सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ज्येष्ठ नागरिक

हुर्केर गएपछि न बच्चाले आमाबाबु चिन्छ न आमाबाबुले बच्चा ! हाम्रो पनि नियति त्यही हो । सन्तानले सम्झेर हेर्‍यो भने हेर्‍यो, नहेरे पनि मेरो कर्म वा नियति नै यस्तै रहेछ भनेर चित्त बुझाउनु अबका ज्येष्ठहरूको नियति हो ।

Nepal Telecom ad

हाम्रोमा ‘असी पुगेर बसीखाने’ भन्ने भनाइ छ । त्यसो त समाजमा नियतिले ठगेर जन्मेदेखि नै बाँचुन्जेल ‘बसी खान’ बाध्य हुने अभागीहरू पनि थुप्रै छन् र पुगीसरी आएर सधैं ‘बसी खान’ पाउने भाग्यमानी पनि थुप्रै छन् । तर यो प्रसङ्ग भने ती अभागी वा भाग्यमानीको नभएर लामो जीवन भोगेर व्यावहारिक जीवनबाट फुर्सद लिने उमेरका बुज्रुकहरू बारेको हो ।

हाम्रा पौराणिक ग्रन्थहरूले मानिसलाई शतायु मानेर सय बर्से जीवनलाई चार भाग लगाएका छन् – चार आश्रमका रूपमा । यो उमेरलाई बराबरी भाग लगाएर पहिलो पच्चिस वर्ष ब्रह्मचर्याश्रम, दोस्रो गृहस्थाश्रम, तेस्रो वानप्रस्थाश्रम र चौथोलाई तुरीय अवस्था भनेर सन्यासाश्रमका रूपमा लिएको पाइन्छ । यस अनुसार ब्रह्मचर्याश्रमलाई मुख्यतः पढ्ने र जीवनोपयोगी शिक्षा र सिप हासिल गर्ने, दोस्रोलाई त्यस शिक्षा र सिपको प्रयोग गर्दै जीवन र समाजोपयोगी व्यवहार गर्ने, सन्तानोत्पादन गर्ने आदिका रूपमा, तेस्रोलाई व्यावहारिक वा गृहस्थ जीवनबाट विश्रान्ति लिँदै व्यावहारिक जीवनसमेतबाट प्राप्त शिक्षा र अनुभवप्राप्त ज्ञानलाई बाँड्ने, उपदेश गर्ने, आफ्ना सन्ततिलाई दिशानिर्देश गर्ने अवस्थाका रूपमा र पछिल्लोलाई सबै कुराबाट विरत भई सन्यासीका रूपमा आफ्नो परत्र साधना गर्ने उमेरका रूपमा लिएको देखिन्छ । ज्येष्ठ नागरिकको सन्दर्भलाई पौराणिक सन्दर्भसँग जोडेर हेर्दा पौराणिक परम्पराले यसै तुरीय अवस्था अर्थात् ७५ वर्षपछिको उमेरलाई नै ज्येष्ठ नागरिक मानेको देखिन्छ ।

ज्येष्ठ भनेको सबैभन्दा जेठो हो । सबैभन्दा उमेरले पाको व्यक्ति नै ज्येष्ठ कहलाउँछ । जेठा हजुर्बा, जेठा बा, जेठी बजै, जेठी आमा, जेठो छोरो, जेठो नाति, जेठी नातिनी आदि आदि यी मानिसका जन्मसिद्ध उपाधि हुन् । कान्छाबाको जेठो छोरो कान्छाबा भन्दा कान्छो भए पनि जेठो नै भनिन्छ । यो कुरा जन्मसिद्ध उपाधिको हो । परिवारमा जो पहिलो सन्तानका रूपमा जन्म्यो त्यही जेठो हुन्छ । त्यसैले कान्छाबाको पहिलो सन्तान जेठो छोरो वा छोरी हुन्छ । ज्येष्ठ नागरिकको सन्दर्भ भने त्यो होइन । यो सन्दर्भ जन्मसिद्ध ज्येष्ठताको होइन उमेर र अनुभवको ज्येष्ठताको हो । परिवारका कान्छा बा सबैभन्दा जेठा छन् भने उनी त्यस परिवारका ज्येष्ठ हुन् । ज्येष्ठ नागरिकको सन्दर्भ यही हो ।

