साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्धनै बन्धन

बन्धनमा नबेरिएको भए मानिस अझै जङ्गलको पशुमै सीमित भएर बस्थ्यो । बन्धनमा नबसेका अझ पनि पशुजस्तै छन् । त्यसैले होला अझै पनि फतुरे काका चाहिँ फलाक्तै छन्, ‘‘बन्धन समाजको मौलिक परिचय हो ।’’

Nepal Telecom ad

ह्यारी- ८० :

जनजिब्रोमा राजनीतिक दलहरूले आफू आफू मिलेर नियममा बाँधिन बनाइएको साझा अवधारणामार्फत एक हुने प्रक्रिया नै गठबन्धन हो भन्ने बुझाइ छ । गठबन्धन बन्न लाग्दालाग्दै यो बन्ने र भत्काउने विषयको चर्चा यत्रतत्र सर्वत्र हुने गरेकोे पाइन्छ । पहिले हनिमुन अवधि वा सय दिन कुर्ने, हेर्ने अनि मात्र कार्यावधिको मूल्याङ्कन गर्ने गरेको सुन्न पाइन्थ्यो । विस्तारै गठन भएकै दिनदेखि टुटाउने र फुटाउने रणनीति विशेषतः सत्तामा पुग्नका लागि गरिएको पाइन्छ । हुन पनि हो नरिवल फुटाए मात्र खान पाइन्छ हगि !

वास्तवमा कुनै कुराका लागि एक भएर मिल्ने काम वा परस्परको मिलोमतो गर्नु शाब्दिक अर्थका हेराइमा गठबन्धन हो । कुनै स्वार्थसिद्धिका लागि गरिने आपसी साँठगाँठ नै गठबन्धन हो । तर अहिले त गठबन्धन होइन हठबन्धन भएको आभास मिल्छ । राजनीतिक दलका आआफ्‌नै स्वार्थ हुन्छन् । स्वार्थ मिले गठबन्धन नत्र गठतोड हुन्छ; धोका हुन्छ । जब गठबन्धनभित्र धोका हुन्छ, तब त्यो बलिको बोका बन्छ । भित्र गतिलै बिटो राखेर कसिएको गठबन्धनको गाँठो फुकाउन र कसेको लगनगाँठो फुकाउन त्यति सजिलो कहाँ छ र ?

जति कोसिस गरे पनि स्वार्थले कसिएको बन्धन नखुस्केको किन होला भनेर पल्लाघरे दाइललाई सोधेको त्यो पर्दैन भनेर मौन बसेका छन् रे त । गठबन्धनमा बाँधिएपछि भ्रष्ट भनेर प्रस्ट चिन्दा पनि ती दुवै कानले सुन्दैनन्, दुवै आँखाले देख्तैनन् । यो कालाे गठबन्धनको डोरी फुकाउन नसक्ने हाम्रै गाउँको प्रतिपक्ष बेन्चे जुँगामुठे हली जस्तै भइगयो नि । कि अन्तिम अवस्थासम्म पनि तानिरहने देवकोटाको हातको चुरोटको ठुटोजस्तो काम लाग्ने बन्नु नत्र गठबन्धन बनाउँदै नबनाउनु भन्ने संविधानको परिकल्पना होला कि के हो म जस्ता केही होस् कि नहोस् ढ्वाङ फुक्तै हिँड्ने फतुरेवादीलाई त पत्तो नि हुँदो रहेनछ ।

बन्धन भन्नेबितिक्कै बाङ्गो बनेर अरूलाई जेल्न सक्नुपर्दो रहेछ । नजेलिएका लाई खारनी नै बनाएर त्यसकै मलजल गरी आफू रछ्यानको मुला झैँ फस्टाउने अरूलाई धुलो चटाउने, नामोनिसानै नराख्ने रहेछ । यो फलामे साङ्लोजस्तै एकले अर्कालाई अङ्कुसे बनाई अल्झाउने विषय हो, सुरुवालको इँजार होइन । एउटा केवल एउटा उद्देश्य राख्यो कुर्सीमा टाँसिनैपर्ने हठ भएको गठ बनाएपछि स्वार्थ मिलिन्जेल गठबन्धन बाँधिन नसकेपछि पुरानो रक्षाबन्धनजस्तो पुच्छारमा लगेर बाधिदिए वैतरणी तरिहालिन्छ । आजकल गठबन्धन बनाउँदा पनि चिन्तनका चौतारीमा बसेर कसले चिन्तन मनन गरिदेओस् । कुन सत्तापक्ष कुन प्रतिपक्ष सब एक हुनुपर्छ डकार्नका लागि । यहाँ गर्न नहुने कामका लागि हकार्नेले नै डकार्ने गरेको पाइन्छ । तर गठबन्धनमा हुनुपर्छ जनताका नाममा जनतालाई नै हकार्नका लागि ।

