
भाइरलको भाइरल !
देखाउनकै लागि भए पनि, कुटेजस्तो गर, थुने जस्तो गर, बनाए जस्तो गर, उद्धार गरेजस्तो गर, सहयोग गरेजस्तो गर, मिलेजस्तो गर, स्वार्थ छैन जस्तो गर, भ्रष्ट होइन जस्तो गर तर गर्न चाहिँ गर । देखाउनकै लागि सबथोक गर ।

ह्यारी -८० :
पृथ्वी ! मेरा साना दुःखले आर्ज्याको मुलुक होइन भन्यौ र तिमी गयौ । तर अब समयले कोल्टो फेरेको छ । आज संसार गर्न होइन, भुँडी भर्नतिर लागेको छ । यसका लागि संसार देखाउनतिर लम्केको छ । स्विकार्न सक्ने र नसक्नेहरूले पनि भूगोलको एकीकरण तिमीले अनि समाज एकीकरण भानुले गरे भन्छन् । मैले पनि सम्झेको मात्र हुँ ।
आज बोक्रातिर लम्कँदा भाइरल संस्कार मौलाएको छ । तिमी हेर या नहेर दृष्टि गैहाल्छ क्यारे । नहेरी को चाहिँ बस्न सक्छ र ? संसार देखाउनुमै त छ । सायद ऐनाको आविष्कार त्यसैले बनेको होला । भौतिकताका पछाडि कुद्नेले पञ्चतत्त्वलाई प्रस्तुत गर्नै पर्छ । जे छ त्यो देखाउने नै हो । हात्तीका पनि त देखाउने दाँत छन् नि । मन्दिरमा भक्तजनको भिड देख्नुभएकै छ ।
पहिले त म थिइनँ । अहिले म यसो मन्दिर परिसरमा टहल्न पुग्छु त खालि सेल्फी खिच्नेकै लर्को देख्छु बा । भक्तजन पङ्क्तिबद्ध भएर बसेका छन् । जपतप, ध्यान, प्रार्थना, पूजा, पाठभन्दा क्यामेरामा कैद हुने र त्यसलाई पोस्ट्याउनुपर्छ भन्ने मै ध्यानाकृष्ट भएको भान हुन्छ । हुन पनि मलाई यसो गरेकामा जीवनको एउटा रमाइलो अभिनयको पाटोमा भक्तजन सफल भएका झैँ लाग्दछ । कोटी होम चल्छ, त्यहाँ होडबाजी चल्छ कसले कति दिने भन्ने । यो देखाउनकै लागि हो कि ? राजनीति चल्छ कसले कति सिट ल्यायो ? यो देखाउनकै लागि हो कि ? भाषणमा आदर्शका पाठ बहकिन्छन् । जनताजनार्दनका लागि सुनाउन देखाउनकै लागि होइन त ?
गर्न त कसले के के गरे ? पारदर्शी नै छ क्यारे यहाँ म बहकिनुको कुनै अर्थ छैन नै । हिजो गुफाभित्र बसेर, पहाडका कुनकन्दरामा बसेर ज्ञानको खोजी गरिन्थ्यो र त्यो आलोकले दिव्य ज्ञानलाई ज्ञानचक्षुले बोध गरिन्थ्यो । आज समयले कोल्टो फेरेकाले होला वरिपरि क्यामेरा राखेर ज्ञान लिएको दिएको देखाउँदै अभिनय गरेर प्रचार र प्रसार गर्दै आफ्नो कर्मको प्रक्रियालाई विज्ञापन गर्दै ताली माग्ने चलन बढेको छ । हिजो कर्मशीलताको लागि ताली माग्नुपर्दैनथ्यो । परर ताली बज्थ्यो । ताली पाइन्थ्यो । ज्ञानार्जनका लागि गरिने कठिन परिश्रमको मूल्य सम्मानजनक थियो, त्यहाँ आदर थियो, प्रतिष्ठा थियो, हिमालझैँ उच्च इज्जत थियो र त लब्धप्रतिष्ठित व्यक्तिको कदर हुन्थ्यो । याज्ञवल्क्य, गार्गी, मैत्रेयी, याज्ञवल्क्य, जनक, अष्टावक्र वाल्मीकि, बुद्धादि अनन्यको चर्चा परिचर्चा गर्दा थाकिन्नथ्यो ।
अहिले भिडियो खिचेर मिनेट मिनेटका टिकटक र भिडियो अपलोड गर्दा कमेन्ट, लाइक, सब्सक्राइब हेर्दा हेर्दा ज्ञानी भनिएकाहरूलाई फुर्सदै हुँदैन अनि कसरी ज्ञानको, धर्मको, राजनीतिको गहिराइमा पुग्नु त । हिजोको जस्तो समाज छैन नि त अहिले । दलेदाइ, बिचौलिया दाइ, धर्म दाइहरूदेखि पाउजुका खोजीमा भएका भाउजूसम्मका युट्युबेहरूको बिगबिगीले धेरैको मति गिजोलिएको छ ।
