हरिशंकर परसाईंश्रवणकुमारका काँध
एकदुई वर्ष त केटी कुँडिइरही । एक दिन उसले नम्र भएर परिवारलाई भनी– ‘यस ज्योतिषमा तपाईंहरूको विश्वास भए पनि मेरो भने छैन । जुन कुरामा मेरो विश्वास छैन त्यसैका लागि मेरो बलिदान हुनु भएन ।’

हरिशंकर परसाई :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
एकजना सज्जन आफ्नो कान्छो छोराको गुनासो गर्दै भन्छन् – भनेको मान्दैन । कहिले त मुखमुखै लाग्छ । अनि जेठो छोरो ? त्यो त निकै राम्रो छ । पढाइलेखाइ गरेर अहिले जागिर खान्छ । सज्जनको विचारमा दुवै छोराहरूमा ठुलो अन्तर छ । अनि यो अन्तर कैयौँ प्रसङ्गहरूमा झल्किन्छ । कुरो कुनै दिनको साँझको हो । उहाँ नियमित सन्ध्यावन्दन गर्नुहुन्छ (अर्थात् सोमरस पान गर्नुहुन्छ), त के नराम्रो गर्नुहुन्छ ? धेरै मानिसहरू गर्छन् सोमरसपान । गङ्गाजल हाकाहाकी पिउँछन् भने सोमरस लुकेर पिउँछन्– जबकि सोमरसले बढी आनन्द दिन्छ । मान्छेले आनन्द नहुने काम त हाकाहाकी गर्छ तर आनन्दको कुरो लुकेर गर्छ । अर्थात् सुख पाउनु लाजको विषय मानिन्छ ।
तर कुरो ती सज्जनको चलेको थियो । उनलाई सोडा चाहिन्छ । जेठो छोरो भन्नासाथ हातको पेन्सिल किताबमा राखेर सोडा लिन कुदिहाल्छ । ल्याउन त कान्छाले पनि ल्याउँछ तर भन्नासाथ उठ्दैन । प्याराग्राफ सकेर मात्र उठ्छ । भारतीय पिताहरूका निम्ति यो अवज्ञा सह्य हुँदैन । ऊ सीमान्तहरूमाथि सम्बन्ध बनाउँछ । कि त छोरालाई पिट्छ कि छोराबाट पिटिन्छ । उसलाई बिचको स्थिति मन पर्दैन । कान्छो छोराले पनि हरकत गर्छ । पिताले अत्याए भने ‘जाँदै त छु नि !’ भनेर पनि भनिदिन्छ । उसको मनमा शङ्का र प्रश्न दुवै उब्जिन्छन् । सोच्छ– यो बाउ फिस तिर्नुपर्दा रोएर दिन्छन्, लुगा सिउने कुरो गर्दा टारिदिन्छन् तर पढाइको बिचबाट उठाउनु हुँदैन भन्ने बुझ्दै बुझ्दैनन् !
