कलानिधि दाहालन सीमा कतै देख्छु यो देशको म ?
म पल्टेर सोचेँ सबै दिक्क लागे उता भाग थापेँ सबै ठिक्क लागे ! म आएँ सदा शान्त सौन्दर्यभित्र उता हेर्न लागेँ अनौठो छ चित्र !!

कलानिधि दाहाल :
छु संसारमा छैन संसार नै यो
म सारा छु वा सार संसारमा यो ?
हिँडेको छु ज्यादा कि ज्यादा बसेको
छु चिल्लो ललाटे खरानी घसेको ??
मलाई म नै छैन लाग्दै छु आज
न सोचेर आएँ न हुन्थ्यो समाज!
न सीमा कतै देशको साँध खोज्थेँ
न नाता र नाला कतै जान रोज्थेँ ??
हुँदा शून्य आफैँ कहाँ चाल पाएँ
नपाई नपाई धरामा उदाएँ !
थियो जिन्दगी खै कहाँ चाल पाएँ
न जानेर आफैँ यता खेल्न आएँ !!
थिए घात घाती कहाँ को चिनेँ खै
थिए स्वार्थका जात कस्ता दिने खै ?
छु स्वार्थी पलामा म घेरा घुमेको
त्यही भेट्नलाई म जिब्रो चुमेको ।।
न लाने छ केही लिएको न केही
अनाचार चारी बनेको छ देही !
कतै शुध्द खोज्दैन आचार आज
छु विक्षिप्त देख्ने म सारा समाज !!
कुटाई कुटेको उता झट्पटाई
छुटेँ छट्पटाई अझै लट्पटाई!
भएँ के म केके भएँ के भएँ भो
विचारी म डिट्ठा उता के रहेँ को ??
भए भेल भेला थियो माद मात्ने
गलामा थिचेका र गाला समात्ने !
भए वेदना दानका दर्द धारा
चुहेका बगेका थिए ती सितारा !!
म मत्ता गुडेको थिएँ एक हात्ती
विना माउतेको म नै उग्र साथी !
कहाँबाट उन्मादको माद आयो
म मान्छे सबै दानवी भाव छायो !!
म पल्टेर सोचेँ सबै दिक्क लागे
उता भाग थापेँ सबै ठिक्क लागे !
म आएँ सदा शान्त सौन्दर्यभित्र
उता हेर्न लागेँ अनौठो छ चित्र !!
०००
कलेकुटी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































