ह्यारी- ८०हिजाेआजकाे बिहे !
विवाहपद्धतिमा भन्दा पनि क्यमेराम्यानको कथाले के माग्छ त्यहीअनुसार हाउभाउ र पोज बनाएर विवाह गर्ने भएकाले जन्ती पनि कि ताली बजाउने कि भोजमा मोज गर्ने भएको पाइन्छ । यही हो बिहेको रौनक ।

ह्यारी- ८० :
अरू देशमा कृत्रिम वर्ष गराउन कति ठुलो यत्न गर्नुपर्छ तर हामी नेपाली प्राकृतिक रूपमै वर्ष गराउन सक्छौँ त्यो पनि भ्यागुताको बिहे गराएर ! हो, भ्यागुताको बिहे विधिपूर्वक गराएपछि कहिलेकाहीँ पानी परेका घटना सबैलाई थाहा नै छ । तपाईँ पत्याउनुस् नपत्याउनुस् घटना भएकै हो क्यारे ।
विषय उठानका क्रममा कुरो गहिरो नै गर्न खोजेको हुँ मैले तर लमीले कुरो बिगार्ला कि ! कति जनालाई हारगुहार गर्नु बा ! लौ न कोही गतिलो फेला पर्छ कि ? खान्दानी भए गजबै हुन्थ्यो । मलाई केही चाहिँदैनथ्यो, अहँ ! धनसम्पत्ति पनि केही चाहिँदैन । यसो लोकलाज टार्ने खालको समाजका आँखामा छारो हाल्ने गरी व्यवहार गरे भइहाल्छ । बिहे जस्तो कुरो, मोही माग्ने ढुङ्ग्रो के लुकाउनु नि ! कुरो त्यही हो । तपाईँले नगरे म्यारिज ब्युरो भए पनि गुहार्नुपर्यो । उमेर पुगेपछि बन्धनमा बाँधिदिनुपर्ने खोइ के गर्ने के गर्ने ? आफैँले भित्र्याएर भएन क्यारे ! जति भने पनि कसैले टपरी खोजेर भरे कसैले टपरी सोहोरे तर आफ्नो भने बिहेका कुरामा केही सिप लागेन ।
बिस वर्ष पारि बिहाबारी भन्ने चलाए पनि अभिभावकबाट बालविवाहको प्रचलन हटेको छैन । अर्कातिर विद्यालय उमेरमै आँखा सन्काउँदै छनोट गरेर अघि बढ्ने चलन ह्वात्तै बढेको छ । अब त समयले कोल्टे पर्लक्कै फेरेको छ है । जेन जीलाई त केही भन्न हुन्न जेनेरेसन ग्याप भनिदिन्छन् । कोही कोही त उमेर छउन्जेल रिलेसनमा मस्ती अनि कल्कलाउँदो वयमा धमिरा लाग्न थालेका अझ भनौँ पार्टपुर्जामा खिया लाग्न थालेकाले पोथ्रापोथ्री हेर्ने बानी परेको समयमा आएर बिस वर्षमा झ्यानाकुटी गर, तिस वर्षमै ग्याल्ग्याल्ती पारिहाल है पो भन्न थाले बा ! होइन यो फुट्या कानले के के सुन्न पर्ने हो कुन्नि ! प्लस टु पढ्दादेखि नै बिदेसिने प्रवृत्तिले युवायुवतीको बिहेको कुरो सङ्क्रमणमा रहेको देखिन्छ । बिहे पनि जीवनमा धेरै पटक गरिने कुरालाई कसैले पचाउँदैन तर त्यही भइरहेको पनि छ नै ।
