ईश्वर पाेखरेलदिल खाली भएको सूचना
दरवन्दी खाली भएको सूचना प्रकाशित गरी अड्डाहरूले बेरोजगारहरूको भीडलाई पंक्तिबद्ध गराउन मिल्छ भने दिलमा कसैले डेराडण्डा गरेको छ भन्दैमा दिल खाली भएको जनाउँ दिन मिल्दैन भन्ठान्नु हुँदैन ।

ईश्वर पोखरेल :
‘कोठा खाली छ’ भनेर घरको छातिमा साइनबोर्ड टाँस्न मिल्छ, ‘कर्मचारीको पद खाली छ’ भनेर कार्यालयको जाँङनेर सूचना टाँस्न मिल्छ भने अविवाहित युवा–युवतीले ‘दिल खाली छ’ भनेर निधारमा लेखेर हिड्न किन नमिल्ने ?
दिलको सम्बन्धमा सबैलाई थाहा छ, यो मायालुको घरघडेरी हो । हाम्रा पुरेतबालाई साक्षीकिनारामा राखेर भन्नसकिन्छः अविवाहित हुनु भनेको चाहिँ यो घरघडेरीलाई आवाद गर्ने मानिसको चाँजोपाजो नमिलेको अवस्था हो । घरघडेरी छ, तर घरघडेरी आवाद गर्ने मानिस छैन : छातिमा हात राखेर भन्नुहोस्— के यो सबैभन्दा पीडादायक अवस्था हो कि होइन ? यो पीडालाई अब निकास दिनु जरुरी छ र यसका लागि दिल खाली भएको सूचना हरेक अविवाहितले आफ्नो निधारमा लेखेर हिड्न आवश्यक छ ।
समय विज्ञापनको हो भन्ने कुरामा सके तपाईं पनि मसंग असहमत हुनुहुन्न । भन्नुहोला— ‘विज्ञापनका लागि यतिधेरै पत्र–पत्रिकाहरू हुदाहुदै निधारमा लेख्ने झञ्झट किन ?’ तर विज्ञापनका लागि उचित स्थानको चयन नै गर्ने हो भने मानिसको निधारको तुलना पत्रपत्रिकाहरूसंग हुनै सक्दैन ।
एक त, यो शरीरको सबैभन्दा उचो स्थान हो, जोसुकैको आँखा पर्छ । दोस्रो, प्राकृतिक रूपमै यो यति सफा र चिल्लो छ, साइनबोर्ड लेख्ने टिनको पातालाई साँच्चै मानिसको निधार जस्तै चिल्लो र सफा नै बनाउने हो भने धेरै घोट्नु र पुछ्नु आवश्यक हुन्छ । तेस्रो, यो सबैभन्दा बढी पढिने स्थान पनि हो, टुडिखेलको चारैतिरका सडकको पेटीमा मानिसको निधार पढ्नलाई तम्तयार भएर बस्नेहरूको हिसाव निकालेर तपाईं यसका बारेमा यकिन गर्नसक्नु हुन्छ । बरु पत्रपत्रिका पढ्नलाई भने मानिस यति ब्यग्र भएर बसेको मैले देखेको छैन । ( धन्य, व्यापार–प्रवद्र्धन गर्न विज्ञापनका लागि उचित स्थानको छनोट गर्ने सन्दर्भमा भाग्यवस् कसैको आँखा मानिसको निधारमाथि परेको छैन । नत्र, मानिसका घर, भित्ता र सार्वजनिक स्थलमा कतै पनि एकवित्ता खाली देख्न नसक्ने ‘होर्डिङबोर्ड’ वालाहरूले मानिसको निधारलाई ऐलेसम्म किन बाँकी राख्थेहोलान् र ?) चौथो कुरा, सबै मानिससंग एक–एक थान निधार छ, यसको अर्थ हो— वर्गीकृत विज्ञापनको लागि एक सर्वोत्तम स्थान सबै अविवाहित युवायुवतीका लागि निःशुल्क सुरक्षित छ । पाँचौं, विज्ञापन लेखेरै भए पनि अब हरेक मानिसले आफ्नो निधार आफैले ओगट्नु पर्ने अवस्था छ : अन्तको अवस्था त्यति मेसो छैन; मानिसले दर्ता गर्न, लालपूर्जा बनाउन र पिल्लर ठडर्याउँन चारकुना मिलेको समथर जग्गाजमिन उपत्यकाभित्र चाहिँ अब थोरै मात्र बाँकी छ; यसैमा मानिसको निधार पनि पर्छ ।
