अनिल KH पौडेल’क्या अलौकिक खाडल !
यो खाडलको महिमा अपरम्पार छ, देवलोकबाट समेत देखिने यो खाल्डो पुरातात्विक महत्वको समेत रहेको कारण यसको व्यापक संरक्षण गर्दै यस्ता खाडल बनाइरहनुपर्छ, निरन्तर यस्तै वास्ना छर्दै गनाइरहनुपर्छ, धुलो निरन्तर उडिरहनुपर्छ

अनिल पौडेल
यो खाल्डो जुन तपाइँले देखिरहनुभाछ यो अन्य खाल्डो जस्तै केवल एक खाल्डो मात्रै हैन । अस्ति भर्खरै ३ वर्ष अगाडिबाट बनाउन सुरु गरेको तीनै सय मिटरको विशाल लम्बाईयुक्त यो मार्गमा परापूर्वकाल देखि सिर्जित खाल्डो हो यो ।
बुढापाकाहरू भन्ने गर्छन् यो यस्तो अलौकिक शक्तियुक्त खाल्डो हो जुन जति टालेपनि टाल्न सकिन्न । थरी-थरीका गाउँपालेका, नङ्ग्रापालेका सर्खारहरूले यो खाल्डोको प्वाल टाल्ने बारे नसोचेका पनि हैनन् तर उनीहरूको पिँधमा प्वालपरेको धोक्रो टाल्दा टाल्दै यसको पालो आइसकेको छैन । चाँडै अबको ४/५ वर्ष भित्रै टालिहाल्ने भन्ने गाइँगुईँ सुनेको छु ।
यसको दैनिक दर्शन गर्दै हिँड्ने बटुवाहरू आक्रोशमिश्रित प्रतिकृया दिने गर्छन्…जाबो तीन सय मिटर बाटो बनाउन नसक्ने हरामीहरू !
म ठान्छु…तीन मिटर हो र एकै वर्षमा सक्नलाई ?
यत्रो तीन भन्दा पनि सय मिटर लामो बाटो बनाउन ट्याम लाग्दैन ?
यो खाल्डोको बारेमा मान्छे ईतिहास नबुझि टालिहाल्न पर्छ भन्छन् तर त्यस्तो कुराले हुँदैन । एक दुई वर्ष लगाएर खाल्डोको गहिराई जत्तिकै गहिरो अध्ययन गर्नपरो ।
विज्ञहरू यसो यही बाटोकै बजेटबाट सामान्य बीस/पच्चीसवटा झोलमेच बैठकमा गहन छलफलमा बस्न परो, गुनासो गर्ने बटुवालाई वर्षौँसम्म डस्न परो, काँ देखि काँसम्म पिच्याउने भनेर १५/२० जना आएर यसो १५ बीसै पटक मात्र भएपनि नाप्न परो, चरण-चरणका अनुगमन गर्न परो, भर्मन गर्नपरो, छलफल गर्न परो, जनताका आँखामा छारो छर्न परो, ठगदारसँग गोप्पे वार्ता अघि बढाउन परो, यसो बुदि्धजल चढाउन परो अनि फेरि अनुगमनमा जानपरो, दुईगाडी यसो सँगै लानै परो, फेरि ठगदारको खाजा खानै परो, बचेको पैसा पूरै खन्याउने, बनाउने भनेकै छ त जनता किन टाउको कन्याउने ??
पछिल्लो जानकारी अनुसार स्याटेलाईबाट समेत क्यामेरा उत्तानो, कोल्टे, घोप्टे नाना तरहका आशनबाट यसको तस्वीर नाङ्ग्रापालेकाले खिच्न लगाएको छ रे !
ईतिहाँस विदका अनुसार डाइनोसरका पालामा अक्काशभन्दा माथिबाट यो काठमाण्डु जिल्ला जत्रो ढुङ्गो खसेर यही प्वालबाट छिरेको रे ! खै काँ पुगो पतालै पुगो होला !
फेरि अर्काथरी विद्हरू भन्छन् यो त युधिष्ठिर सर्लक्कै स्वर्ग गको बाटो हो रे !
हैट ! हैन होला ?
यता मुनि गएर माथिको स्वर्ग पुगिन्छ ?
भन्छन्: मुङ्लिङतिर गएर झापा पुगिँदैन ??
केही थान भ्रान्तिविद्हरू भन्छन् यो त माओवादीले भारतसँग सु”रुङ युद्ध गर्न खनेको खाल्डो हो तर खन्दैजाँदा उताचैँ खै कसको चर्पीको प्वालमा निस्केको कारण प्रयोगमा नआको रे !
फेरि अर्काथरी भन्छन् यो खाल्डो यो व्यवस्थाको पहिचान हो, यो पुर्नु भनेको गणतन्त्र धरापमा पार्नु हो, यदि यो पुरियो भने यो अव्यवस्था ढल्छ, तब कसरी यहाँ समृदि्धको वास्ना चल्छ ?
फेरि कोही भने यो खाडल धृतराष्ट्रले आफैँले पिटोल निकाल्न खनेको भन्छन्, हो कि जस्तो पनि लाग्छ !
स्थानीय एकसय नप्पाइस वर्षीय बटुवाका बाका अनुसार यो खाडल पुर्न नसकेर यहाँका राजाहरूको पनि बाजा बजेको थियो रे !
टिफरका टिफर माटो यसमा झण्डै क्वाटर वर्ष खन्याइएको थियो रे तर अँहँ यो पुर्न सकिएन र त्यो माटो काँ गयो भन्ने पनि कसैलाई थाहा हुन सकेन !
जति माटो हाल्दै गयो उति खाल्डो गहिरो भको भकै गर्छ रे !
