जीवनाथ अधिकारीसन्तोष /असन्तोष
ठुला मोहमा फस्नु कोही हुँदैन नयाँ खोज त्यागेर बस्नै हुँदैन । सुताएर सन्तोषले शून्य प्राप्ति असन्तोषले त्याग्छ सारा सुषुप्ति ॥

जीवनाथ अधिकारी :
म सन्तोष मानेर निद्रा निदाऊँ
कि सन्तोष त्यागेर झन् जुर्मुराऊँ ।
महाऔषधी झैँ असन्तोष मानी
बनौँ कर्मयोगी सुनौलो बिहानी ॥ १ ॥
असन्तोष तृष्णा भए सुक्छ काया
असन्तोष लुच्चो भए झुक्छ छाया ।
असन्तोषलाई बनाएर ऊर्जा
सिँढी माथि चढ्ने बनाऊँ म पुर्जा ॥ २ ॥
यहाँ जे म भेट्छु यसैमा रमाऊँ
र सन्तोषले यी क्रियाकर्म त्यागूँ
यसैमा रमाए हुने बन्द मार्ग
रहे भोक नौलो समातूँ सुमार्ग ॥ ३ ॥
ठुला ज्ञानका जो मठाधीश हुन्थे
अघाए न कोही सधैँ ज्ञान बुन्थे ।
नयाँ खोज विज्ञानका सामु ल्याए
असन्तोषले ती न कोही अघाए ॥ ४ ॥
ठुला मोहमा फस्नु कोही हुँदैन
नयाँ खोज त्यागेर बस्नै हुँदैन ।
सुताएर सन्तोषले शून्य प्राप्ति
असन्तोषले त्याग्छ सारा सुषुप्ति ॥ ५ ॥
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































