्सिन्छ, यो जाबो भत्ता न तनखा वास्तै हुँदैन तर आफू त बुबुरो परियो । तैपनि यसपालि चाहिँ मरिगए पनि अब त पर्दैन, पर्दै पर्दैन हरिया काँक्रा फलाउन ।
यता सरकारले भत्ता बढाइदिएको छँदै छ पाँच पाँच हजार जानुस् न किन्न जे जे चाहिन्छ बजार । त्यहीँबाट किनेर ल्याई देखाइदिनुस् केको टन्टा । कृषिमा सच्चा राजनीति गर्न आउँछ भने बिचौलिया बनेर सित्तैमा किसानबाट उठाउनुस् र ग्राहकको ढाड सेकिदिनुस् महँगी बढाइदिएर, आखिर भत्ता बढेकै छ क्यारे । भन्न पो पाँच हजार भत्ता भनिदिएको त, पहिलाको दुई हजार जोडेर । उः बेलादेखिको बढेको तलब र भत्ता जोड्नुस् त कति बढाको छ कति ? अहिले आएर तनखा बढेन भन्न मिल्छ त ?
अहिले त वास्तवमा तीन हजार मात्रै हो बढेको । पर्खनुस् पर्खनुस् चौरासीको चुनाउसम्म त बढ्छ बढेन भने त्यसपछिको एकमना सरकारले त जति भन्यो त्यति बढाइदिन्छ रे क्या ! अब अहिले चाहिँ तीन हजार लिएर बजार जाँदा सारी किनेको भए पारी हाल्न पुगिहाल्छ । दर्जनका दर्जन चुरा किन किन्नुपर्यो र चुक्किएका मात्र किने हुन्छ । श्रीमान्लाई प्यान्ट किन नयाँ ल्याइदिनुपर्यो ? पहिलेकै च्यातिएको हनुमान् कट्टु टालटुल पार्न सियो र धागो किनिदिए भइहाल्छ ।
ए साँच्ची, बरु बिर्सनुहोला नि स्थानीय कर बढेको छ, धेरै थरीमा कर लगाएको छ नि त्यो चाहिँ तिर्नुपर्छ है । छोराछोरीको फि निकै बढेको छ रे, त्यो त एकमुष्ट तिर्दा हुन्छ पहिल्यै ऋण काढेर । महँगी भत्ता बढेकै छ पछि चुक्ता गर्न सकिहाल्नुहुन्छ क्यारे ढुक्क हुनुस् ।
घरतिर त के छ र ? अलिकति दाल, अलिकति चामल, अलिकति तेल, अलिकति ग्याँस, अलिकति घरभाडा, सबैतिर अलिकति अलिकति त बढेको हो नि ! छोराको, छोरीको, परिवारका सबैको अलिकति अलिकति त बढेको हो, त्यत्रो महँगी भत्ता बढेको छ । स्रोत नहुँदानहुँदै भत्ता बढाइदिएको छ । ग्वाम्म झिकेर खर्च गर्नुस् न । अब त खर्च गर्नै नपुगे खेत खोरिया धितो राखेर ऋण ढुक्कसँग काढ्नुस् न सहकारीबाट । तपाइँकै सहकारीले ठगे भने थुन्दिहाल्चन् क्यारे ।
सुन किन्न नसके पनि नुन किन्न सकिहाल्नुहुन्च, बिदेसाँ कोही भए सानसँग किन्नुस् नत्र लुरुक्क परेर तलबसहित महँगी भत्ता छँदै छ भनेर बजारभरि फुर्ती लगाउनुस् घराँ गएर घुँडामा मुन्टो राखेर नाकलाई लोप्पा खुवाउनुस् भनेर यता घटुवारे माइला फलाक्तै थिए उता फतुरे काका जिल ।
खाइस् जागिर पाइस् बढेको तनखा । तँ नखा भन्दाभन्दै खाएको जागिर पनि छोडेर पनि के गर्नु भनेर छोडिएन । अहिले निल्नु न ओकल्नु भ’को छ । जागिर छोडेर कुम्लो कुटुरो सबै बोकी लाहुर हिँड्नेको लर्को त्यसै बढेको होइन र’च बाबै । मर्नुभन्दा बहुलाउनु निको भन्थे । हट् म मुन्छे पनि के सोच्दै छु हँ, अफिस जान ढिला भइसक्यो ! ‘भत्ता खा तनखा तँ नखा !’ भन्थे फतुरे काका । अब टाप कस्नुपर्यो बा ! फेरि छड्केमा परिएला । उफ् !
०००
गोकर्णेश्वर ५, काठमाडौँ
२०८२ जेठ २४ गते शनिबार
Subscribe
Login
0 Comments
Oldest












