नेपालमा ‘ज्येष्ठ नागरिक’ भन्ने पदावलीको प्रयोग त कहिलेदेखि हुँदै आयो त्यो भन्न सकिन्न तर बढी प्रचलनमा आएको र लोकप्रिय भएको भने नेकपा एमालेको पहिलो सरकारका पालाबाट नै हो । मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारको पहिलो बजेटले ‘ज्येष्ठ नागरिक भत्ता’ को व्यवस्था गरेपछि यस पदावलीले बढी प्रयोगको अवसर पाएको हो । यसअघि कसैको आँखा नपरेको ज्येष्ठ नागरिकप्रति बोक्रे सहानुभूति देखाएर भत्तावृद्धि र अरू पनि नयाँ नयाँ सुविधा दिए जस्तो गरी राजनीतिक स्वार्थ सिद्ध गर्ने पार्टीहरूको होड नै चल्यो र चल्दै आएको छ । त्यसैको फलस्वरूप अहिले ज्येष्ठ नागरिकको भत्ता १०० बाट बढ्दै गई २००० सम्म पुगेको छ भने यातायातका साधनहरूमा पनि ज्येष्ठ नागरिकका लागि आरक्षित सिटको पनि व्यवस्था गरिएको भेटिन्छ – ज्येष्ठ नागरिक चाहिँ भीडमा च्यापिएर उभिएका र उनीहरूका आरक्षित सिटमा कनिष्ठहरू ढसमस्स विराजमान भएका दृश्य जताततै देखिए पनि ।

ज्येष्ठ नागरिक मुलुक र समाजका लागि मार्गदर्शक हुन् । उनीहरूका सुदीर्घ जीवनले आफैं भोगेर अनुभव गरेर आर्जन गरेको जीवनोपयोगी ज्ञान मुलुक र समाजका लागि अत्यन्त मूल्यवान् हुन्छ । त्यसै पनि यो अनुभवी पुस्ताले समाज र मुलुकका लागि जीवनभर कुनै न कुनै रूपमा आफ्नो तर्फबाट केही न केही योगदान गरेकै हुन्छ भने समाजले उनीहरू व्यवहारबाट मुक्त भएपछि पनि धेरै कुरा सिक्न र लिन सक्छ अनि त्यसको मुलुक र समाजको हित तथा समृद्धिमा उपयोग गर्न सक्छ । यसर्थ समाज र राज्यले यस्तो पुस्ताको सम्मान र संरक्षणका विविध उपाय पनि अपनाएको हुन्छ । यसै क्रममा समृद्ध मुलुकमा यस्ता पुस्ताका लागि राम्रैसँग जीविका हुने गरी निवृत्तिभरणको व्यवस्था गरेको देखिन्छ – सुनिन्छ । नेपालमा पनि नाम मात्रकै भए पनि वृद्धभत्ताको व्यवस्था गरिनु स्वागतयोग्य छ । यस्तो पाको र अनुभवी पुस्ताको अमूल्य योगदानको कदर गर्नु र उनीहरूको वृत्तिको उचित प्रबन्ध गर्नु पछिल्लो पुस्ता, समाज र राज्य सबैको कर्तव्य हो ।