जेठो छोराको मनमा कहिल्यै न शङ्का जाग्छ न प्रश्न पलाउँछ । त्यो मेरै आयुको होला । उसले पनि तिनै किताब पढ्यो होला जुन मैले पढेँ । ती किताब थिए जसमा प्रश्नहरूको हत्या गरिएको हुन्थ्यो । स्कुलको आरम्भ प्रार्थनाबाट हुन्थ्यो – ‘दया गर भगवान् आयौँ तिम्रै शरणमा !’ शरणमा किन आयाैँ र कसको डरले आयौँ भन्ने केही थाहा छैन । शरणमा आउने तालिम त अक्षरज्ञानभन्दा पहिलेदेखि नै हुन्थ्यो । हामीले गलत किताब पढ्यौँ अनि आँखालाई तिनमै अड्याइदियौँ । कान्छो छोराले अर्कै किताब पढ्छ र आँखा गडाउँदै गडाउन्न । यताउता पनि हेर्छ । उसले आफ्ना आँखालाई फुट्नबाट बचाउने प्रयास गर्छ । यसले गर्दा जति पनि पिता पदमा पुगेका भौतिक पिता, गुरु, ठुलाबडा, शासक अनि नेताहरू दिक्दारिएका छन् । हाम्रा किताबहरूमा पितासमान व्यक्तिहरू सबै शङ्का र प्रश्नभन्दा माथि हुन्थे । शिष्यले पक्षपाती गुरुलाई पनि बुढीऔँलो काटेर दिन्थ्यो अनि दुवै ‘धन्य’ कहलिन्थे । अहिले भने शिष्यले अमुक अध्यापकले शिष्यको बुढी औँलो काट्न लगाए भनेर उपकुलपतिकहाँ सिकायत गर्छन् । अनि यदि उपकुलपतिले त्यसमा ध्यान दिएनन् भने विद्यार्थीहरूको जुलुस लिएर विश्वविद्यालयमाथि नै जाइलाग्छन् ।
हामीलाई त तेस्रो कक्षामा नै त्यस भक्तको कथा पढाइएको थियो जसले आफ्नो छोरालाई आराले चिरिदिन्छ । केही व्यक्तिहरूका लागि मानिस र फर्सीमा कुनै अन्तर छैन । दुवैलाई चिर्न सकिन्छ । त्यस भक्तको नाम थियो मयूरध्वज । यस्ताखाले सबैजसो कथाहरूको समापन चिर्नेलाई प्रोत्साहित गर्ने खालको हुन्छ । भगवान् प्रकट हुन्छन् अनि जुन पक्षको जेजति नोक्सानी भएको हुन्छ त्यो पूरा गरिदिन्छन्, मरेकालाई बचाइदिन्छन्, गुमेको धनसम्पत्ति फिर्ता दिन्छन् अनि कसैलाई मुआवजामा स्वर्ग पठाइदिन्छन् । कथाको यस्तो समापनले नजाने कति पुस्तालाई आराले चिर्न लगायो होला !
यस कथामा न मैले शङ्का गरेको थिएँ न सज्जनको जेठो छोराले गरेको छ । तर कान्छो छोराले सोध्छ – ‘पिताजी चिर्नुभन्दा पहिले भगवान् यसै कामले खुसी हुन्छन् भन्ने ग्यारेन्टी कसरी दिनुहुन्छ ? अनि उनी आउँछन् नै भन्ने कुराको पो के ग्यारेन्टी छ र ? उनका त हजारौँ काम हुन्छन् । अनि उनले काटिएकोलाई जोडिदिन्छन् नै भन्ने पो के ग्यारेन्टी ? अनि तपाईंले भनेझैँ यी कुराहरू हुन्छन् नै रे भने पनि तपाईंका सत्यकल्पित विश्वास तपाईंकै हुन् । त्यसका लागि तपाईंले आफैलाई काट्न लगाएर हठ पूरा गर्नुस् न ! पहिले जन्मेका व्यक्तिहरूले आफ्ना सही वा गलत मान्यताका लागि पछि जन्मेकाहरूलाई किन काट्ने ? एउटा पुस्ताको विश्वासका लागि अर्को पुस्ता किन चिरिने ?’
केटाहरू मुखमुखै लाग्न थाल्छन् । साइँदुवाहरूको किताबै फेरिएको छ । यति छिटो कोर्स किन फेरिन्छ कुन्नि ? जेठा छोरालाई आफ्ना किताबहरू जतन गरेर राख्नू, कान्छालाई काम लाग्छन् भनेर भनेको थिएँ तर किताब फेरिए । पुराना किताबहरू कसैको काम नलाग्ने भए । पुस्तौँपुस्ता एउटै किताब किन चलाउँदैनन् ?
यो चिन्ता पिताहरूको हो । जेठो छोरो तुरुन्तै किताबमा पेन्सिल राखेर सोडा लिन कुदिहाल्थ्यो । कान्छो अनुच्छेद सकेर मात्र उठ्छ ।
भीष्मको कथा पनि हामीलाई उतिवेलै पढाइसकिएको थियो । हामीले भीष्मलाई ‘धन्य’ भनेका थियौँ । कान्छो छोराले शान्तनुलाई ‘धिक्कार’ भन्छ । ‘धन्य’ र ‘धिक्कार’का ठाउँहरू फेरिएका छन् । मानिसलाई थाहै छैन । कान्छो छोराले भीष्मलाई भन्नेछ– के तिमीले पनि मेरा दाजुले पढेकै किताब पढेका थियौ ? तिमीले पितासित यो किन भन्न सकेनौ कि जीवनभरिको भोगपछि पनि तपाईंको लिप्सा लिप्सिएकै छ भने म के गरूँ त ? आफ्नो संयम दिन मिल्ने भए अलिकति दिन्थेँ तर जीवन कसरी दिऊँ ? तपाईंले मलाई राज्यबाट त वञ्चित गर्न सक्नुहोला तर मानिसको स्वाभाविक अधिकार त म मरिगए छोड्दिनँ ।
कान्छाले टिप्पणी गर्नेछ– भीष्मले यस्तो भन्न सकेनन् । उनलाई पिताले मान्छेबाट बाण चलाउने मिसिन बनाइदिए । स्वचालित धनुष ! महाभारतका यी सबैभन्दा असल, तेजस्वी, आदरणीय र ज्ञानी व्यक्ति दयनीय पनि छन् ।
तर श्रवणकुमारका पनि काँध दुखिरहेको पो देख्दै छु त ! त्यसले खर्पन हल्लाउन थालेको छ । खर्पनका अन्धाहरू दिक्क छन् । विचित्रको दृश्य बनेको छ यो । आँखा भएको एउटाको ज्यानमा दुईवटा काँध लादिएका छन् र उसलाई चलाइरहेका छन् । जीवसित काटिनुका कारण एउटा पुस्ता दृष्टिहीन बन्न पुग्छ अनि आउँदो पुस्ता त्यसमाथि चढ्छ । अन्धो हुनासाथ उसलाई तीर्थको आवश्यकता पर्छ । उसले भन्छ –मलाई तीर्थ लिएर हिँड । यस क्रियाशील जन्मको भोग भइसक्यो । मैले आउँदो जन्मको भोगका निम्ति पुण्य एडभान्समा दिनु छ । अनि आँखा हुनेहरूको यौवन तिनै अन्धाहरूलाई बोक्दैमा बित्छ । ऊ तिनै अन्धाले देखाएको बाटामा हिँड्छ । उसको निर्णय तथा निर्वाचनको अधिकार हराउँछ । उसका आँखाले बाटो खोज्दैनन्, केवल बाटाका काँडा जोगाउने काममा लाग्छन् ।
कति छन् खर्पनहरू– राजनीतिमा, साहित्यमा, कलामा, धर्ममा र शिक्षामा । अन्धाहरू बसेका छन् अनि आँखा हुनेहरूले तिनैलाई बोकिरहेका छन् । अन्धामा पनि अचम्मको काइतेपन आउँछ । उसले पनि खाँटी र खोटी छुट्याउँछ । पैसाको गन्ती ठिकठिक गर्छ । उसमा छामछुम गर्ने क्षमता आउँछ । उसले पद छाम्छ, पुरस्कार छाम्छ र सम्मान छाम्छ । बैंकको चेक पनि छाम्छ । आँखा हुनेहरू जुन कुरो देख्न सक्दैनन् तिनलाई उसले छामेर भेट्छ ।
नयाँ अन्धाहरूका तीर्थहरू पनि नयाँ छन् । उनीहरू काशी, हरिद्वार र पुरी जाँदैनन् । यस खर्पनमा बसेको अन्धालाई कहाँ जाने भनेर सोध, उसले तीर्थ भन्नेछ । कुनचाहिँ तीर्थ ? उत्तर आउने छ – केबिनेट ! मन्त्रिमण्डल ! अर्को खर्पनमा बसेको मान्छेलाई सोध, ऊ पनि तीर्थ जान प्रस्तुत छ । तपाईं कुनचाहिँ तीर्थ जान चाहनुहुन्छ ? जवाफ आउने छ – एकेडेमी, विश्वविद्यालय !
तर खर्पनहरू हल्लिन थालेका छन् । बोक्नेको मनमा शङ्का उत्पन्न हुन थालेको छ । उनीहरू हल्लाउँछन् अनि अन्धाहरू कराउँछन्– ए पापी, यो के गरेको ? के हामीलाई लडाउने हो ? अनि बोक्नेले भन्छ– अब हामी आफ्नो शक्ति र जीवन अन्धाहरूलाई बोकेर खेर फाल्दैनौँ । तिमी एक ठाउँमा बस र माला जप । आदर ग्रहण गर र संरक्षण प्राप्त गर । हामीलाई हाम्रै इच्छाले हिँड्न देऊ । अनुभव दिए हुन्छ । दृष्टि दिनु पर्दैन । त्यो हामी आफै कमाउँछौँ ।
राजनीति र साहित्य आदि निकै खुल्ला क्षेत्र हुन् । अन्य नदेखिने क्षेत्रहरूमा पनि श्रवणकुमारहरूले काँध हल्लाउन थालेका छन् खर्पन बिसाउनका लागि । उनीहरू अब कुनै पनि विश्वासको आराले चिरिन तयार छैनन् । मैले कफी हाउसमा बसेको त्यस युवकको कुरो गरेको हैनँ जसले रिसले दाह्री बढाएको छ मानौँ उसको दाह्रीले कुनै निश्चित आकार प्रकार पाउनासाथ क्रान्ति भइहाल्छ । बढेको दाह्री, ड्रेन पाइप र ‘सो ह्वाट’वालाहरूले यो गरेका होइनन् । टिमिक्कका लुगा, हेयर स्टाइल अनि ‘ओ वन्डर फुल’ वालीहरूबाट पनि यो भएको होइन । यिनीहरूको त न विश्वास अडिलो छ न शङ्का नै भरपर्दो छ ।
यो त कुनै होहल्लाविना नै घरहरूमै भइरहेको छ । सुशील, विनम्र अनि आज्ञाकारी युवकयुवतिहरूले खर्पन बिसाउन थालेका छन् अनि कसैको विश्वासको आराद्वारा चिरिन अस्वीकार गर्दै छन् । एकजना परिचित छन् जसको ज्योतिषमा विश्वास छ उनकी पढेलेखेकी तरुनी छोरी छे । जससित उसले विवाह गर्न चाहेकी थिई उससित ग्रह मिलेन । एकदुई अन्य योग्य वरहरूसित पनि मिलाइयो तर त्यहाँ पनि मिलेन । सके उसका ग्रहहरूले कुनै अयोग्य केटासित मिल्ने अवस्था थियो होला ! एकदुई वर्ष त केटी कुँडिइरही । एक दिन उसले नम्र भएर परिवारलाई भनी– ‘यस ज्योतिषमा तपाईंहरूको विश्वास भए पनि मेरो भने छैन । जुन कुरामा मेरो विश्वास छैन त्यसैका लागि मेरो बलिदान हुनु भएन ।’ पहिले त परिवार अक्कनबक्क भयो तर परिणाममा उसले मन पराएको केटासित नै उसको विवाह गरिदिए ।
मोरध्वजको आरा खोसेर फालिँदै गरेको देखिँदै छ । श्रवणकुमारका काँध दुख्न थालेका छन् । ऊ खर्पनलाई झिकेर मिल्काउँदै छ ।
ती सज्जन दिक्दारिएका छन् । कान्छो छोरो अनुच्छेद पुरा गरेर नै उठ्छ । जेठो भने छिटै पेन्सिल थन्क्याएर दगुर्थ्यो ।
०००
हरिशंकर परसाईको ‘परसाई रचनावली’ भाग ३ को ‘कन्धे श्रवणकुमार के’बाट नेपाली अनुवाद ।
Subscribe
Login
0 Comments
Oldest






































