साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सेटिङ ट्रेनिङ सेन्टर

आइडिया भन्दा पनि त्यो उहाँले बोलेको ‘सेटिङ’ भन्ने शब्दले पो मलाई तान्यो । उहाँजस्ता हस्तीसँग मिलेर एउटा ‘सेटिङ ट्रेनिङ सेन्टर’ खोल्न पाए, लोकको उद्दार हुन्थ्यो भन्ने बिचारले छपक्क छोपेर ल्यायो ।

Nepal Telecom ad

जेन काइजेन :

अन्तरे बा छेउमा आए र साउतीभन्दा अलि माथिको स्वरमा भने, ‘त्यो केटालाई बधू खोजिस् त? यो सम्बत् पनि अम्केला जस्तो भो । केटो बुढिएर छक्कड भैसको,।’ मैले त बूढाले ख्याल गरेका होलान् भनेको त साँच्चिकै रहेछ । यो त च्यालेन्ज जस्तै भयो आफूलाई । अनि मनमनै सोचें – एउडी केटी त चुट्कि बजाकै भरमा भेटिइहाल्छ नि । तैपनि यसो बूढालाई जिस्क्याइराखौं भनेर सोधें, ‘यसो लभसब गर्न जानेनछ केटाले ? क्याम्पस त गको हो त ?’ तर बा बिच्किएर कराए,‘त्यस्ता छिचरा कुरा नगर है मसँग । हाम्रामा त्यस्तो चल्दैन ।’ बाबैसँग उपाय नलाग्ने देखेर म च्यापुलक गरेर भित्रभित्रै खित्खिताएँ ।

अब एउडी केटी सुत्नेबेलासम्ममा कसो उब्जिदैन त भन्ने आयो मनमा । दिउँसोको तीन मात्र बजेको थ्यो । यसो सोचें, यस्ता कामका भेकियारी भनेको पारी टप्पूका काइला गुरु हुन् । मनमनै मुसुक्क हाँसेर फोन लगाएँ, ‘गुरु लु एक कन्या खोज्न परो । केटो ब्राम्हण, पढेको । घर, जग्गा, जमिन भको । अति असल । ’

गुरु त्यस्ता कुराले के हल्लिन्थे, ‘केटी परिपरिका छन् । तर ती छेस्के बिवरणले हुँदैन । केटो एक नम्मरी बाहुन् कि दुई नम्मरी ?’
‘भन्नाले ?’ मैले सोधें ।
’पक्का बाहुन् नै चाहिने कि अलिकति मिस्कट पनि चल्ने ?’

धेरै सोधपुछ भयो काइला गुरुबाट अनि लास्टमा गुरुले भन्नुभो, ‘कि केटो जागिरे हुनुपरो, कि बैदेशिक हुनु परो । नभए त सेकेन मात्र भेटिन्छ ।’

गुरुसँग कुरा गर्नासाथ मेरो मन हस्रक्क भैगो । तर हार त मान्न भएन । अर्का भरपर्दा मान्छे भनेको र आफ्ना कुरा पनि खाने खनाल कान्छा दाजुको सम्झना आयो । दाजु भाग्यबश खोजेकै बेला टक्क उहाँको सदाबहार आवरण ढाकाटोपी र इस्टकोटमा भिडियोमा आउनुभो । मैले सम्पूर्ण बिवरण एक सासमा सुनाएँ । उहाँले त अझ कडै कुरो भन्नुभो ।

‘हुँदैन भाइ । यस्तो कुरो नगर्नु । अहिले समय अप्ठेरो छ । सबै सेटिङबाटै चल्छ । सेटिङ मिलाउन नसक्ने बुङ्गाले ब्यवहार गरेर खाँदैन । लु म चैं सक्दिन । तिमी पनि आफ्नो काम गरेर खाऊ । काम छैन भनें मसँग हारमुनि सिक्न आऊ ।’

कान्छा दाइसँग कुरा गरेपछि त म त्यसै निरास भएँ । अब त्यो केटाको घरजम नहुने हो त भन्ने पीरले गाँजेर ल्यायो ।
निकै बेरको खोजिमा एक सुकन्याको कुरा आयो । ‘तर हल्का दृष्टिदोष छ । केटी अन्नर एसएलसी हुन् । अनि कालो चेस्मा लाउन पर्ने बाध्यता छ । खास केहि त हैन, धानको भूस आँखामा परेको थ्यो, भोलिपल्ट ड्याम्म भो, पर्सिपल्ट त सेताम्मे भो । कति गर्दा उपाय नास्ति भो,’ उताबाट कुरा आयो । तर त्यसैबिचमा एउटा कुरा क्लियर नगरी नहुने भयो ।
‘त्यो एसएलसी कि एसइइ हो ?’
‘एसेल्सी हो । पुरानो एसेल्सी अहिले त बार पासे भन्दा दामी हो,’ भन्ने उत्तर आयो । अब केटा पटिकालाई यो बात कहनू कि हार मान्नू । कस्तो कस्तो अप्ठेरामा पनि परिन्छ जीन्नकिमा । भनुम् त कन्याको उमेर खुस्किएछ भन्लान्, नभनौं त तेरा बशका बात हैनन् भनेर बिल्ला हान्लान् ।

अन्तमा बरु खनाल दाजुसँग नै आइडिया माग्न परो भन्ने मनमा आयो । आइडिया भन्दा पनि त्यो उहाँले बोलेको ‘सेटिङ’ भन्ने शब्दले पो मलाई तान्यो । उहाँजस्ता हस्तीसँग मिलेर एउटा ‘सेटिङ ट्रेनिङ सेन्टर’ खोल्न पाए, लोकको उद्दार हुन्थ्यो भन्ने बिचारले छपक्क छोपेर ल्यायो ।

‘दाजु यो धर्तीमा यस प्रकारको नौलो तालिम केन्द्र हुनेछ । यो मलाई लाग्छ, पहिलो नै होला । यो अर्गानिक आइडियालाई तुरुन्त कार्यान्वयन गरौं । दाजुले प्रमुख ट्रेनर बन्दिन पर्छ । प्रचार प्रसार थालिहालौं । अनलाइनमा पनि ब्यापक गरौं । कन्टेन्ट क्रिएट गरेर युट्युबमा पनि हाल्न पर्छ । त्यताबाट पनि पैसो झर्छ । कि कसो ?’

दाजुको निकैबेर बक फुटेन । अन्तमा भन्नुभो, ‘भाइ, मेरा त धान काट्न बितेको छ । बरु भोलिदेखि धान काट्न सघाउनु दुई चार दिन । उतै मेलामा आइडिया बुनौला । अनि धान झारेर, दाँइ सकेर हुँदो रछ भने ता गर्नुपर्छ नि ।’

मेरो चैं यस्तै हुन्छ । केहि गतिलो काम आँटो हुँदैन । बरु तपाईं यसो पाटनरशिप गर्ने भए फोन हान्नु है । बिजिनेश राम्रो चल्छ । बरु चोक चोकमा यस्तो साइनबोड हाल्दा कस्तो होला ?- ‘सेटिङ ट्रेनिङ सेन्टर/खोटा पैसा टिलिक्क /जिन्दगी बन्छ झिलिक्क ।’

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x