ह्यारी- ८०हजुर चाहिँ भन्दिनँ अब !
बाको दुर्दशामा अब जेन जी रुँदैनन् । हजुर लोपोन्मुख हुँदै गएको भान भएकाले फतुरे काका पनि भिरबाट हाम्फाल्नेलाई राम राम मात्र भन्छन् रे काँध त कुन्नि पो भन्छन् बा !

हयारी– ८० :
जनसाङ्ख्यिक दृष्टिबाट नियाल्दा ‘मौसुफ’ भन्दा पनि ‘हजुर’ भनेर सम्बोधन गर्नेहरूको परम्परा खान्दानी तथा उन्नत रहेछ । ‘हजुर’ बाटै नेपाली समाजमा जीहजुर, जीहजुरी गर्दै काम लिने चामत्कारिक उपाय विकास हुँदै आएको देखिन्छ । समयले नेटो काट्दै जाँदा व्यक्तिलाई हजुर भनिने चलन पनि विस्तारै सेलाउँदै गएको हो कि ! घरपरिवारभित्र हजुर भनेर सम्बोधन गर्ने चलन भूत मन्छिने परम्परा जस्तै शनैः शनै कमी हुँदै गएको आभास भएको छ । हुन पनि हो, हजुर भनेर कसलाई भन्ने, किन भन्ने, केका लागि भन्ने ? आफैँ हजुर भएपछि अर्कालाई हजुर किन भन्ने ? अरूले आफूलाई हजुर भनिदेओस् भन्ने भएपछि अरूलाई किन हजुर पगरी गुथ्याइदिने हँ ?
ठुलाबडा वा मान्यजनलाई सम्बोधन गर्दा भनिने यो ‘हजुर’ शब्द विस्तारै माहिलो, साहिँलो, काहिँलो, ठाहिँलो, अन्तरे, जन्तरे जस्तै भएर डायनोसर लोप भएझैँ लोप हुन गएको देखिन्छ । एक मात्र छोरो पनि विदेश पलायन हुँदै जाने कलि युगका ‘हजुर’ भन्नेहरू विस्तारै पाइन छोडेको छ । करोडौँ नेपालीले दैनिक रूपमा ‘हेलो’ भनी भलाकुसारी गर्छन् तर ‘हलो’ र ‘हजुर’ भन्ने शब्दको प्रयोग कति वर्षका लागि कुलिङ पिरियडमा राख्न खोजिएको हो दैव जानुन् । यो नेपाली राजनीतिको कुलिङ जस्तो होइन । हजुर भन्नेहरू नै कुनै वेला हजुर भन्दै गजुर चढेर पूजनीय बन्दै आएका थिए । अब विस्तारै समयले फड्के तरेको छ । हिजोको हजुर जस्तो होइन, अर्थान्तरण भएर आज स्वार्थको परिपूर्ति हेतु चाकरी चाप्लुसीका लागि हजुर भनेर प्रयोग हुन थालेको देखिन्छ । पूर्वी नेपालतिर राई जातिभित्र थरमा हजुर भनिनेबाहेक अन्यत्र यो शब्द सिला खोज्न हिँड्नुपर्ने हो कि भन्ने भान भएको छ ।
हजुरआमा वा हजुरमा, हजुरआमा, हजुरबा वा हजुरबुबा भनी सम्बोधन गर्नेहरू विस्तारै पारिवारिक संरचनाले गर्दा हो कि खै भेटिन मुस्किल बन्दै गएका छन् । घरमा हजुरबुबा, हजुरआमा, बुबा, आमा, काका, काकी आदि सबै भएको परिवार एकै ठाउँमा पाउन दुर्लभ प्रायः भएको छ । त्यसैले हजुर शब्दको उच्चारण गर्ने वातावरण ठप्प प्रायः बनेको छ । हुन त तपार्र्इँ भनेको भए पनि शिष्ट सुनिन्थ्यो मानिन्थ्यो तर यो हुन सकेन । तिमी वा तँको सम्बोधनले प्राथमिकता पाउँदै जाँदा हजुर ओझेल परेको छ । आफ्नै छोरा वा छोरीले पितृदेवो भवः मातृदेवो भवः अतिथि देवो भवः आचार्य देवो भवः वाक्यमा मात्र सीमित हुने हो कि भन्ने भयत्रस्त अवस्था महसुस गरेकै हुनुपर्छ ।
नेतृत्व लिनुको पीडा वा सुख तिनलार्ई मात्र थाह छ जसले भोगिरहेका छन् । हजुरबा घरको रखवारी गर्ने पालनकर्ता, हजुरआमाको असल पति, परिवारको असल अभिभावक हुन् । सुन्दा आनन्द लाग्दछ । अब पुस्तान्तरण भएर बाबुको भूमिका प्रधान बनेको छ । वास्तविकता हो पनि तर बाबु पनि बाबु मात्र होइनन् उनी पिता हुन्, पति हुन्, जनक हुन्, पत्नीको पतिपरमेश्वर अनि घरको खम्बा हुन् । यिनका पनि पिता हुन् माता हुन् हजुरबा हजुरआमा । यति हुँदाहुँदै पनि बाबु वा बुबा दुब्लाएर हिजोआज बा मात्र भएका छन् । दिदी डाइटिङ गरेर दी भएकी छन्, ब्युटिबोन देखाउँदै बहिनी सिस् भएकी छन् । हुन पनि हो छन पनि छ तर यिनका छोटा र पातला लुगाले छर्लङ्ग्याएको छ देहयष्टि । सम्बन्ध आफैँमा छोटो र मिठो बनेको छ । पिताको महत्त्व कम छैन । पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः त्यसै कहाँ भनिएको हो र ?
बुबा साँच्चै परिवारका अग्रज थिए तर बुबाबाट ड्याडी भन्न थालेपछि ड्याडी परिवारका सबैका माग पूरा गरिदिने आपूर्तिकर्ता बनेको रहस्योद्घाटन भएको छ । आज केही चाहियो कि ड्याडी कहलिएका बालाई भने हुन्छ भन्ने आमाको जबाफ छोराले बुझिसकेको छ । हिजो हजुरबा हजुरआमाको निर्णय हाबी हुन्थ्यो । अब त धेरैजसोले हजुरबा हजुरआमाको भन्दा ड्याडीवाला बाको आदर गर्ने गर्छन् । बुहारी भाइ भतिजा सबैका आआफ्नै माग छन्, श्रीमतीको आफ्नै माग छ । बा आफैँले आफूलाई कहिल्यै केही माग नराखी अरूको मात्र पुर्याउन खोजिरहे ।
हजुरबुबा हजुरआमासँग नबस्दा परिवारभित्र हजुर शब्द कम उच्चारित भएकाले हजुर शब्द नौलो लाग्न थालेको छोराछोरीले स्वयं स्विकार्न थालेको देखिन्छ । कसैले सम्बोधन गर्दा हजुर भनेर जफाब दिने, अह्रनी हजुर भयो भने हवस् हजुर भन्ने अवस्था पनि व्यवहृत हुन छोड्दै गएको पाइन्छ । हजुरले जे भने नि मान्छु नि बाबु हजुर यति खाना खाइदिस्यो न भनी कोखाइ कोखाइ गर्ने वेला छोरालाई हजुर भनी सम्बोधन गर्दा छोरा छोरी मुस्कुराएर खाइदिएको दिन बा खुसी भएका थिए रे ।
भोलिपल्टदेखि नै बाले घरका माग पूरा गर्न, छोराछोरीलाई काम लगाउन, फकाउन, खुवाउन, जन्मदिन मनाउन उनकै लागि केही गराउन हजुर भन्दै पुकार्न थाले । हुन पनि हो बाले के चाहिँ गरेका छैनन् ? जागिर खाने काम बाले गरे, जागिर खुवाउने बाले गरे । नेता बन्नेदेखि नेता चिनाउनेसम्म सबै काम बाले गर्दै आउन थाले । बाको काम सबतिर आयो तर हजुरबा हजुरआमाको चाहिँ न काम आयो न माग पूरा गर्नेतिर कहिल्यै ध्यान गयो । देशी विदेशी नेताको फोटो झुन्डाएझैँ भयो हजुरबा हजुरआमाको सिल्टाँग्या शरीर । कानुन पनि अरूका बने तर खोइ हजुरबा र हजुरआमाका लागि बनेको ? खोइ हजुरबाका लागि, बाका लागि अंशसम्बन्धी विशेष कानुन ? खोइ उनीहरूका लागि छोराछोरी नातिनातिनाले गर्नुपर्ने विधान ? मानौँ यो सारा सृष्टि सबै बाका अंसियारका मात्र हुन् । न बालाई न हजुरबालाई पेवा छ, न दाइजो नै छ । तर पनि यी बा सर्वत्र प्यारा छन् पूजनीय छन् र त सके सबै भन्दा आलोच्य पनि छन् । बाको भाग लिन को आएन ?