त्यसैले यो अलौकिक, अद्भूत, अपत्यारिलो र अनावश्यक खाडलको संरक्षणमा सर्खार्ले तत्परता देखाएको हो रे !
जसले जे-जे भनेपनि, यो पूरा तीन सय मिटरको बाटो पिचै गरेपनि अलौकिक, अद्भुत्, सुरुवात थाहा भको तर अन्त्य थाहा नभको यो खाडल पुर्न चैँ हुँदै हुन्न भन्ने मेरो बिचार हो ।
यो खाडल यहीँ सामुन्नेमा भको कारण म पनि एक विषयमा चैँ विज्ञ नै बन्छु कि जस्तो छ ।
हरेक बिहान यो खाल्डोबाट सिर्सिरे बताससँगै मिसिएर आउने वास्नाको अध्ययनबाट अघिल्लो साँझ कसले के खाएका थिए भनेर सहजै छुट्याउन सक्ने भएको छु ।
मासु लुछेर सुतेकाहरूको अलग वासन, तोङ्बा चुसेर पल्टेकाहरूको अमिल्चो वासन, धुवाँदार वासन सेकुवा खाएका हरूको, खुवादार वासन भट्टीमा दूध पिएर आएकाहरूको ।
टमाटर पिन्नेहरूको च्वास्स वासन, मुला खानेहरूको ठ्वास्स वासन अनि भटमास साँध्नेहरूको ह्वास्स वासन । सबैभन्दा अच्छा वासन खाली पेट आँसु बग्नेहरूको आउँछ, अनि सबैभन्दा कच्चा वासन् देश खाएर मुत्ने, हग्नेहरूको आउँछ ।
आहा ! क्या अलौकिक खाडल हो यो । मलाई वास्नाविद् बनाएरै छोड्ने भयो यसले ।
यो बाटोबाट उड्ने धुलो सहारा मरूभूमिबाट अमेजनको जङ्गल पुग्ने धुलो जस्तो लाग्छ, सरर उडेर घरतिर आउँछ कम्ता खुसी लाग्दैन ! आहा यही बाटोका कारण यो समाजका प्रत्येक व्यक्तिको फोक्सो-फोक्सोमा यो देशको माटो भरिएको छ । कति देशभक्त छौँ हामी ! जसको छातीमा यो देशको माटै छैन उसले हाम्रा अगाडि खुबै देशभक्त भएको भाषण सुनाउन खोज्छ !
यो खाल्डोमा गाडीका टायर परेमा चालकहरू चरम खुशी हुने गर्छन्, गाडीको घच्याकसँगै शरिरमा समृदि्धको बेग्लै तरङ्ग सवार हुने उनीहरू बताउँछन् । सरर चिल्लो बाटोमा दौडिँदा सधैँ निन्द्रा मात्र लाग्ने भएका कारण यस्तो बाटो मात्रै बनाउन पर्नेमा उनीहरूको जोड छ । भैरहेका बाटाघाटा पनि खाल्डात्मक रहेकाले गाडी दौडाउँदा अपेक्षाकृत मजा नआएका कारण ती सबै एकदम होसियारी पूर्वक भत्काएर भड्खालात्मक बनाउनुपर्ने राय छ एक जना चालक ग्वाम्म सिँह गड्तौलाको ।
हुन पनि हो, गाडीमै यात्रा गर्ने भएपछि कुनै ठाउँ एकाध घण्टामै पुगेर पनि के यात्राको मजा होला र !
प्रति किलोमिटर एक घण्टा लागोस् ताकि यात्रुले यात्राको खास मजा लिउन भन्नेमा जम्मै सर्खारहरू सचेत छन् भन्ने लाग्छ ।
पहाडमा त त्यसै कुहिरो आइहाल्छ, कुहिरो नआउने ठाउँका जनतालाई पनि यात्रामा कुहिरोको मजा दिलाउन भएपनि बाटो पिच गर्न हुँदै हुन्न भन्ने नै सबै जनताको माग रहेको छ । “जनताकै लागि” जनताबाटै बनेको सर्खारले जनताको मागको विपरित जान कदापी सक्दैन, सक्दै सक्दैन ।
आहा ! यात्रा गर्दा आँखामा मानादुएक धुलो पसोस्,
गाडीमा ठोक्किएर अगाडिका दाँत खसोस्
मिर्गौला खसुन्, किड्नी झरोस्
तर पाङ्ग्रो खाल्डैमा परोस्
गाडीमै उठ्दै, बस्दै गर्न पाइयोस्
मुटु,कलेजो बाटैमा छोडेर ज्यान मात्र भए नि आइयोस्
बुरुक्क उफ्रौँला, गन्द्र्याङ्ङ झरौँला
आहा ! क्या सरकार छ ! तारिफ गरौँला
त्यसैले यो खाडलको महिमा अपरम्पार छ, देवलोकबाट समेत देखिने यो खाल्डो पुरातात्विक महत्वको समेत रहेको कारण यसको व्यापक संरक्षण गर्दै यस्ता खाडल बनाइरहनुपर्छ, निरन्तर यस्तै वास्ना छर्दै गनाइरहनुपर्छ, धुलो निरन्तर उडिरहनुपर्छ अनि झण्डावाल गाडिहरू गुडिरहनुपर्छ, समृदि्धको भाषण छाँटिरहनुपर्छ, अनि अमिलो जीन्दगी काटिरहनुपर्छ ।
जय देश ! गए देश !!
०००
माेरङ
२०८१/१२/२१








































माना चारेक पसे पनि
शब्दले पाता कसे पनि
चेतनाहीनहरू सुन्दैनन्
माइकै अघि बसे पनि ।