भीम गाैतमसीमान्तकृत मान्छे
सीमान्तकृत जस्तो भएर किन बोकूँ यो नागरिकता किन पो सम्झनु यो नागरिक ....? तसर्थ बन्दी जस्तै क्वारेन्टाइनको बन्द घेरामा सहारा विहिन बन्दै श्वास भुल्न लागेको आजको मान्छे ।

भीम गाैतम :
बन्दी जस्तै
क्वारेन्टाइनको बन्द घेरामा
सहारा विहीन बन्दै
श्वास भुल्न लागिरहेको
उपचार रासनपानी विहिन
सीमान्तकृत जस्तो
बन्न पुगेको मान्छे ।
घचेटाघचेट बीचको
रोग र जीवन
पल्लो बगरको किनारतिर
हुरीका झोक्का र
झरीको पिल्साईमा
अन्धकारमा विलीन
धीपधीपे दीप ।
अग्रगति बोल्ने
तर
प्रतिगमन गर्ने स्वाँठहरू
हिर्काइरहेछन्
प्रत्येक ढुकढुकीको
मध्य विन्दुमा
र त
यहाँ आँखाहरूमा
जहर भरिए
हृदय पत्थर बनिसकेछ ।
अप्रगतिशील भावना
तेजाव बन्न सहिरहेछ,
बगरको बालुवा
र
बादलको वेग बनेर ।
हजारौँ थप्पड सहेर
गजुर बनेको ढुङ्गोलाई
घृणाको, पीडाको बोधले
होइन
ऐश्वर्यले चुमेको हुन्छ
जहाँ,
शुभ प्रभातमै
पुष्प फूल अक्षता र
शान्तिको धून गुञ्जिँदै
परेवाहरू घुर्घुराएका हुन्छन्,
जसरी शैल गम्भीर छ
उच्च जाज्वल्यित विम्ब छ ।
अफसोच…!
सासलाई आशमा पालेर
सीमान्तकृत जस्तो भएर
किन बोकूँ यो नागरिकता
किन पो सम्झनु यो नागरिक ….?
तसर्थ
बन्दी जस्तै क्वारेन्टाइनको
बन्द घेरामा
सहारा विहिन बन्दै
श्वास भुल्न लागेको
आजको मान्छे ।
०००
२०७८/०१/२७ चितवन
प्रकाशाेन्मुख व्यङ्ग्य कवितासङ्ग्रहबाट
Subscribe
Login
0 Comments
Oldest







































