साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डिजिटल सन्यासी र ‘लाइक’को पासो : एघार वर्षदेखिको तपस्या

अब तपाईं आफैँ भन्नुहोस्, यो डिजिटल युगमा बढी बुद्धिमानी को हो? हरेक दश मिनेटमा फोटो फेरेर लाइकको प्रतीक्षामा बस्ने कि एघार वर्षदेखि एउटै फोटो टाँगेर लाइकको ऋणबाट मुक्त रहने ?

Nepal Telecom ad

दामोदर न्यौपाने :

फेसबुकको भर्चुअल तीर्थयात्रामा भौँतारिँदै गर्दा एक दिन ‘पिपल यु मे नो’ को सूचीमा एक जना पुराना साथीको दर्शन भयो । प्रत्यक्ष भेट्दाभन्दा डिजिटल प्रोफाइलमा उहाँ यति आकर्षक र तेजस्वी देखिनुहुन्थ्यो । एकछिन त लाग्यो, मानिसहरू वास्तविक जीवनमा बूढो हुन जन्मिएका हुन् कि फेसबुकको प्रोफाइल फोटोमा सधैँ जवान भइरहन ! शरीरले उमेरको भारी बोक्दै गए पनि फोटोले भने समयलाई नै चुनौती दिइरहेको थियो ।

जिज्ञासा जाग्यो । उहाँको भर्चुअल दैलोभित्र प्रवेश गरेँ । प्रोफाइल तस्बिरहरूको फेहरिस्त पल्टाउँदा त म छक्कै परेँ । जम्मा पाँचवटा तस्बिर ! सन् २०१३ मा तीनवटा, २०१४ मा एउटा र २०१५ मा एउटा । त्यसपछि फेसबुकको भित्तामा अर्को कुनै तस्बिरको प्रवेश भएको रहेनछ । सन् २०१५ मा टाँगिएको अन्तिम तस्बिरले २०२६ सम्म आइपुग्दा एघार वर्षे कार्यकाल पूरा गरिसकेको थियो । सरकार फेरिए, व्यवस्था फेरिए, प्रविधि फेरियो, फेसबुकका स्वरूप र फिचर फेरिए, तर उहाँको प्रोफाइल फोटो भने आफ्नो पदबाट टसको मस भएन । मानौँ, त्यो फोटो होइन, स्थायी नियुक्ति पाएको कुनै संवैधानिक पद हो !

अहिलेको जमानामा मानिसहरू बिहान चिया पिउँदाको कप फेरेझैँ प्रोफाइल फोटो फेर्छन् । कसैको त दिनमा तीनपटकसम्म मुहार परिवर्तन हुन्छ । ऐनाअगाडि घण्टौँ सेल्फी खिचिन्छ, कोण मिलाइन्छ, उज्यालो थपिन्छ, अनुहारको प्राकृतिक इतिहास मेटिन्छ र अन्त्यमा एउटा तस्बिर छानिन्छ । त्यसपछि सुरु हुन्छ प्रतीक्षाको अर्को तपस्या : कतिवटा लाइक आए, कसले कमेन्ट गरे र कसले हेरेर पनि नहेरेझैँ गरे ! तर मेरा यी साथी भने एघार वर्षदेखि एउटै तस्बिरलाई यस्तो निष्ठाका साथ जोगाएर बस्नुभएको छ, मानौँ फोटो परिवर्तन गर्नु भनेको आफ्नो वैचारिक सिद्धान्तबाट विचलित हुनु हो ।

एक दिन कुरैकुरामा उहाँको यो डिजिटल वैराग्यको रहस्य खुल्यो । उहाँले सुनाउनुभयो, ‘यार, एक दिन झुक्किएर एउटा दिदीको फोटोमा लाइक थिचेँ । अर्को दिन अर्को दिदीले पनि फोटो पोष्ट गर्नुभयो । अब लाइक गरौँ भने आफ्नो मन मान्दैन, नगरौँ भने उहाँले मेरो फोटोमा किन लाइक गर्नुभएन भनेर चित्त दुखाउनुहोला । एउटालाई लाइक गरेपछि अर्कोलाई पनि गर्नुपर्ने, एउटाको पोस्टमा कमेन्ट गरेपछि अर्काकोमा पनि उपस्थित हुनुपर्ने ! यो लाइक र कमेन्टको सामाजिक दायित्वबाट मुक्त हुनु नै जाति !’

उहाँको कुरा सुनेपछि मलाई लाग्यो, फेसबुकमा पनि सामाजिक सम्बन्धको एउटा समानांतर कर प्रणाली रहेछ । एकपटक लाइकको कर तिर्न थालेपछि नियमित करदाता हुनुपर्ने । कसैको जन्मदिनमा शुभकामना लेखेपछि अर्कोको जन्मदिनमा अनुपस्थित हुन नपाइने । एउटाको उपलब्धिमा बधाई दिएपछि अर्काको उपलब्धिमा पनि हाजिर हुनुपर्ने । नत्र सामाजिक सम्बन्धको लेखापरीक्षणमा बेरुजु देखिने ! यहाँ लाइक एउटा औँलाको सामान्य चाल होइन, सम्बन्धको नवीकरण शुल्क रहेछ । कमेन्ट त झन् सामाजिक उपस्थितिको हाजिरी रजिस्टर नै भयो ।

हामीमध्ये धेरैलाई फेसबुकमा नदेखिनु भनेको समाजबाटै हराउनुजस्तो लाग्छ । तर मेरा यी साथी हराउनुभएको होइन । देशमा के भइरहेको छ, कसले कसलाई ढलायो, कसले कसको पोल खोल्यो, कसको भाषणमा कति विरोधाभास भेटियो र कसको पोस्टमा कति लाइक आयो, सबै खबर राख्नुहुन्छ । अरूका गतिविधि हेर्नुहुन्छ, घत लागेमा मुसुक्क हाँस्नुहुन्छ, यस्तो भएछ नि ! भनेर सुनाउनु पनि हुन्छ, तर औँलालाई प्रतिक्रियाको जिम्मेवारी दिनुहुन्न । उहाँको औँलाहरू फेसबुकमा उपस्थित भए पनि लोकतान्त्रिक अधिकार प्रयोग गर्नबाट स्वेच्छिक रूपमा अवकाश लिएर बसेका छन् ।

पाश्चात्य अनुसन्धानकर्ताहरूले यस्तो व्यवहारलाई ‘लर्किङ’ (प्रतिक्रिया नदिई नियाल्नु) भन्ने प्राविधिक नाम दिएका छन् । हाम्रो गाउँघरको भाषामा भन्दा यो डिजिटल भन्ज्याङको चौतारामा बसेर दुनियाँको रमिता हेर्नु हो । फरक यति हो, पहिले चौतारामा बसेर अरूका कुरा सुन्ने मानिसलाई गाउँलेले गफाडी भन्थे, अहिले त्यही काम गर्ने मानिसलाई डिजिटल पर्यवेक्षक भनिन्छ । नाम बदलियो, काम उही रह्यो ।
फेसबुक आफैँमा एउटा अनौठो हाटबजार बनेको छ । यहाँ कसैले बिहानको चियाको फोटो बेचिरहेको छ, कसैले दिउँसोको खानाको, कसैले साँझको घुमघामको र कसैले आफ्नो सफलताको । कतिपयले त सामान्य मुस्कानलाई पनि यस्तो गरी प्रस्तुत गर्छन्, मानौँ विश्वशान्तिको कुनै नयाँ सूत्र पत्ता लगाएका हुन् । कसैले दुःखको पोस्ट राख्छन्, कसैले खुसीको । कसैले विचारको व्यापार गर्छन्, कसैले भावनाको । सबैको अदृश्य पसलमा एउटै माग छ : ‘मलाई हेर, मलाई पढ, मलाई लाइक गर र सकेसम्म दुई शब्द कमेन्ट पनि गरिदेऊ ।’
यस्तो बजारमा मेरा साथी भने पसल नथापी बजार घुम्ने ग्राहकजस्ता हुनुहुन्छ । सामान हेर्नुहुन्छ, मूल्य बुझ्नुहुन्छ, अरूको कारोबार नियाल्नुहुन्छ, तर न किनमेल गर्नुहुन्छ, न उधारो माग्नुहुन्छ । उहाँलाई न आफ्नो सामानको विज्ञापन गर्नु छ, न अरूको पसलमा गएर ग्राहक बनेको प्रमाण दिनु छ । बरु, बजारको भीडमा आफ्नो खल्ती र औँला दुवै सुरक्षित राख्नु हुन्छ ।

यसलाई कतिपयले उदासीनता भन्लान्, कतिले सामाजिक दूरी । तर उहाँको व्यवहारलाई कुनै मनोवैज्ञानिक प्रमाणपत्र दिएर व्याख्या गर्नुभन्दा एउटा डिजिटल प्रवृत्तिका रूपमा हेर्नु उचित होला । आखिर सबै मानिस सामाजिक सञ्जालमा आफ्नो उपस्थिति प्रमाणित गर्नै जन्मिएका हुँदैनन् । कोही त्यहाँ बोल्न आउँछन्, कोही सुन्न, कोही देखिन र कोही अरूलाई देख्न ।

पूर्वीय दर्शनमा साक्षीभाव र अनासक्तिको ठूलो चर्चा छ । श्रीमद्भगवद्गीतामा प्रकृतिका गुणहरूको गतिविधि लाई साक्षीझैँ हेर्ने भाव प्रस्तुत गरिएको छ । योगदर्शनमा प्रत्याहारको चर्चा छ, जहाँ इन्द्रियहरूलाई विषयबाट फर्काउने अभ्यास गरिन्छ । तर यी साथीले फेसबुकमा लाइक नगर्नुलाई सिधै साक्षीभाव वा प्रत्याहारको सिद्धि भन्नु अलि हतार हुनेछ । यद्यपि, अरूको पोस्ट देख्नेबित्तिकै औँला चलाउनुपर्ने बाध्यताबाट आफूलाई रोक्न सक्नु पनि एउटा व्यावहारिक आत्मसंयम त हो नै । कम्तीमा उहाँको औँलाले फेसबुकको हरेक उत्तेजनामा तत्काल प्रतिक्रिया दिने बानी भने बसालेको छैन ।

