साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय होस् !

हकार्ने नेतालाई डकार्ने गरी खुवाउन नरेहरू स्वदेशमा बसरे हुन्छ कि विदेशतिर कम्मर कसेर हुन्छ, जसरी नि हड्डी घोटेर, नाम फेरेर, जात फेरेर, धर्म फेरेर मन र मुटु फोरेर सेवा गर्नै पर्छ क्यारे ।

Nepal Telecom ad

ह्यारी- ८० :

नामकै नालीबेली खोज्ने हो भने उनी नरनाथ हुन् । काम लिन परे मात्र उनी नरनाथ हुन् नत्र नरे हुन् । नरे फाँटमा जाँदा पनि कसैले नचिन्ने नरनाथलाई उनकै नामबाट गाउँ खाने कथामा पनि प्रयोग गरिदिँदा मनै चसक्क हुनु कुनै नौलो कुरा भयो र ? माया गर्नेले नरु भन्ने, अलिक आदर गर्नेले नरजी भन्ने, त्यसभन्दा उपल्लो आदरवाची नाम नरनाथजी, नरनाथज्यू आदि आदि नामकरण गरिए पनि खसोखासमा उनी नरनाथ नै हुन् ।

जतिसुकै जुराएर, हेराएर कोराएर राम्रो नाम राखे पनि जनजिब्रोमा रामबाट रामे, कृष्णबाट कृष्णे, वीरबाट बिरे, हर्कबाट हर्के, श्यामबाट श्यामे भन्ने शब्द झुन्डिएकै छ । यसरी अरूलाई नामबाट बेनामे बनाएर भनिटोपल्दा आफैँतिर औँलो सोझिएर नेताहरूको अरू दलका र आफ्‌नै दलका विरोधीलाई सत्तोनसराप गरेजस्तै भएको छ । राजनीतिका नाममा नेतो भइटोपलेका नरबहादुरलाई पनि ‘नरे’ भन्नु स्वाभाविकै हो ।

आफू विचरा गौप्राणी जस्तो सुधो नरनाथलाई अगाडि नरनाथ पछाडि र कोही कोही त अगाडि नै ‘नरे’ भन्ने जनताजनार्दनको मुख थुन्न नरनाथ ‘नरे’ले कहिल्यै सकेनन् । समाजमा कयौँ प्रशंसित काम गर्दा पनि वल्ला घरको नरे पल्ला घरमा सरे अर्थात् आग्लोझैँ बनेका छन् नरे । नरे कसैका काका होलान्, कसैका ज्वाइँ होलान् कसैका मामा होलान् । जताबाट पनि नरे ढोकैमा बस्ने हो, सत्ता बदलिए पनि अगुवा बदलिएनन् । अहिले उनलाई वल्ला घरको नरे पल्ला घरमा सरे भएको छ । ठुला पदमा हुँदा नरेलाई नरनाथज्यू भन्थे अहिले सबैले त्यो नरेसरे गोली मार् भन्दछन् बा ।

उहिले बाजेका पालामा नाम राख्दा मर्ने वेलामा छोराछोरीलाई बोलाउँदा पनि भगवान्‌को नाम राखे स्वर्ग गइन्छ, कम्तीमा पनि देउताको नाम त पुकारिन्छ भनेर देवदेवीकै नामको हालीमुहाली चल्थ्यो र पो सोहीअनुसार नामकरण गरिन्थ्यो । न्वारनको नाम अर्कै हुन्थ्यो । गोपनीय नाम र कथनीय नाम भिन्नाभिन्नै हुँदा प्रयोजनानुसार प्रयोग हुन्थे । नाम जुराएर बनाइएको चिना शुभसाइत वा माङ्गलिक अमाङ्गलिक कामका लागि वा केही विशेष काममा प्रयोग हुन्छ । न्वारनको नाम चाहिएमा यसको प्रयोग अद्यापि प्रचलनमा छ । देवदेवीका नामबाट वा प्रकृतिमा भएका विषय वा वस्तुबाट नाम राखिने चलनको समयले अब विस्तारै कोल्टो फेर्दै गएको पाइन्छ । समाज परिवर्तनशील भएकाले नाम परिवर्तन हुनु पनि स्वाभाविकै हो ।

यहाँ एउटै मान्छेका दुइटा नाम हुनु त स्वाभाविकै भयो । कतिपयको त देशैपिच्छे नाम फरक, जन्ममिति फरक, जन्मस्थान फरक, बोलाउने नाम फरक, नागरिकताको नाम फरक, न्वारानको नाम फरक, युद्धरत अवस्थाको नाम, उपनाम फरक फरक देखिनु नौलो कुरा होइन । एउटा नरेले जता सरे त्यतै नाम फेरे भएकै छ नि होइन र ? द्विजातिका षोडश संस्कारमध्ये एक संस्कार हो न्वारान । बालक जन्मेको तीनदिनदेखि एघारौँ दिन पारी राशिअनुसार बालकको नाम राख्ने कार्यलाई अहिले आएर कर्णप्रिय र युनिक नाम राख्ने होडबाजी चलेकाले त्यसको शिकार नाम राखिसकेका व्यक्तिको पनि नामकरण गर्ने रोग कोरोना सरेझैँ महामारीका रूपमा फैलिएको छ ।