शरीरका सबै अङ्गहरू कमजोर भएर अशक्त बन्दै जाने हुँदा यस अवस्थामा ज्येष्ठहरू पराश्रयी बन्न बाध्य भएका हुन्छन् । त्यसैले उनीहरूलाई यस अवस्थामा सबैभन्दा धेरै सहयोग र मायाको खाँचो पर्दछ र आफूमाथि उपकार गर्ने यस्ता व्यक्तिहरूलाई गुनको बदला तिर्ने समय पनि यही हो । चाहे राज्यले होस्, चाहे समाज अथवा परिवार सबैको ध्यान उनीहरूतिर जानुपर्ने अवस्था यही हो । ज्येष्ठ नागरिकका नाउँमा सभा समारोहमा एक दिन कुर्सीमा विराजमान गराएर प्रशंसाका फुर्का जोडेर भन्दा उनीहरूका समस्या र पीडा बुझेर त्यसमा मलमपट्टी लगाउँदा मात्र उनीहरूको मन खुसी हुन्छ र त्यो खुसी नै वास्तविक अर्थमा ज्येष्ठ नागरिकप्रतिको सम्मान हो ।

मानिस दुःखी वा सुखी के हो भन्ने कुराको निक्र्योल हुने अवस्था पनि यही हो । जीवनभर दुःख गर्नु परे पनि वृद्ध वा यस्तो आतुर अवस्थामा सुखी हुनु नै वास्तविक सुख हो । शरीरमा तागत हुँदा हात खुट्टा तन्दुरुस्त हुँदा भोगेको दुःख वा सुख केही होइन । जति दुःख भोग्नु परे पनि जति अभाव खेप्नु परे पनि शारीरिक रूपमा सक्षम हुँदा त्यसलाई खप्न र आफैं सामना गर्न सकिन्छ तर शरीर अशक्त भएर पराश्रयी बन्नुपर्दाको पीडा सबैभन्दा दुःखदायी हुन्छ । त्यसैले राज्य, समुदाय र परिवारले ज्येष्ठहरूले जीवनभर दिएको योगदानको गुन तिर्ने बेला यही हो ।

यो उमेर र अवस्थाका धेरै ज्येष्ठहरूले कतै आफ्नै सन्तानबाट उपेक्षित, तिरस्कृत र बहिष्कृत हुनुपरेका थुप्रै घटनाहरू देखिएका छन्, सुनिएका छन् । एउटा कुपुत्रले ललितपुरको महालक्ष्मी स्थानमा आफ्नी वृद्ध आमालाई बाइकमा ल्याएर मेरो एकछिन काम छ, पर्खँदै गर्नु है भनेर अलपत्र छोडेर भाग्यो । गाउँबाट आएकी सहरको आँतभेउ केही नपाएकी अशक्त वृद्धाको के हालत भयो होला ? त्यस्तै अर्को कुलाङ्गारले आमालाई घरबाट निकालिदियो । धन्य भाइचाहिँले आमाको बिजोक भएको मिडियाबाट थाहा पाएर उद्धार गरेको खबर भर्खरैको हो । अर्को एउटाले अशक्त र रोगी आमालाई कोठाभित्र मत्रमूत्रमा डुबाएर थुनेर राख्यो । धन्य अर्को छोरो सुपुत्र भएकाले आमाको उद्धार गरेर भएको जागिर पनि छोडेर आमाको स्याहार गर्‍यो । यो घटना त मैले पनि आँखैले देखेको हो । अझ वृद्धाश्रमतिर गएर हेर्ने हो भने सबै जसो वृद्धहरू सन्तानको उपेक्षाकै कारण वृद्धाश्रममा आएर बस्नुपरेको बताउँछन् ।

