अनिल KH पौडेल’वृद्धावस्था
छोरा नाति शहर पसे अहिले कहाँ भर भयो र ! वृद्धाश्रम जस्तो भयो घर कहाँ घर रह्यो र ! तन टाढा माया गाढा घाँटी खसखस गर्दा सम्झिनु जीवन हुँदा नसम्झेनी गाउँमा हामी मर्दा सम्झिनु ।
दुइआँखा चार भए तर दृष्टि धमिलो भो
छाम्दै हिँड्नुपर्दा यो मन पीडाले अमिलो भो
मान्छे चिन्न मुस्किल भयो केही प्रष्ट देखिन्न
दुई खुट्टा तीन भए तैपनि ठाउँमा टेकिन्न
जवानीको याद आउँछ लेकबेँसी दौडिएको
डाँडा डुल्दै काफल खाको खोला, नदी पौडिएको
भारी मकै बोक्ने ढाड, अहिले आफैँ खोज्छ आड
मकैजस्ता लहरे दाँत छैनन् पिउनु पर्छ माड
गोठभरी लैना भैँसी खोलै बग्थ्यो दूध घिउ
बिहान देखि साँझ खटिन्थ्यो उस्तै ताजा हुन्थ्यो जीउ
घाँटी सुक्छ मोही भेटिन्न मीठो बोल्ने कोही भेटिन्न
बूढो भनि हेप्छन् अहिले कम्ती मात्र मुटु रेटिन्न
छोरा नाति शहर पसे अहिले कहाँ भर भयो र !
वृद्धाश्रम जस्तो भयो घर कहाँ घर रह्यो र !
तन टाढा माया गाढा घाँटी खसखस गर्दा सम्झिनु
जीवन हुँदा नसम्झेनी गाउँमा हामी मर्दा सम्झिनु ।।
०००
मोरङ
Subscribe
Login
0 Comments
Oldest






































