सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हास्य र व्यङ्ग्यबीच पारस्परिक निर्भरता र अन्तर्सम्बन्ध

व्यङ्ग्यको लक्ष्य जीवनका विसङ्गति-विकृति वा समाजका होची-अर्घेलीहरूमाथि छेड हान्दै तिनीहरूलाई हटाएर समाज सुधार्न उत्प्रेरित गराउनु हो । व्यङ्ग्यले समाजका असङ्गतिहरूलाई घोची घोची लेथ्नु काढेर दण्डित गर्छ ।

Nepal Telecom ad

डा.गंगाप्रसाद अधिकारी :

हास्य र व्यङ्ग्य अलग-अलग कुरा हुन् । स्वभाव, क्रियाकलाप, गुण आदि विविध दृष्टिले यी परस्पर भिन्न छन् तैपनि आधारभूत स्वरूप दुवैको एउटै वा उस्तै छ । स्त्री-पुरुष आधारभूत रूपमा मानव नै भए पनि एक-अर्काका परिपूरक भएझैँ सम्बन्ध छ- हास्य र व्यङ्ग्यको । कला-साहित्यका सन्दर्भमा यी दुवैको सह-अस्तित्वमा नै दुवैले पूणर्ता एवम् उत्कृष्टता प्राप्त गर्न सक्छन् । जहाँ हास्य छ त्यहाँ व्यङ्ग्य धारिलो भएर प्रस्तुत हुन सक्छ । जहाँ व्यङ्ग्य छ त्यहाँ हास्य पनि सार्थक र सोद्देश्य बन्न सक्छ । त्यसैले “ढुङ्गाको भर माटो माटाको भर ढुङ्गो” हो हास्य र व्यङ्ग्य । इन्द्रबहादुर राईको “व्यङ्ग्य टोक्ने हास्य हो, हाँस्दा देखिएको दाँतले टोक्नु पनि व्यङ्ग्य हो ।” (राई, १९७६ ई : १०८) भन्ने भनाइले यही पारस्परिक अन्तनिर्भरतातर्फ सङ्केत गर्छ ।

हास्य र व्यङ्ग्यको उत्पत्तिका कारण आ-आफ्नै छन् तापनि उत्पत्तिस्थल भने एउटै हो । हास्य जीवनको विकृति विसङ्गतिलाई देखेर सृजना हुन्छ भने त्यही विसङ्गति-विकृतिजनित असन्तोष, विद्रोह, विडम्वना आदिबाट व्यङ्ग्य सृजित हुन्छ । यसर्थ समालोचक कृष्णचन्द्र सिंह प्रधान सहोदर भएकैले हास्य भन्नासाथ व्यङ्ग्यलाई पनि बुझिएको हो (प्रधान, २०३५ : ३०) भन्दछन् ।

हास्यको प्राप्ति मनोरञ्जन अथवा तनावबाट मुक्ति हो । तनावमुक्त हुनु एक प्रकारको स्वस्थता हो । हास्यले भावक/ पाठकलाई हँसाएर मानसिक स्वस्थता दिन्छ भने व्यङ्ग्यले जीवनका विकृति विसङ्गतिलाई हटाउन उत्प्रेरित गरी समाजलाई स्वस्थता दिने चेष्टा गर्दछ । यसरी हास्य शारीरिक स्वस्थताका लागि हो भने व्यङ्ग्य सामाजिक स्वस्थताका लागि । यसर्थ दुवैको लक्ष्य स्वस्थता दिनु नै हो ।”

तीक्ष्ण बेधकता व्यङ्ग्यको आधारभूत गुण हो । हास्यको जलपले त्यसलाई अझ तिखो बनाई समाजका उखुण्डा र अडवाङ्गा परिस्थितिलाई छिमल्न सहयोग गर्छ भने व्यङ्ग्यले हास्यलाई बौद्धिकता दिएर सोद्देश्य एवम् परिष्कृत बनाई विशिष्ट तुल्याउँछ । एकार्काको अभावमा पनि यिनीहरूले आफ्नो लक्ष्यभेदन गर्न नसक्ने होइनन् तर पनि समालोचक वासुदेव त्रिपाठीले भनेझैं व्यङ्ग्यविनाको हास्यमा असङ्गतिको चित्रण र संशोधनको शक्ति रहँदैन भने हास्यविनाको व्यङ्ग्य आक्रमण ज्यादा बन्न गई साहित्य कम र अस्त्र ज्यादा हुने खतरा हुन सक्छ । हास्य विना व्यङ्ग्य बढी विषाक्त, कटु र आक्रामक हुने र हास्यबाट व्यङ्ग्य मधुर, आक्रमण रमाइलो र असङ्गति मीठो हुने (त्रिपाठी, २०३५ : ४०) हुनाले व्यङ्ग्यमा हास्य र हास्यमा व्यङ्ग्यको उपस्थिति आवश्यक जस्तै हुन्छ ।

हास्य र व्यङ्ग्य सहयात्री हुन्, एकार्काका परिपूरक पनि हुन् । तै पनि यी पृथक् कुरा हुन् । यिनको अलग-अलग अस्तित्व छ । यिनीहरूलाई बेग्ल्याउने विविध विशेषताहरू छन्, तिनलाई छिन्केर हेर्दा नै यी दुईबीचको फरक थाहा पाउन सकिन्छ ।

हास्य भावतत्त्वप्रधान कुरा हो । हास्य मनको ‘हास’ स्थायीभावबाट सृजिन्छ । ‘हास’ ब्युँझदा नै हामी हाँस्छौं । त्यसैले यो भावतत्त्वप्रधान हुन्छ । व्यङ्ग्य गम्भीर र बौद्धिक हुन्छ । प्रथमतः विकृति देखेर मानिस हाँस्तछ, त्यसपछि मात्र ऊ गम्भीर भएर त्यसबारे सोच्न थाल्दछ । त्यही सोचाइ वा चिन्तनबाट व्यङ्ग्यबोध गर्दछ । सोचाइ वा चिन्तन बौद्धिक क्रिया हो । कुनै मानिस लडेको देख्दा हामी पहिले हाँस्छौं, अनि मात्र गम्भीर भएर घटनाबारे सोच्छौं, सहानुभूति दिन्छौं वा अवस्थाअनुसार प्रतिक्रिया दिन्छौं । हाँस्नु भावुकता हो, सोच्नु गम्भीरता एवम् बौद्धिकता हो । त्यसैले हास्यमा भावना र व्यङ्ग्यमा बुद्धितत्त्व रहन्छ ।

हास्यको उद्देश्य समाजका विकृति-विसङ्गतिको प्रदर्शनद्वारा मानव मनलाई कुत्कुत्याएर हँसाई मनोरञ्जन दिनु हो । हास्यमा समाजका होची-अर्धेली कहाँ-कहाँ छन् तिनीहरूलाई खोजी-खोजी उपहास्य बनाएर हाँसोमा उडाइन्छ । यसले जीवनका विकृति विसङ्गतिको वणर्न गरेर समाजसामू राखिदिन्छ । यस प्रकार हास्यले जीवनका विकृत पक्षहरूलाई देखाएर हँसाउँछ र त्यस हँसाइका माध्यमबाट मानसिक सन्तुष्टि र स्वस्थता दिन्छ । हास्यले मनः समञ्जनका माध्यमबाट मानसिक स्वस्थता दिन्छ । व्यङ्ग्यको लक्ष्य जीवनका विसङ्गति-विकृति वा समाजका होची-अर्घेलीहरूमाथि छेड हान्दै तिनीहरूलाई हटाएर समाज सुधार्न उत्प्रेरित गराउनु हो । व्यङ्ग्यले समाजका असङ्गतिहरूलाई घोची घोची लेथ्नु काढेर दण्डित गर्छ । यसले त्यस्ता होची-अर्घेलीहरूको भर्त्सना गरेर छास्छ, छिमल्छ र निर्मूल पार्ने प्रयास गर्छ । यसका साथै त्यसका कारक तत्त्वहरूलाई सिस्नुपानी लगाएर दण्डित गर्नु पनि व्यङ्ग्यको धर्म हो । यस प्रकार व्यङ्ग्यले जीवनका विसङ्गतिहरूमाथि तीव्र प्रहार गर्दै त्यस्ता विसङ्गति हटाउन समाजलाई निर्देशित गर्छ र समाजलाई स्वस्थ बनाउने चेष्टा गर्छ । त्यसैले हास्यको लक्ष्य मानसिक स्वस्थता हो भने व्यङ्ग्यको लक्ष्य सामाजिक स्वस्थता हो ।

हास्य मूलतः रागात्मक हुन्छ । हर्षविभोर भएको अवस्थामा हामी हाँस्छौं । आलम्बनलाई देखेर मन हर्षित हुँदा प्रफुल्ल हुँदा वा कुत्कुनिँदा नै हाँसो उठ्छ । रागात्मक भएकाले नै हास्य निर्मल चरित्रको हुन्छ । हास्य आलम्बनप्रति सहानुभूतिशील पनि हुन्छ । कुनै विकृत पक्षलाई देख्ने बित्तिकै हाँसो फुत्किइहाल्छ । यसैले यो स्थूल र सतही पनि हुन्छ । यसका लागि कुनै बौद्धिकता आवश्यक हुँदैन । अनायासै फुत्किइहाल्ने हुनाले यो सतही पनि हुन्छ । जब हाँसो रागात्मकताको सीमा पार गरेर द्वेषात्मकता वा विद्रोह, विरोध आदि कठोर भावबाट निर्देशित हुन थाल्छ तब व्यङ्ग्यको पारो चढ्न थाल्छ । यसरी विसङ्गति-विकृतिजन्य विद्वेष, घृणा, विद्रोह आदि जस्ता कठोर भावबाट सृजना हुने हुनाले यसको स्वभाव कठोर, आक्रामक र निर्मम हुन्छ । यस प्रकार हास्यको मूल चरित्र कोमलता हो भने व्यङ्ग्यको कठोरता ।

हास्य र व्यङ्ग्यका बीच सामीप्य एवम् दूरताका थुप्रै बुँदाहरू अझै धेरै पाउन सकिन्छ । यिनीहरूका उद्देश्य अलग छन्, उपादान अलग छन् र लक्षण अलग छन्, त्यसैले यी भिन्न छन् । भिन्न भएर पनि परस्पर सहयोगी र एकार्काका पूरक छन् त्यसैले सँगै पनि छन् । यस कारण यिनीहरू अलग-अलग अस्तित्व भएका सहचर हुन् ।

०००
भद्रपुर, झापा
‘अन्वेषण र विश्लेषण’ (२०६९)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
मेरो यात्रा : धुलाबारीदेखि मुलाबारीसम्म

मेरो यात्रा : धुलाबारीदेखि...

डा. गंगाप्रसाद अधिकारी
ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिक

डा. गंगाप्रसाद अधिकारी
पुराण लगाऊ ओ सरकार !

पुराण लगाऊ ओ सरकार...

डा. गंगाप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा