कलानिधि दाहालकालो बादल !!
जति बेला पनि उसले चट्याङ् बजार्न सक्छ तपाईं हाम्रा मुटुमा जति बेला पनि ऊ तूफान मच्चिन सक्छ हिमालदेखि गङ्गोत्रीसम्म पशुपतिको गजूरदेखि केदारनाथका किनारासम्म !!

घुम्छ
घुमेझैँ गर्छ
चुम्छ
चुमेझैँ गर्छ
मन पगाल्न होला
निलो आकाशको सायद
झिलिक्क हान्छ झड्का
तेज बिजुलीको
ठूलो स्वर
चिच्याउँछ चट्याङ्को
हराम नेताले
जनता थर्काएझैँ
वा भ्रष्ट कर्मचारीले
सेवाग्राहीका
दिन तर्काएझैँ
काला
रिसाहा
धमर्धुस अनुहारमा
छलकपट
र पापले भरिएको मधौरु
सहानुभूति बटुल्न
अस्पतालको ओच्छ्यानबाट
भर्खर
सञ्जालमा चिच्याएझैँ
एकछिनपछि गर्जने सुरमा
कराहीको
कालो अनुहारजस्तै
क्षितिजका
हरिया वस्ती छोप्दै
केही नभएर पनि
“छु“को अवस्थामा
छट्पटाइरहेछ
मेरो शिरमाथि घनीभूत
कालो बादल!
भित्री सतह नहेर्ने
-छट्टुहरू
बुझ्न केही नसक्ने
-अनभिज्ञहरू
-सोझासाझाहरू
केही पाउने प्रलोभनमा
केही थापिने झिना आशामा
उसकै सहचरी
खोलाकिनारसम्म
उसकै मित्र
वनजङ्गल वरिपरि
उसलाई नै
प्रभु ! ठान्दै
प्राप्तिको
अर्चना गरिरहेछन्
तिनैमाथि
देख्नै नसकेको
तूफान उचालेर
कहिल्यै नसोचेका
-हल्का बतास
-गम्भीर हुण्डरी
र भित्रको
अधर्मी
पापी
कालो
छलकपटयुक्त
मनोदशा ह्वात्त पोखेर
आफन्तका जरा निकाल्दै
आफ्नो मात्र स्वार्थ बटुल्न
तम्तयार मान्छेझैँ
उकुसमुकुस
मेरो सामु
छट्पटाउँदै छ
कालो बादल!
होशियार
मान्य गणहरू!
मित्र जनहरू!
मित्राणी मनहरू!
छाड्नु होस्
बँचेखुचेका
खोलाकिनाराका
लोभहरू!
हटाउनु होस्
काला ओठ चुहेका
सहानुभूतिहरू!
अलिकति टाढा रहनु होस्
काला बादलसँग
एक पित्को विवेक हुन्न
काला बादलसँग
मान्छेको मन रहँन्न
जति बेला पनि
उसले
भेल चुहाउन सक्छ
तपाईं
हाम्रा शिरमा
जति बेला पनि
उसले
चट्याङ् बजार्न सक्छ
तपाईं
हाम्रा मुटुमा
जति बेला पनि
ऊ
तूफान मच्चिन सक्छ
हिमालदेखि
गङ्गोत्रीसम्म
पशुपतिको गजूरदेखि
केदारनाथका
किनारासम्म !!
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