प्रायः छोराहरू/पुरुषहरू बाबुआमाको स्याहार सुसार गर्न नभ्याउने, नसक्ने वा नगर्ने अनि बुहारीहरू/महिलाहरूमा अर्काका बाबुआमाको स्याहार गर्न मन नलाग्ने वा घिन लाग्ने जस्ता कारणले समाजमा ज्येष्ठहरूले यस्तो उपेक्षापूणर् व्यवहार भोग्नुपरेको देखिन्छ । भोलि म पनि यही अवस्थामा पुग्छु भन्नेतर्फ तिनको ध्यान गएकै हुँदैन । तर समाजमा कोही बुहारीहरू यस्ता पनि देखिन्छन् जसले सासूससुराको सेवामा गरेको त्याग देख्दा भित्रैदेखि श्रद्धा जागेर आउँछ । झापाका साहित्यकारद्वय केशवराज खनाल र विनोद खनालकी आमा खुट्टो भाँचिएर थला पर्नुभयो । विनोद खनालकी श्रीमती (नाम थाहा भएन) ले आफ्नो छँदाखाँदाको जागिर छोडेर दुईचार वर्ष ओछ्यान परेकी सासुको सेवा गर्नुभयो । काठमाडौंको कोटेश्वरमा बस्ने मेरा परिचित एक थोक व्यापारीकी आमा अल्जाइमरग्रस्त हुनुहुन्छ । आमैले छोरा बुहारीलाई गाली गरेको, सताएको, जथाभावी फोहोर मैला गरेको देख्दा उनीहरूले कसरी धानेका होलान् जस्तो लाग्छ । बुहारी धनु भण्डारी बस्नेतले पनि खाइरहेको राम्रै जागिर छोडेर ती सबै कुराको व्यवस्थापन गरेको, सासूको सेवामै आफूलाई समर्पित गरेको देख्दा अचम्मै लाग्छ ।

गाइबस्तु बुढो भयो भने भिर खोज्छ, मान्छे बुढो भएपछि निहुँ खोज्छ रे ! वृद्ध अवस्था भएपछि मान्छे फेरि केटाकेटी हुन्छ भन्छन् । कसै कसैलाई हेर्दा यो साँच्चै हो जस्तो पनि लाग्छ । वृद्ध अवस्थामा लाग्ने अल्जाइमर जस्ता रोगका कारण कतिपयमा यस्तो हुन्छ पनि तर कतिपय भने बुढ्याइँका बिच पनि आफू सक्रिय भएर मुलुक, समाज र परिवारलाई योगदान पुर्‍याइरहेका हुन्छन् । हाम्रा राष्ट्र कवि एक शताब्दी उमेर बित्न लाग्दा पनि उस्तै गरी क्रियाशील हुुनुहुन्छ । प्रायः गरी वृद्ध अवस्थाका मानिसमा हुने विभिन्न प्रकारका रोग, अशक्तता, गनगने प्रवृत्ति, अरूले गरेको कुरामा अनावश्यक टिप्पणी गरिरहने बानी आदि कारणबाट पनि कतिपय सन्तानले बाबुआमालाई तिरस्कार गर्ने गरेको देखिन्छ । जे होस् सन्तान कोही कोही कुलाङ्गार कुपुत्र हुन्छन् तर अधिकांशले आफ्ना वृद्ध मातापितालाई अशक्त अवस्थामा कन्तबिजोक पार्न चाहँदैन तर पनि व्यावहारिक कठिनाइले गर्दा कतिपयका लागि वृद्ध बाबु आमा बोझ बनिरहेको अवस्था पनि देखिन्छ ।

ज्येष्ठ नागरिकहरूलाई पर्ने गरेको अर्को मर्काको कारण वैदेशिक रोजगारी पनि भएको देखिन्छ । छोरो विदेशमा छ, बुहारी छोराछोरी पढाउने निहुँ पारेर सहर भासिइहाली । अनि त बुढेसकालमा दुई बुढाबुढी मात्रै † कतै बा आमैलाई हतेर्दै चर्पी लैजाँदै देखिन्छन् त कतै आमै थला परेका बाको स्याहारमा जुटिरहेकी हु्िन्छन् । म एक पटक एक जना रिटायर्ड ओभरसियरको घरमा कामविशेषले गएको थिए्ँ । बिचरा बुढा घरमा एक्लै रहेछन् । केही वर्ष अघिसम्म छोरा-बुहारी, नाति-नातिनाले गुल्जार हुने ओभरसियर साबको घर अहिले भुतबङ्गला भएछ । आमै आमा हो कि बा लडेर अस्पतालमा छन् रे भनेर उतै गएकी १५/२२ दिन भैसकेछ, अझै कति पर्खनुपर्ने हो पत्तै थिएन । यता ओभरसियर बाबैको कन्तबिजोक † तेत्रो बङ्गलामा उनी मात्र एक्लै ! कसले पानी तताइदिने, कसले भातभान्सा बनाइदिने ! आफैं अशक्त भएका ओभरसियर साबको बिल्लीबाठै देखियो ।

