नदी भट्टराईएउटै रक्तमा बग्ने मान्छेको रूप…
ऊ चोखो दिलले हेर्छ प्राणीमा समभावले हेर्दछौ स्वार्थको चस्मा लगाईकन आशले। दोषी छन् कर्म ती तिम्रा उनका सीप देव हो एउटै रक्तमा बग्ने मान्छेको रूप मूल हो ।।

नदी भट्टराई :
नघोच शब्दले सेठ ! मान्छे नै हुन् गरीब ती
हड्डी र मासुको थुप्रो तिम्रो हाम्रो सबै उही ।
यो देह पाहुना भन्छन् स्थायी दम्भ त व्यर्थ हो
एउटै रक्तमा बग्ने मान्छेको रूप मूल हो ।। १।।
सामग्री तीसको खस्दा गाली खान्छ हजारको
आयो मास यता यस्तै बन्दाबन्दी छ गाउँको ।
जानी गरिन्न गल्ती जो नजानी गर्नु गल्ती हो
एउटै रक्तमा बग्ने मान्छेको रूप मूल हो ।।२।।
हुन् शिल्पी दाजु ती हर्के काठ जोड्न सिपालु छन्
सिकर्मी कर्म हो एक प्रति छाक जुटाउँछन् ।
हेर्दा देखिन्न त्यो सीप गाँस बास कपास हो
एउटै रूपमा बग्ने मान्छेको रूप मूल हो ।।३।।
किराना देवआवास भगवान् गाहकी भए
सत्कर्म ध्येयमा चल्छन् पूजारी साथमा रहे।
थुप्रै छन् सेठ वा हर्के द्वन्द्वको निहु यै न हो
एउटै रक्तमा बग्ने मान्छेको रूप मूल हो ।।४।।
न पाप पुण्य हो कर्म जव व्यक्ति निदाउँछ
नटोकेसम्म आहारा विष सर्प लुकाउँछ ।
भोकभन्दा ठुला शत्रु मात्र स्वीकार मृत्यु हो
एउटै रक्तमा बग्ने मान्छेको रूप मूल हो ।। ५ ।।
“गठेरो” “जङ्गली” “खाते ” भन्यौ म भन्छु देव हुन्
अझ कुल्लीहरू हाम्रा अन्नदाता किसान हुन् ।
तिनैको एक सिक्का नै तिम्रो पूर्ण गला न हो
एउटै रक्तमा बग्ने मान्छेको रूप मूल हो ।। ६।।
हाँगा भाँचेर बल्झिन्न घाउ बन्दछ आँकुरा
निमोठिए जरा मूल कहाँ सृष्टि पलाउला ?
न हो त्यो चर्मको दाग होइनन् सुख, दुःख हो
एउटै रक्तमा बग्ने मान्छेको रूप मूल हो ।। ७।।
मान्छेका घर वा गोठ मठमन्दिर खेत हुन्
झ्यालढोका तथा छाना बार्दली सब बीज हुन्।
हथौडा टेप वा काँटी कब्जा ती हतियार भो
एउटै रक्तमा बग्ने मान्छेको रूप मूल हो ।।८।।
निरक्षर भए के भो सत्य निष्ठा इमान छ
हिसाब नपढे के भो पसिनामूल्य मात्र छ।
ऐलेको कर्मले ऐले बाँचेको पनि स्वर्ग हो
एउटै रक्तमा बग्ने मान्छेको रूप मूल हो ।।९।।
पुराना वस्त्र छन् हेर्दा मङ्सिरे त्यो परालझैँ
कलपूर्जा भिरेका छन् काँधमा अस्त्र रामझैँ
बाणी छन् रसिला नौनी यही नै कर्मश्रोत हो
एउटै रक्तमा बग्ने मान्छेको रूप मूल हो ।।१०।।
ईर्ष्या न पीर बोकेर हिड्दैन ऊ जताततै
चुसेर मजुरीलाई मदहोस धनाढ्यझैँ।
झुपडीभित्रको राजा लङ्का रावण राम हो
एउटै रक्तमा बग्ने मान्छेको रूप मूल हो ।।११।
ऊ चोखो दिलले हेर्छ प्राणीमा समभावले
हेर्दछौ स्वार्थको चस्मा लगाईकन आशले।
दोषी छन् कर्म ती तिम्रा उनका सीप देव हो
एउटै रक्तमा बग्ने मान्छेको रूप मूल हो ।।१२।।
चक्रमा घुम्दछन् आयू फेरिन्छन् नव पालुवा
सोध्दोहो ब्रम्हले आफ्नै हरियामा कि बालुवा ?
यही समयको बेला फर्किन्छन् कटु भाव त्यो
एउटै रक्तमा बग्ने मान्छेको रूप मूल हो ।।१३।।
विहानी कलिलो ऊर्जा सन्ध्या भोग्नुछ छिप्पिदो
न ताप रापको ज्योत्स्ना मायाँ लाग्दछ रित्तिदो।
मदहोस भई बोल्छौ गोलो पृथ्वी छ सत्य हो
एउटै रक्तमा बग्ने मान्छेको रूप मूल हो ।।१४।।
समाजमाझ मान्छेको हुन्छ क्यै सीप साथमा
रूखो माटो रिझाएर सौर जिउँछ भीरमा ।
फूलको दिव्यता खुल्ने सौन्दर्य पनि फूल हो
एउटै रक्तमा बग्ने मान्छेको रूप मूल हो ।। १५।।
हेर्ने हो उच्चता हेर अभिधा अर्थको गिरि
भोकको औषधी मात्र अन्न खाए- पिए सरि।
दिनमा चन्द्र छन् दागी चाँदनी रात जून हो
एउटै रक्तमा बग्ने मान्छेको रूप मूल हो ।।१६।।
हेरी स्वरूप देखिन्न भित्री कला र चिन्तन
पुज्दछन् विश्वले नित्य ती अम्ब्राहम लिङ्कन।
मान्छे तौलन गाह्रो छ मूल्य हुँदैन खास यो
एउटै रक्तमा बग्ने मान्छेको रूप मूल हो ।।१७।।
०००
सूर्योदय नगरपालिका -१०, फिक्कल इलाम
Subscribe
Login
0 Comments
Oldest








































