सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पालिसलाई नालिस

तिल्के, चाउरे, घुँडे, खुँडे क्रमशः - मिस्टर टल्क, मिस्टर चर्च, मिस्टर घष्ट र मिष्टर खस्ट नामको पालिसमा संबोधित छन् । पालिसै-पालिसको मिथ्या राज्यमा कतै मै पनि पालिसे त भइनँ भन्या !!

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

‘पालिस’ यो शब्द अङ्ग्रेजी भाषाबाट आएको नाम शब्द हो । कुनै वस्तुलाई चम्किलो वा टल्काउने बनाउन यसको प्रयोग गरिन्छ । वस्तुको रंग, प्रकृति एवं अवस्थालाई हरेर चमक दिन यसलाई विभिन्न खाले ब्रसमार्फत दाँत, नङ, छाला, जुत्ता, पेटी, ज्याकेट, घर वा अन्य अङ्ग प्रत्यङ्ग र जड वस्तुसम्म टम्म पार्ने काम हुन्छ । पालिसको उज्यालोमा सोझो गोर्खाली दिमाग छकाउन कसरतै पर्दैन । पालिसदार बोलीमा मालिस गर्ने मालिसदारहरूको ‘विष कुम्भं पयोमुखम्’ वाणी – कुटनीति अर्थात् राजनयको कखरा नखार्नेहरूको लागि लठ्ठ पार्ने चट्टखाले बोली हुन्छ । शक्तिमा पुगेकालाई भक्ति देखाउनुपर्छ भन्ने मान्यताका धनी पालिसदार भाषाका पारखीहरू आफू बोल्ने भाषामा मालिसदार ढङ्गले उपस्थित हुन्छन् ।

अब ‘नालिस’ शब्दतिर लागौं- यो फारसको खाडीबाट आएको पाहुना नाम शब्द हो। यसलाई अरबीहरू ‘इजहार’ नामले पनि पुकार्छन् । यसको अर्थ प्रज्ञाको वा भत्ता चड्‌काएर मगज छड्‌काउन सिपालुहरूले यसरी अर्थ्याएका छन्- ‘कुनै व्यक्ति वा संस्थाद्वारा आफूमाथि अन्याय भएको लागेमा उचित दण्ड सजायें वा क्षतिपूर्तिका निम्ति अदालत अथवा सम्बन्धित अधिकारीसमक्ष गर्ने रीतपूर्वकको उजुरी’ । हिजोआज मेरो मास्टरी चिन्तन-मनन र दर्शनले वर्तमान काललाई पालिसको जालमा घटाउन उचित ठानें। अभिव्यक्तिमा आउने मौलिकतालाई टाल्न पालिसको भाषामा ‘शिवताण्डव- स्तोत्र’ बिर्साउने गरी उछिनापाछिन छ बा । जहाँ कथित बौद्धिकता र प्रज्ञाले तलुवा चटुवाको भूमिका निर्वाह गर्छ। भटमास र ठेट्ना मकै टोकेर जंगल भुपडी चहार्नेहरू आज त्यो जीवनलाई एकादेशमाको कथा बनाई जी-हजुरीको पालिसदार वाणीमा मालिस गर्ने मालिसेहरूलाई आफ्ना नन्दी, भृङ्गी अर्थात् प्रमथगण अनि विश्वामित्र, शुक्राचार्य र वृहस्पति ठान्छन् । कालनेमीको मायावी जालमा मख्ख एवं दङ्ग यी बुख्याँचाहरूको विरुद्ध त्यसैले त नालिस गर्ने जङ उठेको हो मलाई ।

खाओवादी वा भ्रष्टाचारको कुण्डमा आहाल बसेका कथित नेताको कुकृत्यबाट प्राणान्त हुनपुगेका माओवादीका कथित सामन्ती, शोषक, (वस्तुगत पीडित कार्यकर्ता) हरूको रगतमा पौडी खेल्दै गिरोहाचार्य महामहोपाध्यायको ब्रिफकेस कुरेर बसेका नवधनाढ्य संवेदनाको वक्तव्य आलङ्कारिक चमकको पालिसे भाषामा संचारमार्फत् दिन्छन् । आफू सुरक्षित हवेलीमा मस्त छन् । प्रजातन्त्रकै मजामन्त्रमा राज्ययन्त्र घुमाउने खग्गूविरुद्ध किन नालिस नगर्ने ?

