फित्काैली डटकमपारिजात स्मृति दिवसमा ‘जेन्जीको ज्वाला’ विमोचन र स्रष्टा सम्मान
मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडी “भ्रमर”को प्रमुख आतिथ्य तथा प्रदेश सभासद् शारदा देवी थापाको विशिष्ट आतिथ्यमा सम्पन्न भएकाे हाे ।

बर्दिबास, महोत्तरी । मधेश प्रदेशको महोतरी जिल्लाको बर्दिवासमा शनिबार एक साहित्यिक कार्यक्रमको आयोजना गरी ३४औं पारिजात स्मृति दिवस मनाइयो । प्रलेस मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमको प्रायोजन शिशिर घिमिरे स्मृति प्रतिष्ठानले गरेको हो ।
कार्यक्रममा कवि प्रेम घिमिरे ‘अग्निकवच’ले लेख्नुभएको ‘जेन्जीको ज्वाला’ लघु प्रबन्धकाव्यको विमोचन गर्नुका साथै शिशिर घिमिरे स्मृति नव प्रतिभा सम्मान( २०८२ ) ले कमला साहित्य, कला समाज धनुषाका अध्यक्ष गणेश तिमल्सिना ‘गति’ लाई सम्मानित गरिएकाे छ । कवि प्रेम घिमिरे ‘अग्निकवच’ले आफ्नो दिवंगत पुत्र शिशिर घिमिरेको स्मृतिमा २०७६ सालदेखि प्रदान गर्दै आउनु भएको स्रष्टा सम्मानमा नगद रू १५,५५५ । र सम्मानपत्र समेत रहेको छ ।
मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडि ‘भ्रमर’ को प्रमुख आतिथ्य र प्रदेश सभासद् शारदा थापाको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा रामेछाप, सिन्धुली, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ राम भरोस कापडिले पारिजातको साहित्यिक योगदानको चर्चा गर्दै उनी साहित्यिक र वैचारिक दुबै रूपमा खारिएकी साहसी नारी स्रष्टा रहेको स्पष्ट पार्नुभयो । उहाँले अबको साहित्यको विकास गर्न अनुवाद साहित्यमा लाग्नुपर्ने धारणा ब्यक्त गर्दै विदेशी भाषाको ग्रन्थहरू मात्र नभएर नेपालभित्र बोलिने भाषामा पनि अनुवाद साहित्यको खाँचो औंल्याउनु भयो । विमोचित ‘जेन्जीको ज्वाला’ लाई पनि मधेसमा बोलिने भाषाहरूमा अनुवाद गरियो भने ठूलो सङ्ख्याका पाठकहरूले रुचाउने विश्वास ब्यक्त गर्नुभयो । बर्दिबास साहित्यिक गतिविधिमा अगाडि बढ्दो क्रममा छ । यहाँको घर घरमा साहित्य छ र ‘जेन्जीको ज्वाला’ जस्तो सशक्त साहित्य तपाईँहरूले मात्र लेख्न सक्नुहुन्छ अध्यक्ष ‘भ्रमर’ ले बताउनु भयो ।
‘जेन्जीको ज्वाला’ कृतिको साहित्यिक पक्षको समिक्षा गर्दै जानकी नारी समाजकी अध्यक्ष साहित्यकार मञ्जु मञ्जुभाषिणीले ७२ पृष्ठमा संरचित काव्य पाँच सर्गमा विभाजित रहेको, वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलले भूमिका लेख्नुभएको र प्रा. डा. सुमन कर्माचार्य , मञ्जु मञ्जुभाषिणी, नारायण घिमिरे र उद्धव अविचलले शुभकामना दिनुभएको बताईन् । । छोटो लेखकीय रहेको कृतिमा चार श्लोकको शिर्षक कवितामा १८१ श्लोकको काव्यको सार खिचिएको प्रष्ट्याउदै शार्दूलविक्रीडित छन्दमा रचिएको यो काव्य कृति सरल र सशक्त रहेको बताउनु भयो ।
वैचारिक पक्षको समीक्षा गर्दै अर्का साहित्यकार जीवन स्पर्र्शीेले ‘जेन्जीको ज्वाला’ ले प्राकृतिक स्रोतसाधनले सम्पन्न नेपाललाई हिरा बन्नबाट रोक्ने सामाजिक किराहरूको उछित्तो काढ्दै जेन्जी आन्दोलनको आविर्भाव हुनुमा समकालीन भ्रष्ट राजनीति जिम्मेवार रहेको तथ्य औँल्याएको, समकालीन विश्व राजनीतिको दृष्टान्त समेटेको, ब्यक्ति होइन पद्धति बदल्नुपर्छ भनेको र जेन्जी आन्दोलन पश्चात गठन हुने सरकारबाट पनि मुलुकको समग्र हित हुने कुरामा शङ्का रहेको विचार उल्लेख गरेकोले काव्यले प्रगतिशील साहित्यको जगमा एउटा ईँटा थपेको विश्वास ब्यक्त गर्नुभयो ।
विशिष्ट अतिथिहरू मा. शारदा देवी थापा, डा. वीरबहादुर महतो, प्रा डा सुमन कर्माचार्य, प्रलेस केन्द्रीय पार्षद माधव पोखरेल गोज्याङ्ग्रे, बुद्धिजीवी नारायण विक्रम थापा, लम्बोदर काफ्ले, विष्णु खड्का कवि गणेश अधिकारी र सम्मानित स्रष्टा गणेश तिमल्सिना लगायतले पारिजातलाई स्मरण गर्दै विमोचित कृति र शिशिर घिमिरे स्मृति प्रतिष्ठानको मुक्त कण्ठले प्रशंसा गरे ।
कार्यक्रममा पारिजातको ब्यक्तित्व र कृतिको सम्बन्धमा लिला गौतम, केदार कोइराला र मदन प्रभातले आ आफ्ना विचार ब्यक्त गरे । पारिजात विशेष रचना वाचन र मन्तव्य व्यक्त गर्नेहरूमा कुमार कुसुम सर्लाही, राम उदित रौतहट, रूपनारायण सिंह सर्लाही, मिना देवकोटा सर्लाही थिए । स्थानीय अभिषेक पाण्डेले मैथिली गीत र सितामढी भारतका शायर मो. कमरुद्दिन नदाफले गजल वाचन गरे । सचिव भिम राउतले सञ्चालन गरेको कार्यक्रममा रामचन्द्र पौडेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम प्रलेस मधेस प्रदेश अध्यक्ष नारायण घिमिरेको अध्यक्षातामा सम्पन्न भएको हो ।
०००
माधव पोखरेल गोज्याङ्ग्रेको सौजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