एउटा धर्तीपुत्र जन्मेर पहाडका कुनाकन्दरा, खोलानाला, छहराछाँगासँग रम्दै हुर्कन्थ्यो, त्यहीँ प्राकृतिक लिलासँग रम्थ्यो र प्रकृतिसँगै मितेरी लगाएर निश्चल जिन्दगी बाँचेर निर्दोष आँखामा प्रकृतिलाई साँचेर लालीगुराँससँगै मृगका शावकझैँ उफ्रँदै बाललिला व्यतीत गर्दथ्यो । युवामा प्रवेश गरेपछि कर्मका पाखुरीले पहरासँगै लाप्पा खेल्दै जीवनलाई प्रकृतिकै पूजामा खर्चिन्थ्यो अनि हिमालकै शीतल वायुमा आखिरी सास मिलाउँथ्यो । तर अब समयले कोल्टो फेरेको छ । संसार देखाउनु मै मख्ख पर्न थालेको हुँदा रोएको, खाएको, गाएको, हाँसेको, नाचेको, बिरामी भएको सबका सब देखाउन थालेपछि निजीपन केही भएन । औपचारिकतामा संसार डुल्यो । सबको गालीदेखि तालीसम्म खेप्नुपर्ने भयो । कलिला ओटका मुस्कानभन्दा दुनियाँका बोझले शरीर र मन मौलाउनेभन्दा बहुलाउने बनाएर माटोमा मिलायो । खोइ न्याय दिइयो त ?
अन्यायीको अन्याय अनादिकालदेखि खोतल्न बाँकी नै छ तापनि संसार देखाउनेहरूको भएको हुँदा तिनकै रजगज चलेको छ । हिजो लुकाएर राखेका सबै कुरा आज मठमन्दिरको ढुकुटी देखाएर सुकुटी सुकाएझैँ सुकाएर चबाएका छन् । श्री कुम्ल्याएकाहरूले छिपाएको पीडा र मर्म कसले बोध गर्ने ? कसले मर्म बुझ्ने ? छोप्नुपर्ने जति सबै यताबाट र उताबाट देखाएपछि अझ भनूँ छोपेजस्तो गरेर देखाएपछि गोपनियता नै के रह्यो र ? आखिर लुकाउनुभन्दा देखाउनुमै हास्यपात्र बनिन्छ, भाइरल भइन्छ अनि पो आर्जन हुन्छ त ।
चर्चाको शिखरमा पुग्ने हो भने सबका सबले देखाउनै पर्छ है । के देखाउने कति देखाउने, कसरी देखाउने कहाँ देखाउने भन्ने कुरा तपाईँको पेसा, व्यवसाय र कर्मले निर्धारण गर्दछ । सम्प्रदाय, समूह, वर्ग, जात, धर्म, दल, हुल, प्रतिष्ठान् आदि केमा हुनुहुन्छ, त्यहीअनुसार आफ्नो हुइयाँ फिँजाउनुहोस् अनि ङिच्च दाँत देखाउनुहोस् । साग खाएका दाँत भए म शाकाहारी, मासु खाएका दाँत भए मांसाहारी, सुनका दाँत भए स्वर्णाहारी, रजत पचाएको भए रजताहारी हुँ भनेर गर्व गर्नुहोस् ।
विवाह दुई मन, दुई शरीर एक हुन समाजले दिएको स्वीकृति हो तर यो देखाउनुमा छ, डिभोर्सको पत्र तयार गरेर विवाह बन्धनमा बाँधिएर पनि हल्दी, म्हेन्दी, के के गर्दै आठ दशओटा चरणपश्चात् विवाह गरी विवाह सक्दा नसक्दै खटपटका स्टाटस हाली जीवन साथीको धज्जी उडाएर मजा लिनुहोस् । भाइरल भैहालिन्छ क्यारे । आखिर भाइरल बन्दा फलिफाप भैहाल्छ भने किन त्यसो नगर्ने ? फोटो खिच्नैका लागि लुगा किन्नुहोस् । फेरि फेरि लगाएर फुकालेर काटेर, साटेर, उडाएर, बाँधेर, बटारेर लुगाको इज्जत गरी नगरी भाइरल बन्नुहोस् । सक्नेले आफैँ गर्ने हो नसक्नेलाई ठुला भनिएकाले चर्चामा ल्याइदिनुपर्छ, आयआर्जन हुन्छ भने बनाउनुहोस् दुनियाँलाई बलिको बोको । यसले के फरक पार्छ र ?
बालबालिकाका बाललिलालाई भाइरल बनाएर तिनका जीवनसँग खेलबाड गर्नेहरूले जुँगा मुसारेका र सारी लतारेका अभिभावकले देखाएको हर्कत हेर्दै मस्ती लिन पल्केका आमदर्शकले पनि यी दृश्य मजाले हेरिदिएकै छन् । भिउज बढाइदिएकै छन् क्यारे, यस्ता कुकर्मकलाई प्रत्यक्ष परोक्ष रूपमा मलजल गरेको अनभूत नभइन्जेल देख्ने र देखाउने क्रम रोकिँदैन क्यारे । त्यसैले भाइरल बन्ने र बनाउने नाममा सकेसम्म बाहिरी मात्र होइन भित्री वस्त्रदेखि निर्वस्त्रसम्म देखाउँदै जानुहोस् । संस्कृति र संस्कार सयौँ वर्ष लगाएर पितापुर्खाले बनाए । तपाईँ भाइरल बनिन्छ, बनाउनुपर्दैन, एकै पटक भत्काएर भाइरल बन्नुहोस् । आफ्नो सनातनी संस्कृतिभित्रका गर्भभित्र लुकाएर राखिएका तन्त्र, मन्त्र, परम्परा, शैली, संस्कार बजारमा लग्दै बेच्नुहोस्, आमा बेचेर धनी बन्ने छोराको सिको गर्नुहोस् ।
यो गर्छु, यसो गर्छु, यसरी गर्छु भन्दै पावर देखाएर हुन्छ कि टावर चढेर हुन्छ, अरूको घोडा चढेर हुन्छ कि आफ्नै खुट्टा ठटाएर हुन्छ, अगाडि बढ्नुहोस् । बाबुबाजेको नाक देखाएर भाइरल बनेकाहरू उनीहरूको नाक काटेर भर्सेलामा परेर देखाउने कुरै नभएपछि ओहो ! देखाउनकै लागि भए पनि, कुटेजस्तो गर, थुने जस्तो गर, बनाए जस्तो गर, उद्धार गरेजस्तो गर, सहयोग गरेजस्तो गर, मिलेजस्तो गर, स्वार्थ छैन जस्तो गर, भ्रष्ट होइन जस्तो गर तर गर्न चाहिँ गर । देखाउनकै लागि सबथोक गर । भाइरलको भाइरल बन्ने नाममा, देखाउने नाममा अब के देखाउने भन्दै जिभ्रो बाहिर निकालेर टोकेर देखाउने अवस्थामा पुग्न नपरोस्, अकर्मण्यताको पराकाष्ठा नाघेर अस्तित्वको शून्यता देख्न नपरोस् भन्ने मेरो मनसाय हो, तपाईँको कर्मशीलताको विरोध होइन । अस्तु ।
०००
गोकर्णेश्वर ५, काठमाडौँ
२०८१ पुस २७ गते
आजकाे यथार्थपरक लेख भाईरलकाे नाममा भाईरल…
राष्ट्र निर्माता पृथ्वीनारायण जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना !!
आहा, कति रमाइलो ।