रामप्रसाद पन्थीदीक्षान्त कि शिक्षाकाे अन्त ?
भयाे पुग्यो दीक्षितले के नै नाप्ने हाे र बरू बस्छु दीक्षान्तकाे नगरेर स्वर । दीक्षान्त हाे कि शिक्षाकाे अन्त कुरा नै बुझिनँ दीक्षित बन्ने हाेडमा म त कतै नि कुदिनँ ।

रामप्रसाद पन्थी :
दीक्षान्तमा जाने मन थियाे कति कति
मेरै बुद्धि पुगेनछ लाग्यो अलिकति ।
सामाजिक सञ्जालमा फाेटा आए धेरै
फाेटा हेर्दा दङ्ग परें भएँ हेर्या हेरै ।
बिर्खे टाेपी गाउनकाे अर्थ के पाे हाेला
जान्न पाए धन्य हुन्थ्यो तल्लाघरे भाेला ।
दीक्षितले काम के के गर्लान् स्वदेशमा
नाैलाे फड्को मार्ने हुन् कि अब विकासमा ?
ऐलेसम्म के के देन दिए दीक्षितले
भनिदिए कस्ताे हाेला हाम्रा शिक्षितले ?
दीक्षान्तका युवा अब कता जाने हाेलान्
गाउँघर बस्लान् कि त परदेश जालान् ।
स्वदेशकाे लगानीले कता गर्ला सेवा
बुढ्याैलीमा देला कि त लाैरी बनी टेवा ?
सुनें कति समारोह सक्नासाथ उडे
थाहा छैन बाआमाका भावना ती चुँडे ।
हाम्राे विश्व विद्यालय कारखाना हाे कि
गरी खाने शिक्षा दिन्न दलाल पाे हाे कि ?
बुझ्न अझै सक्या छैन राज्य नीति मैले
रेमिटान्स गर्व गर्छ अर्थ नीति जैले ।
मान्छे मर्दा काँध दिने छैनन् गाउँ घर
थाहा पत्ताे छैन देश कता जादै छ र ?
भ्रष्टाचार बढेकाे छ दिन प्रति दिन
रिनमाथि देश डुब्याे भन्छन् छिन छिन ।
बुढा नेता र्याल काढी कुर्ची माथि बस्छन्
युवा भन्ने सिनाेमाथि दाह्रा नङ्ग्रा धस्छन् ।
राजा फाली माहाराजा धेरै जना भए
राज्य सत्ता लैनु गाई बनाउदै गए ।
देशभित्र सम्भावना नदेखेरै हाे कि
गए कि त परदेश युवा झाेला बाेकी ?
काे पाे ठूलाे भएकाे छ पढेर नै यहाँ
देश हाँक्ने सारथि छन् अनपढ जहाँ ।
भयाे पुग्यो दीक्षितले के नै नाप्ने हाे र
बरू बस्छु दीक्षान्तकाे नगरेर स्वर ।
दीक्षान्त हाे कि शिक्षाकाे अन्त कुरा नै बुझिनँ
दीक्षित बन्ने हाेडमा म त कतै नि कुदिनँ ।
०००
रेसुङ्गा न पा- २, गुल्मी
Subscribe
Login
0 Comments
Oldest






































