ह्यारी- ८०बन्धनै बन्धन
बन्धनमा नबेरिएको भए मानिस अझै जङ्गलको पशुमै सीमित भएर बस्थ्यो । बन्धनमा नबसेका अझ पनि पशुजस्तै छन् । त्यसैले होला अझै पनि फतुरे काका चाहिँ फलाक्तै छन्, ‘‘बन्धन समाजको मौलिक परिचय हो ।’’

ह्यारी- ८० :
जनजिब्रोमा राजनीतिक दलहरूले आफू आफू मिलेर नियममा बाँधिन बनाइएको साझा अवधारणामार्फत एक हुने प्रक्रिया नै गठबन्धन हो भन्ने बुझाइ छ । गठबन्धन बन्न लाग्दालाग्दै यो बन्ने र भत्काउने विषयको चर्चा यत्रतत्र सर्वत्र हुने गरेकोे पाइन्छ । पहिले हनिमुन अवधि वा सय दिन कुर्ने, हेर्ने अनि मात्र कार्यावधिको मूल्याङ्कन गर्ने गरेको सुन्न पाइन्थ्यो । विस्तारै गठन भएकै दिनदेखि टुटाउने र फुटाउने रणनीति विशेषतः सत्तामा पुग्नका लागि गरिएको पाइन्छ । हुन पनि हो नरिवल फुटाए मात्र खान पाइन्छ हगि !
वास्तवमा कुनै कुराका लागि एक भएर मिल्ने काम वा परस्परको मिलोमतो गर्नु शाब्दिक अर्थका हेराइमा गठबन्धन हो । कुनै स्वार्थसिद्धिका लागि गरिने आपसी साँठगाँठ नै गठबन्धन हो । तर अहिले त गठबन्धन होइन हठबन्धन भएको आभास मिल्छ । राजनीतिक दलका आआफ्नै स्वार्थ हुन्छन् । स्वार्थ मिले गठबन्धन नत्र गठतोड हुन्छ; धोका हुन्छ । जब गठबन्धनभित्र धोका हुन्छ, तब त्यो बलिको बोका बन्छ । भित्र गतिलै बिटो राखेर कसिएको गठबन्धनको गाँठो फुकाउन र कसेको लगनगाँठो फुकाउन त्यति सजिलो कहाँ छ र ?
जति कोसिस गरे पनि स्वार्थले कसिएको बन्धन नखुस्केको किन होला भनेर पल्लाघरे दाइललाई सोधेको त्यो पर्दैन भनेर मौन बसेका छन् रे त । गठबन्धनमा बाँधिएपछि भ्रष्ट भनेर प्रस्ट चिन्दा पनि ती दुवै कानले सुन्दैनन्, दुवै आँखाले देख्तैनन् । यो कालाे गठबन्धनको डोरी फुकाउन नसक्ने हाम्रै गाउँको प्रतिपक्ष बेन्चे जुँगामुठे हली जस्तै भइगयो नि । कि अन्तिम अवस्थासम्म पनि तानिरहने देवकोटाको हातको चुरोटको ठुटोजस्तो काम लाग्ने बन्नु नत्र गठबन्धन बनाउँदै नबनाउनु भन्ने संविधानको परिकल्पना होला कि के हो म जस्ता केही होस् कि नहोस् ढ्वाङ फुक्तै हिँड्ने फतुरेवादीलाई त पत्तो नि हुँदो रहेनछ ।
बन्धन भन्नेबितिक्कै बाङ्गो बनेर अरूलाई जेल्न सक्नुपर्दो रहेछ । नजेलिएका लाई खारनी नै बनाएर त्यसकै मलजल गरी आफू रछ्यानको मुला झैँ फस्टाउने अरूलाई धुलो चटाउने, नामोनिसानै नराख्ने रहेछ । यो फलामे साङ्लोजस्तै एकले अर्कालाई अङ्कुसे बनाई अल्झाउने विषय हो, सुरुवालको इँजार होइन । एउटा केवल एउटा उद्देश्य राख्यो कुर्सीमा टाँसिनैपर्ने हठ भएको गठ बनाएपछि स्वार्थ मिलिन्जेल गठबन्धन बाँधिन नसकेपछि पुरानो रक्षाबन्धनजस्तो पुच्छारमा लगेर बाधिदिए वैतरणी तरिहालिन्छ । आजकल गठबन्धन बनाउँदा पनि चिन्तनका चौतारीमा बसेर कसले चिन्तन मनन गरिदेओस् । कुन सत्तापक्ष कुन प्रतिपक्ष सब एक हुनुपर्छ डकार्नका लागि । यहाँ गर्न नहुने कामका लागि हकार्नेले नै डकार्ने गरेको पाइन्छ । तर गठबन्धनमा हुनुपर्छ जनताका नाममा जनतालाई नै हकार्नका लागि ।
भुट्ताभुट्तै उछिट्टिएको मकै जस्तै केही समय गठबन्धनबाट निस्केपछि तात्तिने परम्परा छ । जसले जे भन्छन् तातिने मातिने । क्विन्टलका क्विन्टल सुन पक्रने कोही नहोउन् । पक्रिहाले पनि कोही नफसुन्, क्या मजा ! यस्तामा गठबन्धन गर्न सके मात्र विवाह बन्धनमा बाँधिएको भन्दा पनि कसिलो सम्बन्ध हुने रहेछ बा । गठबन्धनमा बसिन्जेल घुसकै माला लगाए पनि भुसकै डोरी बाटे पनि त्यो बलियो र कुनै यारले छुन नसक्ने हुन्छ; अनि इन्द्रेका बाउ चन्द्रेले पनि छुन सक्तैन । वनलाई खान सकिन्छ, जनलाई ढाँट्न सकिन्छ ।
गेरु र चेलाको सम्बन्ध फरिया र भोटाको सम्बन्ध, रोटी र बेटीको सम्बन्ध, सँधियारको सम्बन्ध, रखैलदेखि चलखेलसम्मको सम्बन्धले समाज बन्धनै बन्धनमा छ । यसबाट उम्कन त भ्रष्टाचारबाट उम्कनुपर्दछ । बन्धनमा भयो भने त गिटीका नाममा, ढुङ्का नाममा, बाटो, एअरपोर्ट, केवलकार, पार्क, के के हो के के बनाउनका लागि खोला थुन्न सकिन्छ, बस्ती उठाउन सकिन्छ, बाटो भत्काउन सकिन्छ अनि पो आसेपासेको भुँडी विकास हुन्छ । यिनै भुँडीलाई गठबन्धनमा राखेपछि भुँडे गठबन्धन भयो । यिनीहरूको मेल भनेकै फुक्नुपर्ने बेलुनमा हावा भरेझैँ भुँडी बाह्रै मास भरिरहनका लागि हो नत्र त यिनीहरू अपान वायु खुस्कने गरी कराउँछन् । मिलिन्जेल वारि नत्र खेलापारि हुने भएकाले गठबन्धनमा बसेर अघाइन्जेल स्वाप्राक्क स्वाप्राक्क हसुर्ने अनि नपाए चाट्न थाल्ने, त्यहाँबाट नि भएन भने ङार्र र ङुर्र गरी थाल ठटाउँदै धोतीपाटा खुस्कने गरी फलाक्ने नीति भएका गठेहरू बन्धनमा परेका हुन्छन् ।
अरूको सरापले मात्र यी गठे डिँगा मर्ने हुन् र भन्या ? गठबन्धनको डोरी लेनदेनबाट, करकापले, बाध्यताले, सम्बन्धले, ह्विप जारी गरेर, निगाहले, आशीर्वादले खोसेर, आन्दोलन गरेर जे गरेर प्राप्त भएको भए पनि स्वार्थ बाझियो भने क्षणभरमै स्वाहा हुन्छ । त्यसैले गठबन्धन रक्षाबन्धनजस्तो निश्चित अवधिसम्म लगाउने अनि यसरी विसर्जन गर्ने भन्ने हुँदैन न त यो विवाह बन्धनजस्तो जीवनभर रहिरने छौँ भन्ने प्रण नै हो ।
हुन त विवाहबन्धन पनि स्वतन्त्रताका नाममा टिकटके पाराको बनाउन थालिसके । वासनाका पछि लाग्ने, धनका पछि लाग्ने, रूपका पछि लाग्ने, क्षणिक स्वादका पारखी अर्थात् भोगीका पछि लाग्ने अनि कुरा सुन्ने, सम्पत्ति धुत्ने र विषयभोग गर्नका लागि उद्यत रहनेहरूले विवाहबन्धनको पोयो फुकाई यो परम्परालाई अस्थायी तथा अस्थिर बनाएका छन् । त्यसैले त विवाहबन्धनबाट मुक्त पाउन हिजोआज पारपाचुके गर्नेको मिथ्याङ्कीय लहड, रहर, बाध्यतालगायतका कारणले यो दर ह्वात्तै बढेको छ ।
विवाह बन्धन हो; गठबन्धन हो । विवाह बन्धन हो, राजनीति बन्धन हो, सम्बन्ध बन्धन हो तर स्थायी कि अस्थायी ? डोरी, जुइनो, इँजार, फित्ता आदि बन्धनले बाँधिएको बन्धनदेखि नातागोता हुँदै सम्बन्ध र व्यवहारका, दर्शनका, लेनदेनका, वंशाणुगतदेखि आर्जित सबै प्रकारका बन्धनमा जेलिएको मानिस एक्काइसौँ शताब्दीको बन्धनै बन्धनमा अल्झिएर बसेको श्रेष्ठतम प्राणी हो । कुन बन्धनमा केका लागि र कहिलेसम्म बाँधिने हो त्यो चिनेपछि मात्र सच्चा मानव बन्छ । कन्धनीमा बेरिएजस्तो होइन, बन्धनमा बेरिन सजिलो छैन तापनि बन्धन नबनेको भए, बन्धनमा नबेरिएको भए मानिस अझै जङ्गलको पशुमै सीमित भएर बस्थ्यो । बन्धनमा नबसेका अझ पनि पशुजस्तै छन् । त्यसैले होला अझै पनि फतुरे काका चाहिँ फलाक्तै छन्, ‘‘बन्धन समाजको मौलिक परिचय हो ।’’ जय बन्धन !
०००
गोकर्णेश्वर ५, काठमाडौँ
२०८२ साल साउन ३ गते शनिवार
Subscribe
Login
0 Comments
Oldest












