अबको पिँढीले बुढेसकालमा भोग्नुपर्ने नियति यही नै हो । वर्तमानको प्रौढ पुस्ताका प्रायः सबैले बुढेसकाल हुँदा यही नियति भोग्नुपर्ने स्थिति छ । छोराछोरी कुन मुलुक पुगेका हुन्छन् बुढाबुढी मात्र घरमा । म बसेको नगर भद्रपुरमा मैले मेरै वरिपरि कति घरहरू यस्तै वृद्धवृद्धाको जोडीले त कतै एक्लैले रुँगिरहेको देखेको छु । डा. हृषीकेश उपाध्यायको घर लगभग रित्तियो । बाबै आमै दुबै परलोक भए, छोरा बुहारी फर्केर आउने स्थिति छैन । बेच्न खोज्दा पनि बिक्तैन । छोराहरूले एउटा उता पारितिरको भैया ल्याएर घर रुँगिदिन राखेको रे, भैयाले अरू पनि थुप्रै भैया र मैयाहरू उतैबाट ल्याएर घर परिसरमा सानो सानो हाटै बनाइसकेछ । गैरनागरिकको बिगबिगी बढाउने माध्यम पो बनेछ डा. साबको घर त ! राधिका दिदीको घर पनि तालै लाग्यो, अरू पनि घरहरू रित्तिने क्रम तीव्र हुँदैछ भद्रपुरमा ।

काम सर्‍यो भाँडो आफल तेरो ठाँडो भन्छन् । अचेल वृद्धवृद्धाहरू त्यस्तै ‘ठाँडो’ भएका छन्, हाम्रो पिँढी पनि त्यही नियतिका नजिक पुग्दैछ । आजको युवा पिँढी पर्सि त्यहीँ पुग्छ । यो समस्या अब व्यक्ति वा परिवारको मात्र नरहेर समाज, प्रान्त र राष्ट्रकै समस्या बन्दैछ । हिजो पो मान्छे कृषिकर्ममै व्यस्त रहन्थे, घरमै बसेर वृद्ध बाबुआमालाई श्रद्धाले, मायाले, कर्तव्यबोधले अथवा लोकलाजको भयले करैले पनि हेरचाह गर्दथे । आज त अधिकांश सन्तान जागिरमा छ, विदेशमा छ अथवा सुविधायुक्त ठाउँमा बसेर कमाउने ध्याउन्नामा, सुन्दर भविष्यको खोजीमा, सन्तानको भविष्य बनाउने प्रयत्नमा छ । उसलाई सास फेर्न पनि विदा लिनुपर्ला जस्तो बेफुर्सदी छ । केही गर्नका लागि कमाउनै पर्ने बाध्यताले आजको पुस्तालाई पलपल निचोरिरहेको छ । परिवारको पालनपोषण, उनीहरूको महँगो शिक्षा, अनावश्यक धनको प्रतिस्पद्र्धाका पछि दौडनै पर्ने बाध्यता । कहाँ कहाँ कता कता भ्याउने ? यही चटारोका बिच वृद्धवृद्धाहरू ओझेलमा पर्ने गरेका छन् । वृद्ध आमाबाबुको स्याहार गर्न कसरी भ्याउने ?

