साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भत्काउन सजिलो छ

संरचना र सम्बन्धको अन्योन्याश्रित समानता छ भन्ने कुरा बुझौँ । एकार्कालाई तोड्ने होइन जोड्ने काम गरौँ । तोड्न जति सजिलो जोड्न हुन्न भनेर खालि तोड्न तिर मात्रै लाग्यौँ भने एकदिन संसार उजाडिन्छ । तपाईं हामी उजाडिन्छौँ ।

Nepal Telecom ad

अशोककुमार सिवा :

जुनसुकै काम, कुरा, निर्माण वा संरचना होस वर्षाैँ लगाएर बनेकोलाई पनि भत्काउन क्षण भर लाग्दैन । जहाँ जता हाने पनि हुन्छ । टुप्पाबाट फोडे पनि हुन्छ । फेदबाट फोडे पनि हुन्छ । जताबाट सुरु गरे पनि भत्किन्छ । तर यिनै कुरा बनाउन फेदमा राम्रो जग हालेर क्रमैसँग निर्माण गर्दै लैजानु पर्छ ।

बनाउँदा भविष्यलाई हेरिन्छ । पछिको परिकल्पना गरिन्छ अझ भनौँ आकृतिक योजना नै बनाएर संरचना निर्माणको थालनी गरिन्छ । यही संरचना ध्वस्त गर्न कुनै आकृतिक योजनाको परिकल्पना चाहिँदैन । चाहिन्छ त केवल बुद्धि बिनाको बल । पकापक हान्यो ढल्छ । बाल्यो बल्छ । गाल्यो गल्छ । कति सजिलो छ ।

संरचना मात्रै होइन मानिसको सम्बन्ध पनि यस्तै हुन्छ । सम्बन्ध जोड्न जति गाह्रो छ नि तोड्न अति सजिलो । अनेकन मेहेनत गरेर जोडेको सम्बन्ध एक सेकेन्डभरको शब्दले एटम बम खसालेको भवन जस्तो बन्दछ । सम्बन्धको लागी यतिसम्म यत्न प्रयत्न गर्नुपर्छ कि सम्बन्ध दीर्घकालीन होस् यसका लागि अनेकन परिपाठ सोचिनु पर्दछ ।

परिपाठ भन्ने यस्तो सिप रहेछ फेरी कि जे गर्छ परिपाठेले नै गर्छ । जो परिपाठ गर्न वा लगाउन पारङ्गत हुँदैन उस्को सम्बन्ध परिपाठेको जति छिटो जोडिँदैन । यस्ता परिपाठेहरू आफ्नो होस वा अर्काको सम्बन्ध जोड्न र तोड्न खप्पिस हुन्छन् । सोझोसिधा त सधैँ परिपाठेको चङ्गुल भित्रै रहन्छन् । भन्ने गरिन्छ नि “सोझो सिधाको जमाना छैन” भनेर ।

वर्षाैँ लगाएर जोडेको सम्बन्ध होस वा वर्षाैँ को मेहनतले सृजना गरेको संरचना होस् भत्काउन एक सेकेण्ड पनि लाग्दैन । संरचनामाथि शक्तिशाली बम खसाल्यो ध्वस्त । सम्बन्धमाथि छुस्स गलत कुरा एकले अर्कोको बारेमा सुन्यो सुनायो खत्तम । संरचना माथि बम खसाल्न बमवर्षक विमान उडाउन सिपालु पाइलटको आवश्यकता हुन्छ भने सम्बन्धमा छुस्क्याई कुरा उडाउन सिपालु उडन्तेको आवश्यकता हुन्छ । बरू बमले संरचनाको पूर्ण रूप सिध्याउन नसक्ला कुरौटेको छुस्के कुराले सम्बन्धको धरोहर पूर्ण ध्वस्त बन्न जान्छ ।

कतिपय कुराहरूको अपवाद पनि होलान र हुन्छन नै पनि । कतिपय निर्माणको लागि ध्वस्त गर्नुपर्ने पनि हुनसक्छ तर ध्वस्त गर्ने समय र निर्माण गर्ने समय कहिल्यै एकै हुँदैन । यदि ध्वस्त गर्ने समय जति नै निर्माण गर्न लाग्ने भइदिँदो हो त आहा कति राम्रो हँुदो हो । मेरो परिकल्पनाभित्रको कल्पना यस्तै भइदिए हुन्थ्यो ।

परिकल्पनाभित्रको कल्पना कस्तो हो ? भनेर पनि धेरैलाई लाग्न सक्ला तर दिमागलाई धेरैबेर जोड नलगाउनु होला । दिमागको चुकुल कहा अल्झेको छ पत्तो नपाइसक्दा फुस्कियो भने अर्को आपद् आइलाग्छ । किनकी यहाँ बन्नु भन्दा बिग्रनु, लाग्नु भन्दा नलाग्नु अनि जोड्नु भन्दा खुस्कनु छिटो हुन्छ । हल्का लिनु होला । उसै पनि यो विषय त्यति गम्भीरताको साथ सोच्नुपर्ने विषय होइन । यो त भन्ने कुरा हो तर जे छ यसैमा छ ।

मलाई त के पनि लाग्छ भने नि मान्छेको स्वास्थ्य पनि उस्तै खालको हुन्छ सपार्न अनेकन प्रयास प्रयत्न गर्नुपर्छ बिग्रिने बेलामा एउटा भाइरस काफि । भाइरसले यतिसम्म दुःख दिन्छ कि बिमार ठिक हुन लामो समय लाग्नसक्छ । उस्तै परे त जिवन नै भाग्न सक्छ । कति कुराको ख्याल पुर्‍याउनु गाठे जिन्दगीमा । एकछिनको हेल्चेर्क्याइँले जीवन निर्जीवन बन्न सक्छ ।

त्यसैले हामी सबैले के कुरामा विषेश ध्यान पुर्‍याउँ भने निर्माण भएको धरोहर होस् वा विकसित भएको सम्बन्ध होस् जोगाई राख्ने तिर लागौँ । संरचना र सम्बन्धको अन्योन्याश्रित समानता छ भन्ने कुरा बुझौँ । एकार्कालाई तोड्ने होइन जोड्ने काम गरौँ । तोड्न जति सजिलो जोड्न हुन्न भनेर खालि तोड्न तिर मात्रै लाग्यौँ भने एकदिन संसार उजाडिन्छ । तपाईं हामी उजाडिन्छौँ । जय होस् ।

०००
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x