
जय होस् !
हकार्ने नेतालाई डकार्ने गरी खुवाउन नरेहरू स्वदेशमा बसरे हुन्छ कि विदेशतिर कम्मर कसेर हुन्छ, जसरी नि हड्डी घोटेर, नाम फेरेर, जात फेरेर, धर्म फेरेर मन र मुटु फोरेर सेवा गर्नै पर्छ क्यारे ।

ह्यारी- ८० :
नामकै नालीबेली खोज्ने हो भने उनी नरनाथ हुन् । काम लिन परे मात्र उनी नरनाथ हुन् नत्र नरे हुन् । नरे फाँटमा जाँदा पनि कसैले नचिन्ने नरनाथलाई उनकै नामबाट गाउँ खाने कथामा पनि प्रयोग गरिदिँदा मनै चसक्क हुनु कुनै नौलो कुरा भयो र ? माया गर्नेले नरु भन्ने, अलिक आदर गर्नेले नरजी भन्ने, त्यसभन्दा उपल्लो आदरवाची नाम नरनाथजी, नरनाथज्यू आदि आदि नामकरण गरिए पनि खसोखासमा उनी नरनाथ नै हुन् ।
जतिसुकै जुराएर, हेराएर कोराएर राम्रो नाम राखे पनि जनजिब्रोमा रामबाट रामे, कृष्णबाट कृष्णे, वीरबाट बिरे, हर्कबाट हर्के, श्यामबाट श्यामे भन्ने शब्द झुन्डिएकै छ । यसरी अरूलाई नामबाट बेनामे बनाएर भनिटोपल्दा आफैँतिर औँलो सोझिएर नेताहरूको अरू दलका र आफ्नै दलका विरोधीलाई सत्तोनसराप गरेजस्तै भएको छ । राजनीतिका नाममा नेतो भइटोपलेका नरबहादुरलाई पनि ‘नरे’ भन्नु स्वाभाविकै हो ।
आफू विचरा गौप्राणी जस्तो सुधो नरनाथलाई अगाडि नरनाथ पछाडि र कोही कोही त अगाडि नै ‘नरे’ भन्ने जनताजनार्दनको मुख थुन्न नरनाथ ‘नरे’ले कहिल्यै सकेनन् । समाजमा कयौँ प्रशंसित काम गर्दा पनि वल्ला घरको नरे पल्ला घरमा सरे अर्थात् आग्लोझैँ बनेका छन् नरे । नरे कसैका काका होलान्, कसैका ज्वाइँ होलान् कसैका मामा होलान् । जताबाट पनि नरे ढोकैमा बस्ने हो, सत्ता बदलिए पनि अगुवा बदलिएनन् । अहिले उनलाई वल्ला घरको नरे पल्ला घरमा सरे भएको छ । ठुला पदमा हुँदा नरेलाई नरनाथज्यू भन्थे अहिले सबैले त्यो नरेसरे गोली मार् भन्दछन् बा ।
उहिले बाजेका पालामा नाम राख्दा मर्ने वेलामा छोराछोरीलाई बोलाउँदा पनि भगवान्को नाम राखे स्वर्ग गइन्छ, कम्तीमा पनि देउताको नाम त पुकारिन्छ भनेर देवदेवीकै नामको हालीमुहाली चल्थ्यो र पो सोहीअनुसार नामकरण गरिन्थ्यो । न्वारनको नाम अर्कै हुन्थ्यो । गोपनीय नाम र कथनीय नाम भिन्नाभिन्नै हुँदा प्रयोजनानुसार प्रयोग हुन्थे । नाम जुराएर बनाइएको चिना शुभसाइत वा माङ्गलिक अमाङ्गलिक कामका लागि वा केही विशेष काममा प्रयोग हुन्छ । न्वारनको नाम चाहिएमा यसको प्रयोग अद्यापि प्रचलनमा छ । देवदेवीका नामबाट वा प्रकृतिमा भएका विषय वा वस्तुबाट नाम राखिने चलनको समयले अब विस्तारै कोल्टो फेर्दै गएको पाइन्छ । समाज परिवर्तनशील भएकाले नाम परिवर्तन हुनु पनि स्वाभाविकै हो ।
यहाँ एउटै मान्छेका दुइटा नाम हुनु त स्वाभाविकै भयो । कतिपयको त देशैपिच्छे नाम फरक, जन्ममिति फरक, जन्मस्थान फरक, बोलाउने नाम फरक, नागरिकताको नाम फरक, न्वारानको नाम फरक, युद्धरत अवस्थाको नाम, उपनाम फरक फरक देखिनु नौलो कुरा होइन । एउटा नरेले जता सरे त्यतै नाम फेरे भएकै छ नि होइन र ? द्विजातिका षोडश संस्कारमध्ये एक संस्कार हो न्वारान । बालक जन्मेको तीनदिनदेखि एघारौँ दिन पारी राशिअनुसार बालकको नाम राख्ने कार्यलाई अहिले आएर कर्णप्रिय र युनिक नाम राख्ने होडबाजी चलेकाले त्यसको शिकार नाम राखिसकेका व्यक्तिको पनि नामकरण गर्ने रोग कोरोना सरेझैँ महामारीका रूपमा फैलिएको छ ।
कसैले राजनीतिक दल फेर्दै हिँडे । नाम फेरेर पनि फेरि फेरे । उपनाम पनि राखे अनि मेटे पनि । एकतिर एउटा नरे चोर बने अर्कातिर त्यही नरे साधु भए । चोकैपिच्छे जीवित नरेका सालिक बने तर हेर्ने र पूज्ने चाहिँ कोही भएनन् । नरेका नाममा मुर्दावाद र जिन्दावाद घन्किए । चोर र साधुका सरापले सदासर्वदा साधु नरेको मुटुमा च्वास्स बिझिरहन्थ्यो तापनि सहनुबाहेक अर्को कुनै विकल्प थिएन, त्यसैले नाम फेरे । कुनै आफैँले फेरे कुनै अर्कैले फेरिदिए । ज्ञाता चाहिएन । ब्राह्मण, पण्डितले बाटो बिराउँदै जाँदा हर्फनमौलाहरूले बिचौलियाको काम गर्दागर्दै आफैँ धामी आफैँ बोक्सी बने । टपर्टुइयाँले नामकरण कर्ममा एकछत्र राज गर्न थाले ।
यसो भएपछि फेरियो सरकार, परिवर्तन भएपछि पुरानो नामको के दरकार भनेर नरे पनि पुरानो नाम मन पराउन छोेडेर नयाँ नाम राख्ने निर्णयमा पुगेका थिए । उनले नाम फेर्ने मनसुवा त राखे तर धेरै नाम सुनिसकेका बदनाम कमाइसकेका अनाम भएकाले आखिरमा नाम त हो नि भनेर ल्याइते नाम राख्न पुगे विदेशीको जस्तो । आखिर बजेट बाहिरबाटै ल्याएर चलेको छ, ऋण बाहिरबाटै लिँदा भएकै छ अनि रेमिट्यान्सले देश चल्न हुने मेरो चाहिँ नाम विदेशी राख्न नहुने भनेर कुनै शास्त्रमा लेखेको छ र ? भनेर उनी त्यो निर्णयमा अडिग भएर बसेका थिए । अति आधुनिक नाम ‘न्यारी’ राखेपछि एक दिन विदेश सयर गर्न पुग्दा उनी आफैँले थाहा पाए कि त्यो नाम त घरपालुवा जन्तुको पो रहेछ । पश्चिमाले उसलाई बोलाउँदा न्यारी भनेर बोलाउँदा नरे काका जिभ्रो बटारेर बोल्न पाइन्छ भनी विनाकारण जङ्गिए । जसलाई बोलाए पनि आफूलाई नै आफैँले त्यही नामबाट नामकरण गरेकामा लुत्रे कान लाएर एक दिन सबका सबको नामको रहस्योद््घाटन गर्ने छु भन्दै रिस मारे ।
अर्थ न बर्थका नामले मौलिकता गुमेको छ, आफ्नो धर्म, संस्कार, परम्परा, परिचयको गुमनाम भएको छ भन्ने बुज्रुकहरूलाई प्रश्न छ कि समाज परिवर्तन गर्र्नु के अपराध हो र ? आखिर म जे गरे नि फतुरे काकाकै सन्तान हुँ क्यारे । चाउचाउका नाम फेरिए, सहकारीका नाम फेरिए, नेताका नाम फेरिए, कम्पनीका नाम फेरिए, दलका नाम फेरिए । उनीहरू उस्तै हुँदा नि नाम फेर्न हुने मेरो चाहिँ फेर्न हुन्न र भनेर उनी बर्बराए । वास्तवमा नरका नाथ बनेका वल्लाबाट पल्लाँ सरेका मात्र हुन् । हुन चाहिँ नरे उनै हुन्, हुन् । नाम फेरेका होइनन् वल्लाबाट पल्लाँ गएर प्वाँख फेरेका मात्र हुन् । सम्पत्ति शुद्धीकरण नगरे पनि नामको शुद्धीकरण गरी नर न्यारी, हरि ह्यारी, कालु क्याली यस्तै बनेर वल्ला घरका नरे पल्ला घरमा सरे भएका हुन् ।
वास्तवमा पथभ्रष्ट, मतिभ्रष्ट, बुद्धिभ्रष्टका जमातमा नरनाथजीहरूले निरीह बनेर ढोकै कुर्नुबाहेक के नै गर्न सकेका छन् र ? बहादुरको देशाँ मजदुरीले खान पनि नपुगेपछि दुरका देशाँ न्यारी र ह्यारी बन्नु कुन नौलो कुरा भयो र ? आखिर गरी खानेले हुनेखानेलाई पाल्नैपर्छ क्यारे ! हकार्ने नेतालाई डकार्ने गरी खुवाउन नरेहरू स्वदेशमा बसरे हुन्छ कि विदेशतिर कम्मर कसेर हुन्छ, जसरी नि हड्डी घोटेर, नाम फेरेर, जात फेरेर, धर्म फेरेर मन र मुटु फोरेर सेवा गर्नै पर्छ क्यारे । बौद्धिक श्रमको पलायन अगुवालाई पाल्नका लागि हो । देशमा केही भएको छ भने वल्ला घरको नरे पल्ला घरमा सरे भएको छ । जय होस् नरनाथज्यूहरू !
०००
गोकर्णेश्वर- ५, काठमाडौँ
२०८१ पौष २० गते शनिबार
Subscribe
Login
0 Comments
Oldest