पिता भन्ने, पतिपरमेश्वरादि भन्ने त उहिलेका कुरा हुन् । हिजो आजकाले त ड्याडी भन्ने हो, ड्याड भन्ने हो, पापा भन्ने हो, फादर भन्ने हो ! बुबालाई सजिलो र छोटो अनि छिटै माग पूरा गराउन मायालु भावले बा भनेर सम्बोधन गर्ने प्रचलन बढेको छ । बा भनेको कुनै परिवारमा हजुरबा र कुनै परिवारमा ड्याडी हो । त्यसैले बा खिचडी बा हो । हो धेरैका ड्याडी छोराछोरीको आवश्यकता पूरा गरिदिने मालबाहक ट्रक हो जसमा टन्न सामान लोड गरिएको छ; जसरी नि पूरा गरिदिनुपर्छ ।
बा ! होस् नहोस् जे गर जसो गर पूरा गर सबै आवश्यकता जति । हँसाए हँसाउने बा, रुवाए रुवाउने बा, कथा भन्ने कथा बा, उखान भन्ने उखाने बा, टुक्का भने टुक्के बा, पिटेदेखि पिट्ने बा, केही नगरे केही नगर्ने बा । केही नभए भिखारी बा, आमाको कुरा जे पनि मान्ने जोइटिङ्ग्रे बा, खाए खाइबा, देऊ बा, लेऊ बा, बा नै बा । बालाई सम्बोधन गर्ने पनि जे गर्दाको अवस्था हो त्यही गर्ने बा । कति बाहरू ! तर खोइ त हजुरबा ? अब त राजीनामा दिए हुन्छ हजुर बाले । तपाईँका बाले राजीनामा दिनुभएछ हगि भन्न त पाइन्थ्यो बालाई ? हो मेरा बाले पनि राजीनामा दिए हुन्छ । हुन त हजुरबाले चौरासी गर्नुअघि नै जनैको साँचो बुझाउँछु भनेर छोरालाई हजुर भन्दै आएका हुन् बाले । साँचो ताल्चा सबै जिम्मा लगाउँछु भन्नुभएका बाले त्यतिन्जिेल किन कुर्नु हँ ?
आजै राजीनामा दिए हुन्छ बाले । पिण्डपानी दिने अख्तियार मलाई मात्र भएका नाताले भनेको मात्र हुँ कि अब बाले राजीनामा दिउँला भन्नु भन्दा गरेर देखाउँदा केही फरक पर्दैन है बा । सोध्नुपर्दैन बा अब । सबै वाक्क दिक्क भएकाले बाको भूमिका वाणीमा मात्र सीमित भएकाले कर्मका क्षेत्रमा हजुरको भूमिका गौँण हुँदै गयो । त्यसैले हजुरले राजीनामा दिए हुन्छ । हजुरले अंश लिइहाल्नुभयो । विस्तारै सन्तानलाई ऋणको भार थेग्न नसक्ने गरी थोपर्दै जानुभएकै छ । थाम्न नसक्ने गरी थोपरिएको पितृ ऋण तिर्नै पर्छ क्यारे सन्ततिले ।
हजुर भनी सम्बोधन गर्दिनँ किनकि हजुरबाले ह.. भन्दै जोतेको हेर्न सक्तिनँ बा अब । हजुरबाले हजुरआमाले खनेको कुवाको पानी नखाने, होलिडे मनाएर वाइन घुड्क्याउने, पहेँलो धातु देख्नै नहुने, केही बोल्नै नहुने सबै छोराछोरी आशमा मात्र कति आँ गरेर बस्ने ? त्यो केही पूरा नगरिदिएपछि बहुला बा, बतुरो बा, बकबके बा, कस्ता हजुरबाका कस्ता बा, झोले बा, पाउरका बा, टाउरका बा, माउरका बा, जेल बा, झेल बा, रेल बा, खेल बा, ग्याँस बा, ग्याँच बा सबका सब बा हुँदा पनि हजुरआमा र हजुरबालाई कुनै मौलिक दिवस नदिने बा । हजुर शब्द झिकिएका बा र आमाको मानमनितो नगर्ने अवस्था सिर्जना गर्ने बा र आमा नै हुन् । हजुरबा र हजुरआमालाई श्रद्धा गरे पो बाले पनि चौरासीमा रमाइलो गर्न पाउँथे, जँकु हुन्थ्यो त, नत्र त नाति पुस्ता हजुरबा हजुरआमापट्टि जालान् है । जेन जी हो जेन जी, जे पनि हुन सक्छ ।
हजुर, हजुरजी, जीहजुर भन्ने पुस्ता ओइलाएको मुला भइसके । जेन जीले सिन्की बनाएर खाँद्लान् । पैसाले सधैँ ऐसा हुन्न बा । बाको दुर्दशामा अब जेन जी रुँदैनन् । हजुर लोपोन्मुख हुँदै गएको भान भएकाले फतुरे काका पनि भिरबाट हाम्फाल्नेलाई राम राम मात्र भन्छन् रे काँध त कुन्नि पो भन्छन् बा ! माथापच्चिसीमाथि प्रश्न गर्ने अवस्था नल्याउनुहोस् बा । हजुरको लोप नहोस् भन्ने सम्म मात्र हो, त्यसो भए मात्र हजुरबा र हजुरआमा अनि बा र आमाको जय हुन्छ । जेसुकै होस् म पनि ‘हजुर’को जय होस् हजुर चाहिँ भन्दिनँ अब !
०००
गोकर्णेश्वर– ५, काठमाडौँ
२०८२ साल असार २१ गते शनिबार












































Gajab chha !