सुभाषचन्द्र देवकाेटाअब म अक्षरहरुको कविता लेख्दिन
इमान र जमानको कविता लेख्छु। म पशु बनेका मान्छेको होइन मान्छे बनेका मान्छेको कविता लेख्छु । म अब प्रदूषित, अक्षरहरुको कविता लेख्दिन ।

सुभाषचन्द्र देवकाेटा :
म अब,
अक्षरको कविता लेख्दिन
मनको कविता लेख्छु।
अक्षरहरुको प्रदूषणमा
न मान्छेका पसिना बोल्छन् ।
न मान्छेका आँसु र खुसिहरु बोल्छन् ।
न आकासमा बादल र हावा मडारीदै उड्छन् ।
प्रदूषित अक्षरहरु थोपरेर
निर्जीव प्लास्टिकका फूलहरु फुलाउभन्दा
कंक्रीटका जंगलहरुमा,
कागजका बाघ र खरायोहरु कुदाउनु भन्दा,
बरु म मन घोटेर भए पनि
आकासमा उड्ने चराहरुको कविता लेख्छु ।
मान्छेका सपना र
जीवनको कविता लेख्छु ।
म अब,अक्षरहरुको सहयोगमा
विषालु कविता लेख्दिन
मन र दिलको कलम तिखारेर
बगर, ढुङ्गा र नदीको कविता लेख्छु
बगैचा र फूलहरुको कविता लेख्छु ।
खेत, बारी र खोलाको कविता लेख्छु ।
म अब अक्षरहरुको
मोहबाट मुक्त हुन चहान्छु।
मलाई, प्रदूषित
अक्षरहरुको तीर हानेर
अब, कसैलाई लडाउनु छैन
कसैलाई काँधमा हालेर
उचाल्नु पनि छैन ।
बरु म ,
मनको स्वच्छन्दता घोटेर
सेतो हिमालको कविता लेख्छु
हरियाली पहाड र भेडाको कविता लेख्छु
मान्छेका श्रम र पसिनाको सुगन्ध लेख्छु।
इमान र जमानको कविता लेख्छु।
म
पशु बनेका मान्छेको होइन
मान्छे बनेका मान्छेको कविता लेख्छु ।
म अब प्रदूषित,
अक्षरहरुको कविता लेख्दिन ।
०००
गाेरखा
Subscribe
Login
0 Comments
Oldest







































