नेपाली चलचित्रमा दुर्लभ रेकर्ड ?
"देशमा रूवाबासी" चलिरहेका बेला कार्तिक ३० गतेबाट अर्को चलचित्र "ह्रस्व-दीर्घ" हलमा लाग्यो । रिलिजको भोलिपल्ट अर्थात् मंसिर १ गते उक्त सिनेमाको दर्शक भएँ । नढाँटी यसका बारे केही लेख्न मन लाग्यो ।
अनिल पाैडेल कीर्ते :
निकै हल्लाखल्ला गरिएको फिल्म ह्रस्व-दीर्घ हेरियो । निकै तामझामका साथ निर्माण र प्रचारप्रसार गरिएको यो चलचित्रका बारे केही लेख्न मन लाग्यो । पछिल्लो समय नेपाली चलचित्रको समय हो भन्दा फरक नपर्ने जस्तो देखिएको अवस्था छ । नेपाली चलचित्र कर्मीहरूका लागि यो असाध्य सुखद पक्ष हो । हिन्दी चलचित्र जस्तो भएपनि आँखा चिम्लेर भित्र्याउने र हलमा लगाउने वितरक तथा प्रदर्शकहरू पनि अहिले बलजफ्ती तानिएर नेपाली चलचित्र तर्फ लागेका छन् । तोकेरै भन्दा यसपटकको दशैँ आसपासबाट नेपालमा हिन्दी चलचित्र कुन आए, कुन गए थाहा नहुने अवस्था छ ।
थिएटरमा नाटक हेरेझैँ लाग्ने किसिमका चलचित्रले करिब १० वर्ष एकछत्र राज गर्यो । यसबीचमा जति बने अधिकांश चलचित्र उस्तै प्रकारका लाग्थे । त्यसो हुनुमा दुई कारण पहिल्याउन सकिन्छ । पहिलो, अधिकांश रङ्गमञ्चकै व्यक्तिहरूले चलचित्र बनाए । दोश्रो, कलाकार पनि रङ्गमञ्चकै लिए । तसर्थ स्वाद फेरिन सकिरहेको थिएन । यसको मतलव यो हैन कि स्वाद फेरिनै पर्ने थियो ।
छक्का-पञ्जाका थुप्रै श्रृङ्खला आए तर यसपटको श्रृङ्खला अन्यको तुलनामा सबैभन्दा कमजोर भन्न संकोच मान्नु पर्दैन । त्यही बीचमा “१२ गाउँ” आयो “फर्मुला फिल्म”को कथा बोकेर । यो यस्तो फिल्म थियो जुन प्रकारका फिल्म हामी २०/२५ वर्ष अगाडि हेर्थ्यौँ । तर जे होस् प्रस्तुतिको प्रभावकारिताले फिल्म निकै सफल रह्यो । नेपाली चलचित्र क्षेत्रले नयाँ परिपक्व लाग्ने नायक पायो । कसैको बालक छोरो सोझै सुपरस्टार भनिएको भन्दा समीर भट्ट अब्बल ठहरिएका छन् ।
गत लक्ष्मी पूजाको दिनबाट प्रदर्शनमा आएको चलचित्र “पूर्णबहादुरको सारङ्गी” यस्तो चलचित्रको रूपमा रह्यो कि यस्तो अब सायदै होला । फिल्म हेर्ने अधिकांशको आँखामा आँसु थामिएन । केहीले व्यङ्ग्यात्मक रूपमा भने: यो चलचित्र आएदेखि “देशमा रुवाबासी” छ । कसैले लेख्यो “पूर्णे तँ हाम्रो आँसुको श्रापले छिटै सुपरस्टार बन्नेछस् ।” ब्यापारको हिसावले यसले ३० करोड पार गर्नु अपार सफलता हो । विविध दुर्लभ रेकर्ड बनिरहेका छन् । यसका बारे अरू थप केही भनिरहन परेन ।
“देशमा रूवाबासी” चलिरहेका बेला कार्तिक ३० गतेबाट अर्को चलचित्र “ह्रस्व-दीर्घ” हलमा लाग्यो । रिलिजको भोलिपल्ट अर्थात् मंसिर १ गते उक्त सिनेमाको दर्शक भएँ । नढाँटी यसका बारे केही लेख्न मन लाग्यो ।
हलका सबै मेच भरिएका थिएनन् । आधा भन्दा अलि बढी जसो दर्शक थिए । फिल्म अगाडि बढ्दै गयो । कथाले भन्न के खोजिरहेको छ भन्ने कुरा पत्तो लागेन । प्रष्ट भन्दा यसको कथामै वजन छैन । प्राविधिक कमजोरी पनि निकै भेटिन्छन् । जस्तै: टाँसिएको हात सरोज खनालको डुङ्गामा सयर गर्दैगर्दा छुट्नु र पछिल्लो दृष्यमा फेरि टाँसिएकै देखाउनु, वेश्यालयमा त्यत्रो लडाइँ गरेर आम्रपालीको उद्धार गर्न गएको अवस्थामा तुरुन्त लिएर भागनुपर्नेमा बकाइदा गीत आउनु, जगल्टेले अत्यन्त सानो विषयमा महामहन्तमाथि त्यत्रो रिस बोक्नु आदि ।
यसको सुटिङको बेला म आफैँ CG को “मन्दिर” पुगेको थिएँ गत सालको पौष महिनामा । भारतीय र नेपाली कलाकारको बाक्लै जमघट देख्दा लागेको थियो चमत्कारै हुन लागेछ कि के हो ! उल्लेख्य सङ्ख्यामा समावेश गरिएका कलाकारहरू देख्दा लाग्छ खर्च चाहिँ ठूलै मात्रामा गरिएको छ । तर पारीबाट ल्याइएका कलाकारहरूको Lip Sync नमिल्दा आउनुपर्ने जति मजा आउँदैन । अझ व्रम्हानन्दमले त पूरै हिन्दी नै बोल्छन् त्यो त्यति उचित लाग्दैन । फेबिकोल ढुवानी गर्ने पात्र किन राखिएको हो त्यो ती पात्रलाई नै थाहा नहोला ।
कलाकारहरूको भिड यति बाक्लो छ कि त्यो भिडलाई प्लट र डाइलग बाँड्दा-बाँड्दै दर्शकका भागमा केही आउँदैन । चलचित्रमा पात्र रुन्छन्, यता दर्शक हाँस्छन् । हरिहर अधिकारी जो मुख्य पात्र छन् उनमा यसरी जोश देखाइहाल्नुपर्ने हुनै गुण देखिन्न । न त अभिनयको ब्याकग्राउण्ड न त्यस्तो विधि अभ्यास । न ज्यान, न उच्चारणमा शुद्धता । हुँदाहुँदा उचाइ बढाउन हिलवाले जुत्ता सम्म लगाउन भ्याएका छन् ।
छोराको समाचार देखेर बिछिप्त भएकि बिपना थापाको अभिनय चाहिँ निक्कै प्रभावकारी देखिन्छ । अन्तिममा डोल्पा भनेर देखाइएको रेखा थापाको दृष्यले फिल्म अलिअलि बुझेका दर्शकलाई गोलमाल गराएर अन्योलमा पारिदिन्छ ।
क्यामरा उच्च कोटीको प्रयोग गरिएको छ । कलाकारहरू उच्च कोटीकै भेला गरिएको छ । साङ्गीतिक पक्ष पनि राम्रै मान्न सकिन्छ । तर यो फिल्म केका लागि हेर्ने भन्ने चाहिँ केही छैन ।
समग्रमा भन्दा निर्माण पक्षलाई धेरै ठूलो कसरतका साथ निर्माण गरेको भान हुने तर दर्शकले केही सयको टिकट किन्दा उक्त टिकटकै अपमान हुने कोटीको चलचित्र मान्न सकिन्छ यसलाई । यो फर्मुला फिल्म नै हो तर हैन जस्तो देखाउन खोजिएको छ । धेरै कलाकारको भिड भन्दा धेरै दर्शकको भिड कसरी जम्मा गर्ने भन्ने कुरामा ध्यान पुर्याएको देखिँदैन । यस्ता प्रकारका चलचित्रले न त दर्शकको अपेक्षा पूरा गर्छन् न त चलचित्र क्षेत्रमा कुनै योगदान नै गर्छन् ।
यो एउटै भाँडामा हालेर विभिन्न प्रकारका तरकारी सामान्य ढङ्गले पकाएर पस्किएको खुराक हो जसमा नुन र मसला मात्र हाल्न बिर्सिएको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest