जीवनाथ अधिकारीजान्छौ के परदेश देश नबुझी
कालो स्वार्थ यहाँ छ उच्च तहमा नेतृत्वमा खोट छ निर्धाका मनमा छ दुःख जहिले अन्तर्यमा चोट छ । फिर्नै पर्दछ शीघ्र लौ न अब ता सम्झेर माटो यता के जान्छौ परदेश देश नबुझी, अल्झी रहन्छौ कता ?।।

जीवनाथ अधिकारी :
खाट्टी पौरख गर्नुपर्दछ भने माटो समाई बस
आफ्नै चन्दन कर्मको सुललिता संवेदनामा घस ।
हैनौ सन्तति हार खान सजिलै पुर्खा थिए गौरव
जान्छौ के परदेश देश नबुझी, विध्वंशको रौरव ।।१।।
बग्छन् रे पसिना तरक्क तनमा पुछ्ने न टोपी छ रे
झर्दा आँसु सुटुक्क मस्त मनले लुक्ने न खोपी छ रे ।
आमाबाबु नसम्झिने बखतमा, सन्चो बिसन्चो छ के
जान्छौ के परदेश देश नबुझी, आफन्त सम्झिन्छ के ।।२।।
हात्तीझैँ बल फाल्न सक्षम तिमी, सेवा कता गो कता
आफ्नो स्वर्ग भुलेर नर्क जसरी घुम्दै यता औ उता ।
छानो ह्वाङ्ग बनाउँदै अब नयाँ खोज्दै कता हिँड्दछौ
जान्छौ के परदेश देश नबुझी, दौर्बल्य भै भिड्दछौ ।।३।।
नेपालीपन टाक्सिएर अहिले आकार गुम्दै गयो
नौला नक्कलका कुरङ्ग रङमा साकार के बर्सियो ।
आफ्ना चाड–तिहार आँसु–भलले भर्दा खुसी छन् कहाँ
के जान्छौ परदेश देश नबुझी, तातो छ भुङ्ग्रो जहाँ ।।४।।
कालो स्वार्थ यहाँ छ उच्च तहमा नेतृत्वमा खोट छ
निर्धाका मनमा छ दुःख जहिले अन्तर्यमा चोट छ ।
फिर्नै पर्दछ शीघ्र लौ न अब ता सम्झेर माटो यता
के जान्छौ परदेश देश नबुझी, अल्झी रहन्छौ कता ?।।५।।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