कसैले प्वाक्क भन्नसक्छ :‘अविवाहित हुँदैमा दिल खाली नै हुन्छ भन्न मिल्छ र ?’ म त भन्छु, गज्जवले मिल्छ । खास कुरा जेसुकै होस्, कसले पो चासो राखेको छ र ? दरवन्दी खाली भएको सूचना प्रकाशित गरी अड्डाहरूले बेरोजगारहरूको भीडलाई पंक्तिबद्ध गराउन मिल्छ भने दिलमा कसैले डेराडण्डा गरेको छ भन्दैमा दिल खाली भएको जनाउँ दिन मिल्दैन भन्ठान्नु हुँदैन । सबैलाई थाहा छ : अड्डाले दरबन्दी खाली भएको सूचना प्रकाशित गर्छ र हाकिम आफ्नो मान्छेलाई भित्रभित्रै नियुक्त गर्छ । अविवाहितहरूले पनि आफ्नो दिलमा अस्थायी ‘डेरा जमाउने’लाई नै अड्डाका हाकिमहरूकै सिको गरेर खुसुक्क ‘स्थायी’ गरिदिए त भै गयो नि ।
तर्क हुनसक्छ : ‘विवाह गर्नुलाई घरवार गर्नु भन्ने गरिएको छ । यसै आधारमा अविवाहितहरूले दिल खाली छ भन्नुको साटो घर खाली छ भन्नु उचित होइन र ?’ तर जाबो गोजी खाली भएकै बेलादेखि आफ्नो प्रेमिकासंगको भेटघाट र बोलचाल बन्द छ । यसरी वर्षौवर्षादेखि ‘हाउसफूल’का साथ चल्दैआएको आफ्नो प्रेमसम्बन्ध जाबो गोजी खाली भएको जस्तो मामुली कारणले हठात् अन्त्य भएको मेरो आफ्नै निजी अनुभव छ । तपाईंले पनि आफ्नो पकेट खाली भए पनि घर खाली नभएको जनाउ दिएर मान्छेहरूले ऐनमौकामा इज्जत धान्दैआएको देख्नुभएकै होला । अवस्था यस्तो छ । यस्तो अवस्थामा अविवाहितहरूले आफ्नो अवस्था जनाउन आफैले ‘घर खाली छ’ भनेर लेख्नुपर्छ भन्ने तर्कसंग म कसरी सहमतिको सहिछाप ठोक्नसक्छु ?
कसैले भन्नसक्छ : ‘युवायुवतीहरू दिल भनेर छातितिर देखाउँदैआएका छन् । दिलको कुरा निधारमा लेख्दा अनर्थ त हुँदैन ?’ काठमाण्डौको जग्गा दलालले सडकछेउको जग्गा देखाएर हाम्रा साहिँलाकाकासंग कुस्त पैसा लिएछ र जग्गापास गरेछ । लालपूर्जा हातमा परेपछि केही दिन त काका पनि मख्ख परेछन् । तर पछि दलालले देखाएको जग्गामा घरको जग हाल्न जाँदा काकालाई मानिसहरूले लाठो लिएर झम्टेछन् । बुझ्दैजाँदा थाहा भयो– काकाले पास गरेको जग्गा धोवीखोलाको ‘एकलौटी भोगचलन’मा रहेछ । कतिपयले त भने पनि— ‘मुर्खहरू तत्कालका बारेमा सोच्छन् । दूरदर्शी भएकाले साहिँला काकाले चाहिँ जीवनपछिको बसोबासका लागि उचित जोहो मिलाएछन् ।’ बिचरा बूढा अझै पुर्पुरो ठोक्दैछन् । समयले यसरी फड्का मारेको छ । अतः दिलको कुरा छातिमै लेख्नुपर्छ भन्ने कुरा सोह्रैआना गलत छ ।
०००
‘युवामञ्च’ चैत, २०६२ बाट
बोझेपोखरी, ललितपुर
Subscribe
Login
0 Comments
Oldest









