हात्तीको देखाउने दाँत नै बनेको छ विवाह परम्परा पनि । पञ्चेबाजा बजाएर रात राखेर गरिने बिहेमा आमूल परिवर्तन आएको छ । बिहै टिकटके पारामा चल्न थालेको छ । जग्गेमा बसेका जोडीको एक अर्काप्रतिको मोह वा संस्कार र संस्कृतिअनुसार पण्डितको निर्देशनानुसारको विवाहपद्धतिमा भन्दा पनि क्यमेराम्यानको कथाले के माग्छ त्यहीअनुसार हाउभाउ र पोज बनाएर विवाह गर्ने भएकाले जन्ती पनि कि ताली बजाउने कि भोजमा मोज गर्ने भएको पाइन्छ । यही हो बिहेको रौनक ।
तेरा बाउको बिहे देखाइदिउँला, जसको बिहे उसैलाई देख्न नदे भन्ने त सुनिएको हो तर जुत्ता लुकाउनेको माहोल हेर्दा, दाह्रीमा सजिएका दुलाह अनि आँखा मल्याकमुलुक गरेर लज्जाभाव हराएकी दुलही अनि भोट मात्र हेरिरहने नेता तथा नोटमा मात्र हेरिरहने पुरेत सबका सबले बिहेलाई औपचारिकतातर्फ लगेका छन् । बिहे यस्तै नै हो भन्नुहोला । हो, बिहे सकिनासाथ कसरी पारपाचुके गर्ने भनेर जोखाना देखाउनेले पनि बिहे गरेका हुन्छन् रे । सम्पत्तिको मोह, जवानीको मोह, रिस इबीले देखाउनका लागि गरिने बिहे, भिजिट भिसाका लागि गरिने बिहे, रिलेसनमा राख्नका लागि गरिने बिहे, घर खानलाई गरिदिने बिहे, पिआर पाएको भनेर झुत्ती खेलेर गरिने बिहे, गन्धर्व बिहे, मागी बिहे, भागी बिहे, जारी बिहे, पैशाची बिहे, राक्षसी बिहे, कति हो कति बिहेको चलन पनि ।
बरु बिहे गर्ने तौरतरिकाको पुराण रच्न वेदव्यासले पाँचौँ पुराण रचेको भए सबैभन्दा बढी यसैले प्रसिद्धि कमाउँथ्यो होला र उपयोगी पनि हुन्थ्यो होला । नक्कली बिहे गर्दै बिदेसिने, पेपर म्यारिज गर्नेले थाहा पाएका छन् बिहेको स्वाद । कागजमा एउटा, समाजमा अर्कै अनि कोठामा अर्कै हुने बिहेको म चर्चा गर्न भ्याउँदिनँ तपाई आफैँ भन्नुहोस् । त्यस्ता नौटङ्की विवाह कुन केअन्तर्गत पर्दछ भनेर । अपार्टमेन्टमा राख्नका लागि गरिने विवाह कुन हो ? जेठो साहिलो, माहिलो, ठाहिँलो, काहिँलो आदि जन्माउन छोडे पनि विवाह चाहिँ जेठी माहिली, गर्दै दर्जनौँ भित्र्याउन पाइने गरी कानुन बन्दै जाने चर्चापरिचर्चा बजारमा छरिदिएर आफू अनुकूलको नीति नियम जन्माउन पाए श्रीमती छोराछोरीका सन्तान दरसन्तानलाई कुम्ल्याउन पुग्ने गरी सम्पत्तिको जोहो गर्नका लागि वैधानिक बाटो खोजेका तारन्तारे वरवधूले गरेको यो नवीन प्रयास हो भन्ने विश्वास गर्न सकिन्छ । छोरा मात्रै जन्माउन खोज्ने एकतर्फी देशाँ दुलही पाउन कति गाह्रो छ भन्ने कुरा विवाह गर्ने उमेर पुगेकालाई सोधे थाह भइहाल्छ । गर्भमा छोरी छ भन्नेबित्तिकै भ्रुणहत्या गर्न स्वीकृति मिलेकै छ अनि केटा र केटीको सन्तुलन नमिलेपछि बहुविवाह गर्न पाउने नियम बनाउँदै छ क्यारे ठिक कि बेठिक के सोध्नुपर्छ र !