अझ रोचक कुरा त बाह्र वर्षको तपस्यासम्बन्धी पूर्वीय योगपरम्पराको प्रसङ्ग हो । केही विशिष्ट योगपरम्परामा बाह्र वर्षको अखण्ड तपस्यालाई विशेष महत्त्व दिएको पाइन्छ । मेरा साथीको एघार वर्षे एउटै फोटोको तपस्या हेर्दा लाग्छ, अब एक वर्ष मात्रै बाँकी छ । त्यसपछि फेसबुकका एल्गोरिदम स्वयं प्रकट भएर उहाँलाई ‘डिजिटल ऋषिशिरोमणि’ को उपाधि प्रदान गर्नेछन् कि! जुकरबर्गले आफ्नै हातले सम्मानपत्र थमाउनेछन् र फेसबुकको इतिहासमा उहाँको नाम ‘प्रोफाइल स्थिरता पुरस्कार’ का लागि दर्ता हुनेछ । हुन त पुरस्कार पाउन पनि लाइक चाहिन्छ, तर उहाँलाई पुरस्कारको पोस्टमा समेत लाइक गर्नुपर्ने झन्झट नहोस् भन्ने चिन्ता होला ।
वास्तवमा, सामाजिक सञ्जालको यो कोलाहलमा सक्रियताको परिभाषा नै अलमलिएको छ । दिनमा पाँचवटा स्टाटस लेख्ने मानिस सामाजिक रूपमा बढी सक्रिय हो कि अरूका पाँच सय पोस्ट पढेर पनि कुनै प्रतिक्रिया नदिने मानिस ? आफ्नो हरेक गतिविधि सार्वजनिक गर्ने मानिस बढी सामाजिक हो कि निजी जीवनलाई निजी नै राख्ने मानिस ? लाइकको संख्या सम्बन्धको गहिराइ हो कि केवल औँलाको व्यस्तता ? यी प्रश्नको उत्तर एउटै हुँदैन ।

तर एउटा कुरा स्पष्ट छ : फेसबुकमा देखिनु र समाजमा हुनु एउटै कुरा होइन । प्रोफाइलमा सयौँ तस्बिर राख्दैमा जीवनका सबै रङ देखिँदैनन् । हजारौँ लाइक पाउँदैमा सम्बन्धहरू गहिरा हुँदैनन् । अनि कसैको पोस्टमा प्रतिक्रिया नदिँदैमा ऊ समाजप्रति उदासीन नै हुन्छ भन्ने पनि छैन ।

त्यसैले मेरा एघार वर्षे डिजिटल सन्यासी साथीलाई हेर्दा कहिलेकाहीँ लाग्छ, फेसबुकको सबैभन्दा ठूलो उपलब्धि मानिसलाई बोल्न सिकाउनु होइन, कहिलेकाहीँ नबोली बस्न दिनु पनि हो । अरूको पोस्टमा लाइक नगरेर कसैको चित्त दुख्ला कि भन्ने चिन्ता एकातिर छ, लाइक गरेर अर्को सामाजिक दायित्व थपिएला भन्ने डर अर्कातिर । यी दुईको बीचमा उहाँले रोज्नुभएको बाटो भनेको मौनता रहेछ । यो मौनता कस्तो खालको दर्शन हो, कति व्यावहारिक विवेक र कति लाइकको झन्झटबाट बच्ने उपाय, त्यो उहाँलाई नै थाहा होला ।
तर फेसबुकको यो भर्चुअल हाटबजारमा एउटा प्रश्न भने अझै अनुत्तरित छ : हामी अरूलाई देखाउनका लागि बाँचेका हौँ कि आफू बाँचेको कुरा अरूलाई देखाउनका लागि फेसबुक चलाइरहेका छौँ ?

जे होस्, कसैले हरेक बिहान नयाँ फोटो टाँगेर आफ्नो जवानीको नवीकरण गरिरहोस्, कसैले हरेक पोस्टमा लाइकको खेती गरिरहोस् र कसैले एघार वर्ष पुरानो फोटोमा डिजिटल समाधि लगाएर बसिरहोस् । फेसबुक सबैको साझा चौतारो हो । फरक यति हो, कसैले त्यहाँ भाषण गर्छन्, कसैले ताली बजाउँछन् र कसैले कुनामा बसेर सबैको तमासा हेर्छन् । मेरा साथीचाहिँ तेस्रो श्रेणीका स्थायी सदस्य हुनुहुन्छ ।

अब तपाईं आफैँ भन्नुहोस्, यो डिजिटल युगमा बढी बुद्धिमानी को हो? हरेक दश मिनेटमा फोटो फेरेर लाइकको प्रतीक्षामा बस्ने कि एघार वर्षदेखि एउटै फोटो टाँगेर लाइकको ऋणबाट मुक्त रहने ?

०००
(पूर्वीय दर्शनमा दर्शनाचार्य अध्ययनरत, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x