उही ख्याल उही साँचो भन्छन् नि, तर यो ख्याल ठट्टा मात्र होइन आजको र आजदेखि उताका दिनमा दिनानुदिन बढ्दै जाने सामाजिक समस्या हो । भन्न सजिलै हुन्छ तर गरिपुर्‍याउन गारो हुन्छ । आफ्नो र सन्ततिको भविष्यतिर ध्यान नदिई बाबुआमाको स्याहार-उपचारमा लागिरहेकाको संख्या पनि हाम्रो समाजमा उल्लेख्य नै छ । समय सधैं अगाडि मात्र बग्दछ पछाडि फर्कंदैन । जनावर पशुपन्छीलाई पनि हेरौं न, बच्चा नहुर्कुन्जेल ज्यान दिएर हुर्काउन र संरक्षण गर्न लागिपर्छ तर हुर्केर गएपछि न बच्चाले आमाबाबु चिन्छ न आमाबाबुले बच्चा ! हाम्रो पनि नियति त्यही हो । सन्तानले सम्झेर हेर्‍यो भने हेर्‍यो, नहेरे पनि मेरो कर्म वा नियति नै यस्तै रहेछ भनेर चित्त बुझाउनु अबका ज्येष्ठहरूको नियति हो । अर्को कुरा अहिलेको क्रियाशील पुस्ताका लागि बृद्ध बाबुआमा ‘घाँडो’ भएका छन् भने यसपछिको तेस्रो पुस्ता त बाबुआमालाई आफ्नो सुखसयल र आवश्यकताका वस्तुहरू जुटाइदिने माध्यमका रूपमा मात्र हेर्दछ जस्तो लाग्छ ।

पछि गएर यस पुस्तामा सद्बुद्धि पलाएन भने ज्येष्ठहरूले बेहोर्नुपर्ने कन्तबिजोकको कल्पना गर्दा पनि रौं ठाडा हुन्छन् ।
त्यसो भए के त अब सन्तानले हेरेनन् भने ज्येष्ठ नागरिकहरू त्यसै कुहिएर मर्ने ? त्यसो पनि होइन, त्यसको समाधान अब समाज र राज्यले निकाल्नुपर्छ । त्यही अवस्थालाई विचार गरेर कतिपय ठाउँमा वृद्धाश्रमहरू खुलेका देखिन्छन् र यिनको संख्या पनि थपिँदो छ । तर यो मात्र पर्याप्त छैन । त्यसैले अब हरेक स्थानीय एकाइहरूमा कम्तीमा एकएक व्यवस्थित वृद्धाश्रमको व्यवस्था सरकारी तवरबाटै गरिनु अत्यावश्यक भैसकेको छ । यसतर्फ राष्ट्रले, प्रान्तले, स्थानीय एकाइले, गैरसरकारी संघसंस्था र समुदायले पनि गम्भीर भएर सोच्न ढिलो हुन लागिसकेको छ ।

०००
मङ्सिर ६, २०७३
भद्रपुर

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
‘म फर्केर आएँ’ कवि कोमलको कठोर झटारो

‘म फर्केर आएँ’ कवि...

डा. गंगाप्रसाद अधिकारी
हास्य र व्यङ्ग्यबीच पारस्परिक निर्भरता र अन्तर्सम्बन्ध

हास्य र व्यङ्ग्यबीच पारस्परिक...

डा. गंगाप्रसाद अधिकारी
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
पाका मान्छेमा पिनासका समस्या !

पाका मान्छेमा पिनासका समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिदा नातागतको पिर र सतर्कता !

उमेरिदा नातागतको पिर र...

डा. मुकेशकुमार चालिसे
पाकाको गोडा, जुत्ता र व्यायाम !

पाकाको गोडा, जुत्ता र...

डा. मुकेशकुमार चालिसे
उमेरिदा भोग्ने निधनका पीडाहरू !

उमेरिदा भोग्ने निधनका पीडाहरू...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x