सत्र जनासँग कुरो छिनिसके पनि बिहे गर्ने दिन अर्कैसँग लगनगाँठो कस्नेले जीवनभरि उसैसँग बस्ने वाचा गरे पनि यसमा दरार आउन थालेको देखिन्छ । मारे पाप पाले पुण्य भन्दै लिएर गए पनि बर्सेनि पारपाचुके गर्नेको प्रतिशत बढ्दै जानु, आफ्नैले आफ्नालाई व्यवहारमा सिध्याउँदै जानु, सिंहदरबार गाउँगाउँमा गएजस्तै दुलाहलाई दुलही र दुलहीलाई घर घरमा सेवा गर्ने प्रवृत्ति हावी हुँदा टिकटकले बाङ्गिन र नाङ्गिन सक्ने बनाएको छ । नेपालाँ बसेका फतुरेलाई भट्टी पसलमा जस्तो हर्कत संसद्मा र बिहेको जग्गे देखिनु कुन नौलो कुरा हो र ?
महिलालाई पहिला दोष दिने प्रथा जिउँदै रहेको यो समाजमा विस्तारै पुरुष ओझेलमा पर्न थालेका छन् भन्नु होला । परे परुन् भने पनि सामाजिक न्याय दिन समाज अझै पछि परेको कुरा विवाहपद्धतिले झल्काएको पाइन्छ । गोत्र, जात, धर्म चिना सबथोक परम्परागत विवाहले ओथारो राखेकै छ । अब शिष्ट र सभ्य विवाह त घाम लागेर पानी परेको वेला घामपानी स्यालको बिहे हुँदा मात्रै हुन्छ होला । तडकभडक पनि कत्ति गर्ने कत्ति ! घरमा खान धौ धौ हुनेले पनि विवाहको पार्टीमा गएर खानेकुरा कति खेर फाल्छन् भन्ने देख्ने, सुन्ने, भोग्ने, यही गफ पढ्ने र लेख्ने सबैले देखेभोगेकै छौँ । भन्न त विवाह अभियान हो; जीवन रथको सहयात्रा हो, जीवनको नवयात्राको उद्घाटन हो विवाह भन्छौँ ।
अहिले विवाह खर्चका हिसाबले बाढी जसले धेरै कुरा बगाउँछ र खेर पनि फाल्छ । फजुल खर्चलाई रोकेर उद्यमसँग, उत्पादनमुखी क्रियाकलापसँग किन जोड्नु, देश भााडमा जाओस् न । रेमिट्यान्स आइहाल्छ, किन रोक्नु यस्ता विकृति जति गर्छौ गर । बेकारमा बरु रोजगारीका लागि अन्यत्र धाए भइहाल्यो नि कि कसो । खाडी जिन्दावाद । मेरिका, ट्रेलिया जिन्दावाद । यहाँ त मस्ती गर्ने हो मस्ती । सित्तै पाए अलकत्रा पनि खाइदिने परम्परा भएको यस मुलुकाँ खानेकुराको महत्व कति छ, कति मितव्ययिता अपनाइन्छ भन्ने कुरा भिआइपीका पार्टी नै काफी छ । अघाएका कुकुरको डकार्ने गरी हसुर्ने थलो हो भनेर सत्तो न सराप गर्नेले गरे पनि विवाह पार्टी अविच्छिन्न रूपमा चलिरहेकै छ ।
प्राचीनकालमा अठचालिस प्रकारका विवाह भए पनि आधुनिक कालमा सोह्र संस्कारभित्र विवाह राखिए पनि, विपरीतलिङ्गी, समलिङ्गी, उभयलिङ्गी आदि अनेक प्रकारका विवाह भए पनि विवाह अस्थायी सम्बन्ध जस्तो हुन थालेको पाइन्छ । विश्वव्यापीकरणको देन भनेकै विवाह मौलिक होइन आधुनिक पाराको लहड हो । आत्मनियन्त्रित र मर्यादित एवम् वैधानिक सम्झौता गरिने विषय भने पनि यो डायनोसर जस्तै हुन गएको छ । अघिल्लो पुस्ता र पछिल्लो पुस्ता जोड्ने सेतुको काम गर्ने विवाह परम्परा अब आधुनिक युवाको लहडमा मौलाउन जाँदा यो भद्रगोले बनेको छ । वस्त्र र आभूषणले सजिनु फोटा, भिडियो र टिकटक वा यस्तै सामाजिक सञ्जालमा पोस्ट्याउनका लागि मात्र बनेको अवस्था छ । मागी विवाह, दैव विवाह, आर्ष विवाह, प्राजापत्य विवाह, आसुर विवाह, गान्धर्व विवाह, ब्रह्म विवाह, पैशाच विवाह जस्ता सबै विवाह छ्यासमिस भएर विवाह न त उत्तम न त निन्दनीय बनेको छ, खिचडी विवाह बनेको छ । प्रेम विवाह, कानुनी विवाह, अनमेल विवाह, अन्तर्जातीय विवाह, अवैध विवाह, टाम्टुमे विवाह, दुईचम्के विवाह, पुनर्विवाह, कागजी विवाह, बहुविवाह आदि विवाहले विवाहको उद्देश्य एक रूप अनेक भएको छ । वेल विवाहजस्तो उत्कृष्ट सांस्कृतिक परम्परामा पनि दरार आउन थालेको आभास भएको छ ।
विवाह अझै पनि पवित्र परम्परा हो भनी ठोकुवा गर्न सकिन्छ । पुरुष र महिलाको गुण र स्वतन्त्रताको अधिकारको सम्मान गर्ने तर सृष्टिमा बाधा नदिने संयन्त्र बने विवाह कसलाई टाउको दुखाइ हँ ? विवाहपश्चात्को सम्पत्तिको हकले जीवनमा ठुलो भूमिका खेल्छ । कतिपय महिलाको वैरी महिला बनेरै अहिले पनि घर र पर वा सँगै महिला अनि पुरुषसँग सँगै बसेका बग्रेल्ती कथा व्यथा छन् । जे गर्दा पनि कानुन दैवले जानुन् भन्नेले भनेकै छन्, गर्नेले गरेकै छन् । विवाह पनि गधासँग, कुकुरसँग, के केसँग के के सँग भनिसाध्यै छैन । यो मानवेतर र अमानवेतर सम्बन्धले विवाह पद्धतिलाई गिजोलेको देखिन्छ । त्यसैले बिहे बाउको कि छोराको, बिहे छोरीको कि अभिभावकको, बिहे कुन लिङ्गको कोसँग ? यस्तै यस्तै गाईजात्रा चलिरहेछ गाईजात्रा बनिरहेछ । कसैको भाइजात्रा, दाइजात्रा, बहिनीजात्रा, दिदीजात्रा, छोरीजात्रा, भदैजात्रा, भान्जीजात्रा हुँदाहुँदा चालिसदेखि चौरासी कटिसकेकाको पनि जात्रा चलिरहेको छ ।
बाँचिरहनुपर्छ के के जात्रा देखिन्छ के के ! विवाहेतर सम्बन्धले विवाह ओझेलमा पर्ने कुरा जगजाहेरै छ तापनि विवाह भनेको विवाह नै हो । विवाह वाह वाह हुन गाईजात्रा हुनुपर्छ ! विवाहपछि पनि कुलिङ पिरियड राख्न सके पारपाचुकेको दर कम हुन्थ्यो कि भन्नेका मुखमा बुझो लाउन सकिएला त ? थोत्रे थोताहरूका माझमा उरन्ठउेलाको मगन्ते मतिले विवाह पवित्रताको भन्दा पनि अपवित्रताको गठबन्धन भएको छ । उँधो जाने परम्परा भएकाले होला अर्काको इसारामा विवाह गर्ने, फेक विवाह केकसँग मान्ने परम्पराले संस्कृतिको रूप नलेओस् । यही विवाहपुराण उपाख्यानकर्ता फतुरे काकाको तर्फबाट हुनेवाला, भएकावाला, पुनर्विवाहवाला, सट्टापट्टावाला, भाडावाला, गाडावाला, ऐसावाला, पैसावाला, चुड्कीवाला, मुड्कीवाला सबका सब विवाहित एवं अविवाहितवालाको बिहेका लागि गाईजात्रे शुभकामना !
०००
गोकर्णेश्वर ५, काठमाडौँ
२०८२ साल श्रावण २५ गते मङ्गलवार गाईजात्रे रोज ७ शुभम्













































Huge congratulations sir! Pathan ra manan yogya Lekha!