साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्य र व्यङ्ग्यबीच पारस्परिक निर्भरता र अन्तर्सम्बन्ध

व्यङ्ग्यको लक्ष्य जीवनका विसङ्गति-विकृति वा समाजका होची-अर्घेलीहरूमाथि छेड हान्दै तिनीहरूलाई हटाएर समाज सुधार्न उत्प्रेरित गराउनु हो । व्यङ्ग्यले समाजका असङ्गतिहरूलाई घोची घोची लेथ्नु काढेर दण्डित गर्छ ।

Nepal Telecom ad

डा.गंगाप्रसाद अधिकारी :

हास्य र व्यङ्ग्य अलग-अलग कुरा हुन् । स्वभाव, क्रियाकलाप, गुण आदि विविध दृष्टिले यी परस्पर भिन्न छन् तैपनि आधारभूत स्वरूप दुवैको एउटै वा उस्तै छ । स्त्री-पुरुष आधारभूत रूपमा मानव नै भए पनि एक-अर्काका परिपूरक भएझैँ सम्बन्ध छ- हास्य र व्यङ्ग्यको । कला-साहित्यका सन्दर्भमा यी दुवैको सह-अस्तित्वमा नै दुवैले पूणर्ता एवम् उत्कृष्टता प्राप्त गर्न सक्छन् । जहाँ हास्य छ त्यहाँ व्यङ्ग्य धारिलो भएर प्रस्तुत हुन सक्छ । जहाँ व्यङ्ग्य छ त्यहाँ हास्य पनि सार्थक र सोद्देश्य बन्न सक्छ । त्यसैले “ढुङ्गाको भर माटो माटाको भर ढुङ्गो” हो हास्य र व्यङ्ग्य । इन्द्रबहादुर राईको “व्यङ्ग्य टोक्ने हास्य हो, हाँस्दा देखिएको दाँतले टोक्नु पनि व्यङ्ग्य हो ।” (राई, १९७६ ई : १०८) भन्ने भनाइले यही पारस्परिक अन्तनिर्भरतातर्फ सङ्केत गर्छ ।

हास्य र व्यङ्ग्यको उत्पत्तिका कारण आ-आफ्नै छन् तापनि उत्पत्तिस्थल भने एउटै हो । हास्य जीवनको विकृति विसङ्गतिलाई देखेर सृजना हुन्छ भने त्यही विसङ्गति-विकृतिजनित असन्तोष, विद्रोह, विडम्वना आदिबाट व्यङ्ग्य सृजित हुन्छ । यसर्थ समालोचक कृष्णचन्द्र सिंह प्रधान सहोदर भएकैले हास्य भन्नासाथ व्यङ्ग्यलाई पनि बुझिएको हो (प्रधान, २०३५ : ३०) भन्दछन् ।

हास्यको प्राप्ति मनोरञ्जन अथवा तनावबाट मुक्ति हो । तनावमुक्त हुनु एक प्रकारको स्वस्थता हो । हास्यले भावक/ पाठकलाई हँसाएर मानसिक स्वस्थता दिन्छ भने व्यङ्ग्यले जीवनका विकृति विसङ्गतिलाई हटाउन उत्प्रेरित गरी समाजलाई स्वस्थता दिने चेष्टा गर्दछ । यसरी हास्य शारीरिक स्वस्थताका लागि हो भने व्यङ्ग्य सामाजिक स्वस्थताका लागि । यसर्थ दुवैको लक्ष्य स्वस्थता दिनु नै हो ।”

तीक्ष्ण बेधकता व्यङ्ग्यको आधारभूत गुण हो । हास्यको जलपले त्यसलाई अझ तिखो बनाई समाजका उखुण्डा र अडवाङ्गा परिस्थितिलाई छिमल्न सहयोग गर्छ भने व्यङ्ग्यले हास्यलाई बौद्धिकता दिएर सोद्देश्य एवम् परिष्कृत बनाई विशिष्ट तुल्याउँछ । एकार्काको अभावमा पनि यिनीहरूले आफ्नो लक्ष्यभेदन गर्न नसक्ने होइनन् तर पनि समालोचक वासुदेव त्रिपाठीले भनेझैं व्यङ्ग्यविनाको हास्यमा असङ्गतिको चित्रण र संशोधनको शक्ति रहँदैन भने हास्यविनाको व्यङ्ग्य आक्रमण ज्यादा बन्न गई साहित्य कम र अस्त्र ज्यादा हुने खतरा हुन सक्छ । हास्य विना व्यङ्ग्य बढी विषाक्त, कटु र आक्रामक हुने र हास्यबाट व्यङ्ग्य मधुर, आक्रमण रमाइलो र असङ्गति मीठो हुने (त्रिपाठी, २०३५ : ४०) हुनाले व्यङ्ग्यमा हास्य र हास्यमा व्यङ्ग्यको उपस्थिति आवश्यक जस्तै हुन्छ ।

हास्य र व्यङ्ग्य सहयात्री हुन्, एकार्काका परिपूरक पनि हुन् । तै पनि यी पृथक् कुरा हुन् । यिनको अलग-अलग अस्तित्व छ । यिनीहरूलाई बेग्ल्याउने विविध विशेषताहरू छन्, तिनलाई छिन्केर हेर्दा नै यी दुईबीचको फरक थाहा पाउन सकिन्छ ।

