साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धहरू प्रसन्न रहनुपर्छ

यदि समाज र परिवारले यस्ता उपायहरूको सुन्दर संयोजन गर्न सके वृद्धवृद्धाहरूको जीवन कल्याणकारी, सन्तुष्ट र संवेदनशील हुन सक्छ । यसरी हामीले वृद्धावस्थालाई प्रदीप्त बनाउने समाज निर्माण गर्न सक्छौं ।

Nepal Telecom ad

जीवनाथ अधिकारी :

वृद्धावस्था जीवनको एउटा अनमोल चरण हो, जहाँ अनुभव, ज्ञान र सम्झनाहरूले मानवीय पहिचानलाई धनी बनाएको हुन्छ । यो उमेरमा मानिसहरू शारीरिक रूपमा कमजोर हुन सक्छन्, तर तिनको मनमा आशा, प्रेम र सम्मानको संवेदना अझै चुलिएको हुन्छ । तर समाज र वातावरणले यस चरणलाई कहिलेकाहीँ गुमनाम, लुप्तप्राय: र एकाकी बनाउने गर्छ । त्यसैले वृद्धवृद्धालाई मनोवैज्ञानिक, सामाजिक, पारिवारिक तथा व्यावहारिक दृष्टिबाट प्रसन्न राख्नु हाम्रो कर्तव्य हो । यस आलेखमा ती सबै उपायहरूलाई सरल रूपबाट बुँदागत विश्लेषण गर्ने प्रयास गरिएको छ ।

१. आत्मसम्मान जगाउने सम्मानजनक व्यवहार
वृद्धावस्था एउटा यस्तो चरण हो, जहाँ भौतिक क्षमता घट्छ तर अनुभव र ज्ञान घट्दैन । यस अवस्थामा, उनीहरूलाई सम्मानपूर्वक सम्बोधन गर्नु र निर्णयमा परामर्श लिनु अत्यन्त महत्त्वपूर्ण हुन्छ । सम्मान जनाउने कार्यले तिनको आत्मसम्मान बढाउँछ र सामाजिक रूपमा आफू समावेश भएको भावना जगाउँछ । परिवारका प्रत्येक सदस्यले तिनको कुरा ध्यान दिएर सुन्नुम र सानो विचारमा समेत उनीहरूलाई मत राख्न प्रेरित गर्नुपर्छ । सम्मानको अनुभूति हुँदा वृद्धवृद्धालाई उत्साह महसुस हुन्छ र उनीहरू आफैँलाई जीवनमा अझ महत्त्वपूर्ण ठान्न थाल्छन् । त्यसैले उनीहरूको नाममा फोन कल गरिरहनु, सहज भाषा अपनाउनु र उनको योगदान सम्झनु सम्मानको अभिव्यक्ति हो । यसले वातावरणमा सकारात्मक ऊर्जा ल्याउँछ र तिनीहरूमा आत्मविस्वास बढाउँछ ।

२. सम्झनाको पुनरुत्थान
पुराना तस्बिर, पत्र, भिडियो वा सङ्गीतसँग सम्बन्धित वस्तुहरू देखाउँदा उनीहरू पुराना सम्झनामा फर्केर रमाउँछन् । यस्ता माध्यमले सकारात्मक भावना र स्मृतिलाई पुनर्जीवित गर्छ, जसले मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ । एउटा उदाहरण, पुरानो पारिवारिक फोटो एल्बम हेर्दा उनले आफ्नो जीवनकालका खुसी र सङ्घर्षलाई फेरि ताजा रूपमा सम्झन सक्छन् । यस्ता गतिविधिले सामाजिक संवादलाई पनि प्रोत्साहन गर्छ किनभने उनी आफैँले आफ्नो कथालाई बाँड्न प्रेरित हुन्छन् । यसले भावनात्मक संवेदनाको सबलीकरणमा सहुलियत पुर्या उँछ र मानसिक तनाव घटाउँछ । यस्ता माध्यमले उनीहरूको आत्मसम्मान र आत्मपहिचान बढाउन विशेष भूमिका खेल्छ ।

३. नियमित रूपमा परिवारसित समय बिताउने व्यवस्था
सम्भव भए दिनहुँ नत्र कमसेकम हप्ताको एकदुई पटक भए पनि केही समय पारिवारिक भेटघाट र सहभोजनको समय मिलाउनुपर्छ। यसले वृद्धवृद्धालाई परिवारमा अपनत्व महसुस गराउँछ र एकाकीपनबाट बचाउँछ । सँगै भोजन गर्दा आपसी विचार आदानप्रदान, हास्यव्यङ्ग्य र अतीतका सम्झनाले वातावरणलाई रमाइलो र उत्साहजनक बनाउँछ । घरका बालबच्चा तथा युवाले पनि तिनको शिक्षा, अनुभव वा विकासका बारेमा सोध्दा उनीहरू आफ्नो उपस्थितिको महत्त्व अनुभूत गर्छन् । यसले भावनात्मक हित र समर्थनको भावना दिन्छ, जुन वृद्धावस्थामा अनिवार्य हुन्छ ।

भावनात्मक हित र समर्थनको भावना भन्नाले वृद्धवृद्धालाई जीवनमा भावनात्मक रूपमा सुनेर, सम्झेर, माया र सद्भाव व्यक्त गरी ‘उनीहरूको अस्तित्व मूल्यवान छ ।’ भन्ने अनुभूति गराउनु हो । त्यसै गरी कसैको भावनात्मक आवश्यकता र पीडालाई बुझेर, उनको भावना स्विकार्ने, सुनाउने, सम्मान गर्ने र अटुट उत्साहवर्धन गर्ने व्यवहार जसले व्यक्तिलाई मूल्यवान् सम्झिएको र एक्लो नभएको अनुभूति गराउँछ ।
यस्तै नियमित भेटाघटले परिवारमा प्रत्यक्ष संवाद हुन्छ र उनीहरूलाई आवश्यक पर्ने सहयोग समयमै थाहा पाउन सजिलो हुन्छ ।

४. सामाजिक सहभागिता
स्थानीय समाज, मठमन्दिर, वयोवृद्ध क्लब वा सामुदायिक केन्द्रमा सहभागी गराउनाले वृद्धहरूलाई सामूहिक गतिविधिमा सहभागी हुन सहज बनाउँछ । सामाजिक सहभागिताले एकाकीपनलाई कम गर्छ र तिनको सामाजिक क्रियाकलापलाई व्यापक बनाउँछ । आफूजस्तै अन्य वृद्धसँग भेटघाट गरेपछि उनीहरूलाई साझा अनुभव र कथा आदानप्रदान गर्ने अवसर मिल्छ । समूहमा रमाइलो गीत, नृत्य, स्वास्थ्य कार्यशाला वा खेलकुदजस्ता क्रियाकलापले उनीहरूलाई सक्रिय राख्छ । यस्तो क्रियाकलापले स्वास्थ्य, मानसिक, सामाजिक पक्षमा सुधार ल्याउँछ । सामाजिक सहभागिताले उनीहरूको आत्मविश्वास पनि बढाउँछ किनकि उनीहरू कहिलेकाहीँ अरूको सहयोगी र गुरुजस्तै भूमिका निर्वाह गर्न सक्षम हुन्छन् ।

५. डिजिटल साधनमा पहुँच र सञ्चारप्रणालीमा आबद्धता
वृद्धवृद्धालाई मोबाइल, भिडियो कल वा सामाजिक सञ्जालमा संलग्न गराउनु आवश्यक देखिन्छ । यसमा उनीहरूको पहुँच भयो भने उनीहरूको एकाकीपन कम हुन्छ र भावनात्मक रूपमा सक्रिय बनाउँछ, जसले उनीहरूलाई सामाजिक जीवनमा पुन: जोडिरहने काम हुन्छ।

परिवारका सदस्यहरूले सुरुवातमा वृद्धहरूलाई डिजिटल प्रशिक्षण दिनु अनिवार्य हुन्छ । किनकि पुरानो समयका मानिसलाई नयाँ प्रविधिमा जानकार हुन समय लाग्छ । यस्ता सामान्य प्रशिक्षणले भिडियो कल गर्ने तरिका, फोटो सेयर गर्ने, फेसबुक, मेसेन्जर, ह्वाट्सएप प्रयोग गर्नेजस्ता कुरामा उनीहरूलाई आत्मनिर्भर बनाउँछ ।

