अनिल KH पौडेल’महँगो सुख
कुरेझैँ भो काल तर उठाउँदैन झट्ट बाहिरी जगत झल्मल मन अँध्यारो निश्पट्ट गला बसे थला बसे सुके ओठ मुख पर्याप्त छ, केही छैन, महँगो भो सुख ।।

अनिल पौडेल कीर्ते :
छोरो बस्छ क्यानडामा छोरी जापान गाकी
आफू भन्दा रोगी भाछे आफूसँग भाकी
औषधिका गोली खान्छौँ भुट्या मकै सरी
दुई जनको एक्लो जीवन बिताउने के गरी
घर बुढो, बुढो घर, सँगै घर बुढी
गुँड खाली उडेर ती गए क्षितिज पारी
चारो खाँदा बचेराको यादले पोल्छ छाती
टोलाएर बित्छ दिन, छटपटीमा राती
छोराछोरी फोन त गर्छन् गाह्रै छ रे उता
आउँछु भन्दा बाटो लाग्न पाइँदैन रे फुत्त
भाको चिज नि बनाएर सकिँदैन खान
फुस्स गए आफ्नो कोही छैन घाट लान
दुई खुट्टा तीन हुँदा नि काम्दै हिँड्नुपर्छ
दुई आँखा चार हुँदा नि छाम्दै हिँड्नुपर्छ
सिधा हुन्न ढाड साह्रै गाह्रो पाइला चाल्न
दुई जनको एक्लो जीवन गाह्रो भयो पाल्न
कुरेझैँ भो काल तर उठाउँदैन झट्ट
बाहिरी जगत झल्मल मन अँध्यारो निश्पट्ट
गला बसे थला बसे सुके ओठ मुख
पर्याप्त छ, केही छैन, महँगो भो सुख ।।
०००
माेरङ
Subscribe
Login
0 Comments
Oldest







































