भीम गाैतमविनाशको विरुद्धमा
मृत्यु समाधि घाटसम्मको निश्चित अन्तिम अन्तरङ्ग साथी हुनु छ भने फाटेको मनलाई सिएको सान्त्वनाले परिवर्तन चाखेर किन रोप्नु पर्याे र सृष्टि ? अनि, किन हुर्काउनु पर्याे बेर्ना ?

भीम गौतम :
ढोंगीहरु
बगरको ढुङ्गालाई
सर्वश्व ठानेर
फूलको मुन्टो भाँच्दै
नतमस्तक निहुरिँदै
टापी मन्त्रले
थरथर हल्लिँदै
निधार घोट्छन्
आजका ढोंगी मान्छे ।
फुलेका फूल मास्दै
मानव वस्ती
बारुदको धुवाँले
प्रजातन्त्रको खिल्ली उडाउँदै
पापड र पानीको राहतमा
अखबारको अघिल्लो पन्नामा
हैकम जमाएर
हल्लिखल्ली मच्चाउँछन्
आजका ढौंगीहरु ।
फूल नै टिप्नु र
मानव बस्ती डढाउनु छ भने
किन चाहियो फूलमाली ?
अनि, किन गर्नु पर्यो
आमाहरुले गर्वको बखान र
भ्रूण संरक्षण,
योनी फुटाएर जन्मिएको सन्तानले
जब सृष्टि विध्वंश गर्न खोज्छ र
बारुद बोक्न उठ्छ भने
आमा, किन बगाउनु पर्यो रजस्वला ?
सुकाइदेऊ तिम्रा डिम्बहरु
अनि,
लगाइदेऊ तिम्रो पाठेघरमा तगारो ।
जीवनभरि
भयले कामेर
मृत्यु समाधि घाटसम्मको
निश्चित अन्तिम अन्तरङ्ग साथी
हुनु छ भने
फाटेको मनलाई सिएको सान्त्वनाले
परिवर्तन चाखेर
किन रोप्नु पर्याे र सृष्टि ?
अनि,
किन हुर्काउनु पर्याे बेर्ना ?
गहन यो वात्सल्य
अब बेढङ्गले हेपिन्छ भने
किन कल्पना गर्नु पर्यो छोरा ?
किन हुर्काउनु पर्यो छोरी ?
निर्लज्ज पासविक पुरुषमा पोखिएर
नारी केवल पौडने पोखरी मात्र बन्ने हो भने
अद्भुत जीवनको के मूल्य रह्यो र… ।
तसर्थ, आमा, नारी
ठोकिदेऊ ताल्चा
बन्द गरिदेऊ,
पुछिदेऊ, सुकाइदेउ
तिम्रा ती सन्तान बन्ने
मस्त यौवनका रसहरु ।
अब खोल्सा खोला नाला र
जङ्गलमा सर्वनाश भएर,
स्याल र सैतानहरुको सिकार नबन्न ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































