जीवनाथ अधिकारीवृद्धहरू प्रसन्न रहनुपर्छ
यदि समाज र परिवारले यस्ता उपायहरूको सुन्दर संयोजन गर्न सके वृद्धवृद्धाहरूको जीवन कल्याणकारी, सन्तुष्ट र संवेदनशील हुन सक्छ । यसरी हामीले वृद्धावस्थालाई प्रदीप्त बनाउने समाज निर्माण गर्न सक्छौं ।

जीवनाथ अधिकारी :
वृद्धावस्था जीवनको एउटा अनमोल चरण हो, जहाँ अनुभव, ज्ञान र सम्झनाहरूले मानवीय पहिचानलाई धनी बनाएको हुन्छ । यो उमेरमा मानिसहरू शारीरिक रूपमा कमजोर हुन सक्छन्, तर तिनको मनमा आशा, प्रेम र सम्मानको संवेदना अझै चुलिएको हुन्छ । तर समाज र वातावरणले यस चरणलाई कहिलेकाहीँ गुमनाम, लुप्तप्राय: र एकाकी बनाउने गर्छ । त्यसैले वृद्धवृद्धालाई मनोवैज्ञानिक, सामाजिक, पारिवारिक तथा व्यावहारिक दृष्टिबाट प्रसन्न राख्नु हाम्रो कर्तव्य हो । यस आलेखमा ती सबै उपायहरूलाई सरल रूपबाट बुँदागत विश्लेषण गर्ने प्रयास गरिएको छ ।
१. आत्मसम्मान जगाउने सम्मानजनक व्यवहार
वृद्धावस्था एउटा यस्तो चरण हो, जहाँ भौतिक क्षमता घट्छ तर अनुभव र ज्ञान घट्दैन । यस अवस्थामा, उनीहरूलाई सम्मानपूर्वक सम्बोधन गर्नु र निर्णयमा परामर्श लिनु अत्यन्त महत्त्वपूर्ण हुन्छ । सम्मान जनाउने कार्यले तिनको आत्मसम्मान बढाउँछ र सामाजिक रूपमा आफू समावेश भएको भावना जगाउँछ । परिवारका प्रत्येक सदस्यले तिनको कुरा ध्यान दिएर सुन्नुम र सानो विचारमा समेत उनीहरूलाई मत राख्न प्रेरित गर्नुपर्छ । सम्मानको अनुभूति हुँदा वृद्धवृद्धालाई उत्साह महसुस हुन्छ र उनीहरू आफैँलाई जीवनमा अझ महत्त्वपूर्ण ठान्न थाल्छन् । त्यसैले उनीहरूको नाममा फोन कल गरिरहनु, सहज भाषा अपनाउनु र उनको योगदान सम्झनु सम्मानको अभिव्यक्ति हो । यसले वातावरणमा सकारात्मक ऊर्जा ल्याउँछ र तिनीहरूमा आत्मविस्वास बढाउँछ ।
२. सम्झनाको पुनरुत्थान
पुराना तस्बिर, पत्र, भिडियो वा सङ्गीतसँग सम्बन्धित वस्तुहरू देखाउँदा उनीहरू पुराना सम्झनामा फर्केर रमाउँछन् । यस्ता माध्यमले सकारात्मक भावना र स्मृतिलाई पुनर्जीवित गर्छ, जसले मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ । एउटा उदाहरण, पुरानो पारिवारिक फोटो एल्बम हेर्दा उनले आफ्नो जीवनकालका खुसी र सङ्घर्षलाई फेरि ताजा रूपमा सम्झन सक्छन् । यस्ता गतिविधिले सामाजिक संवादलाई पनि प्रोत्साहन गर्छ किनभने उनी आफैँले आफ्नो कथालाई बाँड्न प्रेरित हुन्छन् । यसले भावनात्मक संवेदनाको सबलीकरणमा सहुलियत पुर्या उँछ र मानसिक तनाव घटाउँछ । यस्ता माध्यमले उनीहरूको आत्मसम्मान र आत्मपहिचान बढाउन विशेष भूमिका खेल्छ ।
३. नियमित रूपमा परिवारसित समय बिताउने व्यवस्था
सम्भव भए दिनहुँ नत्र कमसेकम हप्ताको एकदुई पटक भए पनि केही समय पारिवारिक भेटघाट र सहभोजनको समय मिलाउनुपर्छ। यसले वृद्धवृद्धालाई परिवारमा अपनत्व महसुस गराउँछ र एकाकीपनबाट बचाउँछ । सँगै भोजन गर्दा आपसी विचार आदानप्रदान, हास्यव्यङ्ग्य र अतीतका सम्झनाले वातावरणलाई रमाइलो र उत्साहजनक बनाउँछ । घरका बालबच्चा तथा युवाले पनि तिनको शिक्षा, अनुभव वा विकासका बारेमा सोध्दा उनीहरू आफ्नो उपस्थितिको महत्त्व अनुभूत गर्छन् । यसले भावनात्मक हित र समर्थनको भावना दिन्छ, जुन वृद्धावस्थामा अनिवार्य हुन्छ ।
भावनात्मक हित र समर्थनको भावना भन्नाले वृद्धवृद्धालाई जीवनमा भावनात्मक रूपमा सुनेर, सम्झेर, माया र सद्भाव व्यक्त गरी ‘उनीहरूको अस्तित्व मूल्यवान छ ।’ भन्ने अनुभूति गराउनु हो । त्यसै गरी कसैको भावनात्मक आवश्यकता र पीडालाई बुझेर, उनको भावना स्विकार्ने, सुनाउने, सम्मान गर्ने र अटुट उत्साहवर्धन गर्ने व्यवहार जसले व्यक्तिलाई मूल्यवान् सम्झिएको र एक्लो नभएको अनुभूति गराउँछ ।
यस्तै नियमित भेटाघटले परिवारमा प्रत्यक्ष संवाद हुन्छ र उनीहरूलाई आवश्यक पर्ने सहयोग समयमै थाहा पाउन सजिलो हुन्छ ।
४. सामाजिक सहभागिता
स्थानीय समाज, मठमन्दिर, वयोवृद्ध क्लब वा सामुदायिक केन्द्रमा सहभागी गराउनाले वृद्धहरूलाई सामूहिक गतिविधिमा सहभागी हुन सहज बनाउँछ । सामाजिक सहभागिताले एकाकीपनलाई कम गर्छ र तिनको सामाजिक क्रियाकलापलाई व्यापक बनाउँछ । आफूजस्तै अन्य वृद्धसँग भेटघाट गरेपछि उनीहरूलाई साझा अनुभव र कथा आदानप्रदान गर्ने अवसर मिल्छ । समूहमा रमाइलो गीत, नृत्य, स्वास्थ्य कार्यशाला वा खेलकुदजस्ता क्रियाकलापले उनीहरूलाई सक्रिय राख्छ । यस्तो क्रियाकलापले स्वास्थ्य, मानसिक, सामाजिक पक्षमा सुधार ल्याउँछ । सामाजिक सहभागिताले उनीहरूको आत्मविश्वास पनि बढाउँछ किनकि उनीहरू कहिलेकाहीँ अरूको सहयोगी र गुरुजस्तै भूमिका निर्वाह गर्न सक्षम हुन्छन् ।
५. डिजिटल साधनमा पहुँच र सञ्चारप्रणालीमा आबद्धता
वृद्धवृद्धालाई मोबाइल, भिडियो कल वा सामाजिक सञ्जालमा संलग्न गराउनु आवश्यक देखिन्छ । यसमा उनीहरूको पहुँच भयो भने उनीहरूको एकाकीपन कम हुन्छ र भावनात्मक रूपमा सक्रिय बनाउँछ, जसले उनीहरूलाई सामाजिक जीवनमा पुन: जोडिरहने काम हुन्छ।
परिवारका सदस्यहरूले सुरुवातमा वृद्धहरूलाई डिजिटल प्रशिक्षण दिनु अनिवार्य हुन्छ । किनकि पुरानो समयका मानिसलाई नयाँ प्रविधिमा जानकार हुन समय लाग्छ । यस्ता सामान्य प्रशिक्षणले भिडियो कल गर्ने तरिका, फोटो सेयर गर्ने, फेसबुक, मेसेन्जर, ह्वाट्सएप प्रयोग गर्नेजस्ता कुरामा उनीहरूलाई आत्मनिर्भर बनाउँछ ।
भिडियो कलमार्फत टाढाका नातेदार वा साथीहरूसँग कुरा गर्दा किशोर पुस्तासँग समेत उनीहरूको अन्तर्क्रिया बढ्छ । यसबाट तिनको मनमा आत्मीयता र सुरक्षित भावनाको महसुस हुन जान्छ साथै यसले मानसिक सन्तोष पनि बृद्धि गराउँछ ।
सामाजिक सञ्जालमा परिवारको फोटो, भिडियो, टेलिभिजन हेर्न पाउँदा उनीहरूमा नयाँ घटना र समाचारहरूको जानकारी हुन जान्छ साथै उत्साह जगाउँछ र समयको क्रममा आफू पछाडि नपरेको अनुभूति दिन्छ । विश्व स्वास्थ्य सङ्गठन र अन्य अनुसन्धानहरूले देखाएअनुसार डिजिटल पहुँचले वृद्धवृद्धाको मानसिक स्वास्थ्य सुधार गर्छ, सामाजिक एक्लोपन घटाउँछ र जीवनतृप्ति बढाउँछ । विशेष गरी मोबाइल वा स्मार्ट फोनजस्ता उपकरण प्रयोग गरेर उनीहरूले भेटघाट र कतिपय आवश्यक कुराहरू आफैं व्यवस्थापन गर्न सक्छन् । यसले उनीहरूमा आत्मनिर्भरता र आत्मविश्वास बढाउँछ । समयसँगै नयाँ प्रविधि अपनाउँदा अनि अभ्यास गर्दा उनीहरूको स्मृति, भाषा, ज्ञान पनि सहज रूपमा सक्रिय रहन्छ, जसले संज्ञानात्मक क्षमता वर्द्धि गर्छ । त्यति मात्र होइन, डिजिटल पहुँच र सञ्चार प्रणालीले वृद्धवृद्धालाई आधुनिक जीवनसँग जोड्ने, मानसिक रूपमा सक्रिय राख्ने, सामाजिक सम्भावना बढाउने र जीवन गुणस्तर सुधार्ने प्रभावकारी उपायको काम गर्छन् ।
६. स्वास्थ्य र व्यायाम
उमेरले समय पार गर्दै गएपछि मानिसमा अनेकौँ किसिमका समस्या सृजित हुन पुग्छन् । यसर्थ वृद्धावस्थामा शारीरिक स्वास्थ्यमा नियमित ध्यान दिनु आवश्यक हुन्छ, जसले उनीहरूमा मानसिक रूपमा पनि आफू सुरक्षित छु भन्ने अनुभूति गराओस् । यसका अतिरिक्त दैनिक हल्का पैदल यात्रा, योग, वा कम तीव्रतायुक्त व्यायाम गर्नाले शारीरिक क्षमता मात्र होइन, मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पुर्यामउँछ । ६५ वर्षमाथिका व्यक्तिले साप्ताहिक कम्तीमा १५० मिनेट मध्यम तीव्रतायुक्त गतिविधि वा ७५ मिनेट तीव्र गतिमा व्यायाम र कम्तीमा दुई दिन मांसपेशी सबलीकरण अभ्यास गर्नु लाभदायी हुन्छ भन्ने कुरा अनुसन्धानहरूले देखाएका छन् । हल्का वजन उठाउने तालिम हप्तामा दुईतीन पटक गर्नाले विशेष गरी चिन्ता र डिप्रेसनग्रस्त व्यक्तिलाई राहत पुर्यालउँछ । यसले मानसिक स्वास्थ्यको सुधार गर्छ । यसै गरी समूह व्यायाममा वृद्धहरूको सहभागिताले सामाजिक सम्बन्ध पनि बलियो बनाउँछ, एक्लोपन हटाउँछ र साथीभाइहरूको सम्पर्क विस्तार पनि गर्छ ।
नियमित व्यायामले मस्तिष्कमा Endorphin (दर्दनिवारक) र Serotonin (मन नियन्त्रक) जस्ता हर्मोन सक्रिय गर्छ । यी हर्मोनले मन हलुका बनाउने र तनाव कम गर्ने काम गर्छन् ।
हिँड्ने गति सामान्यभन्दा थोरै तीव्र बनाएर पनि स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ । सामान्यभन्दा केही अतिरिक्त कदम चाल्नाले शक्ति, स्थिरता र आत्मनिर्भरता बढाउँछ । व्यायामबाट हड्डी बलियो बनाउने, लचिलोपन र सन्तुलनमा सुधार हुन्छ । यसले नखुम्चिने वा चलायमान नहुने जोखिम घटाउँछ । विशेष गरी कमजोर वृद्धहरूका लागि यस्तो व्यायाम आवश्यक मानिन्छ । यसै सिलसिलामा नियमित स्वास्थ्यजाँच, औषधी समयमै लिनु र पोषणयुक्त खाना सेवन गर्नाले व्यायामबाट प्राप्त हुने लाभलाई थप प्रभावकारी बनाउँछ र समग्र जीवनशैलीमा सुधार ल्याउँछ । यी उपायहरू नियमित रूपमा अपनाउँदा वृद्धवृद्धाको मनोबल मजबुत हुन्छ र आत्मनिर्भर, आत्म‑पहिचान बढ्छ, जसले जीवनलाई अर्थपूर्ण र सकारात्मक बनाउँछ ।
७. आर्थिक सुरक्षाको योजना
वृद्धावस्थामा आर्थिक असुरक्षा भएमा चिन्ता, तनाव र परनिर्भरता बढ्छ, जसले उनीहरूको मानसिक शान्तिमा बाधा पुर्यारउँछ । त्यसैले पारिवारिक रूपमा वृद्धजनको बैंक खाता, पेन्सन, बिमा, सामाजिक सुरक्षायोजना र खर्चहरूको स्पष्ट जानकारी राखिदिनु आवश्यक हुन्छ । उनीहरूलाई आवश्यकता पर्दा बैंकसेवा, कागजातको व्यवस्थापन, पेन्सन–प्रक्रिया र अन्य कार्यहरूमा सहयोग गर्नु कर्तव्य हुन आउँछ । कुनै पनि आर्थिक निर्णयमा उनीहरूको राय लिने र स्वतन्त्रता दिँदै समर्थन प्राप्त गर्ने विशेष व्यवहारले उनीहरूमा आत्मगौरव बढाउँछ । यसका साथै, वित्तीय योजना बनाउने समयमा उनीहरूलाई साथै राखेर सल्लाह लिने, जस्तै, वित्तीय योजनाकार वा वकिलसँग परामर्श लिनु उपयोगी हुन्छ । त्यहाँ वृद्धहरूको पनि सहभागिता रहोस् । यसले भविष्यमुखी सुरक्षा बनाउँछ ।
वृद्ध आर्थिक शोषण (Elder Financial Abuse) बाट जोगिन सुरक्षाका उपाय अपनाउनुपर्छ । त्यसै गरी उनीहरूको खातामा पासवर्ड सुरक्षित राख्नु, अनधिकृत पहुँच रोक्नु र नियमित निगरानी गर्नुले धोकाधड़ीबाट सुरक्षा गर्दछ । बजेट बनाउने, खर्चको हिसाब गर्ने र आपत्कालीन बचतकोष तयार गर्ने बानीले आर्थिक रूपमा ढुक्क बनाउँछ । यसबाट आवश्यक परेको बेला सहज रूपमा खर्च गर्ने पहुँच प्राप्त हुन्छ । पारिवारिक संवादमा आर्थिक योजनाबारे चर्चा गर्दा पारिवारिक सम्बन्धमा पारस्परिक विश्वास र पारदर्शिता मजबुत हुन्छ भने आर्थिक सुरक्षा योजना वृद्धवृद्धालाई मानसिक रूपमा स्थिर, आत्मनिर्भर र सम्मानित जीवनयापनका लागि अत्यावश्यक आधार हो ।
८. रचनात्मक र सिपमा आधारित गतिविधि
वृद्धवृद्धालाई बुन्ने, कोठेबारीमा ससाना काम गर्ने, चित्रण, लेखन, सङ्गीत वा पारम्परिक हस्तकलाजस्ता रचनात्मक काममा संलग्न गराउँदा उनीहरूको सृजनात्मक शक्ति पुनः सक्रिय बन्छ । त्यस्ता गतिविधिहरूले मानसिक व्यस्तता र उत्साह ल्याउँछ भने दिनभर सकारात्मक ऊर्जा दिन्छ । आफूसित भएका पुराना सिप पुन: प्रयोग गर्न पाउँदा उनीहरू प्रसन्नताको महसुस गर्छन् भने आत्मसम्मान पनि बढ्छ । सानोतिनो भए पनि आम्दानी हुने भयो भने उनीहरू अझै आत्मनिर्भर छौँ भन्ने अनुभूति गर्न पुग्छन् । यस प्रकारका सिर्जनात्मक कार्यमा लागिरहँदा मस्तिष्कमा नयाँ सञ्जाल निर्माण हुन्छ, जसले स्मृति सुधार्न, ध्यान केन्द्रित गर्न र संवेदनात्मक सन्तुलन कायम गर्न मद्दत गर्छ ।
सामूहिक कार्यशाला वा क्लबमार्फत अन्य वृद्धहरूसँगको सहकार्यले सामाजिक सम्बन्ध विस्तार गर्छ र सकारात्मक भाव बढाउँछ । वृद्धहरूलाई रचनात्मक अभ्यासले तनाव कम गर्दछ, सुखद भावना ल्याउँछ र उनीहरूलाई मनोवैज्ञानिक रूपमा मद्दत गर्छ । यदि उनीहरूका सिर्जनामा वा कार्यमा कतैबाट प्रतिक्रिया वा प्रशंसा प्राप्त हुन्छ भने उनीहरूमा प्रेरणा र जीवनको उत्साह बढ्छ । समयअनुसार नयाँ प्रविधिहरूमार्फत उनीहरूको कला वा सिपलाई अनलाइन प्रदर्शन गरेर प्रसारको व्यवस्था गर्न पाए अझ आत्मविश्वासी बन्छन् उनीहरू । यस प्रकारका गतिविधिहरूले वृद्धावस्थामा जीवनलाई अर्थपूर्ण, रचनात्मक र सन्तुलित बनाउन सहयोग पुर्यााउँछन् ।
९. मनोवैज्ञानिक समर्थन र काउन्सेलिङ
१. वृद्धावस्थामा मानसिक तनाव, दु:ख, एकाकीपन वा जीवन परिवर्तनका कारण मनोचिकित्सा सहायता आवश्यक हुनसक्छ।
२. थेरापी, काउन्सिलिङ वा CBT (Cognitive Behavioral Therapy) ले सोच, भाव र व्यवहारलाई सन्तुलित बनाउँछ, वृद्धवृद्धामा तनाव र डिप्रेसन कम गर्न सक्षम बनाउँछ । आफ्ना अनुभव, भावनाहरू समावेश गर्न र भावनात्मक बोझ हल्का बनाउने सूत्रहरू उनीहरूका लागि उपयोगी साबित हुन सक्छन् । यस प्रकारको सहायताले उनीहरूको आत्मज्ञान र मानसिक स्थिरता बढाउँछ । यसले जीवनमा निर्णय क्षमतामा सुधार ल्याउँछ । वृद्धहरूका लागि परिवार र साथीहरूले सकारात्मक स्रोत बन्ने वातावरण सिर्जना गर्दा मनोचिकित्सकीय सहयोग लिन सक्ता अझ सहज हुन्छ ।
त्यसरी नै घरेलु वातावरण सकारात्मक र वृद्धमैत्री हुँदा मनोवैज्ञानिक सुधार भई थप प्रभावकारी हुन्छ । उनीहरूलाई बेला बेलामा मनोचिकित्सकीय सहयोग उपलब्ध गराउँदा डिप्रेसन, चिन्ता, अवसाद र जीवनमा आइपर्ने दुःखसँग सामना गर्न उनीहरू सक्षम हुन्छन् भने थेरापीले तिनलाई नयाँ सकारात्मक सोच र आशावादी दृष्टिकोण सिकाउँछ । यो दीर्घकालीन लाभदायक हुन्छ । मनोवैज्ञानिक समर्थनले वृद्धवृद्धामा जीवनमा सन्तुलन, आत्मविश्वास र मानसिक शान्ति ल्याउँछ । यसले खुसी र सशक्त जीवन सुनिश्चित गर्छ ।
१०. सुरक्षा र पहुँच सुविधाको व्यवस्थित व्यवस्थापन
घरमा भर्या ङ तथा बरन्डामा रेलिङ, राम्रो प्रकाश, नचिप्लिने भुईँ हुनुपर्छ भने अक्सिजन वा स्वास्थ्य उपकरण उपलब्ध गराउनु जरुरी हुन्छ । बाथरूममा सावधानी अपनाउनुपर्ने केही सङ्केत वा सूचना राख्ने, वृद्धका लागि शारीरिक सन्तुलन मिलाउन वा स्थिर रहन समाउने साधनहरूको प्रबन्ध र सुरक्षित स्थानको व्यवस्था गर्नुपर्छ । यसो गर्दा सम्भावित दुर्घटनाबाट बचाउउन सहज हुन्छ र उनीहरूमा आत्मनिर्भरता बढाउँछ । खाना बनाउने र खाने ठाउँ, बाल्कनी वा माथि तलामा बस्न बनाइएको खुला ठाउँ तथा जोडी वा व्यक्ति व्यक्तिको निजी रूपमा बस्न मिल्ने बनाइएको स्थान (लभजोन) मा पनि सुरक्षित डिजाइन र सहायक समग्री हुनुपर्दछ । यति हुँदा दुर्घटनाको जोखिम न्यून हुन जान्छ। दुर्घटना रोकथामका लागि नियमित रूपमा घरको निरीक्षण र सुधार गर्नु परिवारको जिम्मेवारी र कर्तव्य हुन जान्छ । घरमा उज्यालो प्रकाशको व्यवस्था हुनु आवश्यक छ ।
यसले पनि वृद्धवृद्धालाई मानसिक रूपमा पनि आफू सुरक्षित भएको अनुभूति दिन्छ । यस क्रममा उनीहरूको दैनिक जीवनलाई सहजता र रुचिकर कार्यमा पहुँच सुनिश्चित गर्न सकियो भने उनीहरू आत्मनिर्भर बन्न सक्छन् र परनिर्भरता कम हुन्छ । चुँडिएको विद्युत तार हटाउने, उनीहरू ओहोरदोहोर गर्ने स्पष्ट मार्ग र आरामदायी आसनको व्यवस्था गर्नुपर्दछ । यसबाट उनीहरूको जीवन सुरक्षित र सहज हुन्छ । आवश्यकता पूर्तिमा पहुँच र सुरक्षा सुनिश्चित गर्दा वृद्धवृद्धाको आत्मविश्वास बढ्छ र उनीहरू स्वतन्त्र भएर दैनिक काम गर्न सक्छन् । समग्रमा सुरक्षित र पहुँचयोग्य वातावरणले उनीहरूको जीवनलाई आरामदायी, सुरक्षित र आत्मसम्मानयुक्त बनाउँछ । यस प्रकारको व्यवस्थापन परिवारले गर्नु आवश्यक छ ।
सारांशमा भन्नुपर्दा वृद्धवृद्धाको डिजिटल पहुँच, स्वास्थ्य, आर्थिक सुरक्षा, रचनात्मकता, मनोवैज्ञानिक समर्थन र मानसिक–भौतिक सुरक्षालाई व्यवस्थित व्यवस्थापन गर्न सक्ता वृद्धवृद्धाको जीवनलाई सकारात्मक, सम्मानजनक र सुदृढ बनाउन मद्दत गर्न सम्भव हुन्छ ।
निष्कर्ष
यी सबै उपायहरू संयोजन गरी प्रयोगमा ल्याउँदा वृद्धवृद्धाको मनोवैज्ञानिक, सामाजिक, पारिवारिक र व्यावहारिक जीवनमा सकारात्मक प्रभाव पर्दछ। उनीहरूमा आत्मसम्मान, आत्मनिर्भरता, सामाजिक समावेशिता, आर्थिक सुरक्षा र मनोविश्राम कायम रहन्छ । वृद्धावस्था जीवनको सौन्दर्य मात्र होइन, यो अनुभूतिले भरिएको नयाँ अध्याय पनि हो । यसलाई सम्मान, माया र सहयोगले जीवन्त बनाउन सकिन्छ । यदि समाज र परिवारले यस्ता उपायहरूको सुन्दर संयोजन गर्न सके वृद्धवृद्धाहरूको जीवन कल्याणकारी, सन्तुष्ट र संवेदनशील हुन सक्छ । यसरी हामीले वृद्धावस्थालाई प्रदीप्त बनाउने समाज निर्माण गर्न सक्छौं ।
०००
२०८२ साउन ९
सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest



