हास्य भावतत्त्वप्रधान कुरा हो । हास्य मनको ‘हास’ स्थायीभावबाट सृजिन्छ । ‘हास’ ब्युँझदा नै हामी हाँस्छौं । त्यसैले यो भावतत्त्वप्रधान हुन्छ । व्यङ्ग्य गम्भीर र बौद्धिक हुन्छ । प्रथमतः विकृति देखेर मानिस हाँस्तछ, त्यसपछि मात्र ऊ गम्भीर भएर त्यसबारे सोच्न थाल्दछ । त्यही सोचाइ वा चिन्तनबाट व्यङ्ग्यबोध गर्दछ । सोचाइ वा चिन्तन बौद्धिक क्रिया हो । कुनै मानिस लडेको देख्दा हामी पहिले हाँस्छौं, अनि मात्र गम्भीर भएर घटनाबारे सोच्छौं, सहानुभूति दिन्छौं वा अवस्थाअनुसार प्रतिक्रिया दिन्छौं । हाँस्नु भावुकता हो, सोच्नु गम्भीरता एवम् बौद्धिकता हो । त्यसैले हास्यमा भावना र व्यङ्ग्यमा बुद्धितत्त्व रहन्छ ।

हास्यको उद्देश्य समाजका विकृति-विसङ्गतिको प्रदर्शनद्वारा मानव मनलाई कुत्कुत्याएर हँसाई मनोरञ्जन दिनु हो । हास्यमा समाजका होची-अर्धेली कहाँ-कहाँ छन् तिनीहरूलाई खोजी-खोजी उपहास्य बनाएर हाँसोमा उडाइन्छ । यसले जीवनका विकृति विसङ्गतिको वणर्न गरेर समाजसामू राखिदिन्छ । यस प्रकार हास्यले जीवनका विकृत पक्षहरूलाई देखाएर हँसाउँछ र त्यस हँसाइका माध्यमबाट मानसिक सन्तुष्टि र स्वस्थता दिन्छ । हास्यले मनः समञ्जनका माध्यमबाट मानसिक स्वस्थता दिन्छ । व्यङ्ग्यको लक्ष्य जीवनका विसङ्गति-विकृति वा समाजका होची-अर्घेलीहरूमाथि छेड हान्दै तिनीहरूलाई हटाएर समाज सुधार्न उत्प्रेरित गराउनु हो । व्यङ्ग्यले समाजका असङ्गतिहरूलाई घोची घोची लेथ्नु काढेर दण्डित गर्छ । यसले त्यस्ता होची-अर्घेलीहरूको भर्त्सना गरेर छास्छ, छिमल्छ र निर्मूल पार्ने प्रयास गर्छ । यसका साथै त्यसका कारक तत्त्वहरूलाई सिस्नुपानी लगाएर दण्डित गर्नु पनि व्यङ्ग्यको धर्म हो । यस प्रकार व्यङ्ग्यले जीवनका विसङ्गतिहरूमाथि तीव्र प्रहार गर्दै त्यस्ता विसङ्गति हटाउन समाजलाई निर्देशित गर्छ र समाजलाई स्वस्थ बनाउने चेष्टा गर्छ । त्यसैले हास्यको लक्ष्य मानसिक स्वस्थता हो भने व्यङ्ग्यको लक्ष्य सामाजिक स्वस्थता हो ।

हास्य मूलतः रागात्मक हुन्छ । हर्षविभोर भएको अवस्थामा हामी हाँस्छौं । आलम्बनलाई देखेर मन हर्षित हुँदा प्रफुल्ल हुँदा वा कुत्कुनिँदा नै हाँसो उठ्छ । रागात्मक भएकाले नै हास्य निर्मल चरित्रको हुन्छ । हास्य आलम्बनप्रति सहानुभूतिशील पनि हुन्छ । कुनै विकृत पक्षलाई देख्ने बित्तिकै हाँसो फुत्किइहाल्छ । यसैले यो स्थूल र सतही पनि हुन्छ । यसका लागि कुनै बौद्धिकता आवश्यक हुँदैन । अनायासै फुत्किइहाल्ने हुनाले यो सतही पनि हुन्छ । जब हाँसो रागात्मकताको सीमा पार गरेर द्वेषात्मकता वा विद्रोह, विरोध आदि कठोर भावबाट निर्देशित हुन थाल्छ तब व्यङ्ग्यको पारो चढ्न थाल्छ । यसरी विसङ्गति-विकृतिजन्य विद्वेष, घृणा, विद्रोह आदि जस्ता कठोर भावबाट सृजना हुने हुनाले यसको स्वभाव कठोर, आक्रामक र निर्मम हुन्छ । यस प्रकार हास्यको मूल चरित्र कोमलता हो भने व्यङ्ग्यको कठोरता ।

हास्य र व्यङ्ग्यका बीच सामीप्य एवम् दूरताका थुप्रै बुँदाहरू अझै धेरै पाउन सकिन्छ । यिनीहरूका उद्देश्य अलग छन्, उपादान अलग छन् र लक्षण अलग छन्, त्यसैले यी भिन्न छन् । भिन्न भएर पनि परस्पर सहयोगी र एकार्काका पूरक छन् त्यसैले सँगै पनि छन् । यस कारण यिनीहरू अलग-अलग अस्तित्व भएका सहचर हुन् ।

०००
भद्रपुर, झापा
‘अन्वेषण र विश्लेषण’ (२०६९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
एडिक्ट

एडिक्ट

डा. गंगाप्रसाद अधिकारी
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

डा. गंगाप्रसाद अधिकारी
तेइ तेइ

तेइ तेइ

डा. गंगाप्रसाद अधिकारी
आदान–प्रदान

आदान–प्रदान

डा. गंगाप्रसाद अधिकारी
स्वर्गमा सुरक्षालय

स्वर्गमा सुरक्षालय

माधव पोखरेल गोज्याङ्ग्रे
जागरणको घण्टी

जागरणको घण्टी

लक्ष्मी रिजाल
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x