भुट्ताभुट्तै उछिट्टिएको मकै जस्तै केही समय गठबन्धनबाट निस्केपछि तात्तिने परम्परा छ । जसले जे भन्छन् तातिने मातिने । क्विन्टलका क्विन्टल सुन पक्रने कोही नहोउन् । पक्रिहाले पनि कोही नफसुन्, क्या मजा ! यस्तामा गठबन्धन गर्न सके मात्र विवाह बन्धनमा बाँधिएको भन्दा पनि कसिलो सम्बन्ध हुने रहेछ बा । गठबन्धनमा बसिन्जेल घुसकै माला लगाए पनि भुसकै डोरी बाटे पनि त्यो बलियो र कुनै यारले छुन नसक्ने हुन्छ; अनि इन्द्रेका बाउ चन्द्रेले पनि छुन सक्तैन । वनलाई खान सकिन्छ, जनलाई ढाँट्न सकिन्छ ।

गेरु र चेलाको सम्बन्ध फरिया र भोटाको सम्बन्ध, रोटी र बेटीको सम्बन्ध, सँधियारको सम्बन्ध, रखैलदेखि चलखेलसम्मको सम्बन्धले समाज बन्धनै बन्धनमा छ । यसबाट उम्कन त भ्रष्टाचारबाट उम्कनुपर्दछ । बन्धनमा भयो भने त गिटीका नाममा, ढुङ्का नाममा, बाटो, एअरपोर्ट, केवलकार, पार्क, के के हो के के बनाउनका लागि खोला थुन्न सकिन्छ, बस्ती उठाउन सकिन्छ, बाटो भत्काउन सकिन्छ अनि पो आसेपासेको भुँडी विकास हुन्छ । यिनै भुँडीलाई गठबन्धनमा राखेपछि भुँडे गठबन्धन भयो । यिनीहरूको मेल भनेकै फुक्नुपर्ने बेलुनमा हावा भरेझैँ भुँडी बाह्रै मास भरिरहनका लागि हो नत्र त यिनीहरू अपान वायु खुस्कने गरी कराउँछन् । मिलिन्जेल वारि नत्र खेलापारि हुने भएकाले गठबन्धनमा बसेर अघाइन्जेल स्वाप्राक्क स्वाप्राक्क हसुर्ने अनि नपाए चाट्न थाल्ने, त्यहाँबाट नि भएन भने ङार्र र ङुर्र गरी थाल ठटाउँदै धोतीपाटा खुस्कने गरी फलाक्ने नीति भएका गठेहरू बन्धनमा परेका हुन्छन् ।

अरूको सरापले मात्र यी गठे डिँगा मर्ने हुन् र भन्या ? गठबन्धनको डोरी लेनदेनबाट, करकापले, बाध्यताले, सम्बन्धले, ह्‌विप जारी गरेर, निगाहले, आशीर्वादले खोसेर, आन्दोलन गरेर जे गरेर प्राप्त भएको भए पनि स्वार्थ बाझियो भने क्षणभरमै स्वाहा हुन्छ । त्यसैले गठबन्धन रक्षाबन्धनजस्तो निश्चित अवधिसम्म लगाउने अनि यसरी विसर्जन गर्ने भन्ने हुँदैन न त यो विवाह बन्धनजस्तो जीवनभर रहिरने छौँ भन्ने प्रण नै हो ।

हुन त विवाहबन्धन पनि स्वतन्त्रताका नाममा टिकटके पाराको बनाउन थालिसके । वासनाका पछि लाग्ने, धनका पछि लाग्ने, रूपका पछि लाग्ने, क्षणिक स्वादका पारखी अर्थात् भोगीका पछि लाग्ने अनि कुरा सुन्ने, सम्पत्ति धुत्ने र विषयभोग गर्नका लागि उद्यत रहनेहरूले विवाहबन्धनको पोयो फुकाई यो परम्परालाई अस्थायी तथा अस्थिर बनाएका छन् । त्यसैले त विवाहबन्धनबाट मुक्त पाउन हिजोआज पारपाचुके गर्नेको मिथ्याङ्कीय लहड, रहर, बाध्यतालगायतका कारणले यो दर ह्‌वात्तै बढेको छ ।

विवाह बन्धन हो; गठबन्धन हो । विवाह बन्धन हो, राजनीति बन्धन हो, सम्बन्ध बन्धन हो तर स्थायी कि अस्थायी ? डोरी, जुइनो, इँजार, फित्ता आदि बन्धनले बाँधिएको बन्धनदेखि नातागोता हुँदै सम्बन्ध र व्यवहारका, दर्शनका, लेनदेनका, वंशाणुगतदेखि आर्जित सबै प्रकारका बन्धनमा जेलिएको मानिस एक्काइसौँ शताब्दीको बन्धनै बन्धनमा अल्झिएर बसेको श्रेष्ठतम प्राणी हो । कुन बन्धनमा केका लागि र कहिलेसम्म बाँधिने हो त्यो चिनेपछि मात्र सच्चा मानव बन्छ । कन्धनीमा बेरिएजस्तो होइन, बन्धनमा बेरिन सजिलो छैन तापनि बन्धन नबनेको भए, बन्धनमा नबेरिएको भए मानिस अझै जङ्गलको पशुमै सीमित भएर बस्थ्यो । बन्धनमा नबसेका अझ पनि पशुजस्तै छन् । त्यसैले होला अझै पनि फतुरे काका चाहिँ फलाक्तै छन्, ‘‘बन्धन समाजको मौलिक परिचय हो ।’’ जय बन्धन !

०००
गोकर्णेश्वर ५, काठमाडौँ
२०८२ साल साउन ३ गते शनिवार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x