खाद्यदेखि अखाद्यसम्म, छाला, माला, कालादेखि जुत्ता र कुत्तासम्म, चामल चिउरा, दाल, केराउदेखि घेराउ र हडतालसम्म पालिसकै साम्राज्य र दबदबा छ। पालिसदार मिष्ठान्नलाई पालिसको भाषामा नालिसै नलाग्ने अचुक तर्क फिकेर मिठाई पसलेले वकालत गरेको ग्राहकको मस्तिष्क भुट्ने तर्क गाउँ फर्के पञ्च र हालका भ्रष्ट मञ्चजस्तै दृढ छ । ६०, ६५ वर्षका युवा नेताहरू चाँदी भइसकेका रौँराज्यमा राज्यआतङ्क मच्चाई सुपर मार्का मेहन्दी घसिरहेछन् । चुनावको बेलामा नदी नै नभएको ठाउँमा पुल हाल्ने वाचा पछार्दै लाटा जनता ठग्ने, शुम्भ-निशुम्भ छायाँहरू पालिसकै भाषामा भाखा तानिरहेछन् । चाउरिएको छालालाई विदेशी रक्सीले उक्साई ‘फियर एण्ड लभली’ मार्का घसी नाइट क्लव भर्ने बुर्जुवा नेता पालिस लगाएकी एड्सकी रानीको ओठ टोकेर हिंड्छ ।

मेरै जूठो र पूरा खाएर भुरालाई बराला बनाउने धोक्रे घर्ती सत्ताको चिठ्ठामा गिष्ठाझैं गुडुलिएर पालिसदार भाषामा अर्ती पछार्छ बा । स्टार होटल चाहारेर झुप्रो र कन्दरा उज्यालो बनाउने बतासे गफ पिट्छ । हिजो कालो काँग्रेस, उग्रवादी र के-के हो भनेर ढाड सेक्ने ‘चारचक्षु’ पालिसमा टल्किएर ‘सत्ताचक्षु’ बनिरहेछ । जिन्दगीभर वीपीलाई सरापेर नथाक्ने नालिसेहरू ‘विश्वेश्वर कार्यक्रम’ हाँक्न तल्लीन छन् । आज क्रान्तिकारी पालिस लगाएर आफूलाई पक्का जय नेपाल मार्का भन्नेहरू सत्तामा भ्रान्तिको धावा बोलिरहेका छन् ।

साहित्यको पातलो ‘स’ का बालखिल्लेहरू दीर्घ साहित्यसेवीको पालिसमा भर्खरै उपल्लै नेताले पालिसे दोसल्ला ओढाई अविराम्मे बनेका छन् । बोर्डिङ्ग स्कूलका पालिसे भाषा नेपालीलाई अंग्रेजाम्य बनाउन विज्ञापनमा व्यस्त छन् । बोली, चोली, डोली, लोली, गोली, होली, तरुनी, किशोरी, प्रौढा, वृद्धा, पार्टी, पाटी सबै पालिसमा टल्किएका छन् । तिल्के, चाउरे, घुँडे, खुँडे क्रमशः – मिस्टर टल्क, मिस्टर चर्च, मिस्टर घष्ट र मिष्टर खस्ट नामको पालिसमा संबोधित छन् । पालिसै-पालिसको मिथ्या राज्यमा कतै मै पनि पालिसे त भइनँ भन्या !!

000
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
क्रान्तिकारी कवि किसानमा प्रणाम !

क्रान्तिकारी कवि किसानमा प्रणाम...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा