जेन काइजेनकाल्दाजु कङ्गारुका दुधको कुराउनी है !
फेरि सम्झें मैले खप्परमा भएपछि नपढेर के हुने रछ त ? तिमी पनि त चार वर्ष स्कुल जाँदा पनि साउँ अक्षर नफुटाका मान्छे हौ नि । नपढेर के भो र अहिले गोरासँग लडेर खाका छौ ।
जेन काइजेन :
पुजनीय काल्दाजु तथा भाउजूमा सेवा ढोग छ । भतिजा भतिजीलाई सम्झेको छ ।
खासै खबर ता केहि थेन तर पनि तपैं परदेशमा भका मान्छे घर गाउँको कुरो सुन्न मन गर्दा हौ भनिकन यो चिठी पठाउँदैछु । तिमी उता भासिइगयेउ, यता बालाई बेथाले चापो । कति दबाइमूलो गरियो । बनकाले पो बान हानेको हो कि भनेर चिन्ता नि बसाइयो । बैतर्नी गर्दा पो तल झुप्पे बाबै फिरे अरे भनेर बैतर्नी नि गरेको । अहँ केहि सीप लागेन । बिचार गर्दा बाटो उभैको पो छोटो पर्ला कि जस्तो पो देखिन थालो ।
अस्ति अस्ति ता तपाईंको यसो फुन आउदैथ्यो अहिले ता त्यो नि ठ्याप्पै छ । यसो खर्च पठाउँछ कि काइलाले भन्दैछन् है महतारी यता । अस्ति पैसोको कुरा गरेपछि तिम्रा पनि बोल्ती बन्द भैगए ।
दाजै हौ तिम्रा बेथा तिमीसँगै होलान् । मुस्किलमा नै हौला नाइ । नभा ता यता यसो आउँदा हौ । नभा नि यसो बाबै आमैलाई खर्च दिदा हौ । अस्ति तिम्रा माओली साल्लाइ त तिमी ता उता गोराका च्यान खनेर लोद्रो पैसा कमाउदैछौ अरे भन्दैथे । अव कुरा के हो भगमान् जानुन् ।
जे जसो भए नि तिमी खप्पर चैं ठूलै लेर आका रछौ । हेर तिमीले न पड्न परो, न केहि दुःख गर्न परो । तिम्रा जेठु ठाउँमा हुनाले भोटाङे बनार ठाउँमा पुर्याइदिइहाले त । सक्छौ भने यसो भतिजा भतिजी तान्देउ है, बा हाम्रा नि दिन फिर्थे कि त ।
अरु ता त्यस्तै हो, हाम्रा च्याब्जुबा बर्म जादा सारै दुखेछन् । अनि एउडा गोराले कंङ्गारुको दुध एक पेला देको अरे बाबै जुरुक्कै उठेका थे अरे । काल्दाइ तिमी नि तेइ कंङ्गारुका देशमै रछौ । बालाई राम्रो हुन्थो कि अतिकति एकशेर जति तो कंङ्गारुको दुधको कुराउनी पकार पठाउने चाँजो मिलाऊ । अनि तिमी आउँदा एक जोडी कङ्ंगारुका पाठा लिएर आऊ । यता आफूले त केहि पर्गति गर्न सकिएन तिनै पाठा हुर्कार दुध बेच्न पाए लोक कल्याण नि हुने दुई चार पैसा नि बनाइने । लु अर्थोक नगरे नि त्यति चैं गर त काल्दाइ ।
अब यी त घरका कुरा भए । गाउँँतिरका कुरा त के गर्नु र । सबै मान्छे वदिेश भन्छन् । हाम्रै कान्छो पनि रुमानिया जाने भन्दै उल्केको छ । कसो गर्ने हो । पैसा थुप्रो लाग्ने रछ । घर ब्यांकमा राख्छु भन्छ । आजसम्म कुल खलकमा कसैले नगरेको काम गर्न आँटो । अब के हुने हो भन्ने तराइ छ मनमा ।
गाउँका जमान मान्छे कि कोरीया गए, कोहि जापान लागे, कोहि अम्रिका, कोहि अष्टेलिया, कोहि खाडी भन्छन् । पहिला त मर्दाना मात्रै जान्थे, अहिले ता जनाना पनि उतिकै जानेका लाइनमा छन् ।
राजनीति त पुरानै हो । नेता उहिलेकै छन् । हाम्रा बाका पालामा नि तिनै थे अरे । के अजम्मरी जुनी पाका नि कसैले त ? अस्ति कता हो कुन उरन्ठेउलो नेता भर ती अजम्मरीलाई गाली गर्दा भएछन् । टाउके टाउके समाएर जाकिदिए अरे । कसैलाई जथाभावी बोले भनेर खापसियाले थुतुनै सिलाए अरे । ती पर्धानमन्त्री चै सारै कडा मान्छे अरे । मुखमुखै लाग्नेका त मुखै भत्काइदिन्छन् अरे । उहिले बाहरु राणा शासन भन्थे, यस्तै कडा होला नि ! तिमी बसेका मुलुकमा ता खापसियाले मुख सिउन पाइँदैन अरे ।
काल्दाइ तिमी बाटा लागिकन चुनाप भको भै छ तर जित्ने त उनै हुन् है । अहिले त विकास भको छ गाउँमा । मुन्डा घर बनेका छन् । डोजरले पहाड सम्याको सम्याइ छ ।
बिजुलीका लाइन पनि छन् । बत्ती बलिगाको त छैन तर आशलाग्दो भयो अब । स्कुल नि गजप भका छन् । खाजा भूराले उतै पाउछन् । स्कुलमा किताप फिरिमा दिन्छ । किताब दिएर खाजा ख्वार पाठ पढ भन्दा नि पढ्दैनन् भूरा ।
अस्ति हेटमास्टर अभिभावक भेलामा रिसाए अनि सर्खारले त्यत्रो गर्दा घरमा नपढाएर भूरा पडाइमा कमजोडी भए भन्छन् । हामी त के जान्नु । आफूलाई त पाठशालमै पढ्नपर्ने होला भन्थें म त । फेरि सम्झें मैले खप्परमा भएपछि नपढेर के हुने रछ त ? तिमी पनि त चार वर्ष स्कुल जाँदा पनि साउँ अक्षर नफुटाका मान्छे हौ नि । नपढेर के भो र अहिले गोरासँग लडेर खाका छौ ।
काल्दाइ कुरा त धेरै छन् कि तर अहिलेलाई यतिमै बिट मारौ ल ।
उहि तिम्रो भाइ
हनुमाने
०००
झापा
Subscribe
Login
0 Comments
Oldest






