कसैले राजनीतिक दल फेर्दै हिँडे । नाम फेरेर पनि फेरि फेरे । उपनाम पनि राखे अनि मेटे पनि । एकतिर एउटा नरे चोर बने अर्कातिर त्यही नरे साधु भए । चोकैपिच्छे जीवित नरेका सालिक बने तर हेर्ने र पूज्ने चाहिँ कोही भएनन् । नरेका नाममा मुर्दावाद र जिन्दावाद घन्किए । चोर र साधुका सरापले सदासर्वदा साधु नरेको मुटुमा च्वास्स बिझिरहन्थ्यो तापनि सहनुबाहेक अर्को कुनै विकल्प थिएन, त्यसैले नाम फेरे । कुनै आफैँले फेरे कुनै अर्कैले फेरिदिए । ज्ञाता चाहिएन । ब्राह्‌मण, पण्डितले बाटो बिराउँदै जाँदा हर्फनमौलाहरूले बिचौलियाको काम गर्दागर्दै आफैँ धामी आफैँ बोक्सी बने । टपर्टुइयाँले नामकरण कर्ममा एकछत्र राज गर्न थाले ।

यसो भएपछि फेरियो सरकार, परिवर्तन भएपछि पुरानो नामको के दरकार भनेर नरे पनि पुरानो नाम मन पराउन छोेडेर नयाँ नाम राख्ने निर्णयमा पुगेका थिए । उनले नाम फेर्ने मनसुवा त राखे तर धेरै नाम सुनिसकेका बदनाम कमाइसकेका अनाम भएकाले आखिरमा नाम त हो नि भनेर ल्याइते नाम राख्न पुगे विदेशीको जस्तो । आखिर बजेट बाहिरबाटै ल्याएर चलेको छ, ऋण बाहिरबाटै लिँदा भएकै छ अनि रेमिट्यान्सले देश चल्न हुने मेरो चाहिँ नाम विदेशी राख्न नहुने भनेर कुनै शास्त्रमा लेखेको छ र ? भनेर उनी त्यो निर्णयमा अडिग भएर बसेका थिए । अति आधुनिक नाम ‘न्यारी’ राखेपछि एक दिन विदेश सयर गर्न पुग्दा उनी आफैँले थाहा पाए कि त्यो नाम त घरपालुवा जन्तुको पो रहेछ । पश्चिमाले उसलाई बोलाउँदा न्यारी भनेर बोलाउँदा नरे काका जिभ्रो बटारेर बोल्न पाइन्छ भनी विनाकारण जङ्गिए । जसलाई बोलाए पनि आफूलाई नै आफैँले त्यही नामबाट नामकरण गरेकामा लुत्रे कान लाएर एक दिन सबका सबको नामको रहस्योद््‌घाटन गर्ने छु भन्दै रिस मारे ।

अर्थ न बर्थका नामले मौलिकता गुमेको छ, आफ्‌नो धर्म, संस्कार, परम्परा, परिचयको गुमनाम भएको छ भन्ने बुज्रुकहरूलाई प्रश्न छ कि समाज परिवर्तन गर्र्नु के अपराध हो र ? आखिर म जे गरे नि फतुरे काकाकै सन्तान हुँ क्यारे । चाउचाउका नाम फेरिए, सहकारीका नाम फेरिए, नेताका नाम फेरिए, कम्पनीका नाम फेरिए, दलका नाम फेरिए । उनीहरू उस्तै हुँदा नि नाम फेर्न हुने मेरो चाहिँ फेर्न हुन्न र भनेर उनी बर्बराए । वास्तवमा नरका नाथ बनेका वल्लाबाट पल्लाँ सरेका मात्र हुन् । हुन चाहिँ नरे उनै हुन्, हुन् । नाम फेरेका होइनन् वल्लाबाट पल्लाँ गएर प्वाँख फेरेका मात्र हुन् । सम्पत्ति शुद्धीकरण नगरे पनि नामको शुद्धीकरण गरी नर न्यारी, हरि ह्यारी, कालु क्याली यस्तै बनेर वल्ला घरका नरे पल्ला घरमा सरे भएका हुन् ।

वास्तवमा पथभ्रष्ट, मतिभ्रष्ट, बुद्धिभ्रष्टका जमातमा नरनाथजीहरूले निरीह बनेर ढोकै कुर्नुबाहेक के नै गर्न सकेका छन् र ? बहादुरको देशाँ मजदुरीले खान पनि नपुगेपछि दुरका देशाँ न्यारी र ह्यारी बन्नु कुन नौलो कुरा भयो र ? आखिर गरी खानेले हुनेखानेलाई पाल्नैपर्छ क्यारे ! हकार्ने नेतालाई डकार्ने गरी खुवाउन नरेहरू स्वदेशमा बसरे हुन्छ कि विदेशतिर कम्मर कसेर हुन्छ, जसरी नि हड्डी घोटेर, नाम फेरेर, जात फेरेर, धर्म फेरेर मन र मुटु फोरेर सेवा गर्नै पर्छ क्यारे । बौद्धिक श्रमको पलायन अगुवालाई पाल्नका लागि हो । देशमा केही भएको छ भने वल्ला घरको नरे पल्ला घरमा सरे भएको छ । जय होस् नरनाथज्यूहरू !

०००
गोकर्णेश्वर- ५, काठमाडौँ
२०८१ पौष २० गते शनिबार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तिवारीजीको कथा

तिवारीजीको कथा

हरिशंकर परसाईं
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
धन्नै गएनन् माझघर बा

धन्नै गएनन् माझघर बा

सुरेशकुमार भट्ट
हत्याराको छनोट

हत्याराको छनोट

शरच्चन्द्र वस्ती
भैरव अर्याल र उनको ‘जयभुँडी’

भैरव अर्याल र उनको...

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x