भिडियो कलमार्फत टाढाका नातेदार वा साथीहरूसँग कुरा गर्दा किशोर पुस्तासँग समेत उनीहरूको अन्तर्क्रिया बढ्छ । यसबाट तिनको मनमा आत्मीयता र सुरक्षित भावनाको महसुस हुन जान्छ साथै यसले मानसिक सन्तोष पनि बृद्धि गराउँछ ।

सामाजिक सञ्जालमा परिवारको फोटो, भिडियो, टेलिभिजन हेर्न पाउँदा उनीहरूमा नयाँ घटना र समाचारहरूको जानकारी हुन जान्छ साथै उत्साह जगाउँछ र समयको क्रममा आफू पछाडि नपरेको अनुभूति दिन्छ । विश्व स्वास्थ्य सङ्गठन र अन्य अनुसन्धानहरूले देखाएअनुसार डिजिटल पहुँचले वृद्धवृद्धाको मानसिक स्वास्थ्य सुधार गर्छ, सामाजिक एक्लोपन घटाउँछ र जीवनतृप्ति बढाउँछ । विशेष गरी मोबाइल वा स्मार्ट फोनजस्ता उपकरण प्रयोग गरेर उनीहरूले भेटघाट र कतिपय आवश्यक कुराहरू आफैं व्यवस्थापन गर्न सक्छन् । यसले उनीहरूमा आत्मनिर्भरता र आत्मविश्वास बढाउँछ । समयसँगै नयाँ प्रविधि अपनाउँदा अनि अभ्यास गर्दा उनीहरूको स्मृति, भाषा, ज्ञान पनि सहज रूपमा सक्रिय रहन्छ, जसले संज्ञानात्मक क्षमता वर्द्धि गर्छ । त्यति मात्र होइन, डिजिटल पहुँच र सञ्चार प्रणालीले वृद्धवृद्धालाई आधुनिक जीवनसँग जोड्ने, मानसिक रूपमा सक्रिय राख्ने, सामाजिक सम्भावना बढाउने र जीवन गुणस्तर सुधार्ने प्रभावकारी उपायको काम गर्छन् ।

६. स्वास्थ्य र व्यायाम
उमेरले समय पार गर्दै गएपछि मानिसमा अनेकौँ किसिमका समस्या सृजित हुन पुग्छन् । यसर्थ वृद्धावस्थामा शारीरिक स्वास्थ्यमा नियमित ध्यान दिनु आवश्यक हुन्छ, जसले उनीहरूमा मानसिक रूपमा पनि आफू सुरक्षित छु भन्ने अनुभूति गराओस् । यसका अतिरिक्त दैनिक हल्का पैदल यात्रा, योग, वा कम तीव्रतायुक्त व्यायाम गर्नाले शारीरिक क्षमता मात्र होइन, मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पुर्यामउँछ । ६५ वर्षमाथिका व्यक्तिले साप्ताहिक कम्तीमा १५० मिनेट मध्यम तीव्रतायुक्त गतिविधि वा ७५ मिनेट तीव्र गतिमा व्यायाम र कम्तीमा दुई दिन मांसपेशी सबलीकरण अभ्यास गर्नु लाभदायी हुन्छ भन्ने कुरा अनुसन्धानहरूले देखाएका छन् । हल्का वजन उठाउने तालिम हप्तामा दुईतीन पटक गर्नाले विशेष गरी चिन्ता र डिप्रेसनग्रस्त व्यक्तिलाई राहत पुर्यालउँछ । यसले मानसिक स्वास्थ्यको सुधार गर्छ । यसै गरी समूह व्यायाममा वृद्धहरूको सहभागिताले सामाजिक सम्बन्ध पनि बलियो बनाउँछ, एक्लोपन हटाउँछ र साथीभाइहरूको सम्पर्क विस्तार पनि गर्छ ।

नियमित व्यायामले मस्तिष्कमा Endorphin (दर्दनिवारक) र Serotonin (मन नियन्त्रक) जस्ता हर्मोन सक्रिय गर्छ । यी हर्मोनले मन हलुका बनाउने र तनाव कम गर्ने काम गर्छन् ।

हिँड्ने गति सामान्यभन्दा थोरै तीव्र बनाएर पनि स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ । सामान्यभन्दा केही अतिरिक्त कदम चाल्नाले शक्ति, स्थिरता र आत्मनिर्भरता बढाउँछ । व्यायामबाट हड्डी बलियो बनाउने, लचिलोपन र सन्तुलनमा सुधार हुन्छ । यसले नखुम्चिने वा चलायमान नहुने जोखिम घटाउँछ । विशेष गरी कमजोर वृद्धहरूका लागि यस्तो व्यायाम आवश्यक मानिन्छ । यसै सिलसिलामा नियमित स्वास्थ्यजाँच, औषधी समयमै लिनु र पोषणयुक्त खाना सेवन गर्नाले व्यायामबाट प्राप्त हुने लाभलाई थप प्रभावकारी बनाउँछ र समग्र जीवनशैलीमा सुधार ल्याउँछ । यी उपायहरू नियमित रूपमा अपनाउँदा वृद्धवृद्धाको मनोबल मजबुत हुन्छ र आत्मनिर्भर, आत्म‑पहिचान बढ्छ, जसले जीवनलाई अर्थपूर्ण र सकारात्मक बनाउँछ ।

७. आर्थिक सुरक्षाको योजना
वृद्धावस्थामा आर्थिक असुरक्षा भएमा चिन्ता, तनाव र परनिर्भरता बढ्छ, जसले उनीहरूको मानसिक शान्तिमा बाधा पुर्यारउँछ । त्यसैले पारिवारिक रूपमा वृद्धजनको बैंक खाता, पेन्सन, बिमा, सामाजिक सुरक्षायोजना र खर्चहरूको स्पष्ट जानकारी राखिदिनु आवश्यक हुन्छ । उनीहरूलाई आवश्यकता पर्दा बैंकसेवा, कागजातको व्यवस्थापन, पेन्सन–प्रक्रिया र अन्य कार्यहरूमा सहयोग गर्नु कर्तव्य हुन आउँछ । कुनै पनि आर्थिक निर्णयमा उनीहरूको राय लिने र स्वतन्त्रता दिँदै समर्थन प्राप्त गर्ने विशेष व्यवहारले उनीहरूमा आत्मगौरव बढाउँछ । यसका साथै, वित्तीय योजना बनाउने समयमा उनीहरूलाई साथै राखेर सल्लाह लिने, जस्तै, वित्तीय योजनाकार वा वकिलसँग परामर्श लिनु उपयोगी हुन्छ । त्यहाँ वृद्धहरूको पनि सहभागिता रहोस् । यसले भविष्यमुखी सुरक्षा बनाउँछ ।

वृद्ध आर्थिक शोषण (Elder Financial Abuse) बाट जोगिन सुरक्षाका उपाय अपनाउनुपर्छ । त्यसै गरी उनीहरूको खातामा पासवर्ड सुरक्षित राख्नु, अनधिकृत पहुँच रोक्नु र नियमित निगरानी गर्नुले धोकाधड़ीबाट सुरक्षा गर्दछ । बजेट बनाउने, खर्चको हिसाब गर्ने र आपत्कालीन बचतकोष तयार गर्ने बानीले आर्थिक रूपमा ढुक्क बनाउँछ । यसबाट आवश्यक परेको बेला सहज रूपमा खर्च गर्ने पहुँच प्राप्त हुन्छ । पारिवारिक संवादमा आर्थिक योजनाबारे चर्चा गर्दा पारिवारिक सम्बन्धमा पारस्परिक विश्वास र पारदर्शिता मजबुत हुन्छ भने आर्थिक सुरक्षा योजना वृद्धवृद्धालाई मानसिक रूपमा स्थिर, आत्मनिर्भर र सम्मानित जीवनयापनका लागि अत्यावश्यक आधार हो ।

८. रचनात्मक र सिपमा आधारित गतिविधि
वृद्धवृद्धालाई बुन्ने, कोठेबारीमा ससाना काम गर्ने, चित्रण, लेखन, सङ्गीत वा पारम्परिक हस्तकलाजस्ता रचनात्मक काममा संलग्न गराउँदा उनीहरूको सृजनात्मक शक्ति पुनः सक्रिय बन्छ । त्यस्ता गतिविधिहरूले मानसिक व्यस्तता र उत्साह ल्याउँछ भने दिनभर सकारात्मक ऊर्जा दिन्छ । आफूसित भएका पुराना सिप पुन: प्रयोग गर्न पाउँदा उनीहरू प्रसन्नताको महसुस गर्छन् भने आत्मसम्मान पनि बढ्छ । सानोतिनो भए पनि आम्दानी हुने भयो भने उनीहरू अझै आत्मनिर्भर छौँ भन्ने अनुभूति गर्न पुग्छन् । यस प्रकारका सिर्जनात्मक कार्यमा लागिरहँदा मस्तिष्कमा नयाँ सञ्जाल निर्माण हुन्छ, जसले स्मृति सुधार्न, ध्यान केन्द्रित गर्न र संवेदनात्मक सन्तुलन कायम गर्न मद्दत गर्छ ।

सामूहिक कार्यशाला वा क्लबमार्फत अन्य वृद्धहरूसँगको सहकार्यले सामाजिक सम्बन्ध विस्तार गर्छ र सकारात्मक भाव बढाउँछ । वृद्धहरूलाई रचनात्मक अभ्यासले तनाव कम गर्दछ, सुखद भावना ल्याउँछ र उनीहरूलाई मनोवैज्ञानिक रूपमा मद्दत गर्छ । यदि उनीहरूका सिर्जनामा वा कार्यमा कतैबाट प्रतिक्रिया वा प्रशंसा प्राप्त हुन्छ भने उनीहरूमा प्रेरणा र जीवनको उत्साह बढ्छ । समयअनुसार नयाँ प्रविधिहरूमार्फत उनीहरूको कला वा सिपलाई अनलाइन प्रदर्शन गरेर प्रसारको व्यवस्था गर्न पाए अझ आत्मविश्वासी बन्छन् उनीहरू । यस प्रकारका गतिविधिहरूले वृद्धावस्थामा जीवनलाई अर्थपूर्ण, रचनात्मक र सन्तुलित बनाउन सहयोग पुर्यााउँछन् ।

९. मनोवैज्ञानिक समर्थन र काउन्सेलिङ
१. वृद्धावस्थामा मानसिक तनाव, दु:ख, एकाकीपन वा जीवन परिवर्तनका कारण मनोचिकित्सा सहायता आवश्यक हुनसक्छ।

२. थेरापी, काउन्सिलिङ वा CBT (Cognitive Behavioral Therapy) ले सोच, भाव र व्यवहारलाई सन्तुलित बनाउँछ, वृद्धवृद्धामा तनाव र डिप्रेसन कम गर्न सक्षम बनाउँछ । आफ्ना अनुभव, भावनाहरू समावेश गर्न र भावनात्मक बोझ हल्का बनाउने सूत्रहरू उनीहरूका लागि उपयोगी साबित हुन सक्छन् । यस प्रकारको सहायताले उनीहरूको आत्मज्ञान र मानसिक स्थिरता बढाउँछ । यसले जीवनमा निर्णय क्षमतामा सुधार ल्याउँछ । वृद्धहरूका लागि परिवार र साथीहरूले सकारात्मक स्रोत बन्ने वातावरण सिर्जना गर्दा मनोचिकित्सकीय सहयोग लिन सक्ता अझ सहज हुन्छ ।

त्यसरी नै घरेलु वातावरण सकारात्मक र वृद्धमैत्री हुँदा मनोवैज्ञानिक सुधार भई थप प्रभावकारी हुन्छ । उनीहरूलाई बेला बेलामा मनोचिकित्सकीय सहयोग उपलब्ध गराउँदा डिप्रेसन, चिन्ता, अवसाद र जीवनमा आइपर्ने दुःखसँग सामना गर्न उनीहरू सक्षम हुन्छन् भने थेरापीले तिनलाई नयाँ सकारात्मक सोच र आशावादी दृष्टिकोण सिकाउँछ । यो दीर्घकालीन लाभदायक हुन्छ । मनोवैज्ञानिक समर्थनले वृद्धवृद्धामा जीवनमा सन्तुलन, आत्मविश्वास र मानसिक शान्ति ल्याउँछ । यसले खुसी र सशक्त जीवन सुनिश्चित गर्छ ।

१०. सुरक्षा र पहुँच सुविधाको व्यवस्थित व्यवस्थापन
घरमा भर्या ङ तथा बरन्डामा रेलिङ, राम्रो प्रकाश, नचिप्लिने भुईँ हुनुपर्छ भने अक्सिजन वा स्वास्थ्य उपकरण उपलब्ध गराउनु जरुरी हुन्छ । बाथरूममा सावधानी अपनाउनुपर्ने केही सङ्केत वा सूचना राख्ने, वृद्धका लागि शारीरिक सन्तुलन मिलाउन वा स्थिर रहन समाउने साधनहरूको प्रबन्ध र सुरक्षित स्थानको व्यवस्था गर्नुपर्छ । यसो गर्दा सम्भावित दुर्घटनाबाट बचाउउन सहज हुन्छ र उनीहरूमा आत्मनिर्भरता बढाउँछ । खाना बनाउने र खाने ठाउँ, बाल्कनी वा माथि तलामा बस्न बनाइएको खुला ठाउँ तथा जोडी वा व्यक्ति व्यक्तिको निजी रूपमा बस्न मिल्ने बनाइएको स्थान (लभजोन) मा पनि सुरक्षित डिजाइन र सहायक समग्री हुनुपर्दछ । यति हुँदा दुर्घटनाको जोखिम न्यून हुन जान्छ। दुर्घटना रोकथामका लागि नियमित रूपमा घरको निरीक्षण र सुधार गर्नु परिवारको जिम्मेवारी र कर्तव्य हुन जान्छ । घरमा उज्यालो प्रकाशको व्यवस्था हुनु आवश्यक छ ।

यसले पनि वृद्धवृद्धालाई मानसिक रूपमा पनि आफू सुरक्षित भएको अनुभूति दिन्छ । यस क्रममा उनीहरूको दैनिक जीवनलाई सहजता र रुचिकर कार्यमा पहुँच सुनिश्चित गर्न सकियो भने उनीहरू आत्मनिर्भर बन्न सक्छन् र परनिर्भरता कम हुन्छ । चुँडिएको विद्युत तार हटाउने, उनीहरू ओहोरदोहोर गर्ने स्पष्ट मार्ग र आरामदायी आसनको व्यवस्था गर्नुपर्दछ । यसबाट उनीहरूको जीवन सुरक्षित र सहज हुन्छ । आवश्यकता पूर्तिमा पहुँच र सुरक्षा सुनिश्चित गर्दा वृद्धवृद्धाको आत्मविश्वास बढ्छ र उनीहरू स्वतन्त्र भएर दैनिक काम गर्न सक्छन् । समग्रमा सुरक्षित र पहुँचयोग्य वातावरणले उनीहरूको जीवनलाई आरामदायी, सुरक्षित र आत्मसम्मानयुक्त बनाउँछ । यस प्रकारको व्यवस्थापन परिवारले गर्नु आवश्यक छ ।

सारांशमा भन्नुपर्दा वृद्धवृद्धाको डिजिटल पहुँच, स्वास्थ्य, आर्थिक सुरक्षा, रचनात्मकता, मनोवैज्ञानिक समर्थन र मानसिक–भौतिक सुरक्षालाई व्यवस्थित व्यवस्थापन गर्न सक्ता वृद्धवृद्धाको जीवनलाई सकारात्मक, सम्मानजनक र सुदृढ बनाउन मद्दत गर्न सम्भव हुन्छ ।

निष्कर्ष
यी सबै उपायहरू संयोजन गरी प्रयोगमा ल्याउँदा वृद्धवृद्धाको मनोवैज्ञानिक, सामाजिक, पारिवारिक र व्यावहारिक जीवनमा सकारात्मक प्रभाव पर्दछ। उनीहरूमा आत्मसम्मान, आत्मनिर्भरता, सामाजिक समावेशिता, आर्थिक सुरक्षा र मनोविश्राम कायम रहन्छ । वृद्धावस्था जीवनको सौन्दर्य मात्र होइन, यो अनुभूतिले भरिएको नयाँ अध्याय पनि हो । यसलाई सम्मान, माया र सहयोगले जीवन्त बनाउन सकिन्छ । यदि समाज र परिवारले यस्ता उपायहरूको सुन्दर संयोजन गर्न सके वृद्धवृद्धाहरूको जीवन कल्याणकारी, सन्तुष्ट र संवेदनशील हुन सक्छ । यसरी हामीले वृद्धावस्थालाई प्रदीप्त बनाउने समाज निर्माण गर्न सक्छौं ।

०००
२०८२ साउन